जीवनी
असल उदाहरणहरूबाट सिकेर मैले प्रशस्त आशिष् पाएँ
सानो छँदा मलाई प्रचारकार्यमा भाग लिन गाह्रो लाग्थ्यो। हुर्कँदै जाँदा, आफूले पूरा गर्न सक्दिनँ होला जस्तो लागेका जिम्मेवारीहरू पनि मलाई सुम्पिइयो। तर मैले केही भाइबहिनीको असल उदाहरणबाट थुप्रै कुरा सिकेँ, जसले गर्दा आफ्नो डर-चिन्ता हटाउन सकेँ। साथै पूर्ण-समय सेवामा ५८ वर्ष बिताउँदा प्रशस्त आशिष् पनि पाएँ। तपाईँहरूलाई यसबारे केही कुरा बताउन चाहन्छु।
मेरो जन्म क्यानाडाको फ्रान्सेली भाषा बोलिने क्युबेक सहरमा भएको थियो। मेरो बुबाको नाम लुई र आमाको नाम जेलिया हो। उहाँहरूले मलाई मायालु पारिवारिक वातावरणमा हुर्काउनुभयो। बुबा लजालु स्वभावको हुनुहुन्थ्यो र पढ्न रुचाउनुहुन्थ्यो। मलाई चाहिँ लेख्न मन पर्थ्यो र पछि गएर पत्रकार बन्न चाहन्थेँ।
म १२ वर्षको छँदा हाम्रो घरमा बुबाको सहकर्मी रुडोल्फ सुसी र उहाँको एक जना साथी आउनुभयो। उहाँहरू यहोवाका साक्षी हुनुहुन्थ्यो। मलाई यहोवाका साक्षीहरूबारे धेरै कुरा थाह थिएन अनि उहाँहरूको धर्ममा त्यति चासो पनि थिएन। तर उहाँहरूले बाइबल प्रयोग गरेर तर्कपूर्ण ढङ्गमा जवाफ दिनुभएको देखेर म दङ्ग परेको थिएँ। मेरा बुबाआमा पनि उहाँहरूको कुरा सुनेर प्रभावित हुनुभयो। त्यसैले हामी बाइबल अध्ययन गर्न राजी भयौँ।
त्यतिबेला म क्याथोलिक स्कुलमा पढ्थेँ। बाइबल अध्ययनमा सिकेका कुराहरूबारे म कहिलेकाहीँ आफ्ना साथीहरूसित कुरा गर्थेँ। पछि मेरा शिक्षकहरू, जो पादरी थिए, उहाँहरूले त्यसबारे थाह पाउनुभयो। बाइबलै प्रयोग गरेर मेरो कुरा खण्डन गर्नुको साटो उहाँहरूमध्ये एक जनाले मलाई कक्षामा सबैको अगाडि ‘विद्रोही’ भन्ने आरोप पो लगाउनुभयो! त्यस घटनाले गर्दा मलाई एकदमै तनाव भयो तर परिणाम भने राम्रो भयो। हाम्रो स्कुलले सिकाउने गरेको धार्मिक शिक्षा बाइबलको कुरासित मिल्दैन रहेछ भनेर मैले बुझेँ। त्यसपछि मलाई त्यस स्कुलमा पढ्नु ठीक लागेन। अनि बुबाआमाको अनुमति पाएपछि म अर्को स्कुलमा भर्ना भएँ।
प्रचारकार्यमा रमाउन सिकेँ
मैले बाइबल अध्ययन गरिरहेको थिएँ तर खासै आध्यात्मिक प्रगति गर्न सकेको थिइनँ किनभने मलाई घर-घरको प्रचारकार्यमा भाग लिन डर लाग्थ्यो। हाम्रो इलाकामा क्याथोलिक चर्चको बलियो पकड थियो र तिनीहरूले हाम्रो प्रचारकार्यको घोर विरोध गर्थे। क्युबेकको प्रमुख, मोरिस डुप्लेसिस प्रभावशाली राजनैतिक नेता थिए र तिनको क्याथोलिक चर्चसित बलियो साँठगाँठ थियो। तिनको समर्थन पाएर मानिसहरू साक्षीहरूलाई धम्क्याउन हुलदङ्गा गर्थे र कहिलेकाहीँ आक्रमणसमेत गर्थे। त्यतिबेला प्रचार गर्न निकै साहस चाहिन्थ्यो।
प्रचारकार्यको डर हटाउन मैले जोन रे दाइबाट निकै मदत पाएँ। उहाँ गिलियड स्कुलको नवौँ कक्षाका स्नातक हुनुहुन्थ्यो। उहाँ असाध्यै अनुभवी, शान्त, नम्र र कुरा गर्न सजिलो व्यक्ति हुनुहुन्थ्यो। उहाँले मलाई सीधै सल्लाह दिनुभएको त्यति याद छैन तर उहाँको असल उदाहरणबाट मैले थुप्रै कुरा सिकेँ। उहाँलाई फ्रान्सेली भाषा राम्ररी बोल्न आउँदैनथ्यो। त्यसैले म प्रचारकार्यमा अक्सर उहाँसित जान्थेँ अनि उहाँलाई बोल्न गाह्रो हुँदा सघाउँथेँ। उहाँसित धेरै समय बिताएकोले गर्दा मैले यहोवाको साक्षी बन्ने निर्णय गर्न सकेँ। साक्षीहरूसित पहिलो चोटि भेटेको दस वर्षपछि मे २६, १९५१ मा मैले बप्तिस्मा गरेँ।
जोनको (क) राम्रो उदाहरणले मलाई (ख) घर-घरको प्रचारकार्यको डर हटाउन मदत गऱ्यो
क्युबेक सहरको हाम्रो सानो मण्डलीमा धेरैजसो अग्रगामी हुनुहुन्थ्यो। उहाँहरूको राम्रो प्रभावले मलाई पनि अग्रगामी सेवा सुरु गर्न उत्प्रेरित गऱ्यो। त्यतिबेला हामी घर-घरको प्रचारकार्यमा बाइबल मात्र चलाउँथ्यौँ। प्रकाशनहरू नचलाउने भएकोले बाइबल प्रभावकारी तरिकामा प्रयोग गर्नुपर्थ्यो। त्यसैले सत्यको पक्षमा बोल्न मदत गर्ने बाइबल पदहरू याद गर्न प्रयास गरेँ। तर क्याथोलिक चर्चबाट मान्यता प्राप्त बाइबल होइन भने मानिसहरू त्यो बाइबल पढ्नै मान्दैनथे।
सन् १९५२ मा मैले हाम्रै मण्डलीको एउटी वफादार बहिनी सिमोन पाट्रीसित विवाह गरेँ। त्यसपछि हामी मन्ट्रिअल सहरमा सऱ्यौँ अनि वर्षदिनभित्रै हाम्री छोरी लीज जन्मिइन्। हुनत मैले विवाह गर्नुभन्दा केही अघि नै अग्रगामी सेवा गर्न छोडिसकेको थिएँ। तैपनि पूरै परिवार मिलेर मण्डलीको गतिविधिमा सकेसम्म धेरै भाग लिन सकोस् भनेर सिमोन र मैले सरल जीवन बितायौँ।
त्यसको दस वर्षपछि मात्र मैले फेरि अग्रगामी सेवा थाल्नेबारे गम्भीरतापूर्वक सोच्न थालेँ। सन् १९६२ मा म क्यानाडा बेथेलमा एल्डरहरूको लागि आयोजना गरिएको एक महिने राज्य सेवा स्कुलमा गएँ। त्यतिबेला म र क्यामिल वलेट नाम गरेको भाइ एउटै कोठामा बस्थ्यौँ। प्रचारकार्यप्रति क्यामिलको जोस देखेर म निकै प्रभावित भएँ किनभने विवाहित हुनुका साथै उहाँका छोराछोरी पनि थिए। त्यतिबेला क्युबेकमा बच्चा हुर्काउँदै अग्रगामी सेवा गर्ने बुबाआमा थिँदै थिएनन् भने पनि हुन्छ। तर क्यामिलले भने अग्रगामी सेवा गर्ने लक्ष्य राख्नुभएको थियो। त्यसबेला उहाँले मेरो परिस्थितिबारे राम्ररी सोच्न प्रोत्साहन दिनुभयो। त्यसको केही महिना नबित्दै मलाई लाग्यो कि म फेरि नियमित अग्रगामीको रूपमा सेवा गर्न सक्छु। कसै-कसैले मेरो निर्णयलाई मूर्ख निर्णय भने तर प्रचारकार्यमा अझ धेरै भाग लिने मेरो प्रयासमाथि यहोवाले आशिष् दिनुहुनेछ भनेर ढुक्क हुँदै मैले अग्रगामी सेवा थालेँ।
विशेष अग्रगामीको रूपमा क्युबेक सहर फर्कियौँ
सन् १९६४ मा सिमोन र म हाम्रो जन्मथलो क्युबेक सहरमा विशेष अग्रगामीको रूपमा सेवा गर्न नियुक्त भयौँ। त्यहाँ हामीले केही वर्ष सेवा गऱ्यौँ। त्यति बेलासम्म प्रचारकार्यप्रति मानिसहरूको विरोध कम भइसकेको थियो तर विरोधीहरू अझै पनि थिए।
एकचोटिको कुरा हो, शनिबार दिउँसो मलाई क्युबेक सहरको नजिकै पर्ने गाउँ सेन्ट-मारीमा गिरफ्तार गरियो। एक जना प्रहरीले मलाई चौकीमा लग्यो र झ्यालखानामा हालिदियो किनभने मैले अनुमति पत्रविना घर-घरमा प्रचार गरिरहेको थिएँ। पछि मलाई बियार्झोँ नाम गरेका न्यायाधीशसामु उभ्याइयो। तिनीदेखि सबै डराउँथे। तिनले मेरो पक्षमा कसले मुद्दा लड्नेछन् भनेर सोधे। मैले ग्लेन हाउa भन्ने नाम लिएपछि तिनको सातो उड्यो र तिनले यसो भने: “बाफरे! ऊ पो!” ग्लेन हाउ यहोवाको साक्षी हुनुहुन्थ्यो र उहाँ साक्षीहरूको पक्षमा लड्ने वकिल भनेर प्रख्यात हुनुहुन्थ्यो। उहाँले त्यतिबेला साक्षीहरूको पक्षमा थुप्रै कानुनी विजय हासिल गर्नुभएको थियो। केही समय नबित्दै, ममाथि लगाइएको अभियोगबाट मलाई मुक्त गरिएको कुरा अदालतले सुनायो।
क्युबेकमा हाम्रो कामप्रतिको विरोधले गर्दा सभाको लागि उपयुक्त ठाउँ भेट्टाउन पनि गाह्रो भयो। हाम्रो सानो मण्डलीले बल्लतल्ल एउटा थोत्रो ग्यारेज भेट्टायो। कठ्याङ्ग्रिने जाडोमा अलि तातो होस् भनेर भाइहरूले हिटर बाल्नुहुन्थ्यो। हामी सभाअघि हिटर ताप्दै एकअर्कालाई प्रोत्साहनदायी अनुभवहरू सुनाउँथ्यौँ।
वर्षौँको दौडान प्रचारकार्यमा भएको राम्रो परिणाम देख्दा असाध्यै खुसी लाग्छ। सन् १९६० को दशकमा क्युबेक सहर, कोट-नोर इलाका र गास्पा प्रायद्वीप तीनवटै ठाउँ गरेर पनि मण्डलीहरू स-साना अनि थोरै मात्र थिए। अहिले ती इलाकाहरूमा थुप्रै मण्डली छन् अनि सभाको लागि सुन्दर राज्यभवनहरू पनि छन्।
परिभ्रमण कार्य गर्ने निम्तो पायौँ
सन् १९७७ मा क्यानाडाको टोरोन्टोमा परिभ्रमण निरीक्षकहरूको लागि आयोजना गरिएको सभामा म उपस्थित भएँ
सन् १९७० मा सिमोन र मैले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पायौँ। त्यसपछि १९७३ मा हामीलाई जिल्ला निरीक्षकको रूपमा सेवा गर्न खटाइयो। ती वर्षहरूको दौडान मैले लोरियर सौमरb र डेभिड स्प्लेनc जस्ता अनुभवी भाइहरूबाट धेरै कुरा सिकेँ। उहाँहरू दुवै जना परिभ्रमण कार्य गर्नुहुन्थ्यो। हरेक सम्मेलनपछि डेभिड र म एकअर्कालाई आफ्नो शिक्षणकला तिखार्न सुझावहरू दिने गर्थ्यौँ। डेभिडले एकचोटि भनेको कुरा मलाई अझै याद छ। तिनले यसो भने: “लाओन्स, तिम्रो अन्तिम भाषण एकदम राम्रो थियो। तर तिमीले प्रयोग गरेको विषयवस्तुबाट त मैले तीन-तीन वटा भाषण बनाउन सक्थेँ!” भाषणहरूमा तीनथुप्रो जानकारी समावेश गर्ने मेरो बानी थियो। मैले छोटकरीमा स्पष्टसित बताउन सिक्नुपर्ने थियो।
मैले क्यानाडाको पूर्वीय भागको विभिन्न सहरमा सेवा गरेँ
जिल्ला निरीक्षकहरूले क्षेत्रीय निरीक्षकहरूलाई प्रोत्साहन दिने जिम्मेवारी पाएका हुन्थे। क्युबेकका थुप्रै प्रकाशकले मलाई राम्ररी चिन्नुहुन्थ्यो। त्यसैले क्षेत्रीय निरीक्षकसित भ्रमणमा जाँदा त्यहाँका प्रकाशकहरू मसित प्रचारकार्यमा जान चाहनुहुन्थ्यो। मलाई उहाँहरूसित प्रचारकार्यमा जान रमाइलो लाग्थ्यो तर मैले क्षेत्रीय निरीक्षकसित भने पर्याप्त समय बिताइरहेको थिइनँ। एकचोटि, एक जना मायालु क्षेत्रीय निरीक्षकले मलाई यसरी सम्झाउनुभयो: “तपाईँले भाइहरूलाई समय दिनु राम्रो कुरा हो तर नबिर्सनुस् है, यो हप्ताचाहिँ मेरो पालो हो नि। मलाई पनि प्रोत्साहन चाहिन्छ!” यस्तो मायालु सल्लाहले मलाई अझ सन्तुलित हुन मदत गऱ्यो।
दुःखको कुरा, सन् १९७६ मा मेरो जीवनमा ठूलो बज्रपात आइपऱ्यो। मेरी प्यारी पत्नी सिमोन सिकिस्त बिरामी परिन् र उनको मृत्यु भयो। उनको आत्मत्यागी मनोभाव र यहोवाप्रतिको प्रेमले गर्दा मैले ठूलो साथ पाएको थिएँ। उनको मृत्युपछि प्रचारकार्यमा व्यस्त रहँदा मैले उनको मृत्युको पीडा सहन सकेँ। अनि त्यस कठिन घडीमा पनि यहोवाले मलाई मायालु साथ दिनुभएकोमा उहाँप्रति कृतज्ञ छु। पछि मैले क्यारोलिन एलियटसित विवाह गरेँ। उनी अङ्ग्रेजी भाषा बोल्ने जोसिलो अग्रगामी थिइन् र आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न क्युबेकमा बसाइँ सरेकी थिइन्। भाइबहिनीलाई क्यारोलिनसित कुरा गर्न सजिलो लाग्छ र उनी विशेषगरि लजालु र एक्लो महसुस गरिरहेकाहरूप्रति निष्कपट चासो देखाउँछिन्। परिभ्रमण कार्यमा उनको साथ पाउनु मेरो लागि साँच्चै ठूलो आशिष् साबित भयो।
एकदमै महत्त्वपूर्ण वर्ष
सन् १९७८ जनवरीमा मैले क्युबेकमा पहिलो अग्रगामी सेवा स्कुलको प्रशिक्षकको असाइनमेन्ट पाएँ। मलाई असाध्यै डर लाग्यो किनभने म त्यो स्कुलमा कहिल्यै गएको थिइनँ र मेरो लागि सबै कुरा नयाँ थियो। धन्न! मैले पढाएको पहिलो कक्षामा थुप्रै अनुभवी अग्रगामी थिए। हुनत म प्रशिक्षक थिएँ तैपनि मैले विद्यार्थीहरूबाट धेरै कुरा सिकेँ!
पछि १९७८ मै मन्ट्रिअलको ओलम्पिक स्टेडियममा “विजयी विश्वास” विषयको अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरियो। त्यो त्यतिबेलासम्म क्युबेकमा आयोजना गरिएको सबैभन्दा ठूलो अधिवेशन थियो, जहाँ ८० हजारभन्दा धेरै उपस्थित भए। मलाई अधिवेशनको समाचार सेवा विभागमा खटाइयो। मैले थुप्रै पत्रकारसित कुरा गरेँ अनि हाम्रो विषयमा सञ्चारमाध्यममा राम्रो कुरा छापिएको देख्दा खुसी लाग्यो। टेलिभिजन र रेडियोमा हाम्रो अन्तरवार्ता लिइयो र यसरी हाम्रो विषयमा २० घण्टाभन्दा धेरै समय प्रसारण गरियो अनि सयौँ लेखहरू छापिए। हाम्रो विषयमा व्यापक साक्षी दिइयो!
अर्कै इलाकामा बसाइँ सऱ्यौँ
सन् १९९६ मा मेरो जीवनमा ठूलो परिवर्तन आयो। बप्तिस्मा गरेदेखि नै मैले क्युबेकमा सेवा गरेको थिएँ, जहाँ फ्रान्सेली भाषा बोलिन्थ्यो। तर मलाई टोरोन्टो सहरको अङ्ग्रेजी भाषा बोलिने इलाकामा सेवा गर्न खटाइयो। यो सेवाको लागि आफू योग्य छैनँ जस्तो मलाई लाग्यो। टुटेफुटेको अङ्ग्रेजीमा भाषण दिने कुरा सोच्दा मात्र पनि आङ सिरिङ्ङ हुन्थ्यो। त्यसैले मैले अझ धेरै प्रार्थना गर्नुपर्ने र यहोवामा पूरापूर भरोसा राख्नुपर्ने आवश्यकता महसुस गरेँ।
विगतको अनुभवलाई फर्केर हेर्दा टोरोन्टो इलाकामा सेवा गर्दाको दुई वर्ष असाध्यै रमाइलो भयो। मलाई निर्धक्क भई अङ्ग्रेजी भाषा बोल्न क्यारोलिनले सधैँ मदत गरिरहिन्। त्यहाँका भाइहरू पनि असाध्यै मदतगार हुनुहुन्थ्यो र मलाई प्रोत्साहन दिइरहनु हुन्थ्यो। हामीले थोरै समयभित्र थुप्रै नयाँ साथी बनाउन सक्यौँ।
सप्ताहन्तमा हुने सम्मेलन र त्यसको लागि तयारी गर्नुको साथै म शुक्रबार साँझ एक घण्टाजति घर-घरको प्रचारकार्यमा भाग लिन्थेँ। कसै-कसैलाई यस्तो लाग्न सक्थ्यो, ‘सम्मेलन हुने सप्ताहन्तको यस्तो व्यस्त समयमा पनि किन प्रचारकार्यमा जानु परेको होला?’ तर प्रचारकार्यमा घरधनीसित राम्रो कुराकानी गर्न पाउँदा स्फूर्ति पाउँथेँ। अहिले पनि प्रचारकार्यमा भाग लिएपछि आनन्दित महसुस गर्छु।
सन् १९९८ मा क्यारोलिन र मलाई विशेष अग्रगामीको रूपमा सेवा गर्न फेरि मन्ट्रिअल खटाइयो। त्यहाँ केही वर्षसम्म सेवा गर्दा मैले विशेष सार्वजनिक साक्षीकार्यको आयोजना गर्ने र यहोवाका साक्षीहरूविरुद्धको पूर्वाग्रह हटाउन सञ्चारमाध्यमहरूलाई सही जानकारी दिने असाइनमेन्ट पाएको थिएँ। अहिले क्यारोलिन र म क्यानाडामा भर्खरै बसाइँ सरेर आएका विदेशीहरूलाई प्रचार गर्छौँ, जो अक्सर बाइबलबारे अझ धेरै कुरा सिक्न उत्सुक हुन्छन्।
मेरी पत्नी क्यारोलिनसित
बप्तिस्मा गरेर यहोवाको सेवामा बिताएको ६८ वर्षलाई फर्केर हेर्दा मैले प्रशस्त आशिष् पाएको महसुस गर्छु। प्रचारकार्यमा रमाउन सिक्नु र थुप्रैलाई सत्य सिक्न मदत गर्नु साँच्चै इनामदायी साबित भएको छ। मेरी छोरी लीज र ज्वाइँले छोराछोरी हुर्काइसकेपछि नियमित अग्रगामीको रूपमा सेवा गर्न थाले। प्रचारकार्यमा छोरीले देखाइरहेको जोस देख्दा मेरो मन खुसीले गद्गद हुन्छ। असल उदाहरण र बुद्धिमानी सल्लाहद्वारा मलाई आध्यात्मिक तवरमा बढ्न र विभिन्न ईश्वरतान्त्रिक जिम्मेवारी बहन गर्न मदत गर्ने सङ्गी भाइबहिनीप्रति विशेषगरि आभारी छु। यहोवाको बेजोड पवित्र शक्तिमा भर पऱ्यौँ भने मात्र आफ्नो असाइनमेन्टमा वफादार रहिरहन सक्छौँ भनेर मैले सिकेँ। (भज. ५१:११) यहोवाको नामको प्रशंसा गर्ने अनमोल सुअवसर दिनुभएकोमा म उहाँलाई सधैँ धन्यवाद दिन्छु!—भज. ५४:६.
a मे ८, २००० अङ्कको ब्यूँझनुहोस्!-मा छापिएको “लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन” विषयको ग्लेन हाउको जीवनी हेर्नुहोस्।
b नोभेम्बर १५, १९७६ अङ्कको प्रहरीधरहरा-मा (अङ्ग्रेजी) “मैले सङ्घर्ष गर्न लायकको कुरा भेट्टाएँ” विषयको लोरियर सौमरको जीवनी हेर्नुहोस्।
c डेभिड स्प्लेन यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुहुन्छ।