जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
नोभेम्बर ७-१३
बाइबलमा पाइने अनमोल धन | हितोपदेश २७-३१
“बाइबलले सुयोग्य पत्नीबारे बताउँछ”
it-2-E पृ. ११८३
पत्नी
मोशाको व्यवस्थाले कसरी पत्नीको हक अधिकारको सुरक्षा गर्छ? वैवाहिक प्रबन्धमा पतिले उच्च ओहदा पाए तापनि तिनले आफ्नो परिवारको भौतिक र आध्यात्मिक आवश्यकताहरू पनि पूरा गरेको परमेश्वर चाहनुहुन्थ्यो। साथै परिवारमा कसैले गलत काम गरेमा त्यसको असर पतिमाथि पर्ने भएकोले तिनको काँधमा गम्भीर जिम्मेवारी हुन्थ्यो। पतिले धेरै अधिकार पाए तापनि परमेश्वरको व्यवस्थामा पत्नीलाई सुरक्षा दिनुका साथै तिनलाई केही विशेष अधिकार पनि दिइएको थियो। त्यसले गर्दा पत्नीले आनन्दित र सन्तोषजनक जीवन बिताउन सक्थिन्।
पत्नीको लागि व्यवस्थाले प्रबन्ध गरेका कुराहरूको केही उदाहरणहरू हुन्: पति वा पत्नीमध्ये कसैले अवैध यौनसम्बन्ध राखेमा दोषीलाई मृत्यु दण्ड दिन सक्थ्यो। यदि पत्नीले नाजायज सम्बन्ध राखेको पतिलाई शङ्का लागेमा तिनले पत्नीलाई पुजारीकहाँ लान सक्थे र त्यस मामिलाको न्याय यहोवाले गर्नुहुन्थ्यो। अनि यदि पत्नी दोषी ठहरिएमा तिनको प्रजनन अङ्गहरू सुकेर जाने थियो। तर पत्नी निर्दोष ठहरिएमा पतिले तिनीसित सम्बन्ध राखेर छोराछोरी जन्माउनुपर्थ्यो, यसरी तिनी निर्दोष छिन भनेर साबित हुन्थ्यो। (गन्ती ५:१२-३१) पतिलाई पत्नीको केही कुरा चित्त बुझेन जस्तै: पतिको घोर अनादर गऱ्यो, पतिको घराना वा बुबाको निन्दा गऱ्यो भने तिनले सम्बन्धविच्छेद गर्न सक्थे। तर सम्बन्धविच्छेद गर्दा पतिले त्याग-पत्र लेखिदिनुपर्थ्यो। त्यसपछि तिनी अर्को व्यक्तिसित विवाह गर्न स्वतन्त्र हुन्थिन्। यस्तो प्रबन्धले पत्नीको अधिकारको सुरक्षा हुन्थ्यो। (व्य २४:१, २) पत्नीले गरेको भाकलले परिवारको हितमाथि हानि पुऱ्याउँछ जस्तो पतिलाई लाग्यो भने तिनले त्यो भाकललाई रद्द गर्न सक्थे। (गन्ती ३०:१०-१५) यसले गर्दा हतारपतार कुनै निर्णय गरेर समस्यामा पर्नदेखि पत्नीलाई जोगाउँथ्यो।
मोशाको व्यवस्थामा बहुविवाहलाई कुनै रोकटोक नलगाइएको भए तापनि पत्नीको हक अधिकारको सुरक्षा गरिएको थियो। मन नपर्ने पत्नीबाट जन्मिएको छोराको ज्येष्ठ अधिकार मन पर्ने पत्नीबाट जन्मिएको छोरालाई दिन पाइँदैन थियो। (व्य २१:१५-१७) यदि इस्राएली बुबाले आफ्नो छोरी कमारी हुनलाई बेचे अनि मालिकले उसलाई लगेर उपपत्नी बनाए तर मालिकलाई ऊ असल लागेन भने मोल तिरेर कमारीले आफूलाई मुक्त गर्न सक्थिन्। उसलाई विदेशीको हातमा बेच्ने अधिकार भने मालिकसित थिएन। (प्रस्थ २१:७, ८) यदि मालिकले वा तिनको छोराले कमारीलाई उपपत्नी बनायो तर पछि अर्कै पत्नी ल्यायो भने उक्त कमारीलाई खानेकुरा, लुगाफाटा, बास दिनुको साथै दाम्पत्य-कर्तव्य पूरा गर्नुपर्थ्यो।—प्रस्थ २१:९-११.
पतिले नराम्रो मनसाय राखेर पत्नीको कुमारीत्वमाथि शङ्का लागेको गलत आरोप लगायो भने पतिलाई दण्ड दिइन्थ्यो र आफ्नो ससुरालाई दुई गुणा जरिमाना तिर्नुपर्थ्यो र पत्नीसित कहिल्यै सम्बन्धविच्छेद गर्न पाउँदैन थियो। (व्य २२:१३-१९) मगनी नभएको कुमारी केटीलाई कुनै पुरुषले फकाएर शारीरिक सम्बन्ध राख्यो भने उसले तिनको बुबालाई जरिमाना तिर्नुपर्थ्यो। अनि केटीको बुबाले विवाह गर्ने अनुमति दिएमा त्यस केटीलाई जीवनभरि त्याग्न पाउँदैन थियो।—व्य २२:२८, २९; प्रस्थ २२:१६, १७.
हिब्रू समाजका पत्नीहरूको दर्जा अहिलेको पश्चिमी मुलुकका पत्नीहरूको भन्दा फरक भए तापनि विश्वासी हिब्रू पत्नी आफ्नो काम र ओहदाबाट आनन्द उठाउँथिन्। पतिलाई सहयोग गर्ने, परिवारको लालनपालन गर्ने, घर-गृहस्थी सम्हाल्ने जस्ता कुराहरूमा आफूसित भएको गुण र खुबी पूर्णरूपमा प्रदर्शित गरेर सन्तुष्ट र आनन्दित हुन्थिन्।
सुयोग्य पत्नीमा हुनुपर्ने गुणहरू। हितोपदेश अध्याय ३१ मा विश्वासी पत्नीको गुण र गतिविधिबारे वर्णन गरिएको छ। तिनी मुगा-मोतीभन्दा पनि ज्यादा बहुमूल्यकी हुन्छिन् भनेर बताइएको छ। तिनको पतिले तिनलाई भरोसा गर्न सक्छन्। तिनी मेहनती हुन्छिन्। बुन्ने, लुगा बनाउने, किनमेल गर्ने, दाखबारीमा काम गर्ने, दासहरूलाई काम अह्राउने, खाँचोमा परेकाहरूलाई मदत गर्ने, परिवारको लागि चिटिक्क परेको लुगा तयार पार्ने, केही काम गरेर आफू पनि कमाउने, आपत्कालीन अवस्थाको लागि परिवारलाई तयार पार्ने, दयालु हुँदै बुद्धिमानी कुराहरू भन्ने र यहोवाको डर अनि असल कामहरूले गर्दा पति र छोराहरूबाट तिनले प्रशंसा पाउँछिन्। त्यसैले तिनको पति र परिवारले आदर पाउँछन्। सुयोग्य पत्नी पाउने मानिसले साँच्चै असल कुरा पाउँछ र यहोवाबाट निगाह पाउँछ।—हितो १८:२२.
ख्रीष्टियन मण्डलीमा। ख्रीष्टियन मण्डलीमा परमेश्वरको स्तरअनुसार एक जना पुरुषको एक जना मात्र पत्नी हुनुपर्छ। (१को ७:२; १ति ३:२) पत्नीलाई पति विश्वासमा भए पनि नभए पनि आ-आफ्ना पतिको अधीनमा बस्ने आज्ञा दिइएको छ। (एफि ५:२२-२४) पतिले आफ्नो पत्नीलाई दिनुपर्ने हक दिनुपर्छ अनि पत्नीले पनि, किनभने तिनको “आफ्नो शरीरमाथि अधिकार हुँदैन।” (१ को ७:३, ४) पत्नीको सिंगार मनको सिंगार होस् भनी निर्देशन दिइएको छ। साथै पत्नीले पवित्र शक्तिको फलको विभिन्न पक्ष खेती गरोस् ताकि तिनको असल चालचलनद्वारा विनावचन विश्वासमा नभएको आफ्नो पतिलाई मनाउन सकियोस्।—१प ३:१-६.
प्रतीकात्मक अर्थ। यहोवाले इस्राएल राष्ट्रसित करार बाँध्नुभएकोले प्रतीकात्मक अर्थमा तिनीहरूलाई आफ्नो पत्नी भन्नुभएको छ। (यशै ५४:६) प्रेषित पावलले यहोवालाई पवित्र शक्तिद्वारा अभिषिक्त ख्रीष्टियनहरूको बुबा र “माथिका यरूशलेम”-लाई चाहिं आमा भनेका छन्। यस प्रतीकात्मक विवाहको उद्देश्य पवित्र शक्तिद्वारा अभिषिक्त ख्रीष्टियनहरूलाई जम्मा गर्नु थियो। (गला ४:६, ७, २६) ख्रीष्टियन मण्डलीलाई येशू ख्रीष्टको दुलही वा पत्नी पनि भनिएको छ।—एफि ५:२३, २५; प्रका १९:७; २१:२, ९.
बहुमूल्य रत्न खोजौं
w१५-E ७/१ पृ. ८ अनु. ३
सम्भाव्य खतराबारे अनावश्यक चिन्ता
खराब कुराहरू हुन्छन् त्यसैले “बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ।” (हितोपदेश २७:१२, NRV) शारीरिक रूपमा स्वस्थ रहन प्रयास गरेजस्तै मानसिक र भावनात्मक रूपमा स्वस्थ रहन पनि मेहनत गर्नुपर्छ। हिंसात्मक मनोरञ्जन अनि डरलाग्दा दृश्यहरूले भरिएको समाचारले हामी लगायत हाम्रा छोराछोरीमा अनावश्यक चिन्ता थपिदिन्छ। तर यस्तो मनोरञ्जन र समाचारहरू नहेर्दैमा मानसिक र भावनात्मक रूपमा स्वस्थ हुन्छौं भन्ने होइन। परमेश्वरले हाम्रो दिमागलाई खराब कुराहरूले भर्न बनाउनुभएको होइन। त्यसैले हामीले “जुन कुराहरू सत्य छन्, . . . परमेश्वरको स्तरबमोजिम असल छन्, . . . चोखा छन्, . . . प्रेम गर्न योग्य छन्” त्यस्ता कुराहरूले आफ्नो दिमाग भर्नुपर्छ। यसो गऱ्यौं भने “शान्तिका परमेश्वर”-ले हामीलाई मनोशान्ति दिनुहुनेछ।—फिलिप्पी ४:८, ९.
w११-E ८/१ पृ. २९ अनु. २
आशा र मीठो सपनाले भरिएको दिन
त्यसपछि भाइ मोरिस्ले हितोपदेश २७:२१ पढ्नुभयो। जहाँ यस्तो लेखिएको छ: “चाँदी पगाल्नलाई भाँडो र सुन खार्नलाई पात्र, तर चालचलनको जाँच प्रशंसा हो।” जसरी सुन र चाँदीलाई खारिन्छ अथवा त्यसलाई शुद्ध पारिन्छ, त्यसरी नै कसैबाट हामीले प्रशंसा पाउँदा त्यसले हामीलाई खार्न सक्छ। कसरी? प्रशंसाले मानिसको चरित्रलाई जाँच्छ। प्रशंसा पाउँदा कोही व्यक्ति घमन्डी भएर आध्यात्मिक तवरमा कमजोर हुन सक्छ वा यहोवाप्रति कृतज्ञ भई उहाँको स्तरअनुसार चल्न अझै कटिबद्ध हुन सक्छ। त्यसैले भाइ मोरिस्ले विद्यार्थीहरूलाई तिनीहरूले जुनसुकै कुराको लागि प्रशंसा पाउँदा त्यसप्रति सही दृष्टिकोण राख्न प्रोत्साहन दिनुभयो अर्थात् प्रशंसालाई ‘यहोवाको भय’ मानेको कुरा देखाउने सुअवसरको रूपमा लिन आग्रह गर्नुभयो।
नोभेम्बर २१-२७
बाइबलमा पाइने अनमोल धन | उपदेशक ७-१२
“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर”
w११-E ११/१ पृ. २१ अनु. १-६
परमेश्वरको नजिक हुनुहोस्
परमेश्वरप्रतिको हाम्रो दायित्व पूरा गर्ने
‘जीवनको उद्देश्य के हो,’ के तपाईंले कहिल्यै यसबारे सोच्नुभएको छ? यहोवाले मानिसहरूलाई यस्तो प्रश्न सोध्ने क्षमता मात्र होइन यसबारे बुझ्ने गहिरो चाहना पनि दिनुभएको छ। खुसीको कुरा परमेश्वरले हामीलाई त्यत्तिकै छोड्नुभएको छैन। हाम्रो मनमा उब्जेका प्रश्नहरूका जवाफ उहाँको वचन बाइबलमा पाउँछौं। उपदेशक १२:१३ मा राजा सुलेमानले भनेका कुराहरू विचार गर्नुहोस्।
सुलेमान विशेष ओहदा पाएका व्यक्ति थिए। आनन्दित र उद्देश्यपूर्ण जीवन कसरी प्राप्त गर्न सकिन्छ भनेर तिनले धेरै कुरा बताउन सक्थे। मानिसहरूले खोजिरहेका नाम, दाम लगायत हरेक कुराको विषयमा तिनले गहिरो अनुसन्धान गर्न सक्थे किनभने तिनी राजा थिए अनि बुद्धि, प्रशस्त सम्पत्ति भएका व्यक्ति थिए। (उपदेशक २:४-९; ४:४) सबै कुराको अनुसन्धान गरिसकेपछि परमेश्वरको प्रेरणा पाएर निष्कर्षमा तिनले यसो भने: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” यी शब्दहरूले मानिसले गर्न सक्ने सबैभन्दा सम्माननीय र इनामदायी कामबारे बताउँछ।
“परमेश्वरको भय राख्।” परमेश्वरको भय राख भन्ने कुरा सुन्दा सुरुमा तपाईंलाई त्यति मन नपर्न सक्छ। तर यहाँ बताएको कुरा हाम्रो मनभित्रको स्वस्थकर भय हो। जस्तै: एक जना रिसाहा मालिक देखेर भयभित भएको दास जस्तो नभई मायालु बुबालाई खुसी पार्न चाहने छोरा वा छोरी। एउटा किताबअनुसार परमेश्वरको भय भनेको “उहाँप्रतिको प्रेम, उहाँको शक्ति र महानताप्रतिको आदरले गर्दा मानिसहरूले उहाँलाई देखाउने श्रद्धा वा निष्ठाको मनोभाव हो।” यस्तो मनोभावले हामीलाई परमेश्वरको इच्छाअनुसार चल्न उत्प्रेरित गर्छ किनभने हामी उहाँलाई प्रेम गर्छौं र उहाँले पनि हामीलाई प्रेम गर्नुहुन्छ। स्वस्थकर भय भावनाको कुरा मात्र होइन व्यवहारद्वारा झल्किन्छ। कसरी?
“उहाँका आज्ञा पालन गर्।” परमेश्वरको भयले हामीलाई उहाँको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। यहोवाप्रति आज्ञाकारी हुने जायज कारणहरू छन्। कुनै सामान कसरी प्रयोग गर्ने भनेर त्यो सामान बनाउने व्यक्तिलाई राम्ररी थाह भएजस्तै हामीलाई बनाउनुहुने सृष्टिकर्ता यहोवालाई हामीले कसरी उत्तम जीवन जिउन सक्छौं भनेर राम्ररी थाह छ। यसबाहेक, यहोवा सधैं हाम्रो भलाइ चाहनुहुन्छ। उहाँ हामी खुसी भएको चाहनुहुन्छ र उहाँका इच्छाअनुसार चल्दा हाम्रै फाइदा हुन्छ। (यशैया ४८:१७) प्रेषित यूहन्नाले यसो भने: “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्।” (१ यूहन्ना ५:३) परमेश्वरले दिनुभएको आज्ञाले हामीप्रति उहाँको प्रेम झल्किन्छ भने हामी आज्ञाकारी हुँदा उहाँप्रतिको हाम्रो प्रेम झल्किन्छ।
“योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” यी शब्दहरूले परमेश्वरको भय मान्नु र उहाँको आज्ञा पालन गर्नुको महत्त्वलाई जोड दिन्छ। भनौं भने यसो गर्नु हाम्रो जिम्मेवारी वा दायित्व नै हो। यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ त्यसैले हामी उहाँप्रति आभारी छौं। (भजन ३६:९) साथै उहाँप्रति आज्ञाकारी हुनु हाम्रो दायित्व हो। उहाँले चाहेअनुसार जीवन बितायौं भने हामीले परमेश्वरप्रतिको हाम्रो दायित्व पूरा गरिरहेका हुनेछौं।
त्यसोभए जीवनको उद्देश्य के हो? सरल शब्दमा भन्ने हो भने: परमेश्वरको इच्छाअनुसार चल्नु नै जीवनको उद्देश्य हो। यसबाहेक हामीले गर्न सक्ने अर्थपूर्ण कुरा अरू केही छैन। यहोवाको इच्छा बुझेर त्यसैअनुरूप जीवन बिताउन चाहनुहुन्छ कि? यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्।