परिचालक निकायको पत्र
यहोवाका प्रिय सँगी साक्षीहरू:
ब्रह्माण्डको सार्वभौम यहोवाको नाउँ धारण गर्न पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान! यो नाउँ अनन्त, अविनाशी र अतुलनीय छ। हामीलाई यो नाउँ धारण गर्न दिने व्यक्ति यहोवा स्वयम् हुनुहुन्छ। विशेषगरि सन् १९३१ देखि हामी यो विशेष नाउँले चिनिएका छौं। (यशै. ४३:१०) अनि आफूलाई यहोवाका साक्षी भनेर चिनाउन पाउँदा हामी गर्व गर्छौं।
शैतान परमेश्वरको नाउँ मेटाउन लागिपरेको छ। त्यसको अधीनमा भएका राष्ट्रहरू यहोवाको नाउँलाई लत्याउँछन्। झूटा धर्महरूको विश्व साम्राज्य, महान् बेबिलोन यस ईश्वरीय नाउँलाई घृणा गर्छ र यसले थुप्रै बाइबल अनुवादहरूबाट यस नाउँलाई हटाएको छ। त्यसको विपरीत, येशूले भने आफ्नो पिताको नाउँ उच्च पार्नुभयो र आफ्ना अनुयायीहरूलाई सिकाएको नमुना प्रार्थनामा परमेश्वरको नाउँलाई पहिलो स्थान दिनुभयो। उहाँले भन्नुभयो: “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) पछि आफ्नो पितालाई गरिएको व्यग्र प्रार्थनामा उहाँले भन्नुभयो: “ती मानिसहरूलाई, जसलाई संसारबाट तपाईंले मलाई दिनुभयो तपाईंको नाउँ मैले प्रकट गरिदिएँ।” (यूह. १७:६) येशूको असल उदाहरण पछ्याउँदै, हामी पहिलेभन्दा झनै जोडतोडका साथ सारा पृथ्वीमा यहोवाको नाउँ घोषणा गर्न दृढ छौं।
‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्’ भन्ने सन् २००९ को वार्षिक पदले सेवाको काम पूरा गर्न हामीलाई जुर्मुऱ्यायो। (प्रेरि. २०:२४, NW) गत सेवा वर्ष यहोवाले हाम्रो प्रयासमा प्रशस्त आशिष् वर्षाउनुभयो भन्ने कुरामा कुनै शंका छैन। यहोवाको नाउँको महिमा र सम्मानमा विश्वभरि नै व्यापक साक्षी दिइयो। सबैलाई प्रचार गर्न र प्रत्येक दिन आफूमाथि आइपर्ने तीनथुप्रो समस्याहरूको समाधान खोजिरहेका असल हृदय भएकाहरूलाई सिकाउन ७३,१३,१७३ प्रकाशकहरूले स्वरमा स्वर मिलाए। यो अहिलेसम्मकै शिखर संख्या हो। ख्रीष्टको मृत्युको स्मरणार्थमा १,८१,६८,३२३ उपस्थित हुनुले, यस दुष्ट युगको अन्त हुनुअघि अझ धेरैले यहोवाको नाउँ पुकार्न सक्छन् भनेर देखाउँछ।
यहोवाले जहिलेसम्म अनुमति दिनुहुन्छ तबसम्म इलाकाका मानिसहरूलाई भेट्ने हर उपाय अपनाउँदै हामी जोसका साथ राज्यको सुसमाचार प्रचार गरिरहनेछौं। (मत्ती २४:१४; मर्कू. १३:१०) चाहे घर-घरमा, सडकमा, चिठी लेखेर र टेलिफोन साक्षी दिएर, वा अनौपचारिक रूपमा, सकेसम्म धेरै मानिसलाई यहोवाको नाउँ, इच्छा र उद्देश्य प्रकट गर्न प्रयास गरौं।
यहोवाले आफ्नो नाउँ पवित्र पार्न चाँडै कदम चाल्नुहुनेछ भनी विश्वास गर्न सक्ने हर कारण हामीसित छन्। (इज. ३६:२३) परमेश्वरको नाउँको निन्दा गर्नेहरू सबै जना चूप लाग्ने समय एकदमै नजिकिंदै छ। यहोवाको नाउँ प्रकट गरेका र उहाँको विश्वव्यापी सार्वभौमिकताको समर्थन गरेका यहोवाका सम्पूर्ण वफादार सेवकहरूका लागि त्यो दिन कत्ति महिमित दिन हुनेछ!
सन् २००९ मा विश्वको प्रायः सबै भागमा आयोजित “जागा रहो!” शीर्षकको जिल्ला र अन्तरराष्ट्रिय अधिवेशनमा आफ्ना जनहरूप्रति यहोवाको मायालु चासो छर्लङ्गगै देखियो। यी अधिवेशनहरू हाम्रो ईश्वरतान्त्रिक इतिहासमा कोसेढुङ्गो साबित भए जसले हामीलाई यहोवाको दिनको लागि अझ जागा रहन उत्प्रेरित गऱ्यो।—मर्कू. १३:३७; १ थिस्स. ५:१, २, ४.
साँच्चै, यहोवा भलो हुनुहुन्छ; उहाँ हाम्रो हृदयलाई आनन्दले भर्नुहुन्छ। उहाँ हामीलाई हरियो खर्कमा सुताउनुहुन्छ र सुख-चैनको पानीनेर डोऱ्याउनुहुन्छ।—भज. २३:१, २; १००:२, ५.
आउँदा महिनाहरूमा राज्य सेवामा व्यस्त रहँदा यहोवाबाट आशिष् पाइरहने कुरामा ढुक्क हुनुहोस्!
विश्वभरिका हाम्रा भाइबहिनीहरूलाई न्यानो ख्रीष्टियान मायासहित,
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय