नम्रता धारण गर्नुहोस्
१ एक जना गोठालो केटाले यहोवामा भरोसा राख्छन् र शक्तिशाली योद्धालाई परास्त गर्छन्। (१ शमू. १७:४५-४७) एक जना धनाढ्य व्यक्तिले आपद्विपद् सहन्छन्। (अय्यू. १:२०-२२; २:९, १०) परमेश्वरको पुत्रले आफ्नो शिक्षाको सम्पूर्ण श्रेय आफ्नो पितालाई दिनुहुन्छ। (यूह. ७:१५-१८; ८:२८) यी प्रत्येक उदाहरणहरूमा नम्रताले महत्त्वपूर्ण भूमिका खेल्यो। त्यस्तै गरी आज, हामीले सामना गर्ने विभिन्न परिस्थितिहरूमा नम्रता अत्यावश्यक छ।—कल. ३:१२.
२ प्रचार गर्दा: मसीही सेवकहरूको हैसियतमा हामी जात, संस्कृति वा पृष्ठभूमिको आधारमा पूर्वनिर्णय नगरीकन सबै किसिमका मानिसहरूलाई नम्रपूर्वक सुसमाचार सुनाउँछौं। (१ कोरि. ९:२२, २३) यदि कसै-कसैले अशिष्ट वा हठी हुँदै राज्य सन्देश सुन्न अस्वीकार गर्छ भने, हामी उनीहरूले जस्तै प्रतिक्रिया देखाउँदैनौं तर धैर्य धारण गर्दै योग्य व्यक्तिहरू खोजिरहन्छौं। (मत्ती १०:११, १४) आफ्नो ज्ञान वा शिक्षाले अरूलाई प्रभावित पार्न खोज्नुको सट्टा हामी परमेश्वरको वचनतर्फ ध्यान खिच्छौं किनभने हामीले भन्ने कुराभन्दा परमेश्वरको वचन अझ जोडदार छ भन्ने कुरा हामीले बुझेका छौं। (१ कोरि. २:१-५; हिब्रू ४:१२) येशूको अनुकरण गर्दै हामी यहोवालाई नै सम्पूर्ण प्रशंसा दिन्छौं।—मर्कू. १०:१७, १८.
३ मण्डलीमा: मसीहीहरूले पनि ‘एउटाले अर्कोप्रति नम्रताको व्यवहार’ गर्नै पर्छ। (१ पत्रु. ५:५) यदि हामीले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्यौं भने, भाइहरूले हाम्रो सेवा गरेको आशा गर्नुको सट्टा हामी आफ्ना भाइहरूको सेवा गर्ने तरिकाहरू खोज्नेछौं। (यूह. १३:१२-१७; फिलि. २:३, ४) हामी राज्यभवन सफा गर्नुजस्तो साना कामहरू मेलै गर्ने काम होइन भन्ने महसुस गर्नेछैनौं।
४ नम्रताले हामीलाई ‘एउटाले अर्कोलाई प्रेम गर्न’ मदत गर्नुका साथै मण्डलीमा शान्ति तथा एकता बढाउन मदत गर्छ। (एफि. ४:१-३) यसले हामीलाई नेतृत्व लिन नियुक्त भएकाहरूको अधीनमा बस्न मदत गर्छ। (हिब्रू १३:१७) यसले हामीलाई दिइने कुनै पनि किसिमको सल्लाह वा अनुशासन स्वीकार्न उत्प्रेरित गर्छ। (भज. १४१:५) अनि नम्रताले हामीलाई मण्डलीमा पाउने कुनै पनि किसिमका जिम्मेवारीहरू सम्हाल्दा यहोवामाथि भर पर्न उत्प्रेरित गर्छ। (१ पत्रु. ४:११) दाऊदले जस्तै हामीले पनि सफलता भन्ने कुरा मानव क्षमतामा नभई परमेश्वरको आशिष्मा निर्भर हुन्छ भन्ने कुरा बुझेका छौं।—१ शमू. १७:३७.
५ हाम्रा परमेश्वरसामु: सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, हामीले ‘परमेश्वरका बलवान बाहुलीमनि आफैलाई नम्र तुल्याउनुपर्छ।’ (१ पत्रु. ५:६) कठिन परिस्थितिहरूको सामना गर्नै परे तापनि हामी परमेश्वरको राज्यले प्रदान गर्ने राहतको तीव्र इच्छा गर्न सक्छौं। तर यहोवाले आफ्नो तोकिएको समयमा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुने समयको प्रतीक्षा गर्दै हामी नम्र भई धैर्य धारण गर्छौं। (याकू. ५:७-११) निष्ठावान् अय्यूबको सन्दर्भमा साँचो साबित भएझैं, हाम्रो प्रमुख चासोको विषय भनेको पनि “परमप्रभुको नाउँ धन्यको होस्” भन्ने हो।—अय्यू. १:२१.
६ अगमवक्ता दानियलले ‘आफ्ना परमेश्वरको सामु आफैलाई नम्र तुल्याए’ र यहोवाको अनुग्रह तथा सेवाका थुप्रै सुअवसरहरू पाए। (दानि. १०:११, १२, नयाँ संशोधित संस्करण) त्यस्तै गरी, हामी पनि नम्रता धारण गर्न सकौं किनकि “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्।”—हितो. २२:४.