प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जुलाई पृ. ३०-पृ. ३१ अनु. ४
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईँ कसरी सुहाउँदो जीवनसाथी भेट्टाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जुलाई पृ. ३०-पृ. ३१ अनु. ४
दुई वटा मोबाइल आमनेसामने छ। एउटा मोबाइलको स्क्रिनबाट एक जना पुरुषले फूल दिइरहेको देखिन्छ र अर्को मोबाइलको स्क्रिनबाट एक जना स्त्रीले त्यो फूल स्विकारेको देखिन्छ।

पाठकहरूको प्रश्‍न

विवाहको लागि जोडी खोज्न जोडी मिलाउने वेबसाइट चलाउने विषयमा यहोवाका साक्षीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?

दुई जना व्यक्‍ति विवाह गरेर आनन्दित जीवन बिताएको अनि तिनीहरूबीचको सम्बन्ध बलियो र दिगो भएको यहोवा पक्कै चाहनुहुन्छ। (मत्ति १९:४-६) यदि तपाईँ विवाह गर्न चाहनुहुन्छ भने आफ्नो लागि सुहाउँदो जोडी कसरी भेट्टाउन सक्नुहुन्छ? हाम्रा सृष्टिकर्ता यहोवालाई कुन कुराले विवाहअघिको भेटघाट र विवाहलाई सफल बनाउन सक्छ भनेर थाह छ। त्यसैले तपाईँले उहाँले दिनुभएका सिद्धान्तहरू लागू गर्नुभयो भने त्यसको नतिजा राम्रो हुनेछ। तीमध्ये केही सिद्धान्तहरू विचार गर्नुहोस्‌।

पहिलो, हामीले आफैबारे यो कुरा स्विकार्नुपर्छ: “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मि. १७:९) विवाह गर्न खोजिरहेका दुई जना व्यक्‍ति आपसमा भेटघाट गर्न थालेपछि तिनीहरू एकअर्काप्रति झन्‌झन्‌ आकर्षित हुन सक्छन्‌। त्यतिबेला तिनीहरूलाई सही निर्णय गर्न गाह्रो हुन सक्छ। भावनामा बहेर विवाह गर्ने निर्णय गरेकाहरू पछि पछुताउनुपरेको छ। (हितो. २८:२६) त्यसैले एकअर्कालाई राम्ररी चिन्‍नुअघि नै आफ्नो मनका भावनाहरू पोख्नु वा वाचा-कसम खानु बुद्धिमानी होइन।

हितोपदेश २२:३ यसो भन्छ: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।” जोडी मिलाउने वेबसाइटहरू प्रयोग गर्दा कस्ता खतराहरू हुन सक्छन्‌? दुःखको कुरा, केही मानिसहरूले अनलाइनमा अपरिचित व्यक्‍तिलाई भेटेर डेटिङ सुरु गरेका छन्‌ तर पछि ती व्यक्‍तिबाट धोका पाएका छन्‌। त्यसैगरि केही बेइमान मानिसहरूले सोझा मानिसहरूलाई फसाएर तिनीहरूबाट पैसा धुत्न फेक अकाउन्टहरू बनाएका छन्‌। कहिलेकाहीँ यस्ता धूर्त मानिसहरूले आफू यहोवाको साक्षी हुँ भनेर समेत दाबी गर्छन्‌।

अर्को खतराबारे पनि विचार गर्नुहोस्‌। केही जोडी मिलाउने साइटहरूले डेटिङको लागि जोडी मिलाइदिन गणितीय सूत्रहरू प्रयोग गर्छन्‌। तर यस्तो तरिका सफल हुन्छ भन्‍ने कुनै प्रमाण छैन। विवाहजस्तो महत्त्वपूर्ण विषयमा निर्णय गर्न मानिसले बनाएका सूत्रहरूमा भर पर्नु के बुद्धिमानी हो र? यस्ता गणितीय सूत्रहरू बाइबल सिद्धान्तहरूको तुलनामा अलिकति पनि भरपर्दा छैनन्‌।—हितो. १:७; ३:५-७.

हितोपदेश १४:१५ मा हामी यस्तो सिद्धान्त पाउँछौँ: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” कसैलाई आफ्नो सम्भाव्य जोडीको रूपमा हेर्नुअघि तपाईँले तिनलाई राम्ररी चिन्‍नुपर्छ। तर अनलाइनमा भेटेर कसैलाई राम्ररी चिन्‍न सकिँदैन। एकअर्काको प्रोफाइल सेयर गर्दैमा र अनलाइनमा एकअर्कासित कुराकानी गर्न धेरै समय बिताउँदैमा कसैलाई राम्ररी चिनेको छ भन्‍न सकिन्छ र? कसै-कसैले अनलाइनमा सुहाउँदो जोडी भेट्टाएँ भनेर महसुस गरेका थिए तर तिनलाई साँच्चिकै भेट्‌दा आफूले सोचेभन्दा फरक पाएकोले तिनीहरू जिल्ल परे।

भजनरचयिताले यसो भने: “म छली मानिसहरूसित सङ्‌गत गर्दिनँ; कपटीहरूदेखि म टाढै रहन्छु।” (भज. २६:४) अरूको अगाडि राम्रो देखिन आफ्नो अनलाइन डेटिङ प्रोफाइलमा गलत जानकारी राख्नुमा केही खराबी छैन भनेर धेरै जना सोच्ने गर्छन्‌। तिनीहरूले आफ्नो प्रोफाइलमा आफ्नो वास्तविकता लुकाएका हुन सक्छन्‌ वा तिनीहरूसित अनलाइनमा कुरा गर्दा तिनीहरूको वास्तविकता थाह नहुन सक्छ। कोही भने आफूलाई यहोवाको साक्षी हुँ भनेर चिनाउने गर्छन्‌। तर के तिनी साँच्चै बप्तिस्मा गरेका ख्रिष्टियन हुन्‌? के तिनी आध्यात्मिक रूपमा परिपक्व छन्‌? के तिनले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका छन्‌? के तिनले मण्डलीमा राम्रो नाम कमाएका छन्‌? अथवा तिनी मण्डलीको लागि खराब उदाहरण वा “नराम्रो सङ्‌गत” नै पो हुन्‌ कि? (१ कोरि. १५:३३; २ तिमो. २:२०, २१) अनि के तिनी विवाह गर्न धर्मशास्त्रीय रूपमा स्वतन्त्र छन्‌? तपाईँले यी कुराहरू थाह पाउनुपर्छ तर तिनलाई राम्रोसँग चिन्‍ने अरू साक्षीहरूको मदत नलिई यी कुराहरू थाह पाउन सकिँदैन। (हितो. १५:२२) अनि पक्कै पनि यहोवाको एक जना वफादार सेवकले विश्‍वास नगर्नेहरूसित ‘एउटै जुवामा नारिने’ कुरा सोच्न पनि सक्दैनन्‌।—२ कोरि. ६:१४; १ कोरि. ७:३९.

जोडी मिलाउने वेबसाइट चलाउँदा हुने खतराहरू विचार गर्दा विवाहको लागि सुहाउँदो जोडी भेट्टाउन र दिगो वैवाहिक सम्बन्ध बनाउनको लागि अरू नै राम्रो तरिकाहरू अपनाउनु बुद्धिमानी हुनेछ। तपाईँ कस्ता मौकाहरूमा आफ्नो लागि सम्भाव्य जोडी भेट्टाउन सक्नुहुन्छ? सामाजिक जमघटहरू निषेध नगरिएको अवस्थामा यहोवाका साक्षीहरूले मण्डलीका सभा, सम्मेलन, अधिवेशन र अरू जमघटहरूमा उपस्थित भएर एकअर्कालाई राम्ररी चिन्‍न सक्छन्‌।

एक पुरुष र स्त्री क्याफेमा बसिरहेका छन्‌। तिनीहरू खुसी हुँदै एकअर्कासित कुराकानी गरिरहेका छन्‌।

एकअर्कासित समय बिताउँदा तपाईँहरू दुई जनाको लक्ष्य अनि मूल्यमान्यता उस्तै छ कि छैन भनेर राम्ररी थाह पाउन सक्नुहुन्छ

कोभिड-१९ महामारीजस्ता कारणहरूले गर्दा सामाजिक जमघट सम्भव नभएको अवस्थामा हामी इलेक्ट्रोनिक साधनहरू चलाएर मण्डलीका सभाहरूमा उपस्थित हुन्छौँ। त्यहाँ अविवाहित भाइबहिनीहरूले एकअर्कालाई चिन्‍ने मौका पाउन सक्छन्‌। त्यतिबेला तपाईँ तिनीहरूले आफ्नो असाइनमेन्ट प्रस्तुत गरेको हेर्न र टिप्पणी दिएर आफ्नो विश्‍वास प्रकट गरेको सुन्‍न सक्नुहुन्छ। (१ तिमो. ६:११, १२) तपाईँहरू एकअर्कालाई सभापछि ब्रेकआउट रूममा पनि भेट्‌न सक्नुहुन्छ। इलेक्ट्रोनिक माध्यमद्वारा साक्षीहरूसित समूहमा सङ्‌गत गर्दा आफूलाई मन परेको व्यक्‍तिले अरूसित कस्तो व्यवहार गर्छन्‌ भनेर तपाईँ नियाल्न सक्नुहुन्छ। यसो गर्दा तिनी वास्तवमा कस्ता व्यक्‍ति हुन्‌ भनेर तपाईँ थाह पाउन सक्नुहुन्छ। (१ पत्रु. ३:४) एकअर्कालाई चिन्दै जाँदा तपाईँहरू दुई जनाको लक्ष्य र मूल्यमान्यता उस्तै छ कि छैन अनि तपाईँहरू एकअर्काको राम्रो जीवनसाथी बन्‍न सक्नुहुन्छ कि सक्नुहुन्‍न भनेर पक्का गर्न सक्नुहुन्छ।

अविवाहित व्यक्‍तिहरूले बाइबल सिद्धान्तसित मेल खाने तरिकामा आफ्नो लागि सम्भाव्य जोडी खोज्दा हितोपदेशको किताबमा लेखिएको यो कुरा आफैले अनुभव गर्न सक्नेछन्‌: “असल पत्नी [वा पति] पाउनु अनमोल कुरा पाउनु हो; जसले असल पत्नी [वा पति] पाउँछ, उसले यहोवाको निगाह पनि पाउँछ।”—हितो. १८:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने