प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr18 अक्टोबर पृ. १-६
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
  • उपशीर्षकहरू
  • अक्टोबर १-७
  • बहुमूल्य रत्न खोजौँ
  • अक्टोबर ८-१४
  • बहुमूल्य रत्न खोजौँ
  • अक्टोबर १५-२१
  • बहुमूल्य रत्न खोजौँ
  • अक्टोबर २२-२८
  • बहुमूल्य रत्न खोजौँ
  • अक्टोबर २९–नोभेम्बर ४
  • बहुमूल्य रत्न खोजौँ
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
mwbr18 अक्टोबर पृ. १-६

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

अक्टोबर १-७

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ९-१०

“येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ”

nwtsty-E मिडिया

गोठ

भेडाहरूलाई चोर र जङ्‌गली जनावरबाट जोगाउन वरिपरि पर्खालले घेरिएको भेडीगोठ बनाइन्थ्यो। गोठालाहरूले रातको समयमा आफ्नो बगाललाई गोठमा राख्थे र भेडाहरू त्यहाँ सुरक्षित हुन्थे। बाइबलकालीन समयमा भेडीगोठहरूको छत हुँदैनथ्यो। भेडीगोठहरू विभिन्‍न आकारका अनि ढाँचाका हुन्थे। प्रायजसो भेडीगोठहरूमा ढुङ्‌गाको पर्खाल लगाइएको हुन्थ्यो र ढोका पनि एउटा मात्र हुन्थ्यो। (गन ३२:१६; १स २४:३; सप २:६) युहन्‍नाले ‘ढोकाबाट गोठभित्र पस्ने’-बारे र त्यस ढोकामा पहरा दिने “ढोके”-बारे उल्लेख गरेका छन्‌। (युह १०:१, ३) सामुदायिक भेडीगोठहरूको कुरा गर्नुपर्दा एउटै गोठमा एक जना भन्दा धेरै गोठालाका बगालहरूले रात काट्‌थे र ती भेडाहरूलाई पहरा दिन ढोके राखिन्थ्यो। बिहान ढोकेले गोठालाहरूको लागि ढोका खोलिदिन्थे अनि हरेक गोठालोले आफ्ना भेडाहरूलाई बोलाएर एकसाथ जम्मा गर्थे। भेडाहरूले पनि आफ्नो गोठालोको स्वर चिन्थे र तिनीकहाँ जान्थे। (युह १०:३-५) आफ्ना चेलाहरूको ख्याल कसरी राख्छु भनेर बुझाउन येसुले यही चलनलाई उदाहरणको रूपमा प्रयोग गर्नुभयो।—युह १०:७-१४.

nwtsty-E युह १०:१६ को अध्ययन नोट

ल्याउनै पर्छ: वा “डोऱ्‍याउनै पर्छ।” यहाँ प्रयोग गरिएको ग्रीक क्रिया एगो-ले प्रसङ्‌गअनुसार “(भित्र) ल्याउनु” वा “डोऱ्‍याउनु” भन्‍ने अर्थ बुझाउन सक्छ। इ.सं. २०० तिरको एउटा ग्रीक पाण्डुलिपिमा यस पदमा एगो-सितै सम्बन्धित अर्को ग्रीक शब्द सिन्‌-एगो प्रयोग गरिएको पाइन्छ, जसलाई अक्सर “जम्मा गर्नु” भनेर अनुवाद गरिन्छ। असल गोठालो येसु यस गोठका भेडाहरूलाई (लुका १२:३२ मा “सानो बगाल” पनि भनिएको छ) र अरू भेडालाई जम्मा गर्नुहुन्छ, डोऱ्‍याउनुहुन्छ, जोगाउनुहुन्छ र खुवाउनुहुन्छ। यी दुई समूहहरू एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्‌। यसले येसुका चेलाहरूबीच एकता हुनेछ भन्‍ने कुरालाई जोड दिन्छ।

बहुमूल्य रत्न खोजौँ

nwtsty-E युह ९:३८ को अध्ययन नोट

दण्डवत्‌ गऱ्‍यो: वा “उहाँसामु घोप्टो पऱ्‍यो; लम्पसार पऱ्‍यो; उहाँप्रति श्रद्धा व्यक्‍त गऱ्‍यो।” कुनै ईश्‍वर वा देवतालाई उपासना गर्ने सन्दर्भमा ग्रीक क्रिया प्रोस्केनो प्रयोग गरिँदा त्यसलाई “उपासना गर्नु” भनी अनुवाद गरिएको छ। (मत्ति ४:१०; लुका ४:८) तर यस प्रसङ्‌गमा भने निको पारिएको त्यस जन्मजात अन्धोले येसुलाई परमेश्‍वरको प्रतिनिधिको रूपमा स्विकारेकोले उहाँलाई दण्डवत्‌ गरे। तिनले उहाँलाई परमेश्‍वर वा कुनै देवता ठानेका थिएनन्‌ बरु भविष्यवाणी गरिएका “मानिसको छोरा” र परमेश्‍वरद्वारा अख्तियारप्राप्त मसीहको रूपमा स्विकारेका थिए। (युह ९:३५) हिब्रू धर्मशास्त्रमा हेर्ने हो भने मानिसहरूले भविष्यवक्‍ता, राजा वा परमेश्‍वरका अरू प्रतिनिधिलाई भेट्‌दा दण्डवत्‌ गर्ने गरेको विवरण पाउँछौँ। येसुले निको पार्नुभएको ती व्यक्‍तिले पनि त्यसरी नै उहाँलाई दण्डवत्‌ गरेको हुनुपर्छ। (१स २५:२३, २४; २स १४:४-७; १रा १:१६; २रा ४:३६, ३७) परमेश्‍वरले प्रकट गर्नुभएको कुराप्रति कृतज्ञता देखाउँदै वा उहाँले येसुलाई अनुग्रह देखाउनुभएको छ भन्‍ने कुरा स्वीकार गरेको देखाउँदै मानिसहरूले येसुलाई दण्डवत्‌ गरेको अरू विवरण पनि बाइबलमा पाइन्छ।—मत्ति २:२; ८:२; १४:३३; १५:२५.

nwtsty-E युह १०:२२ को अध्ययन नोट

समर्पणको चाड: यस चाडको हिब्रू नाम हनुक्का (चनुक्का) हो, जसको अर्थ हुन्छ “उद्‌घाटन; समर्पण।” किसलेव महिनाको २५औँ दिनमा सुरु हुने यो चाड आठ दिनसम्म मनाइन्थ्यो र डिसेम्बर महिनाको बीचतिर पर्थ्यो। (अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌) ई.पू. १६५ मा यरुसलेममा भएको मन्दिरलाई पुनः समर्पण गरिएको थियो। त्यसैको सम्झनामा यो चाड मनाउने गरिन्थ्यो। सिरियाली राजा एन्टियोकस चौथो इपिफेन्सले यहुदीहरूका परमेश्‍वर यहोवाको मन्दिरलाई अपवित्र बनाइदिएर उहाँको अपमान गरेका थिए। जस्तै, तिनले दिनहुँ अग्निभेटी चढाइने महावेदीमाथि अर्को एउटा वेदी बनाए। यहोवाको मन्दिरलाई पूर्ण रूपमा अशुद्ध पार्न तिनले ई.पू. १६८, किसलेव २५ को दिन आफूले बनाएको वेदीमा सुँगुरको बलि चढाए र सुँगुरको मासुको सुरुवा पूरै मन्दिर परिसरमा छर्किदिए। तिनले मन्दिरका ढोकाहरू जलाइदिए, पुजारीहरूका कोठाहरू भत्काइदिए अनि सुनको वेदी, भेटीको रोटी राख्ने टेबुल र सुनको पानस लगे। त्यसपछि तिनले यहोवाको मन्दिरलाई ओलम्पसको झूटो देवता ज्युसको नाममा समर्पण गरे। त्यसको दुई वर्षपछि यहुदा मेकाबिसले यरुसलेम सहर र त्यहाँको मन्दिरमा पुनः कब्जा जमाए। मन्दिरलाई शुद्ध पारियो र एन्टियोकसले ज्युसको लागि घिनलाग्दो बलिदान चढाएको ठ्याक्कै तीन वर्षपछि, ई.पू. १६५, किसलेव २५ को दिन मन्दिरलाई पुनः समर्पण गरियो। त्यसपछि यहोवाको लागि दिनहुँ अग्निभेटीहरू चढाउने काम पनि फेरि सुरु गरियो। यहोवाले नै यहुदा मेकाबिसलाई विजयी तुल्याउनुभएको थियो र मन्दिर पुनर्स्थापित गर्ने काममा डोऱ्‍याउनुभएको थियो भनेर त धर्मशास्त्रमा कतै बताइएको छैन। तर यहोवाले अन्य राष्ट्रका मानिसहरू, जस्तै फारसका कोरेसलाई उहाँको उपासनासम्बन्धी केही कामहरू पूरा गर्न चलाउनुभएको थियो। (यसै ४५:१) त्यसैले यहोवाले आफूमा समर्पित राष्ट्रको एक जना मानिसलाई आफ्नो इच्छा पूरा गर्न चलाउनुभएको हुन सक्छ भन्‍ने निष्कर्षमा पुग्नु उचित देखिन्छ। धर्मशास्त्रले देखाएअनुसार मसीह, उहाँले गर्नुहुने सेवाको काम र उहाँले चढाउनुहुने बलिदानसम्बन्धी गरिएका भविष्यवाणीहरू पूरा हुन मन्दिर अस्तित्वमा रहिरहेको र त्यहाँ उपासनासम्बन्धी गतिविधि चलिरहेको हुनुपर्थ्यो। साथै मसीहले मानिसजातिको खातिर अझै ठूलो बलिदान, अर्थात्‌ आफ्नै शरीर अर्पण नगर्नुभएसम्म लेवीहरूले नै बलि चढाउने काम गरिरहनुपर्ने थियो। (दा ९:२७; युह २:१७; हिब्रू ९:११-१४) ख्रिष्टका चेलाहरूलाई समर्पणको चाड मनाउने आज्ञा दिइएको थिएन। (कल २:१६, १७) तर बाइबलमा कतै पनि येसु वा उहाँका चेलाहरूले यो चाडको विरोध गर्नुभएको विवरण पाइँदैन।

अक्टोबर ८-१४

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ११-१२

“येसुको दयाको अनुकरण गर्नुहोस्‌”

nwtsty-E युह ११:२४, २५ को अध्ययन नोट

मलाई थाह छ, . . . ऊ ब्युँतनेछ: येसु अन्तको दिनमा मरेकाहरूलाई फेरि जीवित पारिने समयबारे कुरा गर्दै हुनुहुन्छ जस्तो मार्थालाई लागेको थियो। (युह ६:३९) मार्थाले यो कुरामा विश्‍वास गर्नु उल्लेखनीय थियो। त्यतिबेलाका केही धर्मगुरुहरू, जसलाई सदुकीहरू भनिन्थ्यो, तिनीहरू मरेकाहरू फेरि जीवित हुनेछन्‌ भन्‍ने शिक्षालाई इन्कार गर्थे, जबकि धर्मशास्त्रमा त्यसबारे स्पष्टसित बताइएको पाइन्छ। (दा १२:१३; मर्कु १२:१८) अर्कोतर्फ फरिसीहरूचाहिँ मानिस मरेपछि पनि उसको आत्मा जीवितै रहन्छ भन्‍ने कुरामा विश्‍वास गर्थे। तर मार्थालाई भने मरेकाहरू पुनर्जीवित हुने आशाबारे येसुले सिकाउनुभएको कुरा र उहाँ आफैले पनि मानिसहरूलाई पुनर्जीवित पार्नुभएको कुरा थाह थियो। तर त्यसअघि उहाँले पुनर्जीवित पार्नुभएका मानिसहरूमध्ये कसैको पनि मृत्यु भएको लाजरसको जत्ति लामो समय भइसकेको थिएन।

मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ: येसुको मृत्युले गर्दा अनि उहाँलाई फेरि जीवित पारिएकोले गर्दा मरेकाहरू फेरि जिउन सम्भव भयो। येसुलाई फेरि जीवित पार्नुभएपछि यहोवाले उहाँलाई मरेकाहरूलाई ब्युँताउने मात्र होइन, अनन्त जीवन दिने शक्‍तिसमेत दिनुभयो। (युह ५:२६) प्रका १:१८ मा येसुले आफूलाई “जीवित” भन्‍नुभएको छ अनि आफूसित “मृत्यु र चिहानका साँचाहरू” भएको कुरा पनि बताउनुभएको छ। त्यसैले येसु नै जीवित तथा मरेका सबैको आशा हुनुहुन्छ। उहाँले चिहानहरू खोल्ने र मरेकाहरूलाई जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ। तिनीहरूले या त उहाँका सह-शासकको रूपमा स्वर्गमा जीवन बिताउनेछन्‌ या उहाँको स्वर्गीय सरकारले शासन गर्ने नयाँ पृथ्वीमा जीवन बिताउनेछन्‌।—युह ५:२८, २९; २प ३:१३.

nwtsty-E युह ११:३३-३५ को अध्ययन नोट

रोइरहेको: “रुनु” भनेर अनुवाद गरिने ग्रीक शब्दले अक्सर आवाज निकालेर रुनुलाई बुझाउँछ। यरुसलेममाथि आउनै लागेको विनाशबारे भविष्यवाणी गर्दा येसु रुनुभएको कुरालाई बुझाउन पनि यही ग्रीक क्रिया चलाइएको छ।—लुका १९:४१.

अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो: मूल भाषामा यहाँ प्रयोग गरिएका दुई शब्द यसरी एकैसाथ प्रयोग गरिनुले येसु त्यसबेला निकै भावविह्वल हुनुभएको थियो भनेर बुझाउँछ। “सुस्केरा हाल्नुभयो” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले (एम्ब्रिमाओमाए) अक्सर मनैदेखि उर्लेर आउने कुनै भावनालाई बुझाउँछ। तर यस सन्दर्भमा भने यस क्रियाले येसु यत्ति भावुक हुनुभएको थियो कि उहाँले सुस्केरा हाल्नुभयो भन्‍ने अर्थ दिन्छ। “अत्यन्तै व्याकुल हुनुभयो” भनेर अनुवाद गरिएको ग्रीक क्रियाको (टारास्सो) शाब्दिक अर्थ छटपटी हुनु भन्‍ने हुन्छ। एक जना शास्त्रविद्‌का अनुसार यस सन्दर्भमा यो शब्दले “मनमा औडाहा हुनु; असाध्यै पीडित वा दुःखित हुनु” भन्‍ने अर्थ दिन्छ। युह १३:२१ मा यहुदाले येसुलाई धोका दिने कुराले उहाँलाई कति पीडा दिएको थियो भन्‍ने कुरा बुझाउन पनि यही ग्रीक क्रिया प्रयोग गरिएको छ।

रुनुभयो: यहाँ प्रयोग गरिएको शब्द (दाक्रिओ) “आँसु” अर्थ दिने ग्रीक नामपदको क्रियापद रूप हो। यो ग्रीक नामपद लुका ७:३८; प्रे २०:१९, ३१; हिब्रू ५:७; प्रका ७:१७; २१:४ जस्ता पदहरूमा प्रयोग गरिएको छ। त्यसैले यस पदमा येसु आवाज निकालेर रुनुभयो भन्‍ने कुरालाई भन्दा पनि आँसु बगाएर रुनुभयो भन्‍ने कुरालाई जोड दिइएको छ जस्तो देखिन्छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यो ग्रीक क्रिया यस पदमा मात्र प्रयोग गरिएको छ र यो युह ११:३३ मा (अध्ययन नोट हेर्नुहोस्‌) मरियम र अरू यहुदीहरूको रुवाइलाई बुझाउन प्रयोग गरिएको शब्दभन्दा फरक छ। हुन त येसुलाई आफूले लाजरसलाई फेरि जीवित पार्नेछु भनेर थाह थियो तर आफ्ना प्यारा साथीहरू शोकमा परेको देख्दा उहाँ असाध्यै दुःखित हुनुभयो। आफ्ना साथीहरूप्रतिको गहिरो माया र करुणाले गर्दा उहाँले सबैको अगाडि आँसु बगाउनुभयो। आदमले गर्दा आइपरेको मृत्युको कारण आफ्ना प्रियजनहरू गुमाएका मानिसहरूको व्यथा येसु राम्ररी बुझ्नुहुन्छ भनेर यस विवरणले देखाउँछ।

बहुमूल्य रत्न खोजौँ

nwtsty-E युह ११:४९ को अध्ययन नोट

प्रधानपुजारी: इस्राएल एउटा स्वतन्त्र राष्ट्र छँदा प्रधानपुजारीले आफ्नो मृत्यु नहोउन्जेल प्रधानपुजारीको रूपमा सेवा गर्ने गर्थे। (गन ३५:२५) तर इस्राएल रोमको अधीनमा परेको बेलामा भने रोमले नियुक्‍त गरेका शासकहरूसित प्रधानपुजारी नियुक्‍त गर्ने वा प्रधानपुजारीलाई बर्खास्त गर्ने अख्तियार हुन्थ्यो। (शब्दावलीमा “प्रधानपुजारी” हेर्नुहोस्‌।) रोमीहरूले नियुक्‍त गरेका प्रधानपुजारी कैयाफा कुशल कूटनीतिज्ञ थिए र तिनले आफूभन्दा ठ्याक्कै अघिका कुनै पनि प्रधानपुजारीले भन्दा लामो समयसम्म सेवा गरे। तिनलाई इ.सं. १८ तिर नियुक्‍त गरिएको थियो र तिनले इ.सं. ३६ सम्म प्रधानपुजारीको रूपमा सेवा गरे। यस पदमा युहन्‍नाले कैयाफा त्यस वर्ष अर्थात्‌ इ.सं. ३३ मा प्रधान पुजारी थिए भनेर उल्लेख गरेका छन्‌। यसरी तिनले कैयाफाले प्रधानपुजारीको रूपमा सेवा गरेको अवधिमा येसुलाई मारिएको त्यो महत्त्वपूर्ण वर्ष पनि समावेश थियो भन्‍ने कुरालाई जोड दिएका हुन सक्छन्‌।—कैयाफाको घर सम्भवतः कहाँ थियो भनेर बुझ्न अतिरिक्‍त लेख ख१२ हेर्नुहोस्‌।

nwtsty-E युह १२:४२ को अध्ययन नोट

शासकहरूमध्ये: यहाँ “शासकहरू” भनेर अनुवाद गरिएको ग्रीक शब्दले यहुदीहरूको उच्च अदालत अर्थात्‌ यहुदी न्यायपरिषद्‌का सदस्यहरूलाई बुझाएको हुनुपर्छ। यही शब्द युह ३:१ मा निकोदेमसलाई बुझाउन पनि प्रयोग गरिएको छ, जो त्यस न्यायपरिषद्‌का सदस्य थिए।

सभाघरबाट निष्कासित: वा “सभाघरबाट निकालिएको; सभाघरमा प्रवेश गर्न निषेध गरिएको।” ग्रीक विशेषण एपोसिनागोगोस यहाँ अनि युह १२:४२ र १६:२ मा मात्र प्रयोग गरिएको छ। सभाघरबाट निष्कासित व्यक्‍तिलाई समाजबाट बहिष्कृतसरह व्यवहार गरिन्थ्यो अनि तिनी गिल्ला र अपमानको पात्र हुन्थे। यसरी सङ्‌गी यहुदीहरूबाट तिरस्कृत भएपछि ती व्यक्‍तिको परिवारले निकै आर्थिक कठिनाइ भोग्नुपर्ने हुन्थ्यो। सभाघरहरू मुख्यतः शिक्षा दिनका लागि चलाइने भए तापनि त्यसलाई स्थानीय अदालतको रूपमा पनि चलाइन्थ्यो, जससित दण्डस्वरूप कसैलाई कोर्रा लगाउने वा बहिष्कार गर्ने अख्तियार हुन्थ्यो।—मत्ति १०:१७.

अक्टोबर १५-२१

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १३-१४

“मैले तिमीहरूका लागि नमुना बसालेँ”

nwtsty-E युह १३:५ को अध्ययन नोट

चेलाहरूको खुट्टा धुन . . . थाल्नुभयो: पुरातन इस्राएलमा मानिसहरूले प्रायः चप्पल लगाउँथे। त्यसबेलाको चप्पलको डिजाइन साधारण हुन्थ्यो—तलुवामा (सोल) फित्ता जडिएको हुन्थ्यो र त्यो फित्ता खुट्टामा अनि गोलीगाँठोसम्म पुग्नेगरि लगाइन्थ्यो। यस्तो चप्पल लगाएर धुलाम्मे अनि हिलाम्मे बाटोमा हिँडेपछि खुट्टा पक्कै फोहोर हुन्थ्यो। त्यसैले मानिसहरूले घरभित्र छिर्नुअघि आफ्नो चप्पल खोल्ने चलन थियो। साथै दयालु मानिसहरू आफ्नो घरमा पाहुना आउँदा खुट्टा धुनको लागि आवश्‍यक प्रबन्ध मिलाइदिन्थे। यस्तो चलनलाई सङ्‌केत गर्ने थुप्रै विवरण बाइबलमा पाउन सक्छौँ। (उत्प १८:४, ५; २४:३२; १स २५:४१; लुका ७:३७, ३८, ४४) येसुले पनि आफ्ना चेलाहरूको खुट्टा धोइदिएर तिनीहरूलाई नम्र हुनुपर्छ र एकअर्काको सेवा गर्नुपर्छ भन्‍ने पाठ सिकाउनुभयो।

nwtsty-E युह १३:१२-१४ को अध्ययन नोट

धुनुपर्छ: वा “धुनु तिमीहरूको कर्तव्य हो।” यहाँ प्रयोग गरिएको ग्रीक क्रिया अक्सर आर्थिक कुराहरूको सन्दर्भमा प्रयोग गरिन्छ। यसको मूल अर्थ “कसैप्रति ऋणी हुनु वा कसैलाई कुनै कुरा सापटी तिर्न बाँकी हुनु” भन्‍ने हुन्छ। (मत्ति १८:२८, ३०, ३४; लुका १६:५, ७) यस पदमा अनि अन्य विवरणहरूमा भने यस शब्दलाई अझ विस्तृत अर्थमा अर्थात्‌ कुनै कुरा गर्नु कसैको कर्तव्य हो भन्‍ने कुरा बुझाउन प्रयोग गरिएको छ।—१यु ३:१६; ४:११; ३यु ८.

बहुमूल्य रत्न खोजौँ

nwtsty-E युह १४:६ को अध्ययन नोट

बाटो, सत्य र जीवन मै हुँ: येसु बाटो हुनुहुन्छ किनभने उहाँमार्फत मात्र परमेश्‍वरलाई स्वीकार्य तरिकामा प्रार्थना गर्न सम्भव छ। साथै उहाँ नै त्यो “बाटो” हुनुहुन्छ, जसमार्फत मानिसहरूले परमेश्‍वरसित मिलाप गर्न सक्छन्‌। (युह १६:२३; रोमी ५:८) येसु सत्य हुनुहुन्छ किनभने उहाँले सत्य बोल्नुभयो र सत्यअनुसारै जीवन बिताउनुभयो। साथै परमेश्‍वरको उद्देश्‍य पूर्तिमा उहाँको मुख्य भूमिका छ भनी देखाउने थुप्रै भविष्यवाणीहरू उहाँले पूरा गर्नुभयो। (युह १:१४; प्रका १९:१०) यी भविष्यवाणीहरू “ख्रिष्टद्वारा ‘हुन्छ’ [वा पूरा] भएका छन्‌।” (२को १:२०) येसु जीवन हुनुहुन्छ किनभने उहाँले तिर्नुभएको फिरौतीले गर्दा मानिसजातिले “साँच्चैको जीवन” अर्थात्‌ “अनन्त जीवन” पाउन सम्भव भयो। (१ति ६:१२, १९; एफि १:७; १यु १:७) साथै, भविष्यमा जब उहाँले लाखौँलाई प्रमोदवनमा सधैँभरि बाँच्ने आशासहित फेरि जीवित पार्नुहुनेछ, तब ती सबैको लागि उहाँ “जीवन” साबित हुनुहुनेछ।—युह ५:२८, २९.

nwtsty-E युह १४:१२ को अध्ययन नोट

तीभन्दा पनि ठूला कामहरू: येसुले यहाँ उहाँका चेलाहरूले उहाँले भन्दा ठूलठूला चमत्कारहरू गर्नेछन्‌ भनेर बताउन खोज्नुभएको थिएन। बरु चेलाहरूले आफूले भन्दा विस्तृत रूपमा प्रचार गर्ने र सिकाउने काम गर्नेछन्‌ भन्‍ने कुरा उहाँले नम्र भई स्विकार्दै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले अझ ठूलो इलाका ढाक्ने थिए, अझ धेरै मानिसहरूलाई प्रचार गर्ने थिए र उहाँले भन्दा लामो समयको लागि प्रचार गर्ने थिए। यी शब्दहरूले येसु आफूले सुरु गरेको कामलाई आफ्ना चेलाहरूले निरन्तरता दिएको चाहनुहुन्थ्यो भनेर स्पष्ट पार्छ।

अक्टोबर २२-२८

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १५-१७

“तिमीहरू यस संसारका होइनौ”

nwtsty-E युह १५:१९ को अध्ययन नोट

संसार: यस प्रसङ्‌गमा ग्रीक शब्द कोसमोस-ले परमेश्‍वरका सेवकहरूबाहेक अरू मानिसहरूको संसार, परमेश्‍वरबाट तर्केर गएको कुकर्मी मानव समाजलाई बुझाउँछ। सुसमाचारका किताबहरूका लेखकहरूमध्ये युहन्‍नाले मात्र चेलाहरू यस संसारका होइनन्‌ वा संसारसित उनीहरूको कुनै सम्बन्ध छैन भनेर येसुले बताउनुभएको कुरा उल्लेख गरेका छन्‌। यही कुरा येसुले आफ्नो वफादार प्रेषितहरूसित गर्नुभएको अन्तिम प्रार्थनामा पनि दुई पटक बताउनुभएको पाउँछौँ।—युह १७:१४, १६.

nwtsty-E युह १५:२१ को अध्ययन नोट

मेरा चेलाहरू भएकाले: वा “मेरो नामको खातिर।” बाइबलमा कहिलेकाहीँ “नाम” भन्‍ने शब्दले त्यो नाम वहन गर्ने व्यक्‍ति, तिनको प्रतिष्ठा र तिनको चरित्र, झुकावजस्ता सबै कुराहरूलाई बुझाउँछ। येसुको नामले परमेश्‍वरले उहाँलाई दिनुभएको अधिकार र ओहदालाई पनि बुझाउँछ। (मत्ति २८:१८; फिलि २:९, १०; हिब्रू १:३, ४) यस पदमा येसुले संसारका मानिसहरूले किन उहाँका चेलाहरूविरुद्ध विभिन्‍न कुरा गर्नेछन्‌ भनेर बताउनुभएको छ: किनभने उहाँलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्‌। परमेश्‍वरलाई चिनेको भए तिनीहरूले येसुको नाम कत्ति महत्त्वपूर्ण छ भनेर बुझ्ने र स्विकार्ने थिए। (प्रे ४:१२) येसुको नामले परमेश्‍वरद्वारा नियुक्‍त शासक, राजाहरूका महाराजाको रूपमा उहाँले पाउनुभएको ओहदालाई पनि बुझाउँछ र जीवन पाउनको लागि सबै मानिसले उहाँको अधीनता स्विकार्दै उहाँसामु घोप्टो पर्नुपर्छ।—युह १७:३; प्रका १९:११-१६; भज २:७-१२.

it-1-E पृ. ५१६

साहस

यहोवा परमेश्‍वरसित दुस्मनीमा रहेको यस संसारको मनोभाव र कामबाट आफूलाई अशुद्ध हुन नदिन र संसारको घृणा सामना गर्नुपरे तापनि उहाँप्रति वफादार रहिरहन ख्रिष्टियनहरूलाई साहस चाहिन्छ। येसु ख्रिष्टले चेलाहरूलाई यसो भन्‍नुभयो: “संसारमा तिमीहरूले सङ्‌कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (युह १६:३३) परमेश्‍वरका छोराले कहिल्यै आफूलाई संसारको प्रभावमा पर्न दिनुभएन, बरु कुनै पनि पक्षमा संसारको अनुकरण नगरेर उहाँले यस संसारलाई जित्नुभयो। संसारलाई जितेर उहाँले बसाल्नुभएको उत्कृष्ट उदाहरण र उहाँको त्रुटिरहित जीवनशैलीले ल्याएको नतिजाबारे विचार गर्दा हामी यस संसारबाट अलग रहन र आफूलाई यसबाट दूषित हुन नदिन साहस पाउँछौँ।—युह १७:१६.

बहुमूल्य रत्न खोजौँ

nwtsty-E युह १७:२१-२३ को अध्ययन नोट

एक: वा “एकतामा।” येसुले आफ्ना साँचो चेलाहरू “एक” होऊन्‌ अर्थात्‌ एउटै उद्देश्‍यका लागि एकतामा रहेर काम गरून्‌ भनेर प्रार्थना गर्नुभयो। उहाँ र उहाँको बुबा “एक” भएजस्तै ती चेलाहरू पनि एक होऊन्‌ अर्थात्‌ तिनीहरूले एकअर्कासित मिलेर काम गरून्‌ र एउटै सोचाइ राखून्‌ भनेर उहाँले प्रार्थना गर्नुभयो। (युह १७:२२) पावलले १को ३:६-९ मा एकअर्कासित अनि परमेश्‍वरसित मिलेर काम गर्ने ख्रिष्टियन प्रचारकहरूबीच पनि यस्तै एकता हुन्छ भनी बताएका छन्‌।—१को ३:८ हेर्नुहोस्‌।

पूर्णतया एकतामा होऊन्‌: बुबाबाट प्रेम पाउनु र पूर्णतया एकतामा रहनुबीच सम्बन्ध छ भनेर येसुले यस पदमा बताउनुभयो। यो कुरा कल ३:१४ सित मेल खान्छ, जहाँ यसो भनिएको छ: “प्रेम . . . मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।” येसुका चेलाहरू पूर्णतया एकतामा रहन्छन्‌ भन्‍नुको अर्थ तिनीहरूको व्यक्‍तित्वमा कुनै भिन्‍नता नै रहँदैन; सबैको क्षमता, बानी र अन्तस्करण एकैनासको हुन्छ भन्‍ने होइन। बरु त्यसको अर्थ तिनीहरूको काम, विश्‍वास र शिक्षा एउटै हुन्छ भन्‍ने हो।—रोमी १५:५, ६; १को १:१०; एफि ४:३; फिलि १:२७.

nwtsty-E युह १७:२४ को अध्ययन नोट

संसारको प्रारम्भ: यहाँ “प्रारम्भ” भनी अनुवाद गरिएको ग्रीक शब्दलाई हिब्रू ११:११ मा “गर्भधारण” भनी अनुवाद गरिएको छ। यहाँ “संसारको प्रारम्भ” भन्‍ने अभिव्यक्‍तिमा प्रयोग गरिएको यस शब्दले आदम र हव्वाको सन्तानको जन्मलाई बुझाएको हुनुपर्छ। येसुले “संसारको प्रारम्भ”-लाई हाबिलसित जोड्‌नुभयो, जो उद्धार पाउन योग्यको पहिलो व्यक्‍ति थिए र “संसारको प्रारम्भदेखि जीवनको पुस्तकमा” नाम लेखिएका पहिलो व्यक्‍ति थिए। (लुका ११:५०, ५१; प्रका १७:८) येसुले आफ्नो बुबालाई प्रार्थना गर्नुहुँदा बताउनुभएका यी शब्दहरूले परमेश्‍वर आफ्ना एक मात्र छोरालाई धेरै अघिदेखि, आदम र हव्वाले सन्तान जन्माउनुभन्दा अघिदेखि नै प्रेम गर्नुहुन्थ्यो भनेर स्पष्ट पार्छ।

अक्टोबर २९–नोभेम्बर ४

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १८-१९

“येसुले सत्यको साक्षी दिनुभयो”

nwtsty-E युह १८:३७ को अध्ययन नोट

साक्षी दिन: ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा प्रयोग गरिएका ग्रीक शब्दहरू, जसलाई “साक्षी दिनु” (मार्टिरिओ) र “साक्षी” (मार्टिरिआ; मार्टिज) भनी अनुवाद गरिएको छ, ती शब्दहरूले विस्तृत अर्थ ढाक्छ। दुवै शब्दले मुख्यतः आफूले देखेको वा आफूलाई ज्ञान भएको कुराबारे गवाही दिनु भन्‍ने अर्थ दिन्छ। तर ती शब्दहरूले “कुनै कुरा घोषणा गर्नु; पक्का गर्नु; त्यसबारे राम्रो कुरा बताउनु” भन्‍ने अर्थ पनि दिन्छ। आफू विश्‍वस्त भएको सत्य कुराहरूबारे येसुले गवाही दिने र घोषणा गर्ने मात्र गर्नुभएन बरु आफ्नो बुबाको भविष्यसूचक वचन र प्रतिज्ञाहरू सत्य साबित हुने तरिकामा जीवन पनि बिताउनुभयो। (२को १:२०) परमेश्‍वरको राज्य र त्यस राज्यका मसीही शासकको सन्दर्भमा परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे थुप्रै कुरा पहिल्यै भविष्यवाणी गरिएको थियो। येसुले पृथ्वीमा बिताउनुभएको पूरै जीवन, जुन उहाँले बलिदानस्वरूप अर्पण गर्नुभएपछि टुङ्‌गियो, त्यसले उहाँबारे गरिएका सबै भविष्यवाणी पूरा गऱ्‍यो। त्यसमा व्यवस्थाको करारमा भएका छाया वा नमुना पनि समावेश थिए। (कल २:१६, १७; हिब्रू १०:१) यसरी येसुले आफ्नो बोली र कामद्वारा ‘सत्यको साक्षी दिनुभयो’ भन्‍न सक्छौँ।

सत्य: येसुले यहाँ सबैले जानेबुझेको साधारण साँचो कुरालाई औँल्याउनुभएको थिएन बरु परमेश्‍वरको उद्देश्‍यसम्बन्धी तथ्य अर्थात्‌ “सत्य” कुराबारे बताउँदै हुनुहुन्थ्यो। परमेश्‍वरको उद्देश्‍यको एउटा प्रमुख पक्ष भनेको “दाउदका छोरा” येसुले प्रधानपुजारी र परमेश्‍वरको राज्यका शासकको रूपमा निभाउनुहुने भूमिका हो। (मत्ति १:१) आफू यस संसारमा आउनु, पृथ्वीमा जीवन बिताउनु र सेवाको काम गर्नुको एउटा प्रमुख कारण परमेश्‍वरको राज्यको घोषणा गर्नु हो भनेर येसुले बताउनुभयो। यही कुरासित मेल खाने सन्देश स्वर्गदूतहरूले दुई पटक घोषणा गरेका थिए—येसु दाउद जन्मिएको सहर बेतलेहेममा जन्मनुभन्दा अघि अनि जन्मनुभएको समयमा।—लुका १:३२, ३३; २:१०-१४.

nwtsty-E युह १८:३८क को अध्ययन नोट

के हो सत्य?: पिलातसले यहाँ येसुले भर्खरै बताउनुभएको परमेश्‍वरको उद्देश्‍यसम्बन्धी तथ्य अर्थात्‌ “सत्य” कुराबारे सोधिरहेका थिएनन्‌, बरु साँचो कुरा के हो भनेर हल्का प्रश्‍न मात्र गरिरहेका थिए। (युह १८:३७) यदि पिलातसले निष्कपट हृदयले यो प्रश्‍न सोधेका भए येसुले पक्कै यसको जवाफ दिनुहुने थियो। तर पिलातसले भने शङ्‌का गर्दै अनि खिसी गरेको पारामा यो प्रश्‍न सोधेको जस्तो देखिन्छ। मानौँ तिनी यसो भन्दै थिए, “सत्य? के हो सत्य? सत्य भन्‍ने कुरा पनि हुन्छ र?” वास्तवमा भन्‍ने हो भने, येसुले के जवाफ दिनुहुन्छ होला भनेर पिलातसले एकछिन पनि पर्खेनन्‌ बरु बाहिर यहुदीहरूकहाँ गइहाले।

बहुमूल्य रत्न खोजौँ

nwtsty-E युह १९:३१ को अध्ययन नोट

यो महाविश्रामदिन थियो: निस्तार चाडको भोलिपल्टको दिन अर्थात्‌ नीसान १५ हप्ताको जुनसुकै दिनमा परे तापनि त्यसलाई विश्रामदिनको रूपमा मनाइन्थ्यो। (लेवी २३:५-७) यो विशेष विश्रामदिन र नियमित रूपमा मनाइने विश्रामदिन (यहुदी हप्ताको सातौँ दिन, जुन शुक्रबारको सुर्यास्तदेखि शनिबारको सुर्यास्तसम्म चल्थ्यो) एउटै दिनमा पर्दा भने यसलाई “महाविश्रामदिन” भनिन्थ्यो। येसुको मृत्यु, जुन शुक्रबार भएको थियो, त्यसको लगत्तै महाविश्रामदिन थियो भनी बाइबलमा बताइएको छ। इस्वी संवत्‌ २९ देखि ३५ सम्मको अवधिलाई विचार गर्ने हो भने नीसान १४ शुक्रबारको दिन परेको एउटै मात्र वर्ष इस्वी संवत्‌ ३३ थियो। यसले येसु इस्वी संवत्‌ ३३ नीसान १४ मै मारिनुभएको थियो भनेर प्रमाणित गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने