प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जनवरी pp. ८-१३
  • येसुको भाइबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको भाइबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • याकुबजस्तै नम्र भइरहनुहोस्‌
  • याकुबजस्तै प्रभावकारी शिक्षक बन्‍नुहोस्‌
  • विश्‍वासले हामीलाई धैर्यवान र प्रार्थनाशील बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “हाम्रो सर्वसम्मतिद्वारा”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • “वचन पालन गर्ने” आनन्दित व्यक्‍तिहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • हामीहरूलाई विश्‍वास र बुद्धि किन चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जनवरी pp. ८-१३

अध्ययन लेख २

येसुको भाइबाट सिक्नुहोस्‌

“याकुब, परमेश्‍वरको र प्रभु येसु ख्रिष्टको दास।”—याकु. १:१.

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

परिचयa

१. याकुब कस्तो परिवारमा हुर्के?

याकुब आध्यात्मिक रूपमा बलियो परिवारमा हुर्के। तिनका आमाबुबा युसुफ र मरियम यहोवालाई माया गर्थे र उहाँको सेवा गर्न यथासक्दो गर्थे। त्यति मात्र होइन, याकुबका दाइ येसु पछि गएर प्रतिज्ञा गरिएका मसीह हुनुहुने थियो। यस्तो परिवारमा हुर्कन पाउनु याकुबको लागि ठूलो सुअवसर थियो।

याकुब सानो छँदा युसुफले येसुलाई काम सिकाइरहेको हेर्दै छन्‌।

येसुसँगै हुर्कने मौका पाएकोले याकुबले उहाँलाई राम्रोसित चिने (अनुच्छेद २ हेर्नुहोस्‌)

२. याकुबले आफ्ना दाइ येसुलाई आदर गर्नुपर्ने कस्ता कारणहरू थिए?

२ याकुबले आफ्ना दाइ येसुलाई आदर गर्नुपर्ने थुप्रै कारण थिए। (मत्ति १३:५५) बाह्र वर्षको उमेरमै येसुसित धर्मशास्त्रको राम्रो ज्ञान थियो र यो देखेर यरुसलेमका धर्मगुरुहरूसमेत छक्क परेका थिए। (लुका २:४६, ४७) याकुबले येसुसँगै सिकर्मीको काम पनि गरेका हुन सक्छन्‌। त्यसैले तिनले आफ्नो दाइलाई राम्रोसित चिन्‍ने मौका पाए होलान्‌। भाइ नेथन एच. नोरले अक्सर यसो भन्‍ने गर्नुहुन्थ्यो, “कुनै व्यक्‍तिसित काम गर्दै जाँदा तिनको विषयमा धेरै कुरा थाह हुन्छ।”b याकुबले ‘येसु झन्‌झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कँदै जानुभएको र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि झन्‌झन्‌ पाउँदै जानुभएको’ याद गरेका हुन सक्छन्‌। (लुका २:५२) त्यसैले हामीलाई लाग्न सक्छ, याकुब पनि येसुका सुरु-सुरुका चेलाहरूमध्ये थिए। तर त्यस्तो भएन।

३. येसुले पृथ्वीमा सेवा थाल्नुहुँदा याकुबको प्रतिक्रिया कस्तो थियो?

३ पृथ्वीमा येसुको सेवाको दौडान याकुब उहाँको चेला भएनन्‌। (युह. ७:३-५) बरु येसुको “दिमाग खुस्केको छ” भन्‍ने उहाँका नातेदारहरूमध्ये याकुब पनि एक जना हुन सक्छन्‌। (मर्कु. ३:२१) येसुलाई यातनाको खम्बामा झुन्ड्याएर मारिँदा याकुब आफ्नी आमा मरियमसँगै थिए भन्‍ने कुराको कुनै सङ्‌केत पाइँदैन।—युह. १९:२५-२७.

४. यस लेखमा हामी कुन दुई वटा पाठ विचार गर्नेछौँ?

४ पछि याकुबले येसुमा विश्‍वास गरे र ख्रिष्टियन मण्डलीको एक जना जिम्मेवार एल्डर भए। यस लेखमा याकुबबाट सिक्न सक्ने दुई वटा पाठ विचार गर्नेछौँ: (१) हामी किन नम्र भइरहनुपर्छ? (२) हामी कसरी प्रभावकारी शिक्षक बन्‍न सक्छौँ?

याकुबजस्तै नम्र भइरहनुहोस्‌

फेरि जीवित हुनुभएका येसु याकुबकहाँ देखा पर्नुहुँदा तिनी सिकर्मी काम गर्दै छन्‌।

येसु याकुबकहाँ देखा पर्नुभएपछि तिनले नम्र भई उहाँलाई मसीहको रूपमा स्विकारे र उहाँको वफादार चेला बने (अनुच्छेद ५-७ हेर्नुहोस्‌)

५. फेरि जीवित हुनुभएका येसुलाई भेटेपछि याकुबको जीवनमा कस्तो परिवर्तन आयो?

५ याकुब कहिले येसुको वफादार चेला भए? फेरि जीवित हुनुभएपछि येसु सुरुमा “याकुबकहाँ अनि त्यसपछि सबै प्रेषितकहाँ देखा पर्नुभयो।” (१ कोरि. १५:७) येसुसितको यो भेटपछि याकुब उहाँको चेला बने। यरुसलेमको माथिल्लो तलाको कोठामा चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइएको बेला याकुब पनि त्यहीँ थिए। (प्रेषि. १:१३, १४) पछि तिनी प्रथम शताब्दीको परिचालक निकायको सदस्य भए। (प्रेषि. १५:६, १३-२२; गला. २:९) इस्वी संवत्‌ ६२ भन्दा केही समयअघि याकुबले अभिषिक्‍त ख्रिष्टियनहरूलाई एउटा पत्र लेखे। (याकु. १:१) त्यस पत्रबाट आज हामी पनि लाभ उठाउन सक्छौँ, चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने। प्रथम शताब्दीका यहुदी इतिहासकार जोसेफसले बताएअनुसार यहुदी प्रधानपुजारी हननियाको (हन्‍नासका छोरा) आदेशमा याकुबलाई मृत्युदण्ड दिइयो। याकुब आफ्नो जीवनको अन्तसम्मै यहोवाप्रति वफादार रहे।

६. याकुब त्यतिबेलाका धर्मगुरुहरूभन्दा कसरी भिन्‍न थिए?

६ याकुब नम्र थिए। हामी किन त्यसो भन्‍न सक्छौँ? याकुब त्यतिबेलाका धर्मगुरुहरूभन्दा कसरी भिन्‍न थिए, विचार गरौँ। येसु परमेश्‍वरका छोरा हुनुहुन्छ भन्‍ने अकाट्य प्रमाण पाएपछि याकुबले नम्र भई त्यो स्विकारे। तर यहुदी धर्मगुरुहरूले भने स्विकारेनन्‌। उदाहरणको लागि, तिनीहरूले येसुले लाजरसलाई जीवित पार्नुभएको प्रमाण पाएका थिए। तर तिनीहरूले येसुलाई यहोवाले नै पठाउनुभएको हो भनेर स्विकार्नुको सट्टा उल्टै येसु र लाजरसलाई मार्न खोजे। (युह. ११:५३; १२:९-११) येसु फेरि जीवित हुनुभएपछि पनि तिनीहरूले यो कुरा मानिसहरूबाट लुकाउन खोजे। (मत्ति २८:११-१५) ती धर्मगुरुहरू घमन्डी भएकोले येसुलाई मसीहको रूपमा स्विकारेनन्‌।

७. हामी किन घमन्डी हुनु हुँदैन?

७ हाम्रो लागि पाठ: घमन्डी नहुनुहोस्‌; यहोवाबाट सिक्न इच्छुक हुनुहोस्‌। जसरी कुनै रोगले गर्दा मुटुको धमनी कडा हुन्छ, त्यसरी नै घमन्डले गर्दा हाम्रो प्रतीकात्मक हृदय कठोर हुन सक्छ र यहोवाको निर्देशनअनुसार चल्न बाधा पुग्न सक्छ। फरिसीहरू घमन्डी भएकोले परमेश्‍वरले तिनीहरूलाई पवित्र शक्‍तिद्वारा दिनुभएको स्पष्ट प्रमाणहरूलाई नकारे। (युह. १२:३७-४०) यसले गर्दा तिनीहरूले अनन्त जीवनको आशा गुमाए। (मत्ति २३:१३, ३३) हामी ती फरिसीहरूजस्तो हुनु हुँदैन। बरु परमेश्‍वरको वचन र पवित्र शक्‍तिको मदत स्विकार्नुपर्छ अनि आफ्नो व्यक्‍तित्व, सोचाइ र निर्णयलाई त्यसअनुसार ढाल्नुपर्छ। (याकु. ३:१७) याकुब नम्र भएकोले तिनी यहोवाबाट सिक्न इच्छुक थिए। नम्र भएकोले नै तिनी कसरी प्रभावकारी शिक्षक बन्‍न सके, त्यसबारे अब छलफल गर्नेछौँ।

याकुबजस्तै प्रभावकारी शिक्षक बन्‍नुहोस्‌

८. हामी कसरी प्रभावकारी शिक्षक बन्‍न सक्छौँ?

८ याकुबले धेरै शिक्षा हासिल गरेका थिएनन्‌। त्यसैले धर्मगुरुहरूले तिनलाई पत्रुस र युहन्‍नालाई जस्तै “अशिक्षित अनि साधारण मानिस”-को रूपमा हेरेको हुनुपर्छ। (प्रेषि. ४:१३) तर याकुब प्रभावकारी शिक्षक बने भन्‍ने कुरा तिनले लेखेको पत्रबाट प्रस्ट हुन्छ। हामीले पनि धेरै शिक्षा हासिल गरेका छैनौँ होला। तैपनि यहोवाको पवित्र शक्‍तिको मदत र सङ्‌गठनले प्रबन्ध गरेको राम्रो तालिम पाएर हामी प्रभावकारी शिक्षक बन्‍न सक्छौँ। त्यसोभए याकुबले एक जना शिक्षकको रूपमा कस्तो उदाहरण बसाले र तिनीबाट के सिक्न सक्छौँ, विचार गरौँ।

९. याकुबको सिकाउने तरिका कस्तो थियो?

९ याकुबले ठूलठूला शब्दहरू र जटिल तर्कहरू चलाएनन्‌। यसले गर्दा तिनका श्रोताले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनेर सजिलै बुझ्न सके। उदाहरणको लागि, याकुबले ख्रिष्टियनहरूलाई कुनै तितोपना नराखी अन्याय सहन तयार हुनुपर्छ भनेर सरल तरिकामा सिकाए। तिनले यस्तो लेखे: “सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ। तिमीहरूले अय्युबको सहनशीलताको विषयमा त सुनेकै छौ अनि यहोवा परमेश्‍वरले तिनलाई दिनुभएको इनाम पनि देखेकै छौ कि यहोवा परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ।” (याकु. ५:११) याद गर्नुहोस्‌, तिनले आफ्ना श्रोतालाई धर्मशास्त्रमा आधारित भएर सिकाए। अय्युबजस्तै वफादार व्यक्‍तिहरूलाई यहोवा इनाम दिनुहुन्छ भनेर बुझाउन तिनले परमेश्‍वरको वचन नै प्रयोग गरे। याकुबले सरल शब्दहरू र बुझ्न सजिलो तर्क चलाए। यसरी तिनले मानिसहरूको ध्यान आफूतर्फ नभई यहोवातर्फ खिचे।

१०. अरूलाई सिकाउँदा याकुबको अनुकरण गर्न सक्ने एउटा तरिका के हो?

१० हाम्रो लागि पाठ: सरल तरिकामा सिकाउनुहोस्‌ र परमेश्‍वरको वचनलाई नै आधार बनाउनुहोस्‌। अरूलाई सिकाउँदा हाम्रो लक्ष्य भनेको आफूसित कति ज्ञान छ भनेर देखाउन खोज्नु होइन। बरु तिनीहरूलाई परमेश्‍वरसित अथाह ज्ञान छ र उहाँ हाम्रो ख्याल राख्नुहुन्छ भनेर बुझ्न मदत दिनु हो। (रोमी ११:३३) यस लक्ष्यसम्म पुग्न हामीले सधैँ बाइबललाई आधार बनाउनुपर्छ। उदाहरणको लागि, हामी बाइबल विद्यार्थीलाई आफू तिनको ठाउँमा भएको भए के गर्थेँ भनेर बताउनुको सट्टा तिनलाई नै बाइबलका उदाहरणहरूमा मनन गर्न अनि यहोवाको सोचाइ र भावना बुझ्न मदत दिनुपर्छ। यसो गर्दा विद्यार्थीहरू हामीलाई नभई यहोवालाई खुसी बनाउन उत्प्रेरित हुनेछन्‌।

११. याकुबको समयका केही ख्रिष्टियनहरूमा के-कस्ता कमीकमजोरी थिए र तिनले उनीहरूलाई कस्तो सल्लाह दिए? (याकुब ५:१३-१५)

११ याकुब व्यावहारिक थिए। तिनलाई आफ्ना सङ्‌गी भाइबहिनीमा के-कस्ता कमीकमजोरी छन्‌ भन्‍ने कुरा थाह थियो भनेर तिनको पत्रबाट स्पष्ट हुन्छ र तिनले उनीहरूलाई त्यस्ता कमीकमजोरी हटाउन स्पष्ट सल्लाह दिए। उदाहरणको लागि, उनीहरूमध्ये कोही-कोही सल्लाह लागू गर्न आनाकानी गर्थे। (याकु. १:२२) कोही-कोहीचाहिँ धनी र गरिबबीच भेदभाव गर्थे। (याकु. २:१-३) कसै-कसैले भने आफ्नो जिब्रोलाई काबूमा राख्न सङ्‌घर्ष गरिरहेका थिए। (याकु. ३:८-१०) उनीहरूमा त्यस्ता गम्भीर समस्याहरू भए तापनि याकुबले हार मानेनन्‌, बरु दयालु हुँदै स्पष्ट सल्लाह दिए। तिनले आध्यात्मिक रूपमा बिरामी भएकाहरूलाई एल्डरहरूसित सल्लाह माग्न प्रोत्साहन पनि दिए।—याकुब ५:१३-१५ पढ्‌नुहोस्‌।

१२. बाइबल विद्यार्थीहरूलाई मदत गर्दा हामी कसरी सकारात्मक हुन सक्छौँ?

१२ हाम्रो लागि पाठ: व्यावहारिक हुनुहोस्‌ र अरूप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌। हाम्रा बाइबल विद्यार्थीहरूलाई आफूले सिकिरहेको कुरा लागू गर्न गाह्रो भइरहेको हुन सक्छ। (याकु. ४:१-४) खराब आनीबानी हटाएर यहोवालाई मनपर्ने गुणहरू विकास गर्न समय लाग्न सक्छ। याकुबको अनुकरण गर्दै हामी पनि बाइबल विद्यार्थीहरूलाई तिनीहरूले छाँटकाँट गर्नुपर्ने कुराहरू देखाइदिन हिचकिचाउनु हुँदैन। साथै हामी सकारात्मक पनि हुनुपर्छ। यहोवा नम्र मानिसहरूलाई आफूतर्फ खिच्नुहुन्छ र तिनीहरूलाई आवश्‍यक छाँटकाँट गर्न मदत दिनुहुन्छ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ।—याकु. ४:१०.

१३. याकुब ३:२ र फुटनोटअनुसार याकुबले कुन कुरा स्विकारे?

१३ याकुबले आफूप्रति सही दृष्टिकोण राखे। पारिवारिक पृष्ठभूमि र आफूले पाएका सुअवसरहरूले गर्दा तिनले आफू अरूभन्दा विशेष वा ठूलो छु भन्‍ने सोचाइ राखेनन्‌। बरु तिनले सङ्‌गी उपासकहरूलाई “मेरा प्रिय भाइहरू” भनेर सम्बोधन गरे। (याकु. १:१६, १९; २:५) साथै तिनले आफूबाट कहिल्यै गल्ती हुँदैन भन्‍ने भान पनि पारेनन्‌। बरु तिनले आफूलाई पनि समावेश गर्दै यसो भने: “हामी सबै जना धेरै चोटि गल्ती गर्छौँ।”—याकुब ३:२ र फुटनोट पढ्‌नुहोस्‌।

१४. हामीले आफ्नो कमीकमजोरी स्विकाऱ्‍यौँ भने नतिजा कस्तो हुन्छ?

१४ हाम्रो लागि पाठ: हामी सबै जना पापी छौँ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। हामीले आफू बाइबल विद्यार्थीभन्दा श्रेष्ठ छु भन्‍ने सोचाइ राख्नु हुँदैन। यदि हामीले बाइबल विद्यार्थीलाई हामीबाट गल्ती नै हुँदैन भन्‍ने भान पर्न दियौँ भने तिनी आफू कहिल्यै परमेश्‍वरको स्तरअनुसार चल्न सक्दिनँ भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। तर बाइबलको स्तरअनुसार चल्न सुरु-सुरुमा हामीलाई गाह्रो भएको थियो तैपनि यहोवाको मदत पाएर सफल हुन सक्यौँ भनेर बतायौँ भने तिनलाई पनि यहोवाको सेवा गर्न सक्छु जस्तो लाग्नेछ।

चित्रहरूको सँगालो: १. पत्र लेख्दै गर्दा याकुब बलिरहेको दियो हेर्दै छन्‌। २. याकुबले लेखेको पत्र प्रथम शताब्दीको एउटा मण्डलीका ख्रिष्टियनहरूलाई सुनाइँदै छ। दियोले गर्दा कोठा उज्यालो भएको छ।

याकुबका उदाहरणहरू सरल, स्पष्ट र प्रभावकारी थिए (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)c

१५. याकुबले कस्ता उदाहरणहरू चलाए? (याकुब ३:२-६, १०-१२)

१५ याकुबले मन छुने उदाहरणहरू चलाए। तिनले पवित्र शक्‍तिको मदत पाएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन तर तिनले आफ्ना दाइ येसुले चलाउनुभएका उदाहरणहरूबारे अध्ययन गरेर पनि धेरै कुरा सिकेका हुन सक्छन्‌। तिनले आफ्नो पत्रमा चलाएका उदाहरणहरू सरल छन्‌ र ती उदाहरणहरूबाट सिक्न सक्ने पाठ पनि स्पष्ट छ।—याकुब ३:२-६, १०-१२ पढ्‌नुहोस्‌।

१६. हामीले किन प्रभावकारी उदाहरणहरू चलाउनुपर्छ?

१६ हाम्रो लागि पाठ: प्रभावकारी उदाहरणहरू चलाउनुहोस्‌। तपाईँले सुहाउँदो उदाहरणहरू चलाउनुभयो भने श्रोताले सुनेको कुराको दृश्‍य उतार्न सक्छन्‌ र बाइबलका सत्यहरू मनमा ठप्प राख्न सक्छन्‌। येसु उदाहरणहरू चलाउन सिपालु हुनुहुन्थ्यो र याकुबले पनि आफ्नो दाइको अनुकरण गरे। अब हामी याकुबले चलाएको एउटा उदाहरण विचार गरौँ र त्यो किन प्रभावकारी थियो भनेर बुझौँ।

१७. याकुब १:२२-२५ मा पाइने उदाहरण किन प्रभावकारी छ?

१७ याकुब १:२२-२५ पढ्‌नुहोस्‌। याकुबले चलाएको ऐनाको उदाहरण विभिन्‍न कारणले गर्दा प्रभावकारी छ। तिनले यस उदाहरणद्वारा परमेश्‍वरको वचनबाट लाभ उठाउन चाहन्छौँ भने हामीले पढेर मात्र पुग्दैन, त्यसअनुसार चल्नु पनि पर्छ भनेर बुझाउन खोज्दै थिए। याकुबले ऐना हेर्ने एक जना मानिसको उदाहरण चलाए, जुन तिनका श्रोताहरूले सजिलै बुझ्न सक्थे। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? एक जना मानिसले ऐना हेर्छ र आफूले मिलाउनुपर्ने कुरा पनि देख्छ तर देखेर पनि केही गर्दैन भने उसले ऐना हेर्नुको कुनै फाइदा हुँदैन। त्यसैगरि हामीले बाइबल पढ्‌दा आफूमा केही छाँटकाँट गर्नुपर्ने देख्न सक्छौँ तर देखेर पनि कदम चाल्दैनौँ भने बाइबल पढ्‌नुको कुनै फाइदा हुँदैन।

१८. उदाहरणहरू चलाउँदा हामीले कुन तीन वटा कुरा याद गर्नुपर्छ?

१८ उदाहरणहरू चलाउँदा तपाईँ यी तीन वटा तरिकामा याकुबको अनुकरण गर्न सक्नुहुन्छ: (१) विषयसित सुहाउँदो उदाहरण चलाउनुहोस्‌। (२) श्रोताहरूले सजिलै बुझ्ने उदाहरण चलाउनुहोस्‌। (३) उदाहरणबाट सिक्नुपर्ने पाठ प्रस्ट पार्नुहोस्‌। यदि तपाईँलाई सुहाउँदो उदाहरण भेट्टाउन गाह्रो भइरहेको छ भने वाच टावर प्रकाशन सूची-को (अङ्‌ग्रेजी) “उदाहरणहरू” अन्तर्गत हेर्न सक्नुहुन्छ। त्यसमा थुप्रै उदाहरण पाइन्छ। तर यो कुरा नबिर्सनुहोस्‌, उदाहरण भनेको माइकजस्तै हो। जसरी माइकले तपाईँको आवाजलाई ठूलो र प्रस्ट बनाउँछ, त्यसरी नै उदाहरणले तपाईँले भन्‍न खोज्नुभएको कुरालाई प्रस्ट पार्छ। त्यसैले मुख्य बुँदालाई जोड दिन मात्र उदाहरण चलाउनुहोस्‌। हामीले आफ्नो शिक्षणकला तिखार्नुको मुख्य उद्देश्‍य भनेको मानिसहरूको ध्यान आफूतर्फ खिच्नु होइन, बरु धेरैभन्दा धेरै मानिसलाई यहोवाको सुखी परिवारको भाग बन्‍न मदत दिनु हो।

१९. हामी आफ्नो आध्यात्मिक परिवारलाई माया गरेको कसरी देखाउन सक्छौँ?

१९ याकुबका दाइ येसु त्रुटिरहित हुनुभएकोले तिनले उहाँबाट थुप्रै कुरा सिक्ने मौका पाए। हुनत हाम्रो परिवारमा कोही पनि त्रुटिरहित छैनन्‌ तर हामीले यहोवाको विशाल परिवारसँगै मिलेर उहाँको सेवा गर्ने ठूलो सुअवसर पाएका छौँ। हामी भाइबहिनीसित सरसङ्‌गत गरेर, तिनीहरूबाट सिकेर अनि सुसमाचार सुनाउने र सिकाउने काममा सँगै भाग लिएर तिनीहरूलाई माया गरेको देखाउन सक्छौँ। हामीले याकुबको मनोवृत्ति, आचरण र सिकाउने तरिका अनुकरण गर्ने प्रयास गऱ्‍यौँ भने यहोवाको महिमा गरिरहेका हुन्छौँ अनि नम्र मानिसहरूलाई उहाँसित नजिक हुन मदत दिन सक्छौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामी किन नम्र भइरहनुपर्छ?

  • हामीले किन सरल तरिकामा सिकाउनुपर्छ?

  • हामीले किन प्रभावकारी उदाहरणहरू चलाउनुपर्छ?

गीत ११४ “धैर्य गर”

a याकुब र येसु एउटै परिवारमा हुर्कनुभयो। त्यतिबेला परमेश्‍वरका त्रुटिरहित छोरालाई राम्ररी चिनेका मानिसहरूमध्ये एक जना याकुब पनि थिए। यस लेखमा येसुका भाइको जीवन र तिनले सिकाएका कुराहरूबाट हामी के सिक्न सक्छौँ भनेर बुझ्नेछौँ, जो पछि प्रथम शताब्दीको ख्रिष्टियन मण्डलीको खम्बा बने।

b भाइ नेथन एच. नोर परिचालक निकायका सदस्य हुनुहुन्थ्यो। सन्‌ १९७७ मा उहाँको पार्थिव जीवनको अन्त्य भयो।

c चित्रको व्याख्या: जिब्रोलाई काबूमा राख्न नसक्दा कस्तो खतरा हुन्छ भनेर बुझाउन याकुबले सबैले बुझ्न सक्ने आगोको झिल्काको उदाहरण चलाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने