प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अक्टोबर pp. २९-३१
  • १९२१—एक सय वर्षअघि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९२१—एक सय वर्षअघि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निडर सन्देशवाहकहरू
  • व्यक्‍तिगत र पारिवारिक अध्ययन
  • एउटा नयाँ किताब!
  • अझै काम बाँकी थियो
  • यहोवाले भन्‍नुभएअनुसार गर्दा आशिष्‌ पाउँछौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • १९२२—एक सय वर्षअघि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • १९२३—एक सय वर्षअघि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अक्टोबर pp. २९-३१

१९२१—एक सय वर्षअघि

“त्यसोभए यो वर्ष हामी कस्तो काम गर्नेछौँ?” जनवरी १, १९२१ को प्रहरीधरहरा-मा उत्सुक बाइबल विद्यार्थीहरूलाई (अहिले यहोवाका साक्षीहरू भनिन्छ) यस्तो प्रश्‍न सोधिएको थियो। यसको जवाफमा यसैया ६१:१, २ उद्धरण गरिएको थियो, जुन पदले तिनीहरूलाई सुसमाचार सुनाउने तिनीहरूको जिम्मेवारी सम्झन मदत गऱ्‍यो। उक्‍त पदमा यस्तो लेखिएको छ: “नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। . . . यहोवाको अनुग्रहको वर्षको घोषणा गर्न, हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन।”

निडर सन्देशवाहकहरू

आफ्नो जिम्मेवारी पूरा गर्न बाइबल विद्यार्थीहरू निडर हुनुपर्थ्यो। तिनीहरूले नम्रहरूलाई “सुसमाचार” सुनाउनुका साथै दुष्टहरूलाई “परमेश्‍वरले बदला लिने दिनबारे” घोषणा पनि गर्नुपर्थ्यो।

क्यानाडामा बस्ने भाइ जे. एच. हस्किनले खेदोको बाबजुद निडर भई साक्षी दिए। सन्‌ १९२१ को सुरुतिर तिनले मेथोडिस्ट चर्चको एक जना पादरीलाई भेटे। भाइ हस्किनले उनीसित यसरी कुराकानी सुरु गरे: “बाइबलबारे हामी दुई जनाबीचको कुराकानी राम्रो हुनेछ भनेर आशा गर्छु। तर केहीगरि कुनै विषयमा हाम्रो कुरा मिलेन भने शान्तपूर्वक कुरा टुङ्‌ग्याउन सक्छौँ र फेरि भेटघाट गरिरहन सक्छौँ।” तर त्यस्तो भएन। भाइ हस्किनले यसो भने: “हामीले कुराकानी सुरु गरेको केही मिनेट मात्र भएको थियो, त्यत्तिकैमा ती पादरीले ढोकाको सिसा नै फुट्‌ला जस्तो गरी ढोका ढ्याम्म बन्द गरिदिए।”

ती पादरी यसरी कराए: “मसँग कुरा गर्नुभन्दा बाइबलबारे थाहै नभएकाहरूसित कुरा गर्नु न!” भाइ हस्किन एक शब्द नबोली त्यहाँबाट गए र मनमनै सोचे: “आफूलाई चाहिँ बाइबलबारे खुब थाह भएजस्तो गर्छ।”

त्यसको भोलिपल्ट ती पादरीले चर्चमा प्रवचन दिइरहेको बेला भाइ हस्किनको विषयमा भए नभएको कुरा बताए। भाइ हस्किनले यसो भने: “ती पादरीले चर्चका सदस्यहरूलाई मदेखि होसियार हुन भनेका रहेछन्‌। त्यो एक नम्बरको फटाहा हो, त्यसलाई त गोली ठोक्नुपर्छ समेत भनेका रहेछन्‌।” तर भाइ हस्किन यस्तो धम्की सुनेर डराएनन्‌। बरु साक्षी दिइरहे अनि थुप्रै मानिससित कुराकानी गर्न सफल भए। तिनले यसो भने: “मानिसहरूसित बाइबलबारे कुरा गर्न मलाई असाध्यै रमाइलो लाग्थ्यो। कसै-कसैले त यस्तो समेत भने, ‘तपाईँलाई परमेश्‍वरले नै पठाउनुभएको हो भन्‍ने कुरा मलाई थाह छ।’ मलाई कुनै कुराको आवश्‍यकता पऱ्‍यो भने मदत गर्न तिनीहरू तयार थिए।”

व्यक्‍तिगत र पारिवारिक अध्ययन

चासो देखाउनेहरूलाई प्रगति गर्न मदत दिन बाइबल विद्यार्थीहरूले सुनौलो युग-माa (अङ्‌ग्रेजी) बाइबल अध्ययन लेखहरू प्रकाशित गरे। ती लेखहरूमा दिइएका बाइबलसम्बन्धी प्रश्‍नहरू आमाबुबाले आफ्ना छोराछोरीसित छलफल गर्न सक्थे। आमाबुबाले छोराछोरीलाई ती प्रश्‍नहरू सोध्थे र बाइबलबाट सही जवाफ भेट्टाउन मदत गर्थे। “बाइबलमा कति वटा किताबहरू छन्‌?” जस्ता प्रश्‍नहरूले केटाकेटीलाई बाइबलको केही सामान्य कुरा सिक्न मदत गर्थ्यो। “के हरेक साँचो ख्रिष्टियनले कुनै न कुनै तरिकामा खेदो भोग्नुपर्छ?” भन्‍ने जस्ता प्रश्‍नहरूले भने उनीहरूलाई निडर सन्देशवाहक हुन मदत गर्थ्यो।

साथै बाइबलसम्बन्धी धेरै ज्ञान हासिल गरिसकेकाहरूको लागि सुनौलो युग-मा प्रश्‍नहरू र त्यसका जवाफसहितका लेखहरू प्रकाशित भए। ती प्रश्‍नहरूको जवाफ धर्मशास्त्रको अध्ययन (अङ्‌ग्रेजी) किताबको खण्ड १ मा आधारित थियो। ती लेखहरूबाट हजारौँ पाठकले लाभ उठाए। तर डिसेम्बर २१, १९२१ को सुनौलो युग-मा अबदेखि यी दुवै किसिमका लेखहरू प्रकाशित हुनेछैन भनेर घोषणा गरियो। त्यस्तो निर्णय किन गरियो?

एउटा नयाँ किताब!

परमेश्‍वरको वीणा किताब

पढ्‌ने असाइनमेन्ट लेखिएको कार्ड

प्रश्‍नहरू लेखिएको कार्ड

नयाँ बाइबल विद्यार्थीहरूले बाइबलका आधारभूत सत्यहरू क्रमबद्ध रूपमा सिक्नु आवश्‍यक छ भन्‍ने कुरा त्यतिबेला नेतृत्व लिइरहेका भाइहरूले महसुस गरे। त्यसैले नोभेम्बर १९२१ मा परमेश्‍वरको वीणा (अङ्‌ग्रेजी) किताब विमोचन गरियो। त्यो किताब स्विकारेका इच्छुक व्यक्‍तिहरू बाइबल अध्ययन कोर्समा पनि सहभागी भए। व्यक्‍तिगत रूपमा लिन सकिने त्यो कोर्सले “मानिसजातिलाई आशिष्‌को रूपमा अनन्त जीवन दिने परमेश्‍वरको योजना”-बारे बुझ्न पाठकहरूलाई मदत गऱ्‍यो। त्यो कोर्स कसरी गरिन्थ्यो?

त्यो किताब पाउने व्यक्‍तिले किताबको कुन-कुन पाना पढ्‌ने भनेर लेखिएको एउटा सानो कार्ड पनि पाउँथे। त्यसपछिको हप्ता तिनले पढिसकेको भागमा आधारित प्रश्‍नहरू लेखिएको अर्को कार्ड पाउँथे। अनि त्यही कार्डमा अर्को हप्ता कुन-कुन पाना पढ्‌ने भनेर पनि लेखिएको हुन्थ्यो।

विद्यार्थीले १२ हप्ताको लागि हप्तैपिच्छे स्थानीय मण्डलीले पठाएको नयाँ कार्ड पाउँथे। अक्सर ती कार्डहरू मण्डलीका वृद्धहरू वा घरघरको साक्षीकार्यमा भाग लिन नसक्नेहरूले पठाउने गर्थे। उदाहरणको लागि, अमेरिकाको पेन्सिलभेनियाको मिल्भेलमा बस्ने एना के. गार्डनरले यसो भने: “परमेश्‍वरको वीणा किताब विमोचन भएपछि हिँड्‌न नसक्ने मेरी दिदी थेलले हप्तैपिच्छे बाइबलसम्बन्धी प्रश्‍नहरू भएको कार्ड पठाउन थाल्नुभयो।” विद्यार्थीले कोर्स पूरा गरेपछि मण्डलीको कसैले तिनलाई भेटेर बाइबलबारे थप कुरा सिक्न मदत गर्थे।

ह्वीलचेयरमा बसिरहेकी थेल गार्डनर

अझै काम बाँकी थियो

त्यो वर्षको अन्तमा भाइ जे. एफ. रदरफोर्डले सबै मण्डलीलाई एउटा पत्र पठाउनुभयो। “विगतका वर्षहरूमा भन्दा यो वर्ष राज्यबारे साक्षी दिने काम व्यापक रूपमा गरिएको र धेरै प्रभावकारी साबित भएको” कुरा उहाँले बताउनुभयो। त्यसपछि उहाँले यसो भन्‍नुभयो: “अझ धेरै काम गर्न बाँकी नै छ। यो महत्त्वपूर्ण काममा भाग लिन अरूलाई पनि प्रोत्साहन दिनुहोस्‌।” बाइबल विद्यार्थीहरूले त्यो सल्लाहअनुसार कदम चालेको कुरा स्पष्टै देखियो। सन्‌ १९२२ मा तिनीहरूले निडर भई व्यापक रूपमा परमेश्‍वरको राज्यको विज्ञापन गरे।

निडर साथीहरू

बाइबल विद्यार्थीहरूले एकअर्कालाई मदत गरेर भ्रातृप्रेम देखाए। तिनीहरू “दुःखमा साथ दिन जन्मेको” निडर साथीहरू थिए भन्‍ने कुरा तलको घटनाले देखाउँछ।​—हितो. १७:१७.

सन्‌ १९२१, मे ३१ को मङ्‌गलबार अमेरिकाको ओक्लहोमा राज्यको तुल्सा सहरमा बस्ने काला जातिको एक युवकलाई गोरा जातिकी एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरियो। त्यसपछि गोरा जातिका १,००० जनाभन्दा बढी मानिस र काला जातिका मानिसहरूको सानो समूहबीच मुठभेड भयो। त्यो झगडाले उग्र रूप लियो र त्यसले काला जातिका मानिसहरू बस्ने ग्रिनवुड इलाकासम्मै असर गऱ्‍यो। चौध सयभन्दा बढी घर र पसलहरू लुटियो र त्यसपछि आगो लगाइयो। रिपोर्टअनुसार त्यस घटनामा ३६ जना मानिसले ज्यान गुमाएको भनिए तापनि वास्तवमा सयौँ जनाले ज्यान गुमाएका थिए। यही घटनालाई पछि तुल्सा जातीय संहार भन्‍ने नाम दिइयो।

ग्रिनवुडमा बस्ने काला जातिका एक बाइबल विद्यार्थी, भाइ रिचर्ड जे. हिलले त्यतिबेला भएको घटनाबारे यसरी बताए: “सदाजस्तै त्यो साँझ मण्डलीको सभा भइरहेको थियो। सभा सकिनेबित्तिकै हामीले सहरको केन्द्रमा गोली चलेको आवाज सुन्यौँ। हामीले राती अबेरसम्म गोलीको आवाज सुन्यौँ।” जून १, बुधबार बिहानसम्ममा त त्यहाँको अवस्था नाजुक भइसकेको थियो। ती भाइले अझै यसो भने: “केही मानिस आएर हामीलाई ‘ज्यान जोगाउने हो भने तुरुन्तै नगर भवनमा जाओ’ भनेर सल्लाह दिए।” त्यसैले भाइ हिल आफ्नी पत्नी र पाँच जना छोराछोरी लिएर तुरुन्तै तुल्साको नगर भवनमा गइहाले। त्यहाँ झन्डै ३,००० जना काला जातिका मानिसले शरण लिएका थिए। तिनीहरूलाई शान्ति सुव्यवस्था कायम गर्न खटाइएको सेनाले सुरक्षा दिइरहेको थियो।

त्यति नै बेला गोरा जातिका भाइ आर्थर क्लाउसले एउटा साहसिक कदम चाले। तिनले यसो भने: “ग्रिनवुडमा मानिसहरूले लुटपाट गरिरहेका छन्‌ र घरहरूमा आगो लगाइरहेका छन्‌ भन्‍ने कुरा थाह पाउनेबित्तिकै मैले मेरो प्रिय साथी, भाइ हिलको अवस्था कस्तो छ भनेर हेर्न त्यहाँ जाने निर्णय गरेँ।”

भाइ आर्थर क्लाउसले परमेश्‍वरको वीणा किताबबाट १४ जना केटाकेटीलाई बाइबलबारे सिकाए

भाइ हिलको घरमा पुग्नेबित्तिकै तिनले गोरा जातिको एक जना छिमेकी भेटे। उसको हातमा एउटा बन्दुक थियो। त्यो छिमेकी भाइ हिलको साथी पनि भएकोले आर्थर त्यो लुटपाट गर्ने समूहकै हो कि भनेर यसरी करायो: “तिमी यहाँ किन?”

आर्थरले यसो भने: “मैले चित्तबुझ्दो जवाफ नदिएको भए उसले मलाई पक्का गोली ठोक्ने थियो। म हिलको साथी हुँ र तिनको घरमा आउने जाने गरिरहन्छु भन्‍ने कुरा मैले उसलाई राम्ररी सम्झाएँ।” आर्थर र त्यो छिमेकीले भाइ हिलको घरलाई लुटपाट गर्नेहरूबाट जोगाए।

पछि आर्थरले भाइ हिल र तिनको परिवार नगर भवनमा छन्‌ भन्‍ने कुरा थाह पाए। त्यहाँ पुगेपछि सेनाको कमान्डर जेनेरल ब्यारेटको लिखित अनुमतिविना काला जातिका मानिसहरू त्यहाँबाट निस्कन मिल्दैन भनेर आर्थरलाई बताइयो। आर्थरले यसो भने: “ती जेनेरललाई भेट्‌न निकै गाह्रो थियो। मैले आफ्नो योजना बताएपछि उनले यसरी सोधे: ‘के तिमी यो परिवारको जिम्मा लिन तयार छौ?’ मैले खुसीसाथ तयार छु भनेर जवाफ दिएँ।”

अनुमति पत्र पाउनेबित्तिकै भाइ आर्थर तुरुन्तै नगर भवन गए र त्यहाँको अफिसरलाई त्यो पत्र बुझाए। अचम्म मान्दै ती अफिसरले यसो भने: “ओहो! जेनेरलको अनुमति पत्र! तिमीलाई थाह छ, यहाँबाट कसैलाई लैजाने तिमी नै पहिलो व्यक्‍ति हौ।” केही समयपछि आर्थर र ती अफिसरले भाइ हिल र तिनको परिवारलाई भेट्टाए। त्यसपछि तिनीहरू सबै जना आर्थरको कारमा चढेर घर फर्के।

“परमेश्‍वरका समर्पित जनहरूले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेनन्‌”

भाइ आर्थर क्लाउसले भाइ हिल र तिनको परिवारलाई सुरक्षित राख्न सक्दो गरे। तिनले देखाएको भ्रातृप्रेम र साहस देखेर अरू मानिसहरू प्रभावित भए। आर्थरले यसो भने: “भाइ हिलको घर जोगाउन मदत गर्ने छिमेकीले परमेश्‍वरका जनहरूलाई पहिलाभन्दा धेरै आदर गर्न थाले। अनि केही मानिसले सत्यप्रति चासो देखाए किनकि परमेश्‍वरका समर्पित जनहरूले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेनन्‌ र तिनीहरूमाझ कुनै जातीय भेदभाव थिएन।”

a सुनौलो युग-लाई १९३७ मा सान्त्वना (अङ्‌ग्रेजी) र १९४६ मा ब्यूँझनुहोस्‌! भन्‍ने नाम दिइयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने