सुरक्षित राख्नुहोस्
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
हाम्रो राज्य सेवकाई-मा शृङ्खलाबद्ध रूपमा प्रकाशित प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने लेखहरूका मुख्य-मुख्य बुँदाहरू समावेश गरी यो परिशिष्ट तयार पारिएको छ। यसलाई सुरक्षित राख्नुहोस् र बाइबल अध्ययन सञ्चालन गर्दा चलाउनुहोस्। क्षेत्र सेवाको लागि गरिने सभाहरूमा पनि यसका बुँदाहरूलाई जोड दिन सकिन्छ। सेवा निरीक्षकहरूले मण्डली पुस्तक अध्ययन समूहको भ्रमणमा भाषण दिंदा यसलाई चलाउन सक्छन्।
भाग १: बाइबल अध्ययन भनेको के हो?
यदि तपाईंले एकैछिन भए पनि बाइबल र कुनै सुझावित प्रकाशन चलाएर नियमित तथा सिलसिलेवार ढङ्गमा बाइबल छलफल गर्दै हुनुहुन्छ भने, तपाईंले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको हुन्छ। अध्ययनको प्रबन्धबारे प्रदर्शन गरेर देखाइसकेपछि दुई चोटि अध्ययन सञ्चालन भएको छ र निरन्तर अध्ययन हुनेछ जस्तो लागेमा त्यो अध्ययन रिपोर्ट गर्न सकिन्छ।—km-NP ७/०४ १.
अध्ययन गर्न चलाउने सकिने प्रकाशनहरू
◼ परमेश्वर हामीबाट के चाहनुहुन्छ?
◼ ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ
◼ एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्
◼ सीमित शिक्षा भएको वा लेखपढ गर्न गाह्रो हुनेहरूसित तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! पुस्तिकाबाट पनि अध्ययन गर्न सकिन्छ
भाग २: अध्ययन सञ्चालन गर्न तयारी गर्ने
हामीले विद्यार्थीको हृदय छुने किसिमले जानकारी प्रस्तुत गर्नु आवश्यक छ। यसको लागि विद्यार्थीलाई ध्यानमा राख्दै विस्तृत तयारी गर्नु जरुरी छ।—km-NP ८/०४ १.
कसरी तयारी गर्ने
◼ पाठ अथवा अध्यायको शीर्षक, उपशीर्षक र दृश्य सहायकलाई केलाउनुहोस्।
◼ छापिएका प्रश्नहरूको जवाफ पत्ता लगाउनुहोस् र मुख्य शब्द तथा वाक्यांशहरूमा मात्रै चिनो लगाउनुहोस्।
◼ अध्ययनको बेला कुन-कुन शास्त्रपद पढ्ने हो, सो निधो गर्नुहोस्। प्रकाशनको छेउमा शास्त्रपदबारे छोटो नोट लेख्नुहोस्।
◼ मुख्य बुँदाहरूको छोटकरी पुनरावलोकनको लागि तयारी गर्नुहोस्।
पाठलाई विद्यार्थीका आवश्यकताहरू अनुरूप ढाल्नुहोस्
◼ विद्यार्थी र तिनका आवश्यकताहरूबारे प्रार्थना गर्नुहोस्।
◼ विद्यार्थीले सोध्न सक्ने प्रश्नहरू र तिनलाई बुझ्न वा स्वीकार्न गाह्रो भइरहेका बुँदाहरूबारे पहिल्यै विचार गर्ने प्रयास गर्नुहोस्।
◼ नबिर्सनुहोस्: आध्यात्मिक प्रकति गर्न तिनले कुन कुरा बुझेको हुनुपर्छ र के कस्ता प्रगति गर्नुपर्छ? हामी कसरी तिनको हृदय छुन सक्छौं?
◼ आवश्यकताअनुसार विद्यार्थीलाई कुनै बुँदा वा शास्त्रपदको अर्थ बुझ्न मदत गर्नको लागि दृष्टान्त, विवरण अथवा थुप्रै प्रश्नहरू तयार गर्नुहोस्।
भाग ३: धर्मशास्त्रलाई प्रभावकारी ढङ्गमा चलाउने
बाइबल अध्ययन सञ्चालन गर्नुको हाम्रो उद्देश्य मानिसहरूलाई परमेश्वरको वचनका शिक्षाहरू बुझ्न तथा स्वीकार्नुका साथै त्यसलाई आफ्नो जीवनमा लागू गर्न मदत गरेर ‘चेला बनाउनु’ हो। (मत्ती २८:१९, २०; १ थिस्स. २:१३) त्यसकारण अध्ययन धर्मशास्त्रमा केन्द्रित हुनुपर्छ।—km-NP ११/०४ पृ. ४
परमेश्वरको वचनबाट सिकाउनुहोस्
◼ बाइबल विद्यार्थीलाई उनीहरूकै बाइबलमा पदहरू भेट्टाउने तरिका देखाइदिनुहोस्।
◼ हाम्रो विश्वासको धर्मशास्त्रीय आधार देखाउने शास्त्रपदहरू पढ्होस् र छलफल गर्नुहोस्।
◼ प्रश्नहरू सोध्नुहोस्। विद्यार्थीलाई बाइबल पदहरू बुझाउनुको सट्टा उसैलाई ती पदहरूबारे बताउन लगाउनुहोस्।
◼ सरल बनाउनुहोस्। शास्त्रपदको हरेक पक्षलाई बुझाउने नगर्नुहोस्। छलफल गरिंदै गरेको बुँदालाई बुझाउन आवश्यक पर्ने पक्षलाई मात्र समावेश गर्नुहोस्।
◼ व्यावहारिक उपयोगिता देखाउनुहोस्। बाइबल पदहरू विद्यार्थीलाई व्यक्तिगत रूपमा कसरी लागू हुन्छ भन्ने कुरा बुझ्न उसलाई मदत गर्नुहोस्।
भाग ४: तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने
अध्ययन गर्ने पाठ पहिल्यै पढ्ने, जवाफमा चिह्न लगाउने र त्यसलाई आफ्नै शब्दमा कसरी बताउन सकिन्छ भनी सोच्ने विद्यार्थीले साधारणतया छिटो आध्यात्मिक प्रगति गर्छ। त्यसकारण नियमित रूपमा अध्ययन हुन थालेपछि तयारी गर्ने तरिका सिकाउन विद्यार्थीसँगै बसेर पाठ तयारी गर्नुहोस्। अधिकांश विद्यार्थीहरूसित सँगै बसेर पूरै अध्याय वा पाठ तयारी गर्नु मदतकारी हुनेछ।—km-NP १२/०४ पृ. १.
चिह्न लगाउने र नोट लेख्ने
◼ छापिएको प्रश्नको ठीक जवाफ पत्ता लगाउने तरिका बताउनुहोस्।
◼ मुख्य शब्दहरू वा वाक्यहरूमा मात्रै चिह्न लगाएको अध्ययन गर्ने तपाईंको प्रकाशन विद्यार्थीलाई देखाउनुहोस्।
◼ सबै उद्धृत शास्त्रपदहरूले अनुच्छेदमा दिइएको बुँदालाई समर्थन गर्छ भन्ने कुरा बुझ्न उसलाई मदत गर्नुहोस्। अध्ययन गर्ने प्रकाशनको छेउमा ससानो नोट लेख्ने तरिका उसलाई देखाउनुहोस्।
सरसरती हेर्ने र पुनरावृत्ति गर्ने
◼ अध्ययन गर्नुपर्ने विषयवस्तुको विस्तृत तयारी सुरु गर्नुभन्दा पहिले संक्षिप्तमा अध्यायको मुख्य शीर्षक, उपशीर्षक तथा चित्रहरू हेरेर विषयवस्तु सरसरती हेर्न विद्यार्थीलाई सिकाउनुहोस्।
◼ तयारी गरी सिध्याउनुअघि पाठमा दिइएका मुख्य बुँदाहरू पुनरावलोकन गर्न प्रोत्साहित गर्नुहोस्।
भाग ५: कति विषयवस्तु ढाक्ने, सो निर्धारण गर्ने
कति विषयवस्तु छलफल गर्ने भन्ने कुरा शिक्षक र विद्यार्थी दुवैको क्षमता अनि परिस्थितिमा भर पर्नेछ।—km-NP १/०५ पृ. १.
विश्वासलाई दह्रो बनाउनुहोस्
◼ छोटो समयमा धेरै विषयवस्तु ढाक्ने कोसिस गर्नुभन्दा विद्यार्थीलाई विषयवस्तु छर्लङ्गसित बुझ्न मदत गर्नु महत्त्वपूर्ण छ।
◼ हरेक हप्ता अध्ययन सञ्चालन गर्नुहुँदा परमेश्वरको वचनबाट सिकिरहेको कुरा बुझ्न र स्वीकार्न विद्यार्थीलाई मदत गर्न जति समय लागे पनि लगाउनुहोस्।
◼ शिक्षाहरूको आधार बसाल्ने मुख्य बुँदाहरूतिर ध्यान खिच्न र मुख्य शास्त्रपदहरू छलफल गर्न पर्याप्त समय लगाउनुहोस्।
मूल विषयमा केन्द्रित रहनुहोस्
◼ यदि विद्यार्थी व्यक्तिगत विषयमा लामो कुरा गर्न चाहन्छ भने, अध्ययनपछि त्यसबारे कुरा गर्ने प्रबन्ध मिलाउन सकिन्छ।
◼ अध्ययनको दौडान बढी नबोल्नुहोस्। बाइबल शिक्षाहरूको सही ज्ञान हासिल गर्न विद्यार्थीलाई नै बाधा पुग्ने गरी अतिरिक्त बुँदा वा अनुभव तीनथुप्रो वा लम्बेतान नबनाउनुहोस्।
भाग ६: विद्यार्थीले प्रश्न सोध्दा के गर्ने
बाइबल अध्ययन सुचारुरूपले सञ्चालन भइसकेपछि कहिले कुन त कहिले कुन विषयमा छलफल गर्नुभन्दा सिलसिलेवार ढङ्गमा बाइबल शिक्षाहरू छलफल गर्नु अक्सर बेस हुन्छ। यसले विद्यार्थीलाई सही ज्ञानको जग बसाल्न अनि आध्यात्मिक तवरमा प्रगति गर्न मदत गर्छ।—km-NP २/०५ पृ. ६.
विवेकशील हुनुहोस्
◼ अध्ययन गरिरहेको विषयवस्तुसित सम्बन्धित प्रश्नहरूको जवाफ त अक्सर त्यति नै खेर दिन सकिन्छ।
◼ प्रश्न अध्ययन गरिरहेको विषयसित सम्बन्धित छैन वा ठीक जवाफ दिनको लागि अनुसन्धान गर्नुपर्नेछ भने अर्को कुनै समयमा छलफल गर्न सकिन्छ। सोधिएको प्रश्नबारे टिपोट गर्दा मदतकारी हुन सक्छ।
◼ विद्यार्थीलाई कुनै एउटा शिक्षा स्वीकार्न गाह्रो लागिरहेको छ भने त्यस विषयमा विस्तृत छलफल गरिएको थप विषयवस्तु छलफल गर्नुहोस्।
◼ विद्यार्थीलाई विश्वास गर्न अझै गाह्रो भइरहेको छ भने त्यो विषय अहिलेको लागि यत्तिकै छोडेर नियमित अध्ययनलाई अघि बढाउनुहोस्।
विनम्र हुनुहोस्
◼ कुनै प्रश्नको जवाफ तपाईंलाई पक्का छैन भने आफ्नै व्यक्तिगत धारणा व्यक्त नगर्नुहोस्।
◼ विद्यार्थीलाई अनुसन्धान कसरी गर्ने भनेर प्रगतिशील ढङ्गमा सिकाउनुहोस्।
भाग ७: अध्ययनमा प्रार्थना गर्ने
बाइबल विद्यार्थीहरूले आध्यात्मिक तवरमा प्रगति गर्न यहोवाको आशिष् अत्यावश्यक छ। त्यसकारण, अध्ययनको सुरुमा र अन्तमा प्रार्थना गर्नु उचित छ।—km-NP ३/०५ पृ. ८.
कहिलेदेखि प्रार्थना गर्ने
◼ मसीहीहरूले गर्ने प्रार्थनाबारे थाह भएका मानिसहरूसित पहिलो चोटि अध्ययन गर्दा नै हामी यसो गर्न सक्छौं।
◼ अरू विद्यार्थीहरूको अध्ययनमा चाहिं कहिलेदेखि प्रार्थना गर्ने भनेर विचार गर्नुपर्छ।
◼ विद्यार्थीलाई प्रार्थना गर्नुको कारण बुझाउन तपाईं भजन २५:४, ५ अनि १ यूहन्ना ५:१४ जस्ता बाइबल पदहरू चलाउन सक्नुहुन्छ
◼ येशू ख्रीष्टमार्फत यहोवालाई प्रार्थना गर्नुको महत्त्वबारे बताउन तपाईं यूहन्ना १५:१६ चलाउन सकिन्छ।
प्रार्थनामा के-के समावेश गर्न सकिन्छ
◼ निर्देशनको स्रोतको रूपमा यहोवाको प्रशंसा गर्नु एकदमै उपयुक्त छ।
◼ विद्यार्थीप्रतिको हाम्रो निष्कपट चासो व्यक्त गर्नुहोस्।
◼ यहोवाले चलाइरहनुभएको संगठनप्रतिको हाम्रो कृतज्ञता व्यक्त गर्नुहोस्।
◼ विद्यार्थीले सिकिरहेको कुरा लागू गर्न तिनको कोसिसमा यहोवाको आशिष् माग्नुहोस्।
भाग ८: विद्यार्थीलाई संगठनतर्फ डोऱ्याउने
बाइबल अध्ययन सञ्चालन गर्नुको हाम्रो लक्ष्य धार्मिक सिद्धान्तबारे सिकाउनु मात्र नभई विद्यार्थीलाई मसीही मण्डलीको भाग हुन मदत गर्नु पनि हो। यहोवाको संगठनबारे एउटा कुरा सिकाउन हरेक हप्ता अध्ययनको दौडान केही मिनेट समय छुट्याउनुहोस्।—km-NP ४/०५ पृ. ८.
मण्डलीका सभाहरू
◼ मण्डलीका सबै सभाहरूबारे बुझाउनुहोस्। बाइबल अध्ययन सुरु भएदेखि नै सभाहरूमा उपस्थित हुन उनीहरूलाई आमन्त्रित गर्नुहोस्।
◼ सभामा प्रस्तुत गरिएका उल्लेखनीय बुँदाहरू सुनाउनुहोस्।
◼ स्मरणार्थ, सम्मेलन र क्षेत्रीय निरीक्षकको भ्रमण नजिकै आउँदा यी प्रबन्धहरूबारे बताउन र त्यसका लागि उत्साह जगाउनुहोस्।
◼ सभाहरूमा के-के हुन्छन् भन्ने कुरा कल्पना गर्न उनीहरूलाई मदत दिन हाम्रा प्रकाशनहरूमा भएका चित्रहरू चलाउनुहोस्।
◼ उनीहरूलाई यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? भन्ने पुस्तिका पढ्न प्रोत्साहित गर्नुहोस्।
कृतज्ञता बढाउन भिडियो चलाउनुहोस्
◼ जेहोभाज् विट्नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम
◼ आवर होल असोसियसन अफ ब्रदर्स्
◼ यूनाइटेड बाइ डिभाइन टिचिङ
◼ टु दी एण्ड्स अफ दी अर्थ
भाग ९: अनौपचारिक रूपमा साक्षी दिन विद्यार्थीहरूलाई तयार पार्ने
आफूले सिकिरहेको कुरामा विश्वास गर्न थालेपछि त्यसबारे कुरा गर्न बाइबल विद्यार्थीहरू जुरमुरिन्छन्।—km-NP ५/०५ पृ. १.
साक्षी दिन प्रोत्साहित गर्नुहोस्
◼ आफ्नो अध्ययनमा बोलाउन सकिने तिनका साथीभाइ तथा परिवारका सदस्यहरू छन् कि?
◼ तिनीहरूका कुनै सहकर्मी, सहपाठी अथवा चिनेजानेका व्यक्तिहरूले चासो देखाएका छन् कि?
◼ तिनीहरूलाई आफ्नो विश्वासबारे बताउन प्रशक्षण दिनुहोस्
◼ अध्ययनको दौडान छानिएका बुँदाहरूबारे छलफल गर्दा विद्यार्थीलाई यस्तो प्रश्न सोध्नुहोस्: “आफ्नो परिवारलाई यो सत्य कुरा बताउन तपाईं कसरी बाइबल चलाउनुहुनेछ?”
◼ परमेश्वर अनि उहाँका उद्देश्यहरूबारे अरूलाई बताउँदा विवेकी हुनका साथै आदर देखाउन तथा दयालु हुनुपर्ने कारण बुझ्न तिनलाई मदत गर्नुहोस्।
◼ साथीभाइ तथा परिवारका सदस्यहरूलाई हाम्रो बाइबल आधारित विश्वास अनि गतिविधिहरूबारे बुझाउन यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? भन्ने पुस्तिका चलाउन सकिन्छ।
भाग १०: घर-घरको सेवकाईमा विद्यार्थीलाई प्रशिक्षण दिने
कुनै बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक बन्न योग्य छन् भन्ने कुरा प्राचीनहरूले पक्का गरिसकेपछि तिनी मण्डलीसित मिलेर जन प्रचारकार्यमा भाग लिन थाल्न सक्छन्।—km-NP ६/०५ १.
सँगै तयारी गर्ने
◼ सुझावित प्रस्तुतिहरू कहाँ पाउन सकिन्छ, विद्यार्थीलाई देखाउनुहोस्।
◼ स्थानीय इलाकामा व्यावहारिक हुने खालको सरल परिचय छान्न तिनलाई मदत गर्नुहोस्।
◼ सेवकाईमा बाइबल चलाउन तिनलाई प्रोत्साहन दिनुहोस्।
◼ सँगै पूर्वाभ्यास गर्नुहोस्। प्रचार इलाकाका मानिसहरूले अक्सर देखाउने प्रतिक्रियाको कसरी कौशलतासाथ सामना गर्न सकिन्छ तिनलाई देखाउनुहोस्।
सँगै प्रचार गर्ने
◼ तपाईंहरू दुवै मिलेर तयार पारेको प्रस्तुति तपाईंले प्रस्तुत गर्नुहुँदा तिनलाई हेर्न लगाउनुहोस्।
◼ विद्यार्थीको व्यक्तित्व अनि क्षमतालाई विचार गर्नुहोस्। कुनै-कुनै अवस्थामा नयाँ प्रकाशकलाई प्रस्तुतिको थोरै अंश मात्र प्रस्तुत गर्न दिनु बेस हुन्छ।
◼ सेवकाईमा भाग लिनको लागि नियमित तालिका बनाउन नयाँ प्रकाशकलाई मदत गर्नुहोस्।
भाग ११: पुनःभेट गर्न बाइबल विद्यार्थीलाई मदत गर्ने
पुनःभेटको लागि तयारी गर्ने काम पहिलो भेटदेखि नै सुरु हुन्छ। आफूले कुरा गर्ने व्यक्तिहरूप्रति निष्कपट चासो राख्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। घरधनीलाई आफ्नो मनको कुरा व्यक्त गर्न लगाउन, उनीहरूको कुरा सुन्न र उनीहरूलाई चिन्ता लाग्ने कुरा याद गर्न बाइबल विद्यार्थीलाई क्रमिक रूपमा प्रशिक्षण दिनुहोस्।—km-NP ७/०५ पृ. १.
पुनःभेटको लागि तयारी गर्ने
◼ पहिलो भेटमा भएको कुराकानी पुनरावृत्ति गर्नुहोस् र विद्यार्थीलाई घरधनीको मन छुने किसिमको राज्यसन्देशको कुनै एउटा पक्ष छान्न मदत गर्नुहोस्।
◼ एउटा बाइबल पद र अध्ययन गर्ने प्रकाशनको एउटा अनुच्छेद समेटिएको एउटा संक्षिप्त प्रस्तुति सँगै तयार गर्नुहोस्।
◼ अर्को भेटको लागि आधार तयार पार्न छलफलको अन्तमा सोध्न सकिने एउटा प्रश्न पनि तयार गर्नुहोस्।
पुनःभेट गर्न लगनशील हुनुहोस्
◼ चासो देखाउने सबै व्यक्तिकहाँ सकेसम्म छिटो पुनःभेट गर्न जाने सन्दर्भमा असल उदाहरण बसाल्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्।
◼ घरमा भेट्टाउन गाह्रो व्यक्तिहरूकहाँ लगातार पुनःभेट गरिरहनुपर्ने आवश्यकता बुझ्न तिनलाई मदत गर्नुहोस्।
◼ पुनःभेट गर्ने व्यवस्था कसरी मिलाउन सकिन्छ विद्यार्थीलाई सिकाउनुहोस् र आफूले वचन दिएअनुसारै पुनःभेट गर्न जानुपर्ने आवश्यकता बुझ्न तिनलाई मदत गर्नुहोस्।
भाग १२: विद्यार्थीहरूलाई बाइबल अध्ययन सुरु र सञ्चालन गर्न मदत दिने
तपाईंले पनि येशूले जस्तै सेवकाईमा असल उदाहरण बसाल्नुपर्छ। विद्यार्थीले सेवकाईमा तपाईंको उदाहरण देखेपछि बाइबल अध्ययन सुरु गर्ने मनसाय राखेर पुनःभेट गर्नुपर्ने रहेछ भनेर बुझ्नेछन्।—km-NP ८/०५ पृ. १.
बाइबल अध्ययनको प्रस्ताव राख्ने
◼ बाइबल अध्ययनको प्रस्ताव राख्दा, यस अध्ययनको प्रबन्धबारे घरधनीलाई सबै कुरा बताइरहनु पर्दैन भनेर आफ्नो विद्यार्थीलाई बुझाउनुहोस्।
◼ प्राय अध्ययन गरिने प्रकाशनको एक वा दुई अनुच्छेद मात्र चलाएर बाइबल अध्ययन कसरी गरिन्छ भनी देखाउनु राम्रो हुन्छ।
◼ बाइबल अध्ययन सुरु हुन कुनै एउटा निम्न सुझाव पुनरावृत्ति र पूर्वाभ्यास गर्नुहोस्।—km-NP ८/०५ पृ. ८; km-NP १/०२ पृ. ६
विद्यार्थीहरूलाई शिक्षक हुन प्रशिक्षण दिने
◼ विद्यार्थीहरूलाई ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भर्ना हुन प्रोत्साहित गर्नुहोस्।
◼ नयाँ प्रकाशकलाई अरूको बाइबल अध्ययनमा निम्त्याउनुहोस्। अध्ययनमा तिनीहरूलाई पनि सामेल गराउनुहोस्।