प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जुलाई पृ. १४-१९
  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस भविष्यवाणीका पात्रहरू को-को हुन्‌?
  • यो भविष्यवाणी कसरी पूरा हुँदै छ?
  • यस भविष्यवाणीबाट हामीले कस्तो लाभ उठाएका छौँ?
  • ख१ बाइबलको सन्देश
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • साँपको सन्तान कसरी पर्दाफास भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • अदनबारे थाह पाउनु किन तपाईँको लागि महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा: अदनको बगैँचा—वास्तविक कि काल्पनिक?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जुलाई पृ. १४-१९

अध्ययन लेख ३०

हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी

“तँ र स्त्रीबीच . . . म दुस्मनी हालिदिनेछु।”—उत्प. ३:१५.

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

परिचयa

१. आदम र हव्वाले पाप गर्नेबित्तिकै यहोवाले के गर्नुभयो? (उत्पत्ति ३:१५)

आदम र हव्वाले पाप गर्नेबित्तिकै यहोवाले तिनीहरूको सन्तानलाई आशा दिन एउटा उल्लेखनीय भविष्यवाणी गर्नुभयो। उक्‍त भविष्यवाणी उत्पत्ति ३:१५ मा उल्लेख गरिएको छ।—पढ्‌नुहोस्‌।

२. यो भविष्यवाणी किन उल्लेखनीय छ?

२ यो भविष्यवाणी बाइबलको पहिलो किताबमा पाइन्छ। तर बाइबलको अरू सबै किताब कुनै न कुनै तरिकामा यही भविष्यवाणीसित जोडिएको छ। जसरी धागोले मालाका दानाहरूलाई एकसाथ गाँस्छ र एउटा सिङ्‌गो माला बन्छ, त्यसरी नै उत्पत्ति ३:१५ ले बाइबलका किताबहरूमा भएका विषयवस्तुलाई एकसाथ जोड्‌छ र एउटा सिङ्‌गो सन्देश बन्छ। त्यो सन्देश हो: दियाबल र त्यसका समर्थकहरूलाई नाश गर्न एक जना उद्धारक पठाइनेछ।b परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति यो कत्ति ठूलो आशिष्‌ हुनेछ!

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यस लेखमा हामी उत्पत्ति ३:१५ को भविष्यवाणीबारे यी प्रश्‍नहरू छलफल गर्नेछौँ: यसमा चर्चा गरिएका पात्रहरू को-को हुन्‌? यो भविष्यवाणी कसरी पूरा हुँदै छ? यसबाट हामीले कस्तो लाभ उठाइरहेका छौँ?

यस भविष्यवाणीका पात्रहरू को-को हुन्‌?

चित्रहरूको सँगालो: “उत्पत्ति ३:१४, १५ का पात्रहरू।” १. सर्प: सैतान, जसलाई स्वर्गदूतको रूपमा चित्रण गरिएको छ। २. सर्पको सन्तान: दुष्ट स्वर्गदूतहरू। ३. स्त्री: वफादार स्वर्गदूतहरू। ४. स्त्रीको सन्तान: येसु ख्रिष्ट र उहाँका अभिषिक्‍त सहशासकहरू। यी चित्रहरू अनुच्छेद ४, ५, ७ र ८ माथि पनि राखिएका छन्‌।

४. “सर्प” को हो र हामी किन त्यसो भन्‍न सक्छौँ?

४ उत्पत्ति ३:१४, १५ मा उल्लेख गरिएका पात्रहरू यसप्रकार छन्‌: “सर्प,” सर्पको “सन्तान,” “स्त्री” र स्त्रीको “सन्तान।” बाइबलले यी प्रत्येक पात्रले कसलाई बुझाउँछ भनेर बुझ्न मदत गर्छ।c सबैभन्दा पहिला, “सर्प”-ले कसलाई बुझाउँछ भनेर विचार गरौँ। यहोवा परमेश्‍वरले अदनको बगैँचामा जे-जे भन्‍नुभयो, त्यो पक्कै पनि एउटा सर्पले बुझ्न सक्दैन थियो। त्यसैले उहाँले जुन न्यायदण्ड सुनाउनुभयो, त्यो एउटा बौद्धिक प्राणीको लागि नै थियो। त्यो को थियो? प्रकाश १२:९ मा त्यो “पुरानो सर्प” सैतान हो भनेर स्पष्ट पारिएको छ। त्यसोभए सर्पको सन्तानले कसलाई बुझाउँछ?

सैतान, जसलाई स्वर्गदूतको रूपमा चित्रण गरिएको छ।

सर्प

सैतान, जसलाई प्रकाश १२:९ मा “पुरानो सर्प” भनिएको छ (अनुच्छेद ४ हेर्नुहोस्‌)

५. सर्पको सन्तानमा को-को पर्छन्‌?

५ बाइबलमा प्रतीकात्मक सन्तानबारे पनि बताइएको छ, जसले आफ्नो बुबाले जस्तै सोच्छ र व्यवहार गर्छ। त्यसैले सर्पको सन्तानले अवफादार स्वर्गदूतहरू र मानिसहरूलाई बुझाउँछ, जसले सैतानले जस्तै यहोवा र उहाँका सेवकहरूको विरोध गर्छ। यसमा नुहको समयमा स्वर्ग छोडेर आउने स्वर्गदूतहरू पर्छन्‌। साथै यसमा ती दुष्ट मानिसहरू पनि पर्छन्‌, जसले आफ्नो बुबा दियाबलले जस्तै व्यवहार गर्छ।—उत्प. ६:१, २; युह. ८:४४; १ युह. ५:१९; यहु. ६.

दुष्ट स्वर्गदूतहरू।

सर्पको सन्तान

यहोवा र उहाँका सेवकहरूको विरोध गर्ने दुष्ट स्वर्गदूतहरू र मानिसहरू (अनुच्छेद ५ हेर्नुहोस्‌)

६. भविष्यवाणीकी “स्त्री” हव्वा होइनन्‌ भनेर किन भन्‍न सक्छौँ?

६ अब हामी “स्त्री” को हुन्‌ भनेर पत्ता लगाऔँ। तिनी हव्वा त होइनन्‌। यसको एउटा कारण विचार गरौँ। भविष्यवाणीमा स्त्रीको सन्तानले सर्पको शिर “कुच्याउनेछ” भनेर बताइएको छ। त्यो सर्प दुष्ट स्वर्गदूत सैतान हो भनेर हामीले बुझिसक्यौँ र हव्वाले जन्माउने कुनै पनि त्रुटिपूर्ण सन्तानसँग त्यसको शिर कुच्याउन सक्ने शक्‍ति हुने थिएन। त्यसैले भविष्यवाणीकी स्त्री अरू नै कोही हुनुपर्छ।

७. प्रकाश १२:१, २, ५, १० ले सङ्‌केत गरेअनुसार उत्पत्ति ३:१५ मा बताइएकी स्त्री को हुन्‌?

७ उत्पत्ति ३:१५ मा बताइएकी स्त्री को हुन्‌ भन्‍नेबारे बाइबलको अन्तिम किताबमा प्रस्ट पारिएको छ। (प्रकाश १२:१, २, ५, १० पढ्‌नुहोस्‌।) तिनी कुनै साधारण स्त्री त होइनन्‌। तिनको पाउमुनि चन्द्रमा छ र तिनले १२ वटा ताराको एउटा मुकुट लगाएकी छिन्‌। तिनले एकदमै असाधारण बालक अर्थात्‌ परमेश्‍वरको राज्यलाई जन्म दिन्छिन्‌। यो राज्य स्वर्गमा छ, त्यसैले ती स्त्री पनि स्वर्गमा नै हुनुपर्छ। तिनले परमेश्‍वरको सङ्‌गठनको स्वर्गमा रहेको भागलाई बुझाउँछ, जुन वफादार स्वर्गदूतहरू मिलेर बनेको छ।—गला. ४:२६.

वफादार स्वर्गदूतहरू।

स्त्री

परमेश्‍वरको सङ्‌गठनको स्वर्गमा रहेको भाग, जुन परमेश्‍वरका वफादार स्वर्गदूतहरू मिलेर बनेको छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

८. स्त्रीको सन्तानको प्रमुख भाग को हुनुहुन्छ र उहाँ कहिले स्त्रीको सन्तान हुनुभयो? (उत्पत्ति २२:१५-१८)

८ बाइबलले स्त्रीको सन्तानको प्रमुख भाग को हुन्‌ भनेर चिन्‍न पनि मदत गर्छ। तिनी अब्राहामको वंशको हुनुपर्ने थियो। (उत्पत्ति २२:१५-१८ पढ्‌नुहोस्‌।) भविष्यवाणी गरिएझैँ येसु अब्राहामकै वंशबाट आउनुभयो। (लुका ३:२३, ३४) तर त्यस सन्तानले सैतानको शिर कुच्याउनुपर्ने भएकोले तिनी मानिसभन्दा शक्‍तिशाली हुनुपर्ने थियो। त्यसैले येसु लगभग ३० वर्षको हुनुहुँदा उहाँलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरियो र उहाँ स्त्रीको सन्तानको प्रमुख भाग हुनुभयो। (गला. ३:१६) येसु स्वर्ग जानुभएपछि परमेश्‍वरले उहाँलाई “गौरव र आदरको मुकुट पहिऱ्‍याउनुभयो।” (हिब्रू २:७) साथै “स्वर्ग र पृथ्वीको सबै अधिकार” पनि दिनुभयो, जसमा “दियाबलका कामहरू नष्ट” गर्नु समावेश छ।—मत्ति २८:१८; १ युह. ३:८.

येसु ख्रिष्ट र उहाँका अभिषिक्‍त सहशासकहरू।

स्त्रीको सन्तान

येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सहशासक (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

९-१०. (क) स्त्रीको सन्तानको दोस्रो भाग को हुन्‌ र तिनीहरू कसरी स्त्रीको सन्तानको भाग बन्छन्‌? (ख) अब हामी के छलफल गर्नेछौँ?

९ स्त्रीको सन्तानको दोस्रो भाग पनि हुने थियो। प्रेषित पावलले यहुदी र गैर-यहुदी अभिषिक्‍त ख्रिष्टियनहरूलाई यो कुरा बताउँदा स्त्रीको सन्तानको दोस्रो भाग को हुन्‌ भनेर प्रस्ट भयो: “यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान र प्रतिज्ञाका उत्तराधिकारीहरू हौ।” (गला. ३:२८, २९) यहोवा परमेश्‍वरले कुनै ख्रिष्टियनलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभएपछि तिनी स्त्रीको सन्तानको भाग बन्छन्‌। त्यसैले स्त्रीको सन्तान येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सहशासक मिलेर बनेको छ। (प्रका. १४:१) तिनीहरू सबैले आफ्नो बुबा यहोवा परमेश्‍वरको सोचाइ र व्यवहार अनुकरण गर्छन्‌।

१० यहाँसम्म हामीले उत्पत्ति ३:१५ मा उल्लेख गरिएका पात्रहरू को-को हुन्‌ भनेर बुझ्यौँ। अब हामी यहोवाले यो भविष्यवाणी कसरी क्रमिक रूपमा पूरा गरिरहनुभएको छ र यसबाट हामीलाई कस्तो लाभ भएको छ भनेर छोटकरीमा छलफल गरौँ।

यो भविष्यवाणी कसरी पूरा हुँदै छ?

११. सर्पले स्त्रीको सन्तानको “कुर्कुच्चो” डस्ने भविष्यवाणी कसरी पूरा भयो?

११ उत्पत्ति ३:१५ को भविष्यवाणीअनुसार सर्पले स्त्रीको सन्तानको “कुर्कुच्चो” डस्नुपर्ने थियो। भविष्यवाणीको यो भाग सैतानले यहुदी र रोमीहरूलाई चलाएर परमेश्‍वरको छोरालाई मृत्युदण्ड दिँदा पूरा भयो। (लुका २३:१३, २०-२४) जसरी कुर्कुच्चोमा चोट लाग्दा केही समय चलहल गर्न गाह्रो हुन्छ, त्यसैगरि येसुको मृत्यु हुँदा उहाँ तीन दिनसम्म चिहानमा निष्क्रिय अवस्थामा रहनुभयो।—मत्ति १६:२१.

१२. सर्पको शिर कहिले र कसरी कुच्याइनेछ?

१२ येसु चिहानमै रहिरहनुभएको भए उत्पत्ति ३:१५ को भविष्यवाणी पूरा हुन सक्ने थिएन। किन? किनभने भविष्यवाणीअनुसार स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनुपर्ने थियो। यसको मतलब, येसुको कुर्कुच्चोमा लागेको चोट निको हुनुपर्ने थियो। हुन पनि त्यस्तै भयो। उहाँको मृत्यु भएको तेस्रो दिनमा उहाँ अमर स्वर्गदूतको रूपमा ब्युँतनुभयो। उहाँले अब चाँडै परमेश्‍वरले तोक्नुभएको समयमा सैतानको शिर कुच्याउनुहुनेछ। (हिब्रू २:१४) येसु र उहाँसँगै शासन गर्नेहरूले सर्पको सन्तान अर्थात्‌ परमेश्‍वरका शत्रुहरूलाई पृथ्वीबाट सदाको लागि नामेट पार्नुहुनेछ।—प्रका. १७:१४; २०:४, १०.d

उत्पत्ति ३:१५ को भविष्यवाणीका केही मुख्य घटना

समयरेखामा उत्पत्ति ३:१५ को भविष्यवाणीका केही मुख्य घटना देखाइएको छ। क. ई.पू. १९४३: अब्राहाम ताराले भरिएको आकाश हेर्छन्‌। ख. इ.सं. २९: युहन्‍नाले बप्तिस्मा गराएपछि येसुलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरिन्छ। ग. इ.सं. ३३ निस्तार चाड: येसुलाई यातनाको खम्बामा झुन्ड्याइन्छ। घ. इ.सं. ३३ पेन्तिकोस: येसुका अनुयायीहरूको टाउकोमाथि “जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू” देखा पर्छ। ङ. इ.सं. १९१४ तिर: येसुले सैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट हुर्ऱ्याउनुहुन्छ। च. हजार वर्षीय शासनको अन्त: सैतान र त्यसका प्रेतहरूलाई आगोको कुण्डमा हुर्ऱ्याइन्छ।
  1. क ई.पू. १९४३

    स्त्रीको सन्तानको प्रमुख भाग अब्राहामको वंशबाट आउनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञा पूरा हुन थाल्छ। (उत्प. १२:१-३; २२:१५-१८)

  2. ख इ.सं. २९

    येसुलाई अभिषेक गरिन्छ र उहाँ स्त्रीको सन्तानको प्रमुख भाग बन्‍नुहुन्छ। (मत्ति ३:१६; गला. ३:१६)

  3. ग इ.सं. ३३ निस्तार चाड

    येसुको कुर्कुच्चो डसिन्छ तर तीन दिनपछि चोट निको हुन्छ। (मत्ति १६:२१; २६:१, २)

  4. घ इ.सं. ३३ पेन्तिकोस

    स्त्रीको सन्तानको दोस्रो भागका सुरुका सदस्यहरूलाई पवित्र शक्‍तिले अभिषेक गरिन्छ। (प्रेषि. २:१-४; गला. ३:२९)

  5. ङ इ.सं. १९१४ तिर

    सैतानलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिन्छ र स्त्रीको सन्तानले झन्‌झनै धेरै विरोधको सामना गर्नुपर्छ। (प्रका. १२:९, १२, १७)

  6. च हजार वर्षीय शासनको अन्त

    सैतानलाई सदाको लागि नाश गरिन्छ। (प्रका. २०:७, १०)

यस भविष्यवाणीबाट हामीले कस्तो लाभ उठाएका छौँ?

१३. यस भविष्यवाणीको पूर्तिबाट हामीले कस्तो लाभ उठाउन सकेका छौँ?

१३ तपाईँ परमेश्‍वरको समर्पित सेवक हुनुहुन्छ भने यस भविष्यवाणीको पूर्तिबाट पक्कै लाभ उठाइरहनुभएको छ। येसु मानिसको रूपमा पृथ्वीमा आउनुभयो। उहाँले आफ्नो बुबाको व्यक्‍तित्व हुबहु झल्काउनुभयो। (युह. १४:९) त्यसैले हामीले उहाँमार्फत यहोवा परमेश्‍वरलाई चिन्‍न र प्रेम गर्न सक्यौँ। हामीले येसुको शिक्षाबाट र उहाँले आज मण्डलीहरूलाई डोऱ्‍याउनुभएको कुराबाट पनि लाभ उठाएका छौँ। साथै यहोवाको अनुमोदन पाउन हामीले आफ्नो जीवन कसरी बिताउनुपर्छ भनेर पनि येसुले सिकाउनुभयो। भविष्यवाणीअनुसारै येसुको कुर्कुच्चो डसियो अर्थात्‌ उहाँलाई मारियो तर उहाँको मृत्युबाट हामी सबैले लाभ उठाउन सकेका छौँ। कसरी? येसु फेरि जीवित हुनुभएपछि उहाँले आफ्नो रगतको मोल परमेश्‍वरलाई चढाउनुभयो र उहाँको रगतले “हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।”—१ युह. १:७.

१४. अदनको बगैँचामा गरिएको भविष्यवाणी पूरा हुन किन समय लाग्ने थियो?

१४ यहोवा परमेश्‍वरले अदनको बगैँचामा भन्‍नुभएको कुराबाट यो भविष्यवाणी पूर्ण रूपमा पूरा हुन समय लाग्ने थियो भनेर बुझ्न सक्छौँ। स्त्रीले सन्तान जन्माउन, दियाबलले आफ्ना समर्थकहरू जम्मा गर्न र यी दुई समूहबीच दुस्मनी (अथवा घृणा) बढ्‌न समय लाग्ने थियो। यो भविष्यवाणी बुझ्यौँ भने हामीले लाभ उठाउन सक्छौँ किनभने यस भविष्यवाणीले सैतानको अधीनमा रहेको संसारले परमेश्‍वरका उपासकहरूलाई घृणा गर्नेछ भनेर चेतावनी दिन्छ। येसुले पनि आफ्ना चेलाहरूलाई यस्तै चेतावनी दिनुभयो। (मर्कु. १३:१३; युह. १७:१४) हामीले विशेषगरि विगत १०० वर्षमा भविष्यवाणीको यो भाग पूरा भइरहेको देखिरहेका छौँ। कसरी?

१५. परमेश्‍वरका मानिसहरूप्रति संसारको घृणा किन झन्‌झनै बढिरहेको छ तर हामी किन सैतानसित डराउनुपर्दैन?

१५ येसु १९१४ मा राजा हुनुभएको केही समयपछि नै सैतानलाई पृथ्वीमा फ्याँकियो। त्यो अहिले आफ्नो विनाश कुरेर बसिरहेको छ। (प्रका. १२:९, १२) तर त्यो चुपचाप बसेको छैन। त्यो एकदमै क्रोधित भएको छ र आफ्नो भएभरको रिस परमेश्‍वरका मानिसहरूमाथि पोखिरहेको छ। (प्रका. १२:१३, १७) त्यसैकारण परमेश्‍वरका मानिसहरूप्रति संसारको घृणा झन्‌झनै बढिरहेको छ। तर हामी सैतान र त्यसका समर्थकहरूसित डराउनुपर्दैन। बरु प्रेषित पावलजस्तै निर्धक्क भएर हामी पनि यसो भन्‍न सक्छौँ: “यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?” (रोमी ८:३१) हामी यहोवामा पूर्ण भरोसा राख्छौँ किनभने हामीले उत्पत्ति ३:१५ को भविष्यवाणीको धेरैजसो भाग पूरा भएको देखिसकेका छौँ।

१६-१८. कर्टिस, अर्सुला र जेसिकाले उत्पत्ति ३:१५ को भविष्यवाणी बुझ्दा कस्तो लाभ उठाए?

१६ उत्पत्ति ३:१५ मा यहोवाले गर्नुभएको प्रतिज्ञाबाट जस्तोसुकै परीक्षाको सामना गर्न मदत पाउन सक्छौँ। गुआममा मिसनरी सेवा गर्ने भाइ कर्टिस यसो भन्छन्‌: “मैले जीवनमा यस्ता परीक्षाहरूको सामना गरेको छु, जसले गर्दा मलाई यहोवाप्रति वफादार रहिरहन गाह्रो भएको थियो। तर उत्पत्ति ३:१५ को भविष्यवाणीमा मनन गर्दा मैले स्वर्गमा बस्नुहुने बुबामा भरोसा गर्न सकेको छु।” कर्टिस यहोवाले हाम्रो सबै परीक्षाको अन्त गर्नुहुने समयको प्रतीक्षा गर्दै छन्‌।

१७ जर्मनीकी अर्सुला उत्पत्ति ३:१५ को भविष्यवाणी बुझेपछि बाइबल परमेश्‍वरको प्रेरणाद्वारा नै लेखिएको हो भन्‍ने कुरामा विश्‍वस्त हुन सकिन्‌। तिनले बाइबलका अरू भविष्यवाणीहरू पनि यसै भविष्यवाणीसित जोडिएको छ भनेर बुझिन्‌। यसले तिनमा एकदमै गहिरो प्रभाव पाऱ्‍यो। तिनी यसो भन्छिन्‌: “यहोवाले मानिसजाति आशाविहीन नहोस्‌ भनेर तुरुन्तै कदम चाल्नुभएको कुरा बुझ्दा मेरो मन छोयो।”

१८ माइक्रोनेसियाकी जेसिका यसो भन्छिन्‌: “सत्य भेट्टाउँदा मलाई कस्तो महसुस भएको थियो, मैले अहिलेसम्म बिर्सेकी छैनँ। उत्पत्ति ३:१५ को भविष्यवाणी पूरा भइरहेको छ। हामीले जति पनि दुःख भोगिरहेका छौँ, त्यो परमेश्‍वरको सुरुको उद्देश्‍य थिएन भनेर यस भविष्यवाणीबाट बुझ्न सकेकी छु। साथै अहिले हामीले यहोवाको सेवामा बिताइरहेको जीवन नै सबैभन्दा उत्तम जीवन हो र हाम्रो भविष्य अझ उज्ज्वल छ भनेर विश्‍वस्त हुन सकेकी छु।”

१९. भविष्यवाणीको अन्तिम भाग पूरा हुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

१९ उत्पत्ति ३:१५ को भविष्यवाणी पूरा भइरहेको छ भनेर हामीले यस लेखबाट बुझ्यौँ। स्त्रीको सन्तान र सर्पको सन्तान को हुन्‌ भनेर पनि थाह पायौँ। स्त्रीको सन्तानको प्रमुख भाग अर्थात्‌ येसुको कुर्कुच्चोमा लागेको चोट निको भइसकेको छ। अहिले उहाँ महिमित र अमर राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। स्त्रीको सन्तानको दोस्रो भागका सदस्यहरू छान्‍ने काम पनि पूरा हुनै लागेको छ। यस भविष्यवाणीको पहिलो भाग पूरा भइसकेकोले यसको अन्तिम भाग अर्थात्‌ सर्पको शिर कुच्याउने भविष्यवाणी पनि पूरा हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। सैतानलाई पृथ्वीबाट हटाइँदा वफादार मानिसहरूले चैनको सास फेर्नेछन्‌। त्यो समय नआउन्जेल हरेस नखाऔँ। हाम्रो परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ। उहाँले स्त्रीको सन्तानमार्फत “पृथ्वीका सबै जाति”-लाई अनगिन्ती आशिष्‌ दिनुहुनेछ।—उत्प. २२:१८.

के तपाईँ उत्पत्ति ३:१५ को भविष्यवाणी बुझाउन सक्नुहुन्छ?

  • “सर्प,” सर्पको सन्तान, “स्त्री” र स्त्रीको सन्तान को हुन्‌?

  • यस भविष्यवाणीको कुन-कुन भाग पूरा भइसकेको छ?

  • यस भविष्यवाणीको पूर्तिबाट तपाईँले कस्तो लाभ उठाउनुभएको छ?

गीत २३ यहोवाको शासन सुरु

a उत्पत्ति ३:१५ को भविष्यवाणी नबुझेसम्म बाइबलको सन्देश राम्ररी बुझ्न सक्दैनौँ। यो भविष्यवाणी अध्ययन गर्दा यहोवामाथिको हाम्रो भरोसा अझ बलियो हुन्छ र हामी उहाँले आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने कुरामा अझ विश्‍वस्त हुन सक्छौँ।

b नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख ख१, “बाइबलको सन्देश” हेर्नुहोस्‌।

c “उत्पत्ति ३:१४, १५ का पात्रहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

d “उत्पत्ति ३:१५ को भविष्यवाणीका केही मुख्य घटना” भन्‍ने पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने