सबैभन्दा महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
१. ईश्वरतान्त्रिक सेवा स्कूलको उद्देश्य के हो?
१ मानिसहरू जीवनमा विभिन्न लक्ष्य प्राप्त गर्न मदत दिने शिक्षा हासिल गर्न स्कूल जान्छन्। तर जीवनदाताको प्रशंसा गर्नु र मानिसहरूलाई उहाँका उद्देश्य तथा तौरतरिकाबारे सिक्न मदत गर्नुभन्दा महत्त्वपूर्ण लक्ष्य अरू के नै हुन सक्ला र? ईश्वरतान्त्रिक सेवा स्कूलको उद्देश्य अरूलाई हाम्रो विश्वासबारे सिकाउन तयार गर्नु हो। त्यसैले हरेक हप्ता स्कूलमा उपस्थित हुँदा हामीले जीवनकै सबैभन्दा महत्त्वपूर्ण गतिविधिको लागि आफूलाई सुसज्जित पारिरहेका हुन्छौं।
२. ईश्वरतान्त्रिक सेवा स्कूलमा हामी कुन किताब प्रयोग गर्नेछौं?
२ मे २०१२ देखि ईश्वरतान्त्रिक सेवा स्कूलमा ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् किताब प्रयोग गरिनेछ। ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् किताबको केही विशेषता विचार गरौं।
३. बहिनीहरूले भाषणको लागि भूमिका कसरी छान्न सक्छन्?
३ भूमिका: सेवा स्कूल किताबको पृष्ठ ४५ मा बताइएअनुसार स्कूल निरीक्षकले भूमिका छानिदिन सक्छन्। तिनले छानिदिएका छैनन् भने बहिनीहरूले नै पृष्ठ ८२ को सूचीबाट भूमिका छान्न सक्छन्। बहिनीहरूले प्रत्येक दुई महिनामा आफ्नो भाग प्रस्तुत गर्ने मौका पाउँछन् भने त्यस सूचीमा दिइएका ३० बेग्लाबेग्लै भूमिका पाँच वर्षको लागि पर्याप्त हुनेछ। “तपाईंको इलाकामा उपयुक्त अन्य कुनै भूमिका” भन्ने न. ३० को भूमिका छान्ने बहिनीहरूले आ-आफ्नो स्कूलको पर्चीको (S-89) तल वा पछिल्तिर भूमिका लेख्नुपर्छ। स्कूल निरीक्षकले विद्यार्थीले भाषण दिएको मिति विद्यार्थीकै किताबको पृष्ठ ८२ मा तिनले प्रयोग गरेको भूमिकाको छेउको खाली ठाउँमा लेख्नेछन्। तिनले विद्यार्थीको सल्लाह फाराममा चिह्न लगाएकै बेला यसो गर्न सक्छन्।
४. भाषण दिइसकेपछि हरेक चोटि आफूले काम गरेको बुँदाको राम्रो रेकर्ड राख्न तपाईंले के गर्नुपर्छ?
४ सल्लाह फाराम: तपाईंको सल्लाह फाराम तपाईंकै किताबको पृष्ठ ७९-८१ मा छ। यसकारण आफ्नो भाग प्रस्तुत गरिसकेपछि हरेक चोटि तपाईंले यो किताब स्कूल निरीक्षकलाई दिनुपर्नेछ। स्कूल निरीक्षकले विद्यार्थीहरूले काम गरिरहेका सल्लाह बुँदाहरूको राम्ररी रेकर्ड राख्नुपर्नेछ।
५. प्रस्तुति केलाउन तपाईंलाई कुन कुराले मदत गर्नेछ?
५ स्कूल निरीक्षकले ध्यान दिनुपर्ने कुरा: तपाईंलाई प्रस्तुति विश्लेषण गर्न कुन कुराले मदत गर्न सक्छ? सेवा स्कूल किताबको ५३ वटा अध्यायमध्ये धेरैजसो अध्यायको तेस्रो पेटीमा ध्यान दिनुपर्ने कुरा छोटकरीमा दिइएको छ। स्कूल निरीक्षकले किताबमा दिइएका अन्य सम्झौटा तथा सुझावहरूलाई पनि ध्यान दिनुपर्छ। यसो गर्दा तिनले प्रस्तुतिको सुसङ्गत विकास र प्रभावकारिता तुरुन्तै केलाउन सक्नेछन्। उदाहरणको लागि, पृष्ठ ५५ को सुरुको अनुच्छेदमा दिइएका प्रश्नहरू र पृष्ठ १६३ को अन्तिम अनुच्छेदमा दिइएका सुझावहरूमा ध्यान दिनुहोस्।
६. सेवा स्कूल किताबका पानाहरूमा छोडिएका खाली ठाउँ तपाईं कसरी प्रयोग गर्न सक्नुहुन्छ?
६ खाली ठाउँ भर्नुहोस्: तपाईंले व्यक्तिगत अध्ययनको दौडान र ईश्वरतान्त्रिक सेवा स्कूलमा उपस्थित हुँदा आफूलाई महत्त्वपूर्ण लागेका टिपोटहरू लेख्न सकोस् भनेर सेवा स्कूल किताबका पानाहरूको दायाँ र बायाँ अनि केही पानामा खाली ठाउँ छोडिएका छन्। (पृष्ठ ७७, ९२, १६५, २४३, २४६ र २५० हेर्नुहोस्) हरेक हप्ता यो किताब ल्याउन नभुल्नुहोस्। स्कूल निरीक्षकले दिएका सुझावहरू टिप्नुहोस्। वक्ताहरूले प्रयोग गरेका शिक्षणविधि, प्रश्न, उदाहरण, अलङ्कार, दृष्टान्त, दृश्य-सामग्री, तुलना आदिमा ध्यान दिनुहोस्। उपयोगी टिपोटहरू लिएर तपाईंले स्कूलमा सिकेका थुप्रै राम्रा-राम्रा बुँदा सम्झन र त्यसलाई प्रयोगमा ल्याउन सक्नुहुनेछ।
७. ईश्वरतान्त्रिक सेवा स्कूल हाम्रो लागि किन लाभदायी छ?
७ परमेश्वरको राज्यको सुसमाचार मानिसहरूलाई प्रचार गर्नु सबैभन्दा ठूलो सम्मानको कुरा हो भनेर येशूलाई थाह थियो। उहाँको मुख्य काम नै प्रचार गर्नु थियो। (मर्कू. १:३८) उहाँले यसो भन्नुभयो: “मैले अरू सहरहरूमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) उहाँको पछि लाग्ने निम्तो स्वीकारेकाहरूजस्तै हामी पनि सुसमाचार प्रचार गर्ने काममा व्यस्त छौं र आफ्नो “प्रशंसाको बलिदान”-को गुणस्तर अझ बढाउन सधैं कोसिस गरिरहेका छौं। (हिब्रू १३:१५) यो लक्ष्य हासिल गर्न ईश्वरतान्त्रिक सेवा स्कूलमा नियमित रूपमा भाग लिने सङ्कल्प गरौं। किनभने यस स्कूलले हामीलाई सबैभन्दा महत्त्वपूर्ण कामको लागि तयार रहन मदत गर्नेछ।