पीडारहित जीवन नजिकै!
हामीलाई नोक्सानीबाट जोगाउने हाम्रो शरीरको जटिल संरचना साँच्चै अद्भुत छ। त्यसको अध्ययन गर्दा बाइबलका भजनरचयिताले लेखेझैं सृष्टिकर्त्ताको प्रशंसा गर्न हामी पनि उत्प्रेरित हुनु पर्ने हो: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु।” (भजनसंग्रह १३९:१४) साँच्चै, परमेश्वरले मात्र पीडारहित जीवन सम्भव तुल्याउन सक्नुहुन्छ! तर यो कसरी पूरा हुनेछ?
याद गर्नुहोस्, पीडा र आँसु हटाइनेछ भनी प्रतिज्ञा गर्नुअघि बाइबलले “नयाँ आकाश र नयाँ पृथ्वी” को विषयमा बताउँछ “किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले”। (प्रकाश २१:१, ४) निस्सन्देह, हाम्रो भौतिक स्वर्ग र पृथ्वी बितिजानेछ भनी बाइबलले भन्न खोजेको होइन। बरु, अहिलेको वर्तमान रीतिरिवाजलाई पूर्णतया नयाँ व्यवस्थाले प्रतिस्थापन गर्नेछ भनी सङ्क्षेपमा भन्न खोजेको हो। हो, एउटा नयाँ, ईश्वरीय सरकारले यसै पृथ्वीमा पीडारहित जीवन बिताउन सम्भव तुल्याउनेछ।
यो सरकारबारे वर्णन गर्दा, “स्वर्गका परमेश्वरले एउटा राज्य [अथवा, सरकार] खड़ा गर्नुहुनेछ . . . यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ” भनी बाइबलले बताउँछ। (दानियल २:४४) येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँले यही राज्य सरकारको लागि प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
तैपनि, त्यस प्रार्थनाको पूर्तिको अर्थ कसरी पीडारहित जीवन हुन सक्छ?
ईश्वरीय शक्ति भएको शासक
आफ्नो सरकारको नेतृत्व गर्न परमेश्वरले छान्नुभएको व्यक्तिको बुद्धि र शक्तिमा त्यसको कुञ्जी निर्भर गर्छ। उहाँ येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। उहाँबारे बाइबलको एउटा भविष्यवाणीले यसो भन्छ: “शासन उहाँको हातमा हुनेछ। . . . उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.
अहिले स्वर्गमा हुनुहुने येशूको बुद्धि सारा पार्थिव चिकित्सकहरूको भन्दा महान छ। हाम्रो शारीरिक शरीरको कार्यप्रणाली लगायत चोटपटकबाट बचाउने यसका प्रणालीहरू उहाँले पूर्णतः जान्नु हुन्छ। झन्डै १,९०० वर्षअघि उहाँ यस पृथ्वीमा मानवको रूपमा हुनुहुँदा उहाँले निको पार्न नसक्ने कुनै बिमारी अथवा रोग थिएन। यसप्रकार उहाँले परमेश्वरको राज्यको राजाको हैसियतमा बृहत् ढङ्गमा गर्नुहुने कुरालाई प्रदर्शन गर्नुभयो। एउटा घटनाबारे बाइबल यसो भन्छ:
“तब त्यहाँ लङ्गड़ा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूलो भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका लङ्गड़ाहरू हिंडेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्क परे।” (मत्ती १५:३०, ३१) आफ्नो शासन अन्तर्गत येशूले निको पार्नुहुने रोगहरूमध्ये त्यो भयानक, चिरकालीन पीडा पनि हो।
निस्सन्देह, त्यो कस्तो अद्भुत आशिष् हुनेछ! अनि यो थोरै व्यक्तिहरूको लागि मात्र सम्पन्न गरिनेछैन। सृष्टिकर्त्ताले गर्नुभएको प्रतिज्ञा यस्तो छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’” (यशैया ३३:२४) त्यसपछि परमेश्वरको राज्य शासन अन्तर्गत “फेरि . . . पीड़ा हुनेछैन” भन्ने प्रतिज्ञा पूरा हुनेछ।—प्रकाश २१:४.
ख्रीष्टको महिमित राज्य शासन अन्तर्गत हामीलाई चोटपटकबाट बचाउने कार्यप्रणाली लगायत शरीरका थुप्रै कार्यप्रणालीहरूले राम्ररी काम गर्नेछ किनभने त्यतिबेला वंशाणुगत पाप हटिसकेको हुनेछ। हाम्रो शरीरमा पीडाको अनुभूति फेरि कहिल्यै उत्पीडक हुनेछैन। खुशीको कुरा, अहिले पूर्ति भइरहेका बाइबलका भविष्यवाणीहरूअनुसार पीडाले फेरि कहिल्यै दुःख नदिने नयाँ संसारको सँघारमा हामी पुगेका छौं।—मत्ती २४:३-१४, ३६-३९; २ तिमोथी ३:१-५; २ पत्रुस ३:११-१३.
परमेश्वरको राज्यको अधीनमा अहिले लाखौं मानिसहरूलाई सताउने पीडा नभएको संसारमा तपाईंले जीवनको आनन्द उठाउन सक्नुहुन्छ। तर तपाईंले केही गर्नुपर्छ। परमेश्वरलाई प्रार्थना गर्नुहुँदा येशू ख्रीष्टले एउटा आधारभूत आवश्यकता यसरी औंल्याउनुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३.
तपाईंलाई यस अत्यावश्यक ज्ञान प्राप्त गर्ने मदत दिन यहोवाका साक्षीहरू आनन्दित हुनेछन्। तपाईंको क्षेत्रमा बसोबास गर्ने तिनीहरूमध्ये एक जनालाई सोध्नुहोस् अथवा तपाईंको घर वा अरू कुनै सुविधाजनक स्थानमा बाइबल अध्ययन गर्ने इच्छा प्रकट गर्दै यस पत्रिकाको प्रकाशकहरूलाई लेख्नुहोस्। पीडारहित जीवनको आनन्द उठाउन परमेश्वरका उद्देश्यहरूबारे तपाईंलाई अझ बढी जानकारी प्रदान गर्न प्रबन्ध मिलाइनेछ। (g94 6/22)