छोराछोरीलाई परमेश्वरबारे कसरी सिकाउने?
आमाबाबुहरू कहिलेकाहीं आफ्ना छोराछोरीलाई कसरी सिकाउने भनेर अलमल्लमा पर्छन्। बाइबलले छोराछोरीलाई के सिकाउने भनेर भरपर्दो सल्लाह दिनुका साथै कसरी सिकाउने भनेर व्यावहारिक निर्देशन पनि दिन्छ। थुप्रै आमाबाबुले तल दिइएका बाइबलआधारित सुझावबाट आफ्ना छोराछोरीलाई परमेश्वरबारे सिकाउन मदत पाएका छन्।
१. सृष्टिका कुराहरूबाट सिकाउनुहोस्: येशूले चेलाहरूलाई यो तरिका चलाएर अर्थात् सृष्टिका कुराहरूबाट सिकाउनुभयो। उदाहरणको लागि उहाँले यसो भन्नुभयो: “आकाशका चराचुरुङ्गीलाई नियालेर हेर किनभने तिनीहरू न बीउ छर्छन् न कटनी गर्छन् न त धनसारमै जम्मा गर्छन्; तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा धेरै मोलका छैनौ र?” (मत्ती ६:२६) येशूले यहाँ यहोवाको गुण प्रेम र करुणाबारे बताउनुभयो। तर उहाँले अरू कुरा पनि सिकाउनुभयो। परमेश्वरले आफ्ना सन्तानप्रति यी गुणहरू कसरी देखाउनुभयो भनेर तर्क गर्न येशूले मदत गर्नुभयो।
येशूको प्रभावकारी शिक्षणशैली अनुकरण गर्दै आमाबाबुले यी कुरा गर्न सक्छन्। (१) छोराछोरीलाई कुन बोट-बिरुवा र जनावर मनपर्छ, सोध्नुहोस्। (२) ती बोट-बिरुवा र जनावरबारे अझै सिक्नुहोस्। (३) त्यसबाट परमेश्वरबारे के-कस्तो कुरा सिक्न सकिन्छ, बुझाउनुहोस्।
२. आफूले सिकाउनेहरूप्रति येशूको जस्तै मनोवृत्ति राख्नुहोस्। केटाकेटी अटेरी छन् भने नि? अथवा सिकाउन खोजेको कुरा चाँडो सिक्दैनन् भने नि? येशूले प्रेषितहरूलाई कसरी सिकाउनुभयो, विचार गर्नुहोस्। कहिलेकाहीं त तिनीहरूबीच चर्को बहस चल्थ्यो अनि नम्र हुनुपर्छ भन्ने कुरा पनि तिनीहरूले हतपती सिकेनन्। तैपनि येशूले धीरजी भई बारम्बार नम्र हुनुको महत्त्वबारे सिकाउनुभयो। (मर्कू. ९:३३, ३४; लूका ९:४६-४८; २२:२४, २५) येशूको अनुकरण गर्ने आमाबाबु छोराछोरीलाई धीरजी भई सच्याउँछन् अनि आवश्यक परेमा छोराछोरीले कुनै कुराको महत्त्व राम्रोसित नबुझेसम्म बारम्बार सिकाइरहन्छन्।
३. कलिलै उमेरदेखि सिकाउन सुरु गर्नुहोस्। मिसनरी यात्रामा प्रेषित पावल सँगसँगै हिंडेका तिमोथीले राम्रो नाम कमाएका थिए। (प्रेषि. १६:१, २) यसको एउटा कारण त तिनले “शैशवकालदेखि नै पवित्र लेखोटहरू”-बाट शिक्षा पाएका थिए। तिमोथीको आमा र बज्यैले तिनलाई शास्त्रपदबाट पढेर सुनाउने मात्र गरेनन् तर सत्य कुराहरूमा तर्क गर्न पनि सिकाए।—२ तिमो. १:५; ३:१४, १५.
तपाईं कहाँ मदत पाउन सक्नुहुन्छ: छोराछोरीलाई परमेश्वरबारे सत्य कुरा सिकाउने हेतुले यहोवाका साक्षीहरूले थुप्रै प्रकाशनहरू तयार पारेका छन्। कुनै-कुनै त साना केटाकेटीलाई नै ध्यानमा राखेर तयार पारिएका छन्। अरू लेखहरूले भने आमाबाबु र किशोरावस्थाका छोराछोरीलाई खुलेर कुराकानी गर्न मदत गर्छ।
साना केटाकेटीलाई सिकाउन आमाबाबुले महान् शिक्षकबाट सिकौं किताब प्रयोग गर्न सक्छन्। यस किताबमा येशूका शिक्षाहरूबारे बताइएको छ। बाइबलका कथाहरू भएको मेरो पुस्तक पनि चलाउन सक्छन्। यस किताबमा बाइबलका महत्त्वपूर्ण पाठहरू सजिलो भाषामा लेखिएका छन्। किशोरावस्थामा टेकेका छोराछोरीसित भने आमाबाबुले युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ किताब प्रयोग गर्न सक्छन्। साथै इन्टरनेटको सुविधा भएकाहरूले www.jw.org मा आमाबाबु र छोराछोरीको लागि थप मदतकारी जानकारीहरू पाउन सक्छन्।