जीवनी
यहोवाले भन्नुभएअनुसार गर्दा आशिष् पाउँछौं
एउटा असाइनमेन्टको लागि निम्तो पाउँदा हामी श्रीमान्-श्रीमतीले अनि मेरो दाइ-भाउजूले “हामी जान्छौं!” भनेर जवाफ दियौं। हामी किन त्यो असाइनमेन्ट स्विकार्न तयार भयौं? अनि यहोवाले हामीलाई कसरी आशिष् दिनुभयो? सुरुमा म तपाईंहरूलाई आफ्नो विषयमा केही बताउँछु।
म इङ्गल्यान्डको योर्कशायरको हेम्जवर्थमा सन् १९२३ मा जन्मेकी थिएँ। मेरो एक जना दाइ हुनुहुन्थ्यो। उहाँको नाम बब थियो। हाम्रो बुबालाई धर्मकर्म गरेको ढोंग गर्नेहरू पटक्कै मन पर्दैनथ्यो। म नौ वर्ष छँदाको कुरा हो, बुबाले झूटो धर्मको पर्दाफास गरेको केही किताब पाउनुभयो। उहाँलाई त्यसमा भएको कुरा मन पऱ्यो। त्यसको केही वर्षपछिको कुरा हो, हाम्रो घरमा प्रचार गर्न बब एट्किन्सन आउनुभयो। उहाँले फोनोग्राफमा भाइ रदरफोर्डको एउटा भाषण सुनाउनुभएको थियो। बुबाले पढ्नुभएका किताबहरू छाप्ने र यसरी प्रचार गर्न आउने मानिसहरू एउटै समूहका हुन् भनेर हामीले बुझ्यौं। आमाबुबाले भाइ एट्किन्सनलाई हरेक साँझ हामीसितै खाना खान अनि बाइबलको विषयमा हाम्रा थुप्रै प्रश्नहरूको जवाफ दिन आग्रह गर्नुभयो। हामीले केही किलोमिटर टाढा पर्ने एक जना भाइको घरमा हुने सभामा उपस्थित हुन निम्तो पनि पायौं। हामी ती सभाहरूमा जान थाल्यौं र हाम्रो इलाकामा सानो मण्डली स्थापना भयो। हामीले परिभ्रमण निरीक्षकहरूलाई हाम्रो घरमा बस्न अनि नजिकैका अग्रगामीहरूलाई पनि खाना खान बोलाउन थाल्यौं। उहाँहरूसितको सङ्गतले मेरो जीवनमा गहिरो छाप पाऱ्यो।
त्यतिबेलातिर हाम्रो परिवारले एउटा व्यापार सुरु गरेको थियो। तर बुबाले दाइलाई यसो भन्नुभयो, “यदि तिमी अग्रगामी गर्छौ भने हामी यो व्यापार बन्द गर्नेछौं।” बुबाको कुरा सुनेपछि दाइले अग्रगामी सुरु गर्नुभयो अनि अर्को ठाउँमा सर्नुभयो। त्यतिबेला उहाँ २१ वर्षको हुनुहुन्थ्यो। त्यसको दुई वर्षपछि मलाई पनि अग्रगामीको रूपमा नियुक्त गरियो। त्यतिबेला म १६ वर्षकी थिएँ। सप्ताहन्तबाहेक अरू समयमा म प्रायजसो एक्लै प्रचार गर्थें। त्यतिबेला म सन्देश कार्ड अनि फोनोग्राफ प्रयोग गरेर साक्षी दिन्थें। यहोवाको आशिष् पाएर मैले एक जना राम्रो बाइबल विद्यार्थी भेट्टाएँ। पछि उहाँको परिवारका थुप्रै सदस्यले सत्य सिक्नुभयो। अग्रगामी सेवा सुरु गरेको एक वर्षपछि मलाई र मेरी हेन्सललाई विशेष अग्रगामीको रूपमा नियुक्त गरियो। हामीलाई चेशायर भन्ने ठाउँमा प्रचार गर्न खटाइयो। त्यतिबेला त्यो इलाकामा प्रचार गर्न कुनै पनि मण्डलीलाई खटाइएको थिएन।
दोस्रो विश्व युद्ध चलिरहेको बेला स्त्रीहरूले पनि कुनै न कुनै किसिमको काम गरेर युद्धलाई सघाउनुपर्थ्यो। अरू धर्म प्रचारकहरूले जस्तै हामी विशेष अग्रगामीहरूले पनि युद्धमा भाग लिन नपर्ने छुट पाउँछौं भन्ठानेका थियौं। तर अदालतले मानेन र मलाई ३१ दिनको लागि जेलसजाय सुनायो। त्यसको एक वर्षपछि १९ वर्षको उमेरमा म दुई चोटि अदालतसामु हाजिर हुनुपऱ्यो। किनभने मेरो अन्तस्करणले मलाई युद्धमा भाग लिन दिएन। अदालतले दुवै चोटि मेरै पक्षमा फैसला सुनायो। यसबाट पवित्र शक्तिले मलाई मदत गरेको, यहोवाले हात समातेर मलाई बलियो पार्नुभएको र सँभाल्नुभएको महसुस गरें।—यशै. ४१:१०, १३.
मेरो नयाँ साथी
मैले आर्थर म्याथ्युजलाई सन् १९४६ मा भेटेकी थिएँ। धार्मिक आस्थाको कारण युद्धमा भाग नलिएकोले उहाँले तीन महिनाको जेलसजाय काट्नुभएको थियो। त्यसपछि उहाँ हेम्जवर्थमा विशेष अग्रगामीको रूपमा सेवा गरिरहेको आफ्नो भाइ डेनिससित बस्न थाल्नुभयो। उहाँहरूलाई सानैदेखि बुबाले यहोवाबारे सिकाउनुभएको थियो अनि उहाँहरूले किशोर छँदै बप्तिस्मा गर्नुभएको थियो। केही समय नबित्दै डेनिसलाई आयरल्याण्डमा सेवा गर्न खटाइयो। त्यसपछि आर्थर एक्लै हुनुभयो। उहाँ जवान अनि मेहनती अग्रगामी हुनुहुन्थ्यो। उहाँको राम्रो बानीबेहोरा देखेर मेरो आमाबुबाले आर्थरलाई उहाँहरूसितै बस्न बोलाउनुभएको रहेछ। म कहिलेकाहीं आमाबुबालाई भेट्न जान्थें। त्यतिबेला खाना खाइसकेपछि आर्थर र म भाँडा माझ्थ्यौं। पछि हामीले एकअर्कालाई चिठ्ठी लेख्न थाल्यौं। सन् १९४८ मा आर्थरलाई फेरि तीन महिनाको लागि जेलसजाय सुनाइयो। सकेसम्म लामो समय पूर्ण सेवा गर्ने लक्ष्य राखेर हामीले सन् १९४९ को जनवरीमा विवाह गऱ्यौं। छुट्टी लिएको समयमा हामीले फलफूल टिप्ने काम गरेर केही पैसा जोहो गर्न सक्यौं। हामीले राम्रो योजना बनायौं र यहोवाको आशिष् पनि पायौं। यसरी हामीले अग्रगामी सेवा गरिरहन सक्यौं।
सन् १९४९ मा हाम्रो विवाहको केही समयपछि हेम्जवर्थमा
त्यसको लगभग एक वर्षपछि हामीलाई उत्तरी आयरल्याण्डमा सेवा गर्न भनियो। हामीलाई सुरुमा अर्मा भन्ने ठाउँमा र त्यसपछि न्युरीमा पठाइयो। ती दुवै सहरमा क्याथोलिक धर्म मान्ने थुप्रै मानिस बस्थे। त्यहाँ प्रचार गर्न त्यति सजिलो थिएन। हामी निकै चनाखो हुनुपर्थ्यो र मानिसहरूसित कुरा गर्दा सुझबुझ चलाउनुपर्थ्यो। हाम्रो सभा एउटा दम्पतीको घरमा हुन्थ्यो। सभा हुने ठाउँ हाम्रो घरबाट १६ किलोमिटर टाढा थियो। सभामा आठ जना उपस्थित हुन्थे। कहिलेकाहीं भाइबहिनीले हामीलाई सभापछि त्यहीं बस्न भन्नुहुन्थ्यो। हामी भुइँमै सुत्थ्यौं र भोलिपल्ट बिहान मजाले खाजा खान्थ्यौं। अहिले ती इलाकामा थुप्रै साक्षी छन् भनेर थाह पाउँदा साह्रै खुसी लाग्छ।
“हामी जान्छौं!”
मेरो दाइ अनि लटी भाउजू उत्तरी आयरल्याण्डमा विशेष अग्रगामीको रूपमा सेवा गर्दै हुनुहुन्थ्यो। सन् १९५२ मा बेल्फास्टमा भएको जिल्ला अधिवेशनमा हामी चारै जना उपस्थित भएका थियौं। एक जना भाइले हामीलाई आफ्नो घरमा बास दिनुभएको थियो। हामीसित भाइ प्राइस ह्युज पनि हुनुहुन्थ्यो। त्यतिबेला उहाँ बेलायतको शाखा निरीक्षक हुनुहुन्थ्यो। एक रात हामी हालै विमोचन भएको परमेश्वरको तरिका मायालु छ (अङ्ग्रेजी) भन्ने पुस्तिकाबारे कुरा गर्दै थियौं। त्यो पुस्तिका खासगरि आयरल्याण्डकै मानिसहरूका लागि तयार पारिएको थियो। आयरल्याण्डका क्याथोलिक धर्म मान्ने मानिसहरूलाई बाइबलको कुरा सुनाउन निकै गाह्रो भइरहेको कुरा भाइ ह्युजले बताउनुभयो। घरबेटीहरूले साक्षीहरूलाई घरबाट निकालिरहेका थिए। चर्चका पादरीहरूले मानिसहरूलाई हुल-दङ्गा मच्चाउन उक्साएर भाइहरूलाई सताइरहेका थिए। भाइ ह्युजले यसो भन्नुभयो, “हामीलाई गाडी भएका दम्पतीहरूको खाँचो छ। किनभने हामी यो पुस्तिका आयरल्याण्डभरि वितरण गर्ने विशेष अभियानको प्रबन्ध मिलाउँदै छौं।”a उहाँको कुरा सुनेपछि “हामी जान्छौं!” भनेर जवाफ दिइहाल्यौं। मैले सुरुमा बताएको घटना यही बेलाको हो।
अग्रगामी साथीहरूसित क्यारिज राखिएको मोटरसाइकलमा
डब्लिनमा अग्रगामीहरू प्रायजसो रटलन्ड आमाको घरमा बस्थे। उहाँ लामो समयदेखि वफादार भई यहोवाको सेवा गर्दै हुनुहुन्थ्यो। हामी उहाँको घरमा केही समय बस्यौं अनि आफ्ना केही सरसामान बेच्यौं। त्यसपछि हामी चारै जना बब दाइको मोटरसाइकलमा चढेर गाडी खोज्न गयौं। त्यो मोटरसाइकलको छेउमा मान्छेहरू बस्न मिल्ने खालको ठूलो क्यारिज थियो। खोज्दै जाँदा हामीले एउटा पुरानो गाडी भेट्टायौं। हामीमध्ये कसैलाई पनि गाडी चलाउन नआउने भएकोले हाम्रो घरमै गाडी पुऱ्याइदिन भन्यौं। त्यसपछि आर्थर गाडीको गियर कसरी चलाउने भनेर खाटमा अभ्यास गर्दै बस्नुभयो। भोलिपल्ट उहाँले ग्यारेजबाट गाडी निकाल्न लागेको बेलामा मिल्ड्रेड विलट (पछि उहाँले जोन बारसित विवाह गर्नुभयो) आउनुभयो। उहाँ त्यतिबेला मिसनरी सेवा गर्दै हुनुहुन्थ्यो। उहाँलाई गाडी चलाउन आउने रहेछ! उहाँसित केही समय गाडी चलाउन अभ्यास गरेपछि हामी जान तयार भयौं।
हाम्रो गाडी अनि हामी बस्ने ट्रेलर
हामीलाई चाहिएको अर्को कुरा भनेको बास थियो। बाहिर ट्रेलरमा सुत्दा मानिसहरूले आएर आगो लगाइदिन सक्छन् भनेर हामीलाई होसियार गराइएको थियो। त्यसैले हामी घर नै खोजिरहेका थियौं। तर एउटा घर पनि फेला परेन। त्यो रात हामी चार जना गाडीमै सुत्यौं। भोलिपल्ट भने हामीले एउटा सानो ट्रेलर मात्र भेट्टायौं। त्यो ट्रेलरमा दुई तल्ले खाट राखिएको थियो। हाम्रो घर भनेको त्यही ट्रेलर थियो। अचम्मको कुरा, हामीलाई त्यहाँका दयालु किसानहरूले आफ्नो जग्गामा ट्रेलर राख्न दिए। हामी १६ देखि २४ किलोमिटर भित्रका इलाकाहरूमा प्रचार गर्थ्यौं। यसरी हामी ठाउँ-ठाउँमा गएर प्रचार गर्थ्यौं। नयाँ ठाउँमा पुगेपछि हामी फेरि फर्केर पहिला ट्रेलर राखेको ठाउँका मानिसहरूलाई भेट्न आउँथ्यौं।
आयरल्याण्डको दक्षिण-पूर्वतिरका सबै घरमा हामीले विना कुनै समस्या प्रचार गर्न सक्यौं अनि त्यतिबेला २० हजार भन्दा धेरै पुस्तिका वितरण गऱ्यौं। हामी चासो दिने व्यक्तिहरूको नाम बेलायत शाखा कार्यालयमा पठाउँथ्यौं। अहिले ती इलाकामा सयौं साक्षीहरू छन् भन्ने कुरा सुन्न पाउँदा साह्रै खुसी लाग्छ।
फेरि इङ्गल्यान्ड, त्यसपछि स्कटल्याण्ड
हामीलाई केही समयपछि लन्डनको दक्षिणी भागमा सेवा गर्न खटाइयो। त्यसको केही हप्ता पनि नबित्दै आर्थरलाई परिभ्रमण निरीक्षकको रूपमा काम गर्नू भनेर बेलायत शाखा कार्यालयबाट फोन आयो। त्यो काम उहाँले भोलिदेखि नै सुरु गर्नुपर्ने थियो। एक हप्ताको तालिमपछि हामी परिभ्रमण कार्यको लागि स्कटल्याण्डतर्फ लाग्यौं। भाषणको तयारी गर्न आर्थरसित त्यति समय नै थिएन। तर उहाँ यहोवाको सेवामा जस्तोसुकै जिम्मेवारी स्विकार्न पनि तयार हुनुहुन्थ्यो। उहाँको तत्परता देखेर मैले निकै प्रोत्साहन पाएँ। वर्षौंसम्म हामी कुनै पनि मण्डलीलाई नखटाइएको इलाकामा प्रचार गर्दै थियौं। तर परिभ्रमण कार्य थालेपछि भने थुप्रै भाइबहिनीसित सङ्गत गर्न पाउँदा निकै खुसी लाग्यो। त्यसैले परिभ्रमण कार्य हामीलाई साह्रै रमाइलो लाग्यो।
सन् १९६२ मा आर्थरले गिलियड स्कुलमा १० महिने तालिम लिने निम्तो पाउनुभयो। त्यतिबेला हामीले ठूलो निर्णय गर्नुपरेको थियो। म उहाँसितै जान नपाउने भए पनि उहाँ त्यो तालिमको लागि जानु राम्रो हो जस्तो हामीलाई लाग्यो। उहाँ जानुभएपछि म एक्लै हुने भएकोले मलाई फेरि हेम्जवर्थमा विशेष अग्रगामीको रूपमा सेवा गर्न पठाइयो। एक वर्षपछि आर्थर फर्कनुभयो र उहाँलाई जिल्ला निरीक्षकको रूपमा सेवा गर्न खटाइयो। हामीलाई खटाइएको इलाका स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड थियो।
आयरल्याण्डमा नयाँ असाइनमेन्ट
सन् १९६४ मा आर्थरले आयरल्याण्डको शाखा निरीक्षकको रूपमा सेवा गर्ने नयाँ असाइनमेन्ट पाउनुभयो। हामीलाई परिभ्रमण कार्य साह्रै रमाइलो लागिरहेको थियो। त्यसैले यो नयाँ असाइनमेन्ट पाउँदा सुरुमा मलाई अलि चिन्ता लाग्यो। तर अहिले फर्केर हेर्दा बेथेलमा सेवा गर्ने सुअवसर पाएकोमा म साह्रै कृतज्ञ छु। हुन त यहोवाको सेवामा कुनै-कुनै असाइनमेन्ट स्विकार्न त्यति मन नलाग्ला। तैपनि त्यो स्विकार्दा यहोवाले सधैं आशिष् दिनुहुन्छ भनेर मैले अनुभव गरें। मैले बेथेल सेवाको दौडान अफिसमा काम गरें, साथै प्रकाशनहरू प्याकिङ गर्ने, खाना पकाउने अनि सरसफाइ गर्ने काम पनि गरें। केही समयको लागि आर्थरले जिल्ला निरीक्षकको रूपमा पनि सेवा गर्नुभयो। यसले गर्दा आयरल्याण्डको विभिन्न ठाउँका भाइबहिनीसित भेट्ने मौका पायौं। उहाँहरूसित सङ्गत गर्दा अनि हाम्रा बाइबल विद्यार्थीहरूले प्रगति गरेको देख्दा हामीले भाइबहिनीसित बलियो सम्बन्ध गाँस्न सक्यौं। साँच्चै, यहोवाले कत्ति धेरै आशिष् दिनुभयो!
आयरल्याण्डका साक्षीहरूको इतिहासमा एउटा नयाँ मोड
सन् १९६५ मा आयरल्याण्डको डब्लिनमा आयोजना गरिएको अन्तरराष्ट्रिय अधिवेशन यहाँको पहिलो अन्तरराष्ट्रिय अधिवेशन थियो।b चारैतिरबाट घोर विरोधको सामना गर्नुपरे पनि अधिवेशन सफलतासाथ आयोजना गरियो। त्यस अधिवेशनमा ३ हजार ९ सय ४८ जना उपस्थित भए अनि ६५ जनाले बप्तिस्मा गरे। त्यस अधिवेशनको लागि संसारका विभिन्न ठाउँबाट ३ हजार ५ सय प्रतिनिधिहरू आएका थिए। ती प्रतिनिधिहरूलाई ज-जसले बास दिए, तिनीहरूले धन्यवाद व्यक्त गरिएको पत्र पाए। अर्कोतर्फ, घरबेटीहरूले पनि ती पाहुनाहरूको तारिफ गरे। साँच्चै, यो अधिवेशन आयरल्याण्डका साक्षीहरूको इतिहासमा एकदमै उल्लेखनीय घटना थियो।
सन् १९६५ मा अधिवेशनको लागि आउनुभएको भाइ नोरलाई आर्थर स्वागत गर्नुहुँदै
सन् १९८३ मा आर्थर आयरल्याण्डको गेलिक भाषामा बाइबलका कथाहरू भएको मेरो पुस्तक विमोचन गर्नुहुँदै
सन् १९६६ मा आयरल्याण्डको उत्तरी र दक्षिणी दुवै भागको सुपरिवेक्षण गर्ने काम डब्लिन शाखा कार्यालयले गर्न थाल्यो। आयरल्याण्ड राजनैतिक अनि धार्मिक कारणले गर्दा विभाजित थियो। तर यहोवाका साक्षीहरू भने त्यसरी विभाजित नभई एकताबद्ध थिए। पहिला क्याथोलिक अनि प्रोटेस्टेन्ट धर्म मान्ने मानिसहरू पनि अहिले सँगै मिलेर यहोवाको सेवा गरिरहेको देख्दा हामीलाई असाध्यै खुसी लाग्यो।
बिलकुलै नयाँ असाइनमेन्ट
सन् २०११ मा आयरल्याण्डको शाखा कार्यालयलाई बेलायत शाखा कार्यालयसितै गाभियो। अनि हामीलाई लन्डन बेथेलमा खटाइयो। यो हाम्रो लागि साँच्चै ठूलो परिवर्तन थियो। त्यही समयतिर आर्थरको स्वास्थ्य बिग्रँदै गएकोले म अलि चिन्तित हुन थालेकी थिएँ। उहाँलाई पार्किन्सन्स रोग लागेको रहेछ। सन् २०१५ मे २० मा उहाँको मृत्यु भयो। हामीले ६६ वर्ष सँगै बिताएका थियौं।
गएका केही वर्षहरूमा मैले निराशा अनि बिछोडको पीडा भोग्नुपरेको छ। पहिला मलाई हरपल साथ दिन आर्थर हुनुहुन्थ्यो। मलाई उहाँको साह्रै याद आउँछ। तर वास्तवमा जब हामी यस्ता दुःखदायी घटनाहरू अनुभव गर्छौं, तब यहोवासित अझ नजिक हुन्छौं। भाइबहिनीहरू आर्थरलाई कत्ति माया गर्नुहुन्थ्यो भनेर विचार गर्दा पनि म सान्त्वना पाउँछु। मैले आयरल्याण्ड र बेलायतबाट मात्र होइन अमेरिकाका साथीहरूबाट पनि चिठ्ठी पाएकी छु। यी चिठ्ठीहरूका साथै मेरो देवर डेनिस अनि देवरानी मेभिसबाट र भदैहरू रूथ र जुडीबाट मैले यत्ति धेरै प्रोत्साहन पाएँ कि म त्यसलाई शब्दमा व्याख्या गर्नै सक्दिनँ।
मैले निकै प्रोत्साहन पाएको एउटा शास्त्रपद यशैया ३०:१८ हो। त्यहाँ यसो भनिएको छ: “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभुले पर्खनुहुनेछ, किनकि परमप्रभु इन्साफ गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका होऊन्।” यहोवा सबै कुरा सच्याउन धैर्य गरेर पर्खंदै हुनुहुन्छ अनि नयाँ संसारमा हामीलाई रमाइला असाइनमेन्टहरू दिन इच्छुक हुनुहुन्छ भन्ने कुरा विचार गर्दा मैले ठूलो सान्त्वना पाएकी छु।
हाम्रो जीवनलाई फर्केर हेर्दा यहोवाले आयरल्याण्डको काममा आशिष् दिनुभएको छ भनेर महसुस गर्छु। त्यहाँको आध्यात्मिक वृद्धिमा अलिकता भए पनि योगदान पुऱ्याउनु मेरो लागि ठूलो सुअवसरको कुरा हो। साँच्चै, यहोवाले भन्नुभएअनुसार गर्दा हामी सधैं आशिष् पाउँछौं!
a यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९८८ (अङ्ग्रेजी), पृष्ठ १०१-१०२ हेर्नुहोस्।
b वार्षिक पुस्तक १९८८, पृष्ठ १०९-११२ हेर्नुहोस्।