प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ६: विद्यार्थीले प्रश्न सोध्दा के गर्ने
१ बाइबल अध्ययन सुचारुरूपले सञ्चालन भइसकेपछि कहिले कुन त कहिले कुन विषयमा छलफल गर्नुभन्दा सिलसिलेवार ढङ्गमा बाइबल शिक्षाहरू छलफल गर्नु अक्सर बेस हुन्छ। यसले विद्यार्थीलाई सही ज्ञानको जग बसाल्न अनि आध्यात्मिक तवरमा प्रगति गर्न मदत गर्छ। (कल. १:९, १०) तर अक्सर विद्यार्थीहरूले अध्ययनको दौडान विभिन्न विषयहरूमा प्रश्न सोध्छन्। यस्तो बेला के गर्ने?
२ विवेकशील हुनुहोस्: अध्ययन गरिरहेको विषयवस्तुसित सम्बन्धित प्रश्नहरूको जवाफ त अक्सर त्यति नै खेर दिन सकिन्छ। यस प्रश्नबारे यसै अध्ययन सामग्रीमा पछि छलफल गरिनेछ भने त्यो कुरा बताइदिए मात्र पुग्न सक्छ। तथापि, यो प्रश्न अध्ययन गरिरहेको विषयसित सम्बन्धित छैन वा ठीक जवाफ दिनको लागि अनुसन्धान गर्नुपर्नेछ भने अध्ययनपछि वा अर्को कुनै समयमा छलफल गर्नु बेस हुन सक्छ। कोही-कोही प्रकाशकहरूले के महसुस गरेका छन् भने, सोधिएको प्रश्नबारे टिपोट गर्दा विद्यार्थीलाई आफ्नो प्रश्न गम्भीरतापूर्वक लिइएको छ भनेर ढुक्क हुन्छ अनि अध्ययनलाई अर्कै बुँदातर्फ मोडिनदेखि पनि रोक्छ।
३ हाम्रा आधारभूत अध्ययन प्रकाशनहरूमा थुप्रै बाइबल शिक्षाहरूबारे छोटकरीमा मात्र छलफल गरिएको छ। विद्यार्थीलाई कुनै एउटा शिक्षा स्वीकार्न गाह्रो लागिरहेको छ वा कुनै झूटा शिक्षालाई अझै पनि छोड्न सकेका छैनन् भने के गर्ने? त्यस विषयमा बाइबलले के बताउँछ भनेर विस्तृत छलफल गरिएको थप विषयवस्तु छलफल गर्नु लाभकारी हुन सक्छ। विद्यार्थीलाई विश्वास गर्न अझै गाह्रो भइरहेको छ भने त्यो विषय अहिलेको लागि यत्तिकै छोडेर नियमित अध्ययनलाई अघि बढाउनुहोस्। (यूह. १६:१२) बाइबलको ज्ञानमा बढ्दै गएर आध्यात्मिक तवरमा प्रगति गरेपछि तिनी आफैले त्यो बाइबल शिक्षा बुझ्न पनि सक्छन्।
४ विनम्र हुनुहोस्: कुनै प्रश्नको जवाफ तपाईंलाई पक्का छैन भने आफ्नै व्यक्तिगत धारणा व्यक्त गर्ने प्रलोभनमा नफस्नुहोस्। (२ तिमो. २:१५; १ पत्रु. ४:११) यस विषयमा अनुसन्धान गरेर पछि जवाफ दिनेछु भन्नुहोस्। तपाईंले यही मौकामा विद्यार्थीलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन पनि सक्नुहुन्छ। यहोवाको संगठनले प्रदान गरेका विभिन्न अनुसन्धान सामग्रीहरू कसरी चलाउने भनेर बिस्तारै-बिस्तारै देखाउनुहोस्। यसरी अन्ततः तिनले आफ्ना प्रश्नहरूको जवाफ आफै खोज्न सक्नेछन्।—प्रेरि. १७:११.