जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
नोभेम्बर ५-११
बाइबलमा पाइने अनमोल धन | युहन्ना २०-२१
“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”
nwtsty-E युह २१:१५, १७ को अध्ययन नोट
येसुले सिमोन पत्रुसलाई सोध्नुभयो: पत्रुसले येसुलाई तीन पटक इन्कार गरेको केही समय पनि नबित्दै येसु र पत्रुसबीच यो कुराकानी भएको थियो। पत्रुस उहाँप्रति कस्तो महसुस गर्छन् भनी बुझ्न उहाँले तिनलाई तीन वटा विचारणीय प्रश्न सोध्नुभयो, जसले गर्दा “पत्रुस दुःखी भए।” (युह २१:१७) युह २१:१५-१७ को विवरणमा युहन्नाले दुइटा ग्रीक क्रिया प्रयोग गरेका छन्: प्रेम भनेर अनुवाद गरिएको क्रिया अगापाओ अनि माया भनेर अनुवाद गरिएको क्रिया फिलेओ। येसुले दुई पटक पत्रुसलाई यस्तो प्रश्न सोध्नुभयो: “के तिमी मलाई प्रेम गर्छौ?” दुवै पटक तिनले विश्वस्त हुँदै येसुलाई “माया गर्छु” भनेर जवाफ दिए। अन्तमा येसुले तिनलाई यस्तो प्रश्न सोध्नुभयो: “के तिमी मलाई माया गर्छौ?” तिनले फेरि पनि आफूले येसुलाई माया गरेको कुरा बताए। पत्रुसले हरेक पटक आफ्नो माया व्यक्त गर्दा त्यस्तो प्रेम अनि मायाले पत्रुसलाई येसुका पाठाहरू अर्थात् “साना भेडाहरूलाई” आध्यात्मिक तवरमा खुवाउन अनि “गोठालोले झैँ” उनीहरूको हेरचाह गर्न उत्प्रेरित गर्नुपर्छ भनेर येसुले जोड दिनुभयो। (युह २१:१६, १७; १प ५:१-३) येसुले पत्रुसलाई तीन पटक आफ्नो प्रेम व्यक्त गर्ने मौका दिनुभयो अनि तिनलाई आफ्ना भेडाहरूको हेरचाह गर्ने जिम्मेवारी पनि सुम्पनुभयो। यसरी, पत्रुसले उहाँलाई तीन पटक इन्कार गरेर जुन गल्ती गरेका थिए, त्यसको लागि तिनलाई क्षमा दिएको कुरा येसुले स्पष्ट पार्नुभयो।
के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ: व्याकरणको हिसाबले हेर्ने हो भने “यिनीहरूलाई भन्दा धेरै” भन्ने अभिव्यक्तिलाई एक वा त्योभन्दा धेरै तरिकामा बुझ्न सकिन्छ। कोही-कोही बाइबलविद् यस अभिव्यक्तिको अर्थ “के तिमी मलाई यी चेलाहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” वा “के तिमी मलाई यी चेलाहरूले भन्दा धेरै प्रेम गर्छौ?” हुनुपर्छ भन्छन्। तर यस अभिव्यक्तिको खास अर्थ “के तिमी मलाई यी कुराहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” भन्ने हो जस्तो देखिन्छ, जसमा “यी कुराहरू”-ले चाहिँ चेलाहरूले पक्रेको माछा वा माछा व्यापारसित सम्बन्धित कुराहरूलाई बुझाउँछ। त्यसैले यस पदको अर्थ यस्तो हुनुपर्छ: ‘के तिमी मलाई भौतिक कुराहरूलाई भन्दा धेरै प्रेम गर्छौ? त्यसो हो भने, मेरा पाठाहरूलाई खुवाऊ।’ पत्रुसको विगतलाई विचार गर्ने हो भने तिनलाई यो प्रश्न सोध्नु सुहाउँदो थियो। हुनत तिनी येसुका सुरु-सुरुका चेलाहरूमध्ये एक थिए (युह १:३५-४२), तर तिनी तुरुन्तै पूर्ण समय येसुको पछि लागेका थिएनन्। बरु तिनी आफ्नो माछा व्यापारमा फर्केका थिए। केही महिनापछि येसुले तिनलाई राम्ररी चलिरहेको आफ्नो व्यापार-व्यवसाय छोड्न र “मानिसहरूको जलारी” बन्न निम्तो दिनुभयो। (मत्ति ४:१८-२०; लुका ५:१-११) येसुको मृत्यु भएको केही समयपछि पत्रुसले आफू माछा मार्न जान लागेको कुरा बताए अनि अरू प्रेषितहरू पनि तिनीसँगै गए। (युह २१:२, ३) त्यसैले येसु यहाँ पत्रुसलाई एउटा ठोस निर्णय गर्नुको महत्त्व बुझाउँदै हुनुहुन्थ्यो जस्तो देखिन्छ। तिनको अगाडि भएका माछाहरूले तिनको माछा व्यवसायलाई चित्रण गर्थ्यो। त्यसैले तिनले यस्तो निर्णय गर्नुपर्ने थियो: जीवनमा माछा व्यवसायलाई पहिलो स्थान दिने वा येसुका पाठाहरू अर्थात् उहाँका चेलाहरूलाई आध्यात्मिक तवरमा खुवाउने कामलाई पहिलो स्थान दिने?—युह २१:४-८.
तेस्रो चोटि: पत्रुसले तीन पटक आफ्ना प्रभु येसुलाई इन्कार गरेका थिए; येसु अहिले तिनलाई तीन पटक आफ्नो मनको भावना व्यक्त गर्ने मौका दिँदै हुनुहुन्थ्यो। तिनले आफ्नो माया व्यक्त गर्दा येसुले तिनलाई अरू सबै कुरालाई भन्दा यहोवाको पवित्र सेवालाई पहिलो स्थान दिएर त्यो प्रेम अनि माया देखाउन भन्नुभयो। अरू जिम्मेवार भाइहरूसित मिलेर पत्रुसले येसुका वफादार चेलाहरूको बगाललाई खुवाउने थिए, बलियो पार्ने थिए अनि गोठालोले झैँ उनीहरूको हेरचाह गर्ने थिए। हुनत यी चेलाहरू अभिषिक्त जनहरू थिए, तैपनि तिनीहरूलाई आध्यात्मिक तवरमा खुवाउनु जरुरी थियो।—लुका २२:३२.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E युह २०:१७ को अध्ययन नोट
मसित टाँसिन छोड: ग्रीक क्रिया हाप्तोमाइ-ले “छुनु” अथवा “टाँसिनु; झुन्डिनु” भन्ने अर्थ दिन सक्छ। कुनै-कुनै बाइबलमा येसुका शब्दहरूलाई यसरी अनुवाद गरिएको छ: “मलाई नछोऊ।” तर मरियम मग्दलिनीले आफूलाई छोएकोमा येसुले आपत्ति जनाइरहनुभएको थिएन किनभने फेरि जीवित हुनुभइसकेपछि उहाँलाई देखेका अरू स्त्रीहरूले उहाँको “पाउ समातेर दण्डवत्” गरेका थिए र उहाँले कुनै आपत्ति जनाउनुभएको थिएन। (मत्ति २८:९) सायद मरियम मग्दलिनीले येसु तुरुन्तै स्वर्ग जानुहुनेछ भन्ठानेकी थिइन्। त्यसैले आफ्नो प्रभुसित रहने तीव्र इच्छाले गर्दा तिनी येसुसित टाँसिइरहेकी थिइन् अनि उहाँलाई जान दिइरहेकी थिइनन्। आफू अहिले नै स्वर्ग जान लागेको होइन भन्ने कुरामा मरियमलाई विश्वस्त पार्न येसु तिनलाई आफूसित टाँसिन छोड्न र चेलाहरूकहाँ गएर आफू फेरि जीवित भइसकेको कुरा घोषणा गर्न निर्देशन दिनुहुन्छ।
nwtsty-E युह २०:२८ को अध्ययन नोट
मेरा प्रभु, मेरा परमेश्वर!: कोही-कोही बाइबलविद्हरूका अनुसार थोमाले यो अभिव्यक्ति येसुलाई देखेर आश्चर्यचकित हुँदै भनेको भए तापनि तिनी परमेश्वरलाई सम्बोधन गर्दै थिए। अरू भने तिनले येसुलाई नै सम्बोधन गर्दै यी शब्दहरू भनेका थिए भनेर दाबी गर्छन्। तिनीहरूको दाबी सही नै रहेछ भने पनि हामीले “मेरा प्रभु, मेरा परमेश्वर” भन्ने अभिव्यक्तिलाई बुझ्न प्रेरित धर्मशास्त्रको प्रसङ्गलाई पनि विचार गर्नुपर्छ। विवरण हेर्ने हो भने येसुले यसअघि आफ्ना चेलाहरूकहाँ यस्तो सन्देश पठाउनुभएको थियो, “मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।” त्यसैले थोमाले येसु नै सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भन्ने सोचेका थिए भन्न सक्ने कुनै आधार छैन। (युह २०:१७ को अध्ययन नोट हेर्नुहोस्) येसुले आफ्नो “बुबा”-लाई “एक मात्र साँचो परमेश्वर” भनेर सम्बोधन गर्दै प्रार्थना गर्नुभएको थोमाले सुनेका थिए। (युह १७:१-३) त्यसैले थोमाले येसुलाई “मेरा परमेश्वर” भनेर सम्बोधन गर्नुको केही कारण यस्तो हुन सक्छ: तिनले येसुलाई सर्वशक्तिमान् परमेश्वरको रूपमा नभई “ईश्वर”-को रूपमा हेरेका थिए। (युह १:१ को अध्ययन नोट हेर्नुहोस्) अथवा हिब्रू धर्मशास्त्रमा परमेश्वरका सेवकहरूले उहाँका स्वर्गदूतहरूलाई जसरी सम्बोधन गरेको विवरण पाउँछौँ, थोमाले पनि येसुलाई त्यसरी नै सम्बोधन गरेका हुन सक्छन्। मानिसहरू अनि कुनै-कुनै अवस्थामा बाइबल लेखकहरू स्वर्गदूतहरूसित कुराकानी गर्दा वा तिनीहरूबारे बताउँदा यहोवा परमेश्वरलाई नै सम्बोधन गरे जसरी वा यहोवाबारे नै बताए जसरी कुरा गर्ने गर्थे। सायद थोमालाई यस्ता विवरणहरू थाह थियो। (उत्प १६:७-११, १३; १८:१-५, २२-३३; ३२:२४-३०; न्या ६:११-१५; १३:२०-२२ तुलना गर्नुहोस्) त्यसैले थोमाले येसुलाई “मेरा परमेश्वर” भन्दा तिनले उहाँलाई साँचो परमेश्वरको प्रतिनिधि अनि प्रवक्ताको रूपमा स्विकारेको कुरा देखाइरहेका हुन सक्छन्।
नोभेम्बर १२-१८
बाइबलमा पाइने अनमोल धन | प्रेषित १-३
“ख्रिष्टियन मण्डलीमा पवित्र शक्ति खन्याइन्छ”
w८६-E १२/१ पृ. २९ अनु. ४-५, ७
हृदय खुसी बनाउने अनुदानहरू
इस्वी संवत् ३३ मा ख्रिष्टियन मण्डली स्थापना भएको पहिलो दिनमा भर्खरै बप्तिस्मा गरेका ३,००० ख्रिष्टियनहरू ‘एकसाथ भेला भए, एकसाथ भोजन गरे अनि सँगै प्रार्थना गरे।’ किन? किनभने तिनीहरू ‘प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्दै’ भर्खरै अङ्कुराउन थालेको आफ्नो विश्वास बलियो बनाउन चाहन्थे।—प्रेषित २:४१, ४२.
यरुसलेम आएका यहुदीहरू अनि धर्म परिवर्तन गरेर यहुदी भएकाहरूले पेन्तिकोसको चाडको लागि मात्र त्यहाँ बस्ने योजना बनाएका थिए। तर भर्खरै ख्रिष्टियन भएकाहरू अझै केही समय यरुसलेममै बस्न चाहन्थे अनि भर्खरै अङ्कुराउन थालेको आफ्नो विश्वास बलियो बनाउन अझ धेरै कुरा सिक्न चाहन्थे। त्यसैले त्यतिबेला एक्कासि गाँस र बासको समस्या उब्जियो। यरुसलेम आएकाहरूमध्ये कोही-कोहीसित पुग्दो पैसा थिएन अनि अरू कतिपयसित भने प्रशस्तै थियो। त्यसैले आफूसित प्रशस्त भएकाहरूले खाँचोमा परेकाहरूलाई भौतिक तवरमा मदत गरे।—प्रेषित २:४३-४७.
मानिसहरू राजीखुसीले आफ्नो जग्गा-जमिन बेच्थे अनि आफूसित भएका कुराहरू अरूसित बाँड्थे। आफ्नो सर-सम्पत्ति बेच्न वा अनुदान दिन कसैलाई दबाब दिइएन, सन्यासी जीवन बिताउन पनि प्रोत्साहन दिइएको थिएन। बाइबलको यस विवरणले त्यतिबेला धनी मानिसहरू आफ्नो भएभरको धनसम्पत्ति बेचेर गरिब भए भन्न खोजेको होइन। बरु सङ्गी विश्वासीहरूको अवस्था देखेर मनमा दया पलाएकोले तिनीहरूले आफ्नो सर-सम्पत्ति बेचे अनि त्यसबाट आएको सबै रकम राज्य गतिविधिलाई अघि बढाउनको लागि अनुदान दिए।—२ कोरिन्थी ८:१२-१५ तुलना गर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ६१ अनु. १
येसु ख्रिष्ट
“जीवनको मुख्य माध्यम।” येसु ख्रिष्टले मानिसजातिको लागि आफ्नो त्रुटिरहित जीवन बलिदानस्वरूप चढाउनुभयो। त्यसमा हामी उहाँको बुबाको असीम अनुग्रह देख्न सक्छौँ। उहाँको बलिदानले गर्दा उहाँका चुनिएका चेलाहरूले उहाँसितै स्वर्गमा शासन गर्न अनि मानिसहरूले उहाँको प्रजाको रूपमा पृथ्वीमा जीवन बिताउन सम्भव भयो। (मत्ति ६:१०; युह ३:१६; एफि १:७; हिब्रू २:५) यसरी उहाँ सबै मानिसजातिको लागि “जीवनको मुख्य माध्यम” हुनुभयो। (प्रे ३:१५) यहाँ प्रयोग गरिएको ग्रीक शब्दले “मुख्य अगुवा” भन्ने अर्थ दिन्छ। यस्तै अर्थ दिने शब्द मोसाको सन्दर्भमा पनि प्रयोग गरिएको छ (प्रे ७:२७, ३५), जसलाई इस्राएलका “शासक” भनिएको छ।
cl-E पृ. २६५ अनु. १४
“क्षमा गर्न सधैँ तयार” परमेश्वर
१४ यहोवाले दिनुहुने क्षमाबारे प्रेषित ३:१९ मा यस्तो कुरा बताइएको छ: “त्यसैले पश्चात्ताप गर्नुहोस् अनि फर्केर परमेश्वरकहाँ आउनुहोस् ताकि तपाईँहरूको पाप मेटियोस्।” यस अन्तिम अभिव्यक्तिमा प्रयोग गरिएको ग्रीक क्रियालाई “पुछ्नु, रद्द गर्नु वा नाश गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ। केही बाइबलविद्को भनाइअनुसार यस अभिव्यक्तिले अक्षर मेटाउने कुरालाई बुझाउँछ। यो कसरी सम्भव हुन्थ्यो? पुरातन समयमा सामान्यतया कोइला, चोप र पानी मिसाएर मसी बनाइन्थ्यो। त्यस्तो मसीले लेखेपछि तुरुन्तै भिजेको स्पन्ज प्रयोग गरेर लेखेको कुरा मेट्न सकिन्थ्यो। यसबाट हामी यहोवाले दिनुहुने क्षमाबारे राम्ररी बुझ्न सक्छौँ। हाम्रो पाप क्षमा गर्नुहुँदा उहाँ एक अर्थमा स्पन्ज लिनुहुन्छ अनि ती पाप मेटाइदिनुहुन्छ।
प्रचार गर्ने सीप तिखारौँ
it-1-E पृ. १२९ अनु. २-३
यहुदा इस्करियोतको ठाउँमा बाह्रौँ प्रेषितको रूपमा कसलाई नियुक्त गरियो?
यहुदा इस्करियोतले येसुलाई धोका दिए र अवफादार भई मरे। यसकारण ११ जना प्रेषित मात्र बाँकी भए। येसु फेरि जीवित हुनुभएको दिनदेखि स्वर्ग उक्लनुभएको ४० दिनको दौडान उहाँले यहुदाको सट्टामा कसैलाई पनि अर्को प्रेषितको रूपमा नियुक्त गर्नुभएन। येसु स्वर्ग उक्लनुभएको समयदेखि पन्तिकोसको दिनसम्मको दस दिनको अवधिमा भने यहुदाको ठाउँमा अर्को प्रेषित छान्नु आवश्यक देखियो। तिनको मृत्यु भएकोले त होइन बरु तिनले दुष्ट भई येसुलाई धोका दिएको हुनाले अर्को प्रेषित छान्नुपरेको थियो। पत्रुसले उद्धरण गरेका शास्त्रपदहरूले पनि यही कुरालाई समर्थन गर्छ। (प्रे १:१५-२२; भज ६९:२५; १०९:८; प्रका ३:११ तुलना गर्नुहोस्।) त्यसैले वफादार प्रेषित याकुबको मृत्यु हुँदा भने तिनको ठाउँमा अर्को प्रेषित छानिएको कुनै छनक बाइबलमा पाउँदैनौँ।—प्रे १२:२.
पत्रुसले भनेको कुराबाट के प्रस्ट हुन्छ भने कोही व्यक्तिले येसु ख्रिष्टलाई व्यक्तिगत रूपमा चिनेको छ, उहाँले गर्नुभएका कामहरू, उहाँका चमत्कारहरू र विशेषगरि उहाँ फेरि जीवित हुनुभएको आफ्नै आँखाले देखेको छ भने मात्र तिनी प्रेषित हुन योग्य हुन्थे। यी योग्यताहरूलाई विचार गर्ने हो भने समय बित्दै गएपछि कसैलाई प्रेषितको रूपमा नियुक्त गर्नु असम्भव हुनेथियो। परमेश्वर स्वयम्ले नै कसैलाई यी योग्यताहरू पूरा गर्न मदत नगर्नुभएसम्म कोही पनि प्रेषित हुन योग्य हुने थिएन। तर पेन्तिकोसअघि भने ती योग्यताहरू पूरा गरेका पुरुषहरू थिए। अवफादार यहुदाको ठाउँमा अर्को प्रेषित छान्न दुई जना योग्य व्यक्तिलाई अघि सारियो। हितोपदेश १६:३३ मा बताइएको कुरालाई मनमा राख्दै गोला हालियो र मत्तियासलाई छानियो। त्यसपछि “तिनको गन्ती पनि ११ प्रेषितसँगै हुन थाल्यो।” (प्रे १:२३-२६) त्यसकारण ग्रीकभाषी चेलाहरूको समस्या सुल्झाउँदा तिनी पनि “१२ प्रेषित”-मा सामेल थिए। साथै १ कोरिन्थी १५:४-८ मा पावलले येसु फेरि जीवित भएपछि देखा पर्नुभएको विवरणबारे बताउँदा “बाह्रै जना” भन्ने अभिव्यक्ति चलाएका छन् र तिनले ती १२ जनामा मत्तियासलाई पनि सामेल गरेको हुनुपर्छ। त्यसैले पेन्तिकोसको चाड सुरु हुँदा मण्डलीमा १२ जना प्रेषित थिए, जसले त्यसबेला बनेको आध्यात्मिक इस्राएलको जगको भूमिका निर्वाह गर्ने थिए।
नोभेम्बर १९-२५
बाइबलमा पाइने अनमोल धन | प्रेषित ४-५
“तिनीहरूले निडर भएर परमेश्वरको वचन बोलिरहे”
w०८-E ९/१ पृ. १५ को पेटी
मौखिक वचनदेखि पवित्र लेखोटसम्म—सुरु-सुरुका ख्रिष्टियनहरू कस्तो लेखनशैली अपनाउँथे
के प्रेषितहरू निरक्षर थिए?
जब यरुसलेमका शासक अनि धर्मगुरुहरूले “पत्रुस र युहन्नाको साहस देखे र दुवै जना अशिक्षित अनि साधारण मानिस रहेछन् भनी बुझे, तब तिनीहरूले अचम्म माने।” (प्रे ४:१३) के प्रेषितहरू साँच्चै अशिक्षित अर्थात् निरक्षर थिए त? यसबारे द न्यु इन्टरप्रेटर्स बाइबल यसो भन्छ: “यी भनाइहरूलाई हामीले शाब्दिक अर्थमै लिनु हुँदैन। यसले पत्रुस [र युहन्ना] कहिल्यै विद्यालय गएका थिएनन् वा तिनीहरूले लेखपढ गर्न जानेकै थिएनन् भन्ने अर्थ दिँदैन। यी भनाइहरूले न्याय गर्न बसेकाहरू र प्रेषितहरूबीचको सामाजिक ओहदामा भएको भिन्नता देखाउन खोजेको मात्र हो।”
it-1-E पृ. १२८ अनु. ३
प्रेषित
ख्रिष्टियन मण्डलीमा तिनीहरूले गर्ने काम। पेन्तिकोसको दिन परमेश्वरको पवित्र शक्ति पाएपछि प्रेषितहरूको विश्वास निकै बलियो भयो। प्रेषितको किताबको सुरुका पाँच अध्यायमा प्रेषितहरूले साहस अनि निर्भयतासाथ सुसमाचार घोषणा गरेको र येसु फेरि जीवित भइसक्नुभएको कुरा प्रचार गरेको विवरण पाउँछौँ। थुनामा पर्दा, कुटाइ खानुपर्दा अनि शासकहरूबाट मृत्युको धम्की आउँदा समेत तिनीहरू डराएनन्। पेन्तिकोसको चाड सिद्धिएलगत्तै प्रेषितहरूले पवित्र शक्तिको साथ पाएर निकै प्रभावकारी ढङ्गमा मण्डलीको नेतृत्व गरे, जसले गर्दा ख्रिष्टियन मण्डलीको व्यापक वृद्धि भयो। (प्रे २:४१; ४:४) सुरुमा तिनीहरूको प्रचारकार्य यरुसलेममा मात्रै सीमित थियो, पछि तिनीहरूले सामरियामा पनि प्रचार गरे अनि केही समयपछि संसारको कुना-कुनासम्म प्रचारकार्य फैलियो।—प्रे ५:४२; ६:७; ८:५-१७, २५; १:८.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ५१४ अनु. ४
कुनाको ढुङ्गो
भजन ११८:२२ ले बताएअनुसार डकर्मीहरूले काम नलाग्ने ठानेको ढुङ्गो “कुनाको शिरढुङ्गो” (हिब्रूमा रोश्पिन्नाह) बन्ने थियो। येसुले यो भविष्यवाणी उद्धृत गर्नुभयो अनि आफू नै “कुनाको शिरढुङ्गो” (ग्रीकमा केफालेगोनियास) भएको कुरा बताउनुभयो। (मत्ति २१:४२; मर्कु १२:१०, ११; लुका २०:१७) भवनको टुप्पोमा हुने ढुङ्गो सबैभन्दा महत्त्वपूर्ण हुन्छ, त्यसरी नै येसु ख्रिष्ट पनि अभिषिक्त जनहरूको मण्डलीको मुख्य ढुङ्गो हुनुहुन्छ, जुन मण्डलीलाई आध्यात्मिक मन्दिरसित तुलना गरिएको छ। पत्रुसले पनि भजन ११८:२२ को भविष्यवाणी ख्रिष्टमा लागू हुन्छ भनी बताए। येसु मानिसहरूले काम नलाग्ने ठानेको “ढुङ्गो” हुनुहुन्छ तर परमेश्वरले उहाँलाई “कुनाको शिरढुङ्गो” हुन रोज्नुभयो भनेर तिनले बताए।—प्रे ४:८-१२; १प २:४-७ पनि हेर्नुहोस्।