प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्नुहोस्
१. बाइबल अध्ययन सञ्चालकसित कस्तो जिम्मेवारी छ?
१ यहोवा परमेश्वरले “नखिचेसम्म” कसैले पनि उहाँको सेवा गर्न सक्दैन। (यूह. ६:४४) तैपनि मानिसहरूलाई स्वर्गमा बस्नुहुने बुबासित नजिक बनाउन बाइबल अध्ययन सञ्चालकले सक्दो मदत गर्नुपर्छ। (याकू. ४:८) यो भूमिका राम्ररी निभाउन तिनले तयारी गर्नु आवश्यक छ। विद्यार्थीले बाइबलको सन्देश राम्ररी बुझेर प्रगति गरेको चाहन्छौं भने हामीले अध्ययन सञ्चालन गर्दा अनुच्छेद पढ्दै प्रश्न-उत्तर गरेर मात्र पुग्दैन।
२. प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्दा हामीले विद्यार्थीलाई के गर्न मदत गरिरहेका हुन्छौं?
२ प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्न तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई यी कुराहरू गर्न मदत दिनुपर्छ: (१) बाइबलले के सिकाउँछ भनी बुझ्न, (२) बाइबलले सिकाउने कुरा स्वीकार्न र (३) बाइबलको शिक्षालाई आफ्नो व्यवहारमा उतार्न। (यूह. ३:१६; १७:३; याकू. २:२६) बाइबल विद्यार्थीलाई यी कदमहरू चाल्नको लागि मदत गर्न महिनौं लाग्न सक्छ। तर यहाँ दिइएको प्रत्येक कदमले तिनलाई यहोवा परमेश्वरसित व्यक्तिगत सम्बन्ध विकास गर्दै जान र उहाँमा समर्पण गर्न मदत गरिरहेको हुन्छ।
३. प्रभावकारी शिक्षकले किन विद्यार्थीको विचार व्यक्त गराउने खालका प्रश्नहरू सोध्छन्?
३ बाइबल विद्यार्थी के सोच्दै छन्?: अध्ययनको दौडान सञ्चालक मात्रै बोलिरहन्छन् भने विद्यार्थीले बाइबलका कुरा बुझेका अनि स्वीकारेका छन् कि छैनन् भनेर थाह पाउन सकिंदैन। बरु विद्यार्थीलाई आफ्नो मनको कुरा पोखाउन प्रोत्साहन दिनुहोस्। (याकू. १:१९) के तिनी छलफलको दौडान बाइबलले सिकाएको कुरा बुझ्छन्? के तिनी सिकेको कुरालाई आफ्नै शब्दमा वर्णन गर्न सक्छन्? आफूले सिकेको कुराप्रति तिनी कस्तो महसुस गर्छन्? बाइबलले सिकाउने कुरा सत्य छ भनेर के तिनी विश्वास गर्छन्? (१ थिस्स. २:१३) आफूले सिकेको कुरालाई लागू गर्दै जीवनमा परिवर्तनहरू गर्नुपर्छ भन्ने कुरा के तिनले बुझेका छन्? (कल. ३:१०) यस्ता प्रश्नहरूको जवाफ पाउन हामीले तिनको विचार व्यक्त गराउने खालका प्रश्नहरू सोध्नुपर्छ। अनि तिनको जवाफ सुन्नुपर्छ।—मत्ती १६:१३-१६.
४. बाइबलको कुनै शिक्षालाई स्वीकार्न वा लागू गर्न विद्यार्थी गाह्रो मान्दै छन् भने के गर्नु राम्रो हो?
४ मानिसहरूको बानी र सोच्ने तरिकाले तिनीहरूमा जरा गाडेर बसेको हुन्छ र त्यसलाई त्याग्न वा परिवर्तन गर्न समय लाग्छ। (२ कोरि. १०:५) अध्ययनबाट सिकेको कुरा विद्यार्थीले स्वीकारेनन् वा आफ्नो व्यवहारमा उतारेनन् भने हामी के गर्न सक्छौं? हामीले धैर्य गर्नुपर्छ किनभने परमेश्वरको वचन र पवित्र शक्तिलाई विद्यार्थीको हृदयमा काम गर्न दिन समय लाग्छ। (१ कोरि. ३:६, ७; हिब्रू ४:१२) विद्यार्थीले बाइबलको कुनै शिक्षालाई स्वीकार्न वा लागू गर्न गाह्रो मान्दै छन् भने तिनलाई दबाब दिनुको साटो अर्को विषयमा कुरा गर्नु अक्सर राम्रो हुन्छ। हामीले धीरजी र मायालु हुँदै तिनलाई बाइबलबाट सिकाइरह्यौं भने केही समयपछि तिनी आवश्यक परिवर्तन गर्न उत्प्रेरित हुन सक्छन्।