प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr16 डिसेम्बर पृ. १-३
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१६)
  • उपशीर्षकहरू
  • डिसेम्बर ५-११
  • पर्वत, जहाँ उपासना गरिन्थ्यो
  • शुद्ध उपासनालाई उच्च पारियो
  • डिसेम्बर १२-१८
  • “ठूलो ज्योति”
  • डिसेम्बर १९-२५
  • डिसेम्बर २६–जनवरी १
  • ‘तिनको लाभ यहोवाको लागि पवित्र छ’
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१६)
mwbr16 डिसेम्बर पृ. १-३

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

डिसेम्बर ५-११

बाइबलमा पाइने अनमोल धन | यशैया १-५

‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

ip-1-E पृ. ३८-४१ अनु. ६-११

यहोवाको भवन उच्च पारियो

यशैयाले गरेको यो भविष्यवाणी कहिले पूरा हुनेथियो? “पछिल्ला दिनमा।” कुनै-कुनै बाइबल अनुवादमा “अन्तको दिनमा” भनिएको छ। ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा अन्तको दिनको चिन्हबारे भविष्यवाणी गरिएको थियो। केही चिन्ह यसप्रकार छन्‌: युद्ध, भूकम्प, महामारी, अनिकाल र “असाध्यै कठिन समय।” (२ तिमोथी ३:१-५; लूका २१:१०, ११) अहिले पूरा भइरहेका यी भविष्यवाणीहरूले हामी “पछिल्ला दिनमा” अर्थात्‌ दुष्ट संसारको अन्तिम दिनमा बाँचिरहेका छौं भन्‍ने कुराको प्रमाण दिन्छ। त्यसैले यशैयाले गरेका भविष्यवाणीहरू हाम्रो समयमा नै पूरा हुन्छ भनेर आशा गर्नु उचित छ।

पर्वत, जहाँ उपासना गरिन्थ्यो

यशैयाले एउटा रोचक भविष्यवाणी गर्छन्‌। तिनले यहोवाको शानदार भवन बसालिएको एउटा उच्च पर्वतबारे बताउँछन्‌। त्यो पर्वत वरपरको अरू पर्वतहरूभन्दा अल्गो छ। तर अल्गो भए तापनि कसैले पनि डर महसुस गर्दैनन्‌। बरु त्यस पर्वतमा सारा राष्ट्रका मानिसहरू ओइरिएर आउँछन्‌। कस्तो जीवन्त दृश्‍य! तर यसको अर्थ के हो?

यशैयाका समयमा डाँडा र पर्वतहरू प्रायः उपासनाको लागि प्रयोग गरिन्थ्यो। उदाहरणको लागि मूर्तिपूजकहरूले डाँडा र पर्वतहरूमा आफ्ना देवताका मन्दिर बनाउँथे र त्यहीं उपासना गर्थे। (व्यवस्था १२:२; यर्मिया ३:६) तर यरूशलेमको मोरीयाह पर्वतमा चाहिं यहोवाको भवन वा मन्दिर बसालिएको थियो। विश्‍वासी यहूदीहरू साँचो परमेश्‍वरको उपासना गर्न वर्षमा तीन पटक मोरीयाह पर्वतमा जान्थे। (व्यवस्था १६:१६) त्यसैले विभिन्‍न राष्ट्रका मानिसहरू चारैतिरबाट ‘यहोवाको भवन बसालिएको पर्वतमा’ ओइरिन्थे भन्‍नुको अर्थ साँचो उपासना गर्न मानिसहरू भेला हुने कुरालाई सङ्‌केत गर्छ।

अहिले परमेश्‍वरका सेवकहरू यहोवाको उपासना गर्न साँच्चिकै कुनै पर्वतमा बनाएको मन्दिरमा भेला हुँदैनन्‌। हुन त यरूशलेममा यहोवाको एउटा मन्दिर थियो तर त्यो मन्दिर पनि रोमी सेनाहरूले इस्वी संवत्‌ ७० मा नष्ट गरिदिए। यसबाहेक प्रेषित पावलले यरूशलेमको मन्दिर र बासस्थानले प्रतीकात्मक कुरा अर्थात्‌ ‘यहोवाले टाँग्नुभएको साँचो पाललाई’ बुझाउँछ भनी बताए। (हिब्रू ८:२) पालले केलाई बुझाउँछ? येशू ख्रीष्टको बलिदानको आधारमा यहोवाको उपासना गर्ने प्रबन्धलाई बुझाउँछ। (हिब्रू ९:२-१०, २३) त्यसैले यशैया २:२ मा उल्लेख गरिएको “परमप्रभुको भवन बसालिएको पर्वत”-ले हाम्रो समयमा उच्च पारिएको यहोवाको उपासनालाई बुझाउँछ। हो, चारैतिरबाट मानिसहरू यहोवाको पर्वतमा भेला हुनुको अर्थ कुनै साँच्चैको पर्वतमा भेला हुने कुरालाई नभई उपासनामा एकताबद्ध हुने कुरालाई बुझाउँछ।

शुद्ध उपासनालाई उच्च पारियो

भविष्यवक्‍ताले “परमप्रभुको भवन बसालिएको पर्वत” वा शुद्ध उपासना “सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ” भनेर बताए। यशैयाको समयभन्दा धेरै पहिले राजा दाऊदले करारको सन्दुक यरूशलेमको सियोन पर्वतमा ल्याएका थिए। त्यो ठाउँ समुद्री सतहभन्दा २ हजार ५ सय फिट [७ सय ६० मिटर] उचाइमा थियो। मोरीयाह पर्वतमा मन्दिर नबनाउन्जेल वाचाको सन्दुक त्यही ठाउँमा राखियो। (२ शमूएल ५:७; ६:१४-१९; २ इतिहास ३:१; ५:१-१०) यशैयाको दिनमा वाचाको सन्दुक राखिएको त्यो ठाउँ झूटो उपासनाको लागि प्रयोग गरिएको अन्य पर्वतहरूभन्दा अल्गो ठाउँमा भएकोले यहोवाको उपासनालाई साँच्चै उच्च पारियो भन्‍न सक्छौं।

हो, देवताहरूको उपासना गर्ने धार्मिक रीतिरिवाज जस्तो नभई यहोवाको उपासना सधैं नै उच्च स्थानमा रहँदै आएको छ। अनि अहिले हाम्रो समयमा पनि यहोवाको उपासना सबै “डाँडा” र “पर्वतको टुप्पो” अर्थात्‌ हरेक किसिमको अशुद्ध उपासनाभन्दा झनै उच्च पारिएको छ। कसरी? “पवित्र शक्‍ति अनि सत्यबमोजिम” उहाँको उपासना गर्न चाहनेहरूलाई जम्मा गर्ने काम गरेर।—यूहन्‍ना ४:२३.

ip-1-E पृ. ४४-४५ अनु. २०-२१

यहोवाको भवन उच्च पारियो

यहोवाले आफ्ना सेवकहरूलाई हराएको भेडाजस्तै अन्योलमा पर्न दिनुहुन्‍न। उहाँले आफ्नो मार्ग सिकाउन बाइबल र बाइबल आधारित प्रकाशनहरूद्वारा तिनीहरूलाई आफ्नो “व्यवस्था” र “वचन” दिनुहुन्छ। यसबाट पाएको ज्ञानले तिनीहरूलाई “उहाँको मार्गमा” हिंड्‌न मदत गर्छ। तिनीहरू उहाँको निर्देशनअनुसार चल्छन्‌ र मनैदेखि कृतज्ञ हुँदै आपसमा यहोवाको मार्गबारे कुरा गर्छन्‌। अनि परमेश्‍वरको मार्गबारे अझ धेरै कुरा सुन्‍न र सिक्नको लागि ठूलठूला अधिवेशनमा उपस्थित हुन्छन्‌ र राज्यभवन वा निजी घरहरू जस्ता स-साना समूहहरूमा हुने सभाहरूमा पनि भेला हुन्छन्‌। (व्यवस्था ३१:१२, १३) यसरी एक-अर्कालाई “प्रेम र सुकर्म गर्न” प्रोत्साहन दिनको लागि एक ठाउँमा भेला भएर प्रथम शताब्दीका ख्रीष्टियनहरूको अनुकरण गर्छन्‌।—हिब्रू १०:२४, २५.

तिनीहरू यहोवा परमेश्‍वरको उच्च पारिएको उपासना गर्न ‘आउन’ अरूलाई निम्तो दिन्छन्‌। यो कुरा येशू स्वर्ग जानुभन्दा अगाडि उहाँले चेलाहरूलाई दिनुभएको आज्ञासित मेल खान्छ! उहाँले भन्‍नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। अनि हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:१९, २०) यहोवाको डोऱ्‍याइ पाएर उहाँका सेवकहरू सारा संसारभरि मानिसहरूलाई सिकाउने,चेला बनाउने र, बप्तिस्मा गराउने काममा लागिरहेका छन्‌।

ip-1-E पृ. ४६-४७ अनु. २४-२५

यहोवाको भवन उच्च पारियो

कुनै पनि राष्ट्रले हासिल गर्न नसकेको लक्ष्य हासिल भएको छ। यो तिनीहरूको क्षमताको कुरा होइन। यशैयाले भविष्यवाणी गरे अनुसार नै अहिले विभिन्‍न राष्ट्रका मानिसहरू फरक-फरक देश वा ठाउँमा बसे तापनि शुद्ध उपासना गर्न एकताबद्ध भएका छन्‌। यहोवाले नै तिनीहरू बीचको झगडाको फैसला गर्नुभएको छ। उहाँले आफ्ना सेवकहरूलाई आपसमा शान्तिमा रहन सिकाउनुभएको छ। अहिलेको विभाजित र कलहले भरिएको संसारमा तिनीहरूले प्रतीकात्मक रूपमा “तरबार पिटेर हलोको फाली र भालाचाहिं हँसिया” बनाएका छन्‌। कसरी?

एउटा तरिका हो, तिनीहरू राष्ट्रहरूबीच युद्ध हुँदा कसैको पक्ष लिंदैनन्‌। येशूको मृत्यु हुनुभन्दा केही समय अघि सिपाहीहरू उहाँलाई पक्रन आए। आफ्नो मालिकलाई जोगाउन पत्रुसले तरबार चलाउँदा येशूले यसो भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।” (मत्ती २६:५२) त्यतिबेलादेखि येशूको पाइला पछ्याउनेहरूले तरबार पिटेर हलोको फाली बनाएका छन्‌ र सङ्‌गी मानवलाई मार्नका निम्ति हतियार उठाउँदैनन्‌। तिनीहरूले ‘सबै मानिससित शान्ति कायम गरेका’ छन्‌।—हिब्रू १२:१४.

बहुमूल्य रत्न खोजौं

it-2-E पृ. ७६१ अनु. ३

मिलाप

मिलापका लागि कदम चाल्नु आवश्‍यक छ: मानिसहरूले परमेश्‍वरको स्तर पालन नगरेकाले उहाँको चित्त दुखेको छ। यसैकारण परमेश्‍वरले मानिसहरूसित नभई बरु मानिसहरूले परमेश्‍वरसित मिलाप गर्नु आवश्‍यक छ। (भजन ५१:१-४) मानिसहरू परमेश्‍वरको स्तर बराबर छैन अनि कुनै पनि कुरालाई सच्याउन, परिवर्तन गर्न पनि सक्दैनन्‌। (यशैया ५५:६-११; मलाकी ३:६; याकूब १:१७) त्यसैले परमेश्‍वरसित मिलाप गर्नुपर्ने कुरामा आलटाल गर्नुपर्ने वा किन सम्झौता गर्नुपऱ्‍यो र भन्‍ने सवाल नै उठ्‌दैन। (अय्यूब ४०:१, २, ६-८; यशैया ४०:१३, १४) प्रायजसो अनुवादहरूमा यशैया १:१८-मा यसो लेखिएको छ: “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं।” (NRV) अर्को बाइबलमा अझै यसरी अनुवाद गरिएको छ: ‘मानिसहरू हो आओ, हामी सँगसँगै बसेर विवाद सुल्झाऔं, यहोवा भन्‍नुहुन्छ।’ त्यसैले बेमेल निम्त्याउने पक्ष त शतप्रतिशत मानिसहरू हो, परमेश्‍वर होइन।—तुलना गर्नुहोस्‌ इज १८:२५, २९-३२.

डिसेम्बर १२-१८

बाइबलमा पाइने अनमोल धन | यशैया ६-१०

“मसीहले भविष्यवाणी पूरा गर्नुभयो”

ip-1-E पृ. १२४-१२६ अनु. १३-१७

शान्तिको राज कुमारको प्रतिज्ञा

‘हेला गरिएको’ भूमि

यशैया अब्राहामको वंशमाथि आइपर्ने सबैभन्दा ठूलो विपत्तिबारे यसरी बताउँछन्‌: “सङ्‌कष्ट परेकाहरूका निम्ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुने छ।” (यशैया ९:१ NRV) गालील इस्राएलको उत्तरी राज्यको इलाकामा पर्थ्यो। यशैयाको भविष्यवाणीमा चर्चा गरिएको भूमिमा “जबूलूनको देश र नप्तालीको देश” र ‘समुद्र हुँदै जाने बाटो’ पनि पर्थ्यो। प्राचीन समयमा त्यो बाटो गालीलको समुद्र किनार हुँदै भूमध्य सागरसम्म फैलिएको थियो। यशैयाको समयतिर त्यस सहरमा बस्ने धेरैजसो मानिसहरू गैर इस्राएली थिए त्यसैले त्यस इलाका “अन्यजातिहरूको गालील” भनेर चिनिन्थ्यो। त्यस भूमिलाई किन हेला गरियो? मूर्तिपूजक अश्‍शूरीहरूले युद्ध गरेर त्यस देशका इस्राएलीहरूलाई कैदी बनाएर निर्वासनमा पठाए। अनि तिनीहरूले त्यस देशमा गैर इस्राएलीहरूलाई बसोबास गराए, तिनीहरू अब्राहामका वंशका थिएनन्‌। यसप्रकार इस्राएलको उत्तरी दस गोत्रे राज्य इतिहासबाटै मेटियो!—२ राजा १७:५, ६, १८, २३, २४.

अश्‍शूरीहरूले यहूदालाई पनि दबाब दिइरहेका थिए। के जबूलून र नप्तालीले प्रतिनिधित्व गर्ने दस गोत्रे राज्यझैं यहूदा पनि सदाको लागि ‘नैराश्‍यमा डुब्ने’ अर्थात्‌ नामोनिसान नै मेटिने थियो? थिएन। “पछि” यहोवाले यहूदा राज्यको दक्षिणी भाग र पहिला उत्तरी राज्यले शासन गरेको ठाउँहरूलाई समेत आशिष्‌ दिनुहुने थियो। कसरी?

यस प्रश्‍नको जवाफ प्रेषित मत्तीले दिएका छन्‌। परमेश्‍वरको प्रेरणा पाएर येशूको प्रचारकार्यबारे मत्तीले यस्तो लेखे: “नासरत छोडेपछि उहाँ [येशू] समुद्र छेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो, जुन जबूलून र नप्तालीको इलाकामा पर्थ्यो। यसरी भविष्यवक्‍ता यशैयाले भनेको यो वचन पूरा भयो: “हे जबूलून र नप्ताली, समुद्रको बाटो हुँदो, यर्दन नदी पारि पर्ने मुलुक, गैर-यहूदीहरूको गालील! अन्धकारमा बसिरहेका मानिसहरूले एउटा ठूलो ज्योति देखे अनि मृत्युको छाया परेको इलाकामा बसिरहेकाहरूमाथि चाहिं ज्योति उदायो।”—मत्ती ४:१३-१६.

यशैयाले “पछि” भनेर उल्लेख गरेको समय येशू पृथ्वीमा हुनुहुँदा उहाँले प्रचारकार्यमा बिताउनुभएको समय हो। येशूले आफ्नो जीवनको धेरैजसो समय गालीलमा बिताउनु भयो। उहाँले “स्वर्गको राज्य नजिकै आएको छ” भनी घोषणा गर्दै गालीलबाट प्रचार गर्ने काम सुरु गर्नुभयो। (मत्ती ४:१७) उहाँले गालीलमै डाँडाको उपदेश दिनुभयो, आफ्ना चेलाहरू छान्‍नुभयो, पहिलो चमत्कार गर्नुभयो साथै उहाँ फेरि जीवित हुनुभएपछि ५०० जना चेलाहरूसामु देखा पर्नुभयो। (मत्ती ५:१–७:२७; २८:१६-२०; मर्कूस ३:१३, १४; यूहन्‍ना २:८-११; १ कोरिन्थी १५:६) यसप्रकार यशैयाले भविष्यवाणी गरेझैं येशूले ‘जबूलून र नप्तालीको इलाकालाई’ आदर गरेको कुरा देखाउनुभयो। तर येशूले गालीलमा मात्र प्रचारकार्य सीमित राख्नुभएन। इस्राएलको चारैतिर प्रचार गर्नुभयो। यसरी उहाँले यहूदा अनि पूरै इस्राएल राष्ट्रलाई ‘सम्मानित’ तुल्याउनुभयो।

“ठूलो ज्योति”

तर मत्तीले गालीलका मानिसहरूले “ठूलो ज्योति देखे” भन्‍नुको अर्थ के हो? यो पनि तिनले यशैयाको भविष्यवाणीबाट उद्धरण गरिरहेका थिए। यशैयाले यस्तो लेखेका थिए: “अन्धकारमा हिंड्‌ने मानिसहरूले एउटा ठूलो ज्योति देखे, मृत्युको छायाको देशमा बसोबास गर्नेहरूमाथि ज्योतिको प्रकाश भयो।” (यशैया ९:२) प्रथम शताब्दीमा झूटा उपासनाले गर्दा सत्यको ज्योति ओझेलमा परेको थियो। यहूदी धर्म गुरुहरूले विभिन्‍न धार्मिक प्रचलनहरू अपनाएर “परमेश्‍वरको वचनलाई बेकामको” तुल्याएका थिए। (मत्ती १५:६) नम्र मानिसहरू ती “अन्धा अगुवाहरू” को पछि लागेकाले अन्योलमा परेका थिए। (मत्ती २३:२-४, १६) तर येशूले परमेश्‍वरबारे साँचो शिक्षा सिकाउनु भएपछि ती नम्र मानिसहरूको आँखा खुल्यो। (यूहन्‍ना १:९, १२) पृथ्वीमा हुनुहुँदा येशूले गर्नुभएको काम र उहाँको बलिदानले गर्दा पाएको आशिष्‌लाई यशैयाको भविष्यवाणीमा उल्लेख गरिएको “ठूलो ज्योति” भन्‍न एकदमै उपयुक्‍त छ।—यूहन्‍ना ८:१२.

w०७-E ५/१५ पृ. ६

दुःखले भरिएको संसारमा आशा

आशाको बलियो आधार

येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।’” (मत्ती ६:९, १०) येशू ख्रीष्टको अधीनमा भएको परमेश्‍वरको सरकार अर्थात्‌ स्वर्गको त्यस राज्यले यस पृथ्वीमाथि शासन गर्नेछ।—भजन २:७-१२; दानियल ७:१३, १४.

अहिले मानिसहरू डरै-डरमा बाँचिरहेका छन्‌। मानिसहरूलाई साँच्चै परमेश्‍वरको राज्य चाहिएको छ। तर खुसीको कुरा अब छिट्टै परमेश्‍वरको राज्यले मानव गतिविधिमा हस्तक्षेप गर्नेछ। परमेश्‍वरले येशूलाई उहाँको राज्यको राजा नियुक्‍त गर्नुभएको छ र उहाँलाई यहोवाको सार्वभौमिकता उच्च पार्ने र उहाँको नाम पवित्र पार्ने अख्तियार पनि दिनुभएको छ। (मत्ती २८:१८) यस राज्यले अब छिट्टै पृथ्वीमा शासन गर्नेछ र मानिसहरूको डर र चिन्ता हटाउनेछ। यशैया ९:६ मा येशूलाई “सनातनका पिता,” ‘अद्‌भुत सल्लाहकार,’ र “शान्तिका राजकुमार” भनेर सम्बोधन गरिएको छ। यी शब्दहरू विचार गर्दा उहाँ योग्य शासक हुनुहुन्छ र मानिसहरूले भोगिरहेका सबै समस्या समाधान गर्न सक्नुहुन्छ भनेर बुझ्न सक्छौं।

“सनातनका पिता” भन्‍ने मनै छुने अभिव्यक्‍तिबारे विचार गरौं। येशूसित आफूले दिएको बलिदानको आधारमा आज्ञाकारी मानिसहरूलाई अनन्त जीवनको आशा दिन सक्ने शक्‍ति र अख्तियार छ। अनि उहाँसित त्यसो गर्ने इच्छा पनि छ। यसको अर्थ आदमबाट पाएको पाप र त्रुटिपूर्ण अवस्थाबाट मानिसहरूलाई छुटकारा दिनुहुनेछ। (मत्ती २०:२८; रोमी ५:१२; ६:२३) यसबाहेक येशूले परमेश्‍वरले दिनुभएको अख्तियार प्रयोग गरेर मरिसकेका थुप्रै मानिसहरूलाई फेरि जीवित पार्नुहुनेछ।—यूहन्‍ना ११:२५, २६.

साथै, येशू पृथ्वीमा हुनुहुँदा उहाँ ‘अद्‌भुत सल्लाहकार’ हुनुभएको कुरा प्रमाणित भयो। किनभने उहाँसित परमेश्‍वरको वचनको सही ज्ञान थियो। उहाँलाई मानिसहरूको स्वभावबारे पनि राम्ररी थाह थियो। त्यसैले मानिसहरूको दैनिक जीवनका समस्याहरू कसरी समाधान गर्ने त्यो उहाँ जान्‍नुहुन्थ्यो। उहाँ परमेश्‍वरको राज्यको राजा हुनुभएदेखि ‘अद्‌भुत सल्लाहकार’ अर्थात्‌ मानिसजातिसित सञ्चार कायम राख्ने परमेश्‍वरको मुख्य माध्यमको रूपमा काम गरिरहनुभएको छ। उहाँले दिनुभएको त्रुटिरहित र व्यावहारिक सल्लाहहरू बाइबलमा लेखिएका छन्‌। येशूले दिनुभएको सल्लाहअनुसार जीवन बितायौं भने अनावश्‍यक डर र चिन्ताबाट मुक्‍त हुनेछौं।

यशैया ९:६ मा येशूलाई “शान्तिको राजकुमार” पनि भनिएको छ। उहाँले त्यो अख्तियार प्रयोग गरेर सारा मानिसजातिलाई एउटै शान्तिमय मसीही राज्यको अधीनमा ल्याउनुहुनेछ। यसरी यस संसारको सामाजिक, राजनैतिक, आर्थिक सबै असमानता अन्त गर्नुहुनेछ।—दानियल २:४४.

परमेश्‍वरको राज्यले शासन गर्दा विश्‍वभरि शान्ति छाउनेछ। हामी किन यसो भन्‍न सक्छौं? यसबारे यशैया ११:९ मा यस्तो लेखिएको छ: “तिनीहरूले [प्रजाहरू] मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्‌ किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” अन्तमा सबै मानिसहरूले परमेश्‍वरको सही ज्ञान लिनेछन्‌ र परमेश्‍वरप्रति आज्ञाकारी हुनेछन्‌। यो कुराले के तपाईंको मन छोएन र? त्यसो भए ‘यहोवाको ज्ञान’ लिन ढिलो नगर्नुहोस्‌।

अहिले हाम्रो समय र सुन्दर भविष्यबारे बाइबलले दिने सही शिक्षा जाँचेर हामी आफ्नो विश्‍वास बलियो बनाउन सक्छौं। त्यसैले हामी तपाईंहरूलाई यहोवाको साक्षीहरूसित भेटेर बाइबल अध्ययन गर्न प्रोत्साहन दिन चाहन्छौं। दुःखले भरिएको यस संसारमा ढुक्क भई जीवन बिताउन सक्ने एक मात्र तरिका यही हो।

ip-1-E पृ. १३२ अनु. २८-२९

शान्तिको राजकुमारको प्रतिज्ञा

परमेश्‍वरले तोक्नुभएको समयमा येशू ख्रीष्टले पृथ्वीमा शान्ति ल्याउनुहुनेछ। त्यो शान्ति सदा रहनेछ। (प्रेषित १:७) “उहाँको शासन र शान्तिको वृद्धिको अन्तचाहिं कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ खडा गरी स्थिर गराउन अबउप्रान्त सदाको निम्ति उहाँले शासन गर्नुहुनेछ।” (यशैया ९:७क) येशू शान्तिको राजकुमार हुनुभएकोले उहाँको शासन तानाशाही हुनेछैन। उहाँले आफ्नो प्रजालाई तिनीहरूको इच्छा विपरीत जबरजस्ती अधीनमा राख्नुहुनेछैन। बरु उहाँले “न्याय र धार्मिकताको साथ” शासन गर्नुहुनेछ। मानिसको शासनभन्दा कत्ति असल!

येशूको भविष्यसूचक नाउँको अर्थ विचार गर्दा साँच्चै हाम्रो मन छुन्छ। यशैयाले भविष्यवाणीको अन्तमा यस्तो लेखे: “सेनाहरूका परमप्रभुको उत्तेजित जोसले यो गर्नेछ।” (यशैया ९:७ख) हो, यहोवाले जोसका साथ काम गर्नुहुन्छ। उहाँले कुनै पनि काम आधा मनले गर्नुहुन्‍न। उहाँले आफ्नो सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। सधैंभरि रहिरहने शान्ति पाउन चाहनेहरूले तनमनले यहोवाको सेवा गर्नुपर्छ। त्यसकारण यहोवा परमेश्‍वर र शान्तिका राजकुमार येशूजस्तै “असल कामहरूमा जोसिलो” हुनुहोस्‌।—तीतस २:१४.

बहुमूल्य रत्न खोजौं

it-1-E पृ. १२१९

यशैया

राजा आहाजको पालामा यशैयाले यहूदा सहरमा भविष्यवक्‍ताको रूपमा सेवा गरिरहेका थिए। त्यतिबेला त्यस सहरको नैतिक स्तर एकदमै खस्किएको थियो। दुवै पक्षका राजकुमार र प्रजाहरू आपसमा लडिरहेका थिए। यहोवाको नजरमा त्यो राष्ट्र शिरदेखि पैतालासम्म चोटै-चोट भएको अर्थात्‌ आध्यात्मिक तवरमा बिरामी थियो। त्यसैले त्यसका शासकहरूलाई “सदोमका शासकहरू” र प्रजालाई “गमोराका मानिस”-सित तुलना गर्नुभयो। (यशैया १:२-१०) ती मानिसहरूले सन्देश सुन्‍नेछैनन्‌ भनेर यशैयालाई यहोवाले पहिल्यै बताउनुभएको थियो। अनि त्यो राष्ट्र नाश नहोउन्जेल यस्तो अवस्था रहिरहने थियो। तर विशाल रूख काटिएपछि त्यसको ठुटो रहिरहेजस्तै राष्ट्रको “पवित्र वंश” “दशौं भाग” रहिरहने छ अर्थात्‌ जोगाइनेछ भनेर उहाँले बताउनुभयो। हुन त त्यस राष्ट्रका सबै जनाले चेतावनीमा ध्यान दिएनन्‌। तर जोगाइनेहरू पनि हुनेछन्‌ भन्‍ने कुरा थाह पाउँदा विश्‍वास गर्नेहरू जतिले यसबाट ठूलो सान्त्वना पाएको हुनुपर्छ।—यशैया ६:१-१३.

यशैयाले खासगरि यहूदाको बारेमा भविष्यवाणी गरे। तैपनि तिनले इस्राएल र त्यससित सरोकार राख्ने अरू राष्ट्रहरूको बारेमा पनि भविष्यवाणी गरेका थिए। ईसापूर्व ७७८ मा राजा उज्जियाहको मृत्यु भएको थियो। ठीक त्यही समयदेखि वा त्यसको अलि अघिदेखि सुरु गरेर हिजकियाहको शासनको चौधौं वर्षको केही समय पछिसम्म अर्थात्‌ (ईसापूर्व ७३२) सम्म यशैयाले भविष्यवक्‍ताको रूपमा सेवा गरेका थिए। यसको अर्थ भविष्यवक्‍ताको रूपमा तिनले लामो समय सेवा गरेका थिए।—यशैया ३६:१, २; ३७:३७, ३८.

यशैयाको परिवार। यशैयाको पत्नीलाई पनि “भविष्यवक्‍ता” भनिएको छ। (यशैया ८:३) कुरा स्पष्ट छ, तिनी भविष्यवक्‍ताको पत्नी मात्र थिइनन्‌। यहोवाले तिनलाई न्यायकर्ताको समयका दबोरा र योशियाहको शासनकालको हुल्दालाई जस्तै भविष्यवाणी गर्ने जिम्मेवारी दिनुभएको थियो।—न्यायकर्त्ता ४:४; २ राजा २२:१४.

यशैयाको दुई जना छोराहरूलाई दिइएको नाम “इस्राएलमा चिन्ह र लक्षण” हुनेछ भनी यहोवाले बताउनुभयो। (यशैया ८:१८) यशैयाले राजा आहाजलाई सन्देश सुनाउँदा तिनको छोरा शार्यासूबले पनि साथ दिएका थिए। यसबाट तिनी लगभग हुर्किसकेको जस्तो देखिन्छ। शार्यासूब नामको भविष्यसूचक अर्थ “बाँचेको भाग अर्थात्‌ बाँकी रहेकाहरू फर्कनेछ” भन्‍ने हो। यसको अर्थ यहूदा राज्यलाई परास्त गरिने थियो र तिनीहरूलाई निर्वासनमा लगिने थियो। तर केही समय पछि बाँचेको भाग अर्थात्‌ बाँकी रहेकाहरू निर्वासनबाट फर्कन पाउने थिए। (यशैया ७:३; १०:२०-२३) यहूदीहरू बेबिलोनको निर्वासनमा परेको ७० वर्षपछि फारसी राजा कोरेसले ईसापूर्व ५३७ मा बाँकीलाई आफ्नो देश फर्कने अनुमति दिंदा यो भविष्यवाणी पूरा भयो।—२ इतिहास ३६:२२, २३; एज्रा १:१; २:१, २.

यशैयाको अर्को छोराको नाम गर्भमा आउनुअघि नै राखिएको थियो। तिनको नाम विश्‍वासयोग्य साक्षीहरूसामु ढुङ्‌गाको पाटीमा लेखिएका थिए। तिनको जन्मबारे भविष्यवाणी गरिएको कुरा र तिनको नामको भविष्यसूचक अर्थ भएको कुरा तिनी जन्मिएपछि साक्षीहरूले प्रमाणित गर्नुपर्थ्यो। तर त्यतिन्जेल तिनीहरूले तिनको नामको अर्थ गोप्य नै राख्नुपर्थ्यो। परमेश्‍वरले त्यस केटाको नाम महेर-शालल-हाज-बज राख्नु भन्‍नुभएको थियो। तिनको नामको अर्थ “विनाश छिटै आउनेछ! लुट्‌नलाई आतुरी गर्नेछ” भन्‍ने हो। तिनको छोराले “बुबा आमा भन्‍न जान्‍न अघि नै” अश्‍शूर र दस गोत्रे इस्राएल राज्यले यहूदा विरुद्ध रचेको षड्यन्त्रको अन्त्य हुनेछ भनी बताइएको थियो।—यशैया ८:१-४.

भविष्यवाणीमा सङ्‌केत गरेअनुसार यहूदाले चाँडै छुटकारा पाउने थियो। अरामको राजा रसीन र इस्राएलको राजा पेकहले यहूदा विरुद्ध लड्‌ने योजना बनाए तर अश्‍शूरीहरूले हस्तक्षेप गरेर तिनीहरूको योजना विफल तुल्याइदिएकाले यहूदीहरूले छुटकारा पाए। अश्‍शूरीहरूले पहिला दमीशक कब्जा गरे र पछि ईसापूर्व ७४० मा पूरै इस्राएल राज्यलाई लुटपाट गरेर तहसनहस पारिदिए। यसरी यशैयाको छोराको नामको भविष्यसूचक अर्थ पूरा भयो। (२ राजा १६:५-९; १७:१-६) तर पछि अराम र इस्राएलले धम्क्याउँदा राजा आहाजले यहोवामा भरोसा गर्नुको साटो अश्‍शूरको राजाको मदत मागे। त्यसैले यहूदालाई विनाश गर्न यहोवाले अश्‍शूरीहरूलाई अनुमति दिनुभयो। यशैयाको भविष्यवाणीमा उल्लेख गरिएझैं अश्‍शूरीहरू यहूदामा बाढीजस्तै उर्लिएर आए र पछि यरूशलेमसम्मै पुगे।—यशैया ७:१७-२०.

यशैयाले थुप्रै पटक यहोवाले ‘चिन्ह’ दिनुहुने छ भनी बताएका थिए। त्यसका लागि यहोवाले तिनका छोराहरू अनि एकपटक त यशैयालाई नै प्रयोग गर्नुभयो। अश्‍शूरका राजाले मिश्र र इथियोपियालाई कैदी बनाएर लैजाने छ भनेर देखाउन यहोवाले यशैयालाई तीन वर्षसम्म नाङ्‌गै र खाली खुट्टा हिंड्‌नको लागि आज्ञा दिनुभयो।—यशैया २०:१-६; ७:११, १४; १९:२०; ३७:३०; ३८:७, २२; ५५:१३; ६६:१९.

निर्वासन र पुनर्स्थापनाबारे गरिएको भविष्यवाणी। यहूदा र यरूशलेमलाई अश्‍शूरीहरूले नभई बेबिलोनीहरूले विनाश गर्ने छ भनी भविष्यवाणी गर्ने सुअवसर यशैयाले पाए। (यशैया ३९:६, ७) अश्‍शूरीहरू यहूदामा बाढीजस्तै उर्लेर आए पनि “घिच्रोसम्म” मात्र पुग्ने छ भनी बताएको थियो। त्यसैले अश्‍शूरी सेनाहरू सहरमा प्रवेश गर्नेछैनन्‌ भनेर यशैयाले राजा हिजकियाहलाई सान्त्वनादायी सन्देश सुनाए। (यशैया ८:७, ८) नभन्दै यहोवाले एक जना स्वर्गदूत चलाएर १ लाख ८५ हजार शक्‍तिशाली अश्‍शूरी सेनाहरू र तिनीहरूका शासकहरूलाई नाश गर्नुभयो। यसरी यरूशलेमलाई उद्धार गरेर यहोवाले आफूले दिएको वचन पूरा गर्नुभयो।—२ इतिहास ३२:२१.

यहोवाले प्यारो ठानेको यरूशलेम सहरको पुनर्स्थापनाबारे थुप्रै भविष्यवाणी गर्ने र लेख्ने मौका पाउँदा यशैयालाई धेरै खुसी लागेको हुनुपर्छ। हुन त यहोवाको विरोध गरेकाले उहाँले आफ्ना सेवकहरूलाई बेबिलोनको निर्वासनमा पर्न दिनु भयो। तर बेबिलोनीहरूले उहाँको सेवकहरूलाई सदाको लागि बन्दी बनाएर राख्न चाहेकोले यहोवाले तिनीहरूलाई सजाय दिनुहुने थियो। यहोवाले बेबिलोन सहरलाई विनाश गर्नुहुनेछ र फेरि कहिल्यै पुनःनिर्माण हुने छैन भनेर यशैयाले विस्तृत भविष्यवाणी गरेका थिए।—यशैया ४५:१, २; अध्याय १३, १४ र ४६ देखि ४८ सम्म।

ip-1-E पृ. १११-११२ अनु. २३-२४

दुःखको समयमा यहोवामाथि भरोसा गर्नुहोस्‌

अचूक भविष्यवाणीहरू

यशैयाले आउनै लागेको अवस्थाबारे फेरि बताउँछन्‌। अराम र इस्राएलका सेना मिलेर यरूशलेमलाई बन्दी बनाएर राखेकै अवस्थामा यशैयाले यस्तो लेखे: “परमप्रभुले मलाई भन्‍नुभयो, ‘आफ्नो निम्ति एउटा ठूलो पाटी ले र त्यसमा बुझ्ने अक्षरमा महेर-शालल-हाज-बजको निम्ति भनेर लेख्‌। यसलाई पक्का गर्नलाई मेरा दुई विश्‍वासयोग्य गवाहहरू अर्थात्‌ ऊरियाह पूजाहारी र येबेरक्याहको छोरो जकर्याह छन्‌।’” (यशैया ८:१, २) महेर-शालल-हाज-बज नामको अर्थ “विनाश छिटै आउनेछ! लुट्‌नलाई आतुरी गर्नेछ” भन्‍ने हो।

यशैयाले एउटा ठूलो पाटीमा त्यो नाम लेख्छन्‌। आफूले लेखेको कुरा साँचो हो भनी साक्षी दिन सकियोस्‌ भनेर समाजका दुई जना गण्यमान्य व्यक्‍तिहरूलाई साक्षी राख्छन्‌।

यशैया यसो भन्छन्‌: “तब म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भएर एउटा छोरो जन्माइ। तब परमप्रभुले मलाई भन्‍नुभयो, ‘त्यसको नाउँ महेर-शालल-हाज-बज राख्‌। किनकि बालकले बाबु-आमा भन्‍न जान्‍न अघि नै दमीशकको धन र सामरियाको लुट अश्‍शूर राजाको सामने लगिनेछ।” (यशैया ८:३, ४) भर्खर जन्मेको बालक र ठूलो पाटी यहूदामाथि अत्याचार गर्ने अराम र इस्राएललाई अश्‍शूरीहरूले लुटेर चाँडै नाश गर्नेछ भन्‍ने कुरा चिन्ह थियो। कहिले नाश गर्ने थिए? ती छोराले “बुबा आमा भन्‍न जान्‍न अघि नै।” यस्तो अचूक भविष्यवाणी सुनेर मानिसहरूले या त आफ्नो विश्‍वास बलियो बनाउन सक्थे या त तिनीहरूले यशैया र तिनका छोराहरूलाई गिल्ला गर्ने थिए। तिनीहरूले जे गरे पनि यशैयाले गरेको भविष्यवाणीहरू सबै पूरा भयो।—२ राजा १७:१-६.

डिसेम्बर १९-२५

बाइबलमा पाइने अनमोल धन | यशैया ११-१६

‘पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ’

ip-1-E पृ. १६०-१६१ अनु. ९-११

मसीही राज्यले दिने उद्धार र आनन्द

दयालु र न्यायी शासक

यशैयाले मसीहको थप गुणहरूबारे यस्तो भविष्यवाणी गर्छन्‌: “उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, कानले सुनेर मात्र विचार गर्नुहुनेछैन।” (यशैया ११:३ख) के तपाईं यस्तो न्यायाधीशको कदर गर्नुहुन्‍न र? मानवजातिको न्यायकर्ताको हैसियतमा मसीह मानिसहरूको झूटो तर्क, अदालतमा गरिने छली तर्क, अफवाह वा धनसम्पत्तिको लोभमा परेर बहकिनुहुन्‍न। उहाँको नजरमा कपट लुक्न सक्दैन किनकि हरेक मानिसको ‘मन भित्रको’ कुरा बुझ्न सक्नुहुन्छ। (१ पत्रुस ३:४) ख्रीष्टियन मण्डलीमा न्याय सम्बन्धी मामिलाहरू सम्हाल्नेहरूका लागि येशूले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ।—१ कोरिन्थी ६:१-४.

यी सर्वश्रेष्ठ गुणहरूले न्याय गर्ने सन्दर्भमा मसीहलाई कसरी प्रभाव पार्छ त्यसबारे यशैया लेख्छन्‌: “गरिबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ र पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनुहुनेछ र आफ्नो सासले दुष्टलाई नाश गर्नुहुनेछ। उहाँको कम्मरको पटुका धार्मिकता हुनेछ र उहाँको जाङको बन्धन सत्यता हुनेछ।”—यशैया ११:४, ५.

गल्ती गर्नेहरूलाई सुधार्ने सन्दर्भमा एल्डरहरूका लागि येशूले राम्रो उदाहरण बसाल्नुभयो। किनभने उहाँको चेलाहरूले गल्ती गर्दा तिनीहरूले लाभ उठाउन सक्ने तरिकामा सुधार्नुहुन्थ्यो। तर अर्कोतिर दुष्ट काम गरिरहनेहरूले सजाय भोग्नुपर्ने छ। किनभने परमेश्‍वरले यस संसारको लेखा लिनु हुँदा उहाँले “लौरोले झैं” आफ्नो वचनले हिर्काउनुहुनेछ र सबै दुष्टहरूलाई नाश गर्नुहुनेछ। (भजन २:९; तुलना गर्नुहोस्‌ प्रकाश १९:१५) त्यसपछि यस पृथ्वीमा शान्ति भङ्‌ग गर्ने दुष्टहरू हुनेछैनन्‌। (भजन ३७:१०, ११) येशूको कम्मरको पटुका धार्मिकता र जाङको बन्धन सत्यता भएकोले उहाँसँग यसो गर्ने शक्‍ति छ।—भजन ४५:३-७.

w१३-E ६/१ पृ. ७

पूर्वाग्रहविनाको संसार—कहिले?

परमेश्‍वरको राज्यले सबै पूर्वाग्रह हटाउने छ

बाइबलको ज्ञानले हामीलाई आफूमा भएको नराम्रो भावनालाई नियन्त्रण गर्न वा त्यसलाई हटाउन मदत गर्छ। तर पूर्वाग्रही भावना हटाउनको लागि हामीले अरू दुइटा कुरासित पनि सङ्‌घर्ष गर्नुपर्छ। पहिलो, हामीमा भएको पाप र त्रुटिपूर्ण अवस्था। बाइबलले स्पष्टसित यसो भन्छ: “कुनचाहिं मानिस पापरहित होला र?” (१ राजा ८:४६) त्यसैले हामीले जति नै कोसिस गरे पनि हामी भित्र एउटा द्वन्द्व चलिरहन्छ। प्रेषित पावलले यस्तै अनुभव गरेका थिए। यसबारे तिनले लेखे: “जब म जे ठीक छ त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।” (रोमी ७:२१) त्यसकारण बेला-बेलामा हामी त्रुटिपूर्ण मानिसको हृदयमा हुने “हानिकारक विचार”-ले पूर्वाग्रही सोचाइ तर्फ डोऱ्‍याउँछ।—मर्कूस ७:२१.

दोस्रो, सैतान अनि दियाबलको प्रभाव। बाइबलमा त्यसलाई “हत्यारा” “सारा संसारलाई ठग्ने” व्यक्‍तिको रूपमा चिनाइएको छ। (यूहन्‍ना ८:४४; प्रकाश १२:९) त्यसको प्रभावले गर्दा अहिले संसारमा पूर्वाग्रही भावना व्याप्त छ। साथै, धार्मिक विभाजन, भेदभाव, जातिसंहार र विभिन्‍न किसिमका जातीय, धार्मिक र सामाजिक समस्याहरू हटाउन नसक्नुको कारण पनि यही हो।

त्यसैले कुरा स्पष्ट छ, पूर्वाग्रही सोचाइलाई पूर्णरूपमा हटाउनको लागि पाप, त्रुटिपूर्ण अवस्था, सैतान अनि दियाबलको प्रभाव हट्‌नुपर्छ। परमेश्‍वरको राज्यले यी सबै कुरा हटाउनेछ।

येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:१०) परमेश्‍वरको राज्यले पूर्वाग्रहदेखि लिएर हर किसिमका अन्याय अत्याचार अन्त गर्नेछ।

परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि “राष्ट्रहरूलाई नबहकाओस्‌” भनेर सैतानलाई “बन्द” मतलब नियन्त्रणमा राखिनेछ। (प्रकाश २०:२, ३) त्यसपछि परमेश्‍वरको प्रतिज्ञाबमोजिम न्यायले बास गर्ने “नयाँ पृथ्वी” अर्थात्‌ नयाँ मानव समाजको स्थापना हुनेछ।—२ पत्रुस ३:१३.

नयाँ संसारमा बसोबास गर्ने मानिसहरू पापको दासत्वबाट स्वतन्त्र हुनेछन्‌ अनि तिनीहरू त्रुटिरहित हुनेछन्‌। (रोमी ८:२१) परमेश्‍वरको राज्यको प्रजा भएकोले तिनीहरू कसैले पनि एकअर्कालाई “हानि नोक्सानी गर्ने छैनन्‌।” किन? “किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) त्यतिखेर मानिसहरूले यहोवा परमेश्‍वरको शिक्षा सिक्नुका साथै उहाँको व्यक्‍तित्वको अनुकरण गर्नेछन्‌। यहोवा “कसैको पक्षपात गर्नुहुन्‍न” त्यसैले त्यतिबेला कुनै किसिमको पूर्वाग्रह हुनेछैन।—रोमी २:११.

डिसेम्बर २६–जनवरी १

बाइबलमा पाइने अनमोल धन | यशैया १७-२३

“शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ”

ip-1-E पृ. २३८ अनु. १६-१७

विश्‍वासघातीलाई चेतावनीमूलक पाठ

स्वार्थी भण्डारे

भविष्यवक्‍ताले आफ्नो ध्यान विश्‍वासघाती मानिसहरूबाट अब विश्‍वासघाती व्यक्‍तितर्फ खिच्छन्‌। यशैया लेख्छन्‌: “परमप्रभु, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यो भण्डारे अर्थात्‌ शेब्नाकहाँ जाऊ, जो घरको मूल हो र त्यसलाई भन, ‘तँ यहाँ के गर्दै छस्‌? र तेरो यहाँ को छ? र तैंले आफ्नो निम्ति यहाँ एउटा चिहान खन्‍न लाइस्‌? तँ अल्गो ठाउँमा चट्टान फोरेर आफ्नो निम्ति चिहान बनाउन र चट्टानमा बासस्थान खोप्न लाउँछस्‌।’”—यशैया २२:१५, १६.

शेब्ना ‘दरबारमा भण्डारेको’ रूपमा काम गर्न नियुक्‍त भएका थिए। सायद तिनले राजा हिजकियाहको भण्डारेको रूपमा काम गरेको हुन सक्छ। यदि त्यसो हो भने तिनले राजामुनि दोस्रो दर्जाको पद पाएका थिए। त्यसैले तिनी झनै विश्‍वासयोग्य हुनुपर्थ्यो। (१ कोरिन्थी ४:२) तर शेब्नाले राष्ट्रको हितको लागि नभई आफ्नो स्वार्थमा ध्यान दिए। तिनले आफ्ना लागि र राजाहरूका लागि बनाइने चिहान बनाउन लगाएर आफैलाई राजा समान तुल्याए। यहोवाले यी सबै कुरा देखिरहनु भएको थियो। त्यसैले विश्‍वासीघाती भण्डारेलाई चेतावनी दिन उहाँले यशैयालाई यसो भन्‍न लगाउनुभयो, “ए वीर पुरुष, हेर्‌, परमप्रभुले तँलाई खूब जोरसित फ्याँक्नहुनेछ। उहाँले तँलाई खूब कसेर समात्नुहुनेछ। उहाँले निश्‍चय तँलाई एउटा विस्तृत जमीनमा घुमाई घुमाईकन घुँयेत्रोको ढुङ्‌गाझैं फ्याँकिदिनुहुनेछ र त्यहीं तँ मर्नेछस्‌। ए आफ्ना परमप्रभुको घरलाई शर्ममा पार्ने, तेरो गौरवको रथ त्यहीं रहनेछ। म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्नो स्थानबाट तँ खसालिनेछस्‌। (यशैया २२:१७-१९) स्वार्थी शेब्नाले यरूशलेममा केही पनि पाएन बरु तिनलाई घुँयेत्रोको ढुङ्‌गाझैं फ्याँकियो अनि तिनको पतन भयो। अख्तियार पाएका परमेश्‍वरका सबै सेवकका लागि यो एउटा चेतावनीमूलक उदाहरण हो। शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन सक्छ र परमेश्‍वरको सेवकहरूको बीचबाट हटाइन पनि सक्छ।

ip-1-E पृ. २३८-२३९ अनु. १७-१८

विश्‍वासघातीलाई चेतावनीमूलक पाठ

शेब्ना सायद राजा हिजकियाहको ‘दरबारमा भण्डारेको’ रूपमा काम गर्थे। तिनले राजा पछिको दोस्रो व्यक्‍तिको रूपमा ठूलो ओहदा पाएका थिए। त्यसैले तिनी झनै विश्‍वासयोग्य हुनुपर्थ्यो। (१ कोरिन्थी ४:२) तर शेब्नाले राष्ट्रको हितको लागि नभई आफ्नो स्वार्थमा ध्यान दिए। तिनले आफ्ना लागि एकदम अल्गो ठाउँमा राजाको जस्तो चिहान बनाउन लगाएर आफैलाई राजा समान तुल्याए। यहोवाले यी सबै कुरा देखिरहनु भएको थियो। त्यसैले ती विश्‍वासीघाती भण्डारेलाई चेतावनी दिन उहाँले यशैयालाई यसो भन्‍न लगाउनुभयो, “ए वीर पुरुष, हेर्‌, परमप्रभुले तँलाई खूब जोरसित फ्याँक्नहुनेछ। उहाँले तँलाई खूब कसेर समात्नुहुनेछ। उहाँले निश्‍चय तँलाई एउटा विस्तृत जमीनमा घुमाई घुमाईकन घुँयेत्रोको ढुङ्‌गाझैं फ्याँकिदिनुहुनेछ र त्यहीं तँ मर्नेछस्‌। ए आफ्ना परमप्रभुको घरलाई शर्ममा पार्ने, तेरो गौरवको रथ त्यहीं रहनेछ। म तँलाई तेरो कामबाट निकालिदिनेछु र आफ्नो स्थानबाट तँ खसालिनेछस्‌। (यशैया २२:१७-१९) स्वार्थी शेब्नाले यरूशलेममा साधारण किसिमको चिहान पनि पाउने थिएन। बरु तिनलाई घुँयेत्रोको ढुङ्‌गाझैं टाढा फ्याँकिने थियो र त्यहीं तिनको मृत्यु हुनेथियो। अख्तियार पाएका परमेश्‍वरका सबै सेवकका लागि यो एउटा चेतावनीमूलक उदाहरण हो। शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन सक्छ र परमेश्‍वरको सेवकहरूको बीचबाट हटाइन पनि सक्छ।

शेब्नालाई तिनको ओहोदाबाट कसरी हटाइनेथियो? यो कुरा यहोवाले यशैयामार्फत यसरी बताउनुहुन्छ: “त्यो दिन हिल्कियाहको छोरो एल्याकीम मेरो दासलाई म बोलाउनेछु। म त्यसलाई तेरो वस्त्र पहिऱ्‍याउनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु, म तेरो अधिकार त्यसको हातमा सुम्पनेछु। त्यो यरूशलेम र यहूदाका परिवारका बाबु हुनेछ। दाऊदको घरानाको साँचो म त्यसको हातमा दिनेछु, त्यसले खोल्नेछ र कसैले बन्द गर्नेछैन, त्यसले बन्द गर्नेछ र कसैले खोल्नेछैन।” (यशैया २२:२०-२२) शेब्नालाई हटाएर तिनको ठाउँमा एल्याकीमलाई नियुक्‍त गरिने थियो। तिनलाई भन्डारेले लगाउने वस्त्र र दाऊदको घरानाको साँचो दिइने थियो। बाइबलमा प्रयोग गरिएको “साँचो” भन्‍ने शब्दले अख्तियार, सरकार र शक्‍तिलाई सङ्‌केत गर्छ। (मत्ती १६:१९ तुलना गर्नुहोस्‌) प्राचीन समयमा राजाको सल्लाहकारलाई दरबारको साँचो सुम्पिन्थ्यो। तिनीहरूले दरबारको हेरविचार गर्नुकासाथै राजाको सेवा गर्न कामदारहरूलाई नियुक्‍त गर्ने अधिकार पाएका हुन्थे। (प्रकाश ३:७, ८ तुलना गर्नुहोस्‌) त्यसैले भण्डारे हुनु भनेको निकै ठूलो जिम्मेवारी थियो र जसले यो जिम्मेवारी पाउँथे तिनी विश्‍वासयोग्य भएको आशा गरिन्थ्यो। (लूका १२:४८) यो जिम्मेवारी पूरा गर्न शेब्ना योग्य थिए। तर शेब्ना विश्‍वासघाती भएकोले तिनलाई हटाएर यहोवाले अर्कैलाई नियुक्‍त गर्नुभयो।

ip-1-E पृ. २४०-२४१ अनु. १९-२०

विश्‍वासघातीलाई चेतावनीमूलक पाठ

दुइटा लाक्षणिक किला

अन्तमा, यहोवाले शेब्नालाई हटाएर एल्याकिमलाई अख्तियार दिने कुरा बुझाउन लाक्षणिक भाषाको प्रयोग गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “म त्यसलाई बलियो ठाउँमा कीलाझैं गाड्‌नेछु। आफ्ना बाबुको घरमा महिमाको सिंहासन त्यो हुनेछ। तिनीहरूले त्यसका बाबुका जहानको महिमा जे-जे छन्‌, अर्थात्‌ वंश र सन्तान र हरेक स-साना पात्र, के कचौरो र गाग्रो सबै त्यसैमा झुण्डाउनेछन्‌।’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘त्यस दिन त्यो बलियो ठाउँमा गाडिएको कीला नुहिन्छ, त्यो काटेर ढालिनेछ। त्यसपछि त्यसमा टाँगिएको भार काटिनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।”—यशैया २२:२३-२५.

यी पदहरूमा बताइएको पहिलो कीला एल्याकिम हो। तिनी तिनका बुबा हिजकियाहको घरको “महिमाको सिंहासन” हुनेथिए। शेब्नालेजस्तै तिनले आफ्नो बुबाको घराना र प्रतिष्ठामाथि आँच आउन दिने थिएनन्‌। एल्याकिमले राजाको घरको भाँडाहरू अर्थात्‌ सेवकहरूलाई अन्तसम्मै साथ दिइरहने थिए। (२ तिमोथी २:२०, २१) यसको ठीक विपरीत दोस्रो कीलाले बुझाउने शेब्नाले आफूलाई कसैले हटाउन सक्दैन भनेर सोचेको थियो होला। तर तिनलाई हटाइयो। तिनीजस्तै हुनेहरूको हविगत पनि शेब्नाको जस्तै हुनेछ।

बहुमूल्य रत्न खोजौं:

ip-1-E पृ. २५३-२५४ अनु. २२-२४

यहोवाले टायरको सेखी झार्नुभयो

यशैया अझ यसो भन्छन्‌: “सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्‍याको गीत जस्तै हुनेछ। १६ ‘हे बिर्सिएकी वेश्‍या, वीणा लिएर शहरको चारैतिर डुल्‌। सुमधुर संगीत बाजा, धेरै गीत गा र फेरि तेरो सम्झना गरिनेछ। १७ सत्तरी वर्षको अन्तमा परमप्रभुले टायरमाथि निगाह गर्नुहुनेछ र त्यो फेरि आफ्नो पेशातिर फर्कनेछ र पृथ्वीभरिका सारा राज्यहरूसित त्यसले वेश्‍याको काम गर्नेछ।—यशैया २३:१५ख-१७.

ईसापूर्व ५३९ मा बेबिलोन पराजित भएपछि फोनिसिया मादी-फारसी साम्राज्यको एउटा प्रान्त बन्यो। फारसी राजा महान्‌ कोरेस खुल्ला विचारका शासक थिए, त्यसैले टायर पहिले जस्तै संसारकै मुख्य व्यापारिक केन्द्र बन्‍ने प्रयासमा लाग्ने थिए। पहिलाको ग्राहकले बिर्सेकाले नयाँ ग्राहकलाई आफूतिर आकर्षित गर्न बाजागाजा बजाउँदै गीत गाएर सहरको गल्ली-गल्ली घुम्दै हिड्‌ने एउटी वेश्‍याझैं त्यो हिंड्‌ने थिए। के टायर सफल हुने थिए त? हो, यहोवाले सफल गराउनुहुने थियो। समयको दौडान यो टापु निकै सम्पन्‍न हुनेथियो। किनभने ईसापूर्व ६०० को अन्ततिर भविष्यवक्‍ता जकरियाहले यसो भने: “सोरले [टायर] आफ्नो निम्ति एउटा गढी बनायोर चाँदी धूलोसरह र असल सुन गल्लीहरूको हिलोझैं थुपाऱ्‍यो।”—जकरिया ९:३.

‘तिनको लाभ यहोवाको लागि पवित्र छ’

भविष्यवाणीका यी शब्दहरूले साँच्चै मन छुन्छ: “त्यसको व्यापार र त्यसको ज्याला परमप्रभुको निम्ति अलग गरिनेछन्‌। ती भण्डारमा थुपारिनेछैन र राखिनेछैन, तर त्यसका व्यापारको धन परमप्रभुका मानिसहरूका निम्ति प्रशस्त खान र रवाफिलो पोसाक लगाउन हुनेछ।” (यशैया २३:१८) टायरको सम्पत्ति कसरी पवित्र भयो? यहोवाले तिनीहरूको सम्पत्ति आफ्नो इच्छाअनुसार प्रयोग गर्नुहुन्छ। आफ्ना जनहरूलाई खुवाउन र लाउन दिन यहोवाले तिनीहरूको सम्पत्ति चलाउनुहुन्छ। इस्राएलीहरू बेबिलोनको दासत्वबाट छुटकारा पाएर फर्कंदा यो कुरा लागू हुन्छ। टायरको बासिन्दाले इस्राएलीहरूलाई मन्दिर निर्माण गर्नको लागि काठहरू पठाउँछन्‌। साथै तिनीहरूले यरूशलेमसित फेरि व्यापारिक कारोबार थाल्छन्‌।—एज्रा ३:७; नहेम्याह १३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने