प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ pp. ५-७
  • फेरि कहिल्यै नहुने पीडा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि कहिल्यै नहुने पीडा
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पीडालाई बुझ्ने प्रयासहरू
  • मन र शरीर दुवै विथोलित
  • पीडाका अनुभूतिहरू कसरी परिवर्तन हुन्छन्‌
  • पीडाको उपचारमा प्रगति
    ब्यूँझनुहोस्‌!—१९९४
  • क्रूर शत्रु मात्रै होइन
    ब्यूँझनुहोस्‌!—१९९४
  • पीडारहित जीवन नजिकै!
    ब्यूँझनुहोस्‌!—१९९४
  • प्रियजनको मृत्यु हुँदा
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ pp. ५-७

फेरि कहिल्यै नहुने पीडा

प्रथम मानवको असिद्धताले गर्दा अनुभव गर्नुपर्ने पीडा बाइबलको प्रतिज्ञाको पूर्तिअनुरूप फेरि कहिल्यै नहुने पीडा हो। यो पीडामा चिरकालीन पीडा पनि समावेश छ।

चिरकालीन पीडालाई बिमारी अथवा चोटपटकको चेतन प्रणालीसित नभई “गलत सूचक” सित दाँजिएको छ, जसले सदैव सूचना दिइरहन्छ। यो पीडाले गर्दा दुःख भोग्नेहरूले पीडा निवारणको लागि प्रतिवर्ष करोडौं डलर खर्च गर्छन्‌ र यसले लाखौंको जीवनलाई बिगार्छ।

पीडा विशेषज्ञ डा. रिचर्ड ए. स्टर्नबाकले लेखे: “तीक्ष्ण पीडाजस्तो चिरकालीन पीडा कुनै एउटा रोगको लक्षण होइन; चिरकालीन पीडा चेताउनी दिने सङ्‌केत होइन।” इमर्जेन्सी मेडिसिन ले जोड दियो: “चिरकालीन पीडाको कुनै उद्देश्‍य हुँदैन।”

तसर्थ, हालसालै थुप्रै डाक्टरहरूले त्यस्तो पीडालाई एउटा गम्भीर रोगको रूपमा हेर्न थालेका छन्‌। पीडासम्बन्धी आजको सर्वमान्य पुस्तक, द म्यानेजमेन्ट अफ पेन मा डा. जोन जे. बोनिका यसरी वर्णन गर्छन्‌: “तीक्ष्ण पीडा, रोग अथवा चोटपटकको लक्षण हो भने चिरकालीन पीडा स्वयं नै एउटा रोग हो।”

पीडालाई बुझ्ने प्रयासहरू

पीडालाई अझ पनि पूर्णतया बुझ्न सकिएको छैन। अमेरिकन हेल्थ पत्रिकाले यसो भन्यो, “पीडाको रहस्य बुझ्ने अनन्त जिज्ञासाले गर्दा वैज्ञानिकहरू दिनरात मेहनत गरिरहेका छन्‌।” केही दशकअघि तिनीहरूको अनुमानअनुसार पीडा भनेको दृष्टि, श्रुति र स्पर्श जस्तै अनुभूति थियो जसलाई छालामा हुने विशेष स्नायु तन्तुहरूले महसुस गर्थे र खास प्रकारका स्नायु रेशाहरू मार्फत मस्तिष्कसम्म प्रसारण गरिन्थ्यो। तर पीडासम्बन्धी यो सरल विचारधारा गलत साबित भयो। कसरी?

यस अन्तर्दृष्टि प्रदान गर्ने कारक, कुनै पीडा अनुभव नगर्ने एउटी जवान स्त्रीमाथि गरिएको अध्ययन थियो। सन्‌ १९५५ मा उनको मृत्युपश्‍चात्‌ मस्तिष्क र स्नायुप्रणालीको परीक्षणले पीडाको कारणसम्बन्धी एउटा बेग्लै विचारधारा पेश गऱ्‍यो। डाक्टरहरूले “स्नायु तन्तुहरू खोजे” भनी द स्टार विक्ली म्यागजिन, जुलाई ३०, १९६० ले वर्णन गऱ्‍यो। “यदि [उनको] स्नायु तन्तुहरू नभइदिएको भए त्यस केटीको असंवेदनशीलता सजिलै बुझ्न सकिन्थ्यो। तर उनमा ती तन्तुहरू थिए र हेर्दा राम्रै देखिन्थे।

“त्यसपछि, डाक्टरहरूले स्नायु तन्तुलाई मस्तिष्कसित जोड्‌ने स्नायु रेशाहरू जाँचे। निस्सन्देह, यहाँ त्रुटि भेट्टिनुपर्ने थियो, तर भेट्टिएन। चोटपटकले गर्दा बिग्रिंदै गएका रेशाहरूबाहेक देख्न सकिने जति सबै रेशाहरू राम्रै थिए।

“अन्तमा, त्यस केटीको मस्तिष्क जाँचियो र पुनः एक पटक कुनै प्रकारका त्रुटिहरू भेट्टाउन सकिएन। प्राप्त सबै जानकारी र बयानअनुसार यस केटीले सामान्यतया पीडा अनुभव गर्नुपर्ने थियो तर उनलाई काउकुती समेत लाग्दैनथ्यो।” तर, छालामा घोच्दा भने उनले महसुस गर्थिन्‌ र पिनले घोच्दा नदुखे तापनि पिनको टाउको तथा चुच्चोको स्पर्शलाई छुट्याउन सक्थिन्‌।

सन्‌ १९६० को दशकतिर पीडा बुझाउने नयाँ लोकप्रिय सिद्धान्तका सहलेखक, रोनाल्ड मेल्जाक त्यसको जटिलताबारे अर्को उदाहरण दिन्छन्‌। तिनले यसरी बयान गरे: “श्रीमती हलले हुँदै नभएको खुट्टालाई [त्यो काटिसकेको थियो] देखाएर औंलाका कापहरूमा तातो सुइरोले घोचेजस्तो पोल्ने पीडा महसुस भएको बताउँथिन्‌।” मेल्जाकले सन्‌ १९८९ मा म्याकलिन पत्रिकालाई बताएअनुसार तिनी “अझै पनि ‘काटिसकेको खुट्टामा अनुभूति वा अप्ठ्यारो महसुस हुने’ पीडाको स्पष्टिकरण खोजिरहेका थिए।” यसको अलावा, बिरामीको विकृति एउटा भागमा भएको होला तर पीडा भने अर्कै ठाउँमा हुन्छ।

मन र शरीर दुवै विथोलित

आजभोलि पीडालाई “मन र शरीरको अत्यन्तै जटिल अन्तरक्रिया” भनी चिनाइएको छ। “पीडाको अनुभव गहिरो मनोविज्ञानसित सम्बन्धित हुने हुनाले कहिलेकाहीं त्यसले पीडाको अस्तित्वलाई नकार्न र कहिलेकाहीं चोटपटक निको भएको निकै समय बितिसक्दा पनि पीडा महसुस भइरहन सक्छ” भनी पेन इन अमेरिका नामक १९९२ मा प्रकाशित पुस्तकमा मेरी एस. शेरिडन भन्छिन्‌।

पीडाप्रति प्रतिक्रिया व्यक्‍त गर्नुमा एक व्यक्‍तिको मुड, एकाग्रता, व्यक्‍तित्त्व, सुझावप्रतिको संवेदनशीलता र अन्य थुप्रै तत्त्वहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। पीडा विशेषज्ञ, डा. बोनिकाले यो टिप्पणी गरे: “डर र फिक्रीले गर्दा अचाक्ली प्रतिक्रिया व्यक्‍त गर्न सक्छ।” यसप्रकार एक व्यक्‍तिले पीडा महसुस गर्न सिक्न सक्छ। पीडा विशेषज्ञ तथा मनोविज्ञानका प्राध्यापक, डा. विल्बर्ट फोर्डिस यसरी वर्णन गर्छन्‌:

“पीडा वास्तविक हो या होइन भन्‍ने प्रश्‍न महत्त्वपूर्ण होइन। निस्सन्देह, त्यो वास्तविक हो। प्रश्‍न यो हो, त्यसलाई असर गर्ने गम्भीर तत्त्वहरू के के हुन्‌? खाना खानुअघि स्यान्डविचबारे मैले कुरा गरें भने तपाईंको मुख रसाउन थाल्छ। यो अवश्‍य वास्तविक हो। तत्कालीन परिस्थितिले गर्दा यसो हुन्छ। त्यहाँ स्यान्डविच त छैन। मानिसहरू तत्कालीन परिस्थितिप्रति छिट्टै संवेदनशील हुन्छन्‌। यसले सामाजिक व्यवहार, मुख रसाउनु, रक्‍तचाप, खाना पचाउने गति, पीडा र सबै प्रकारका कुरालाई असर गर्छ।”

तपाईंका भावनाहरू र मुडले पीडालाई तीव्र गर्न सकेझैं त्यसले पीडा दबाउन अथवा कम गर्न पनि सक्छ। एउटा उदाहरणलाई विचार गर्नुहोस्‌: जवान छँदा चिसो पर्खालमा आफूसित बसिरहेकी एउटी केटीप्रति असाध्यै मोहित भएकोले मुटु छेड्‌ने चिसो वा पीडाको कुनै अनुभूति नभएको एक स्नायुचिकित्सकले बताए। उनले भने: “मलाई हिउँले झन्डै खाइसकेको थियो। हामी त्यहाँ झन्डै ४५ मिनेटसम्म बस्यौं होला तर मलाई पटक्कै चिसो महसुस भएन।”

त्यस्ता थुप्रै उदाहरणहरू छन्‌। खेलमा तल्लीन फुटबल खेलाडीहरू अथवा युद्धको चर्काचर्कीमा संलग्न सिपाहीहरूलाई गम्भीर चोट लागेको हुन सक्छ तर त्यतिखेर पीडा कम अथवा बिल्कुलै महसुस नहुन सक्छ। “शिकारी कुकुरले मुसालाई लछारपछार गरेझैं” सिंहले आफूलाई आक्रमण गरेको अनुभव प्रख्यात अफ्रिकी अन्वेषक, डेभिड लिभिङ्‌गस्टोनले बताए। त्यस आकस्मिक क्षोभले . . . मलाई एक प्रकारले लट्ठ पाऱ्‍यो जसले गर्दा पीडाको कुनै आभास नै भएन।”

पूर्ण निर्भरता र भरोसाका साथ यहोवा परमेश्‍वरमाथि भर पर्ने उहाँका सेवकहरूले पनि कहिलेकाहीं आफ्नो पीडा दबिएको अनुभव हुनु उल्लेखनीय कुरा हो। चुटिएका एक मसीही पुरुषले यस्तो रिपोर्ट दिए, “सुन्दा छक्क लाग्ला तर सुरुका एकदुई कुटाइपछि मलाई साँच्चै नै दुख्न छाड्यो। बरु, कतै टाढा ढ्याघ्रे बजाएको आवाज सुनिएको जस्तो मात्र लाग्न थाल्यो।”—फेब्रुअरी २२, १९९४, अवेक!, पृष्ठ २१.

पीडाका अनुभूतिहरू कसरी परिवर्तन हुन्छन्‌

पीडाका रहस्यमय पक्षहरू बुझाउने प्रयासको दौडान, सन्‌ १९६५ मा मनोविज्ञानका प्राध्यापक, रोनाल्ड मेल्जाक र शरीर-रचना विज्ञानका प्राध्यापक प्याट्रिक वलले पीडाको बहुचर्चित द्वार-नियन्त्रक सिद्धान्त रचे। पीडासम्बन्धी डा. बोनिकाको सन्‌ १९९० संस्करणको पाठ्यपुस्तकअनुसार यो सिद्धान्त “पीडा अनुसन्धान र त्यसको उपचार क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण प्रगति” साबित भएको छ।

त्यस सिद्धान्तअनुसार सुषुम्नाको सैद्धान्तिक द्वार खुल्दा वा बन्द हुँदा मस्तिष्कमा जाने पीडाका सङ्‌केतहरू जान्छन्‌ या अवरुद्ध हुन्छन्‌। पीडाबाहेक अन्य अनुभूतिहरू द्वारमा थुप्रिएमा मस्तिष्कमा जाने पीडाका सङ्‌केतहरू कम हुन सक्छ। उदाहरणको लागि, रगड्‌दा अथवा झट्‌कार्दा औंलामा पोलेको पीडा कम हुन्छ किनभने त्यसो गर्दा पीडाका सङ्‌केतहरूमा हस्तक्षेप गर्न पीडाबाहेक अन्य सङ्‌केतहरू सुषुम्नामा पठाइन्छ।

हाम्रो शरीरले एन्डोर्फिन नामक अफिमजस्तो पदार्थ पैदा गर्छ भनी सन्‌ १९७५ मा गरिएको आविष्कारले पीडाको रहस्यमय पक्ष बुझ्ने प्रयासलाई अझ मदत गऱ्‍यो। उदाहरणको लागि, केही मानिसहरूमा अत्यधिक एन्डोर्फिन पैदा हुँदा पीडाको अनुभूति निकै कम अथवा हुँदै नहुन सक्छ। शरीरमा रौंजस्ता मसिना सियोहरूले घोचेर गरिने उपचारविधि, अक्युपङ्‌कचरले पीडालाई कम अथवा निर्मूल गर्नुको रहस्य पनि एन्डोर्फिनले वर्णन गर्न सक्छ। प्रत्यक्षदर्शीहरूको रिपोर्टअनुसार पेनकिलरको रूपमा अक्युपङ्‌कचर मात्र प्रयोग गरेर बिरामी जागा, सचेत रहेकै अवस्थामा खुला-हृदय शल्यक्रिया गरिएको छ। किन पीडा पटक्कै महसुस भएन?

पीडालाई क्षणिक मात्रामा निर्मूल गर्ने एन्डोर्फिनको उत्पादन बढाउन सियोहरूले मदत गर्छन्‌ भन्‍ने केहीको विश्‍वास छ। पीडाबाहेक अन्य सङ्‌केतहरू पठाउने स्नायु रेशाहरूलाई सियोले उत्प्रेरित गर्ने हुनाले अक्युपङ्‌कचरले पीडा निको पार्छ भन्‍ने अर्को सम्भाव्यता हो। यी सङ्‌केतहरू सुषुम्नामा थुप्रिंदा पीडाको अनुभूति थलो अर्थात्‌ मस्तिष्कसम्म पीडा सङ्‌केतहरू घुस्नबाट रोकिन्छ।

द्वार-नियन्त्रक सिद्धान्त र शरीरले आफ्नै पेनकिलर उत्पादन गर्ने तथ्यले पनि मानिसको मुड, विचार तथा भावनाहरूले पीडाको परिमाणलाई कसरी प्रभाव पार्छ भनी स्पष्ट गर्छ। तसर्थ, सिंहको अकस्मात्‌ आक्रमणले लिभिङ्‌गस्टोनको एन्डोर्फिन उत्पादनलाई उत्प्रेरित गर्नुको साथै सुषुम्नामा पीडाबाहेक अन्य सङ्‌केतहरू पठाएको हुनुपर्छ। परिणामस्वरूप पीडाका अनुभूतिहरू कम भए।

यद्यपि, माथि उल्लेख गरिएझैं कुनै व्यक्‍तिको मुड र भावनाहरूले प्रतिकूल प्रभाव पार्न सक्छ। सामान्य आधुनिक जीवनको दैनिक तनावले फिक्री, तनाव र मांशपेशी सङ्‌कुचनहरू पैदा गरेर एक व्यक्‍तिको पीडाको अनुभूति बढाउन सक्छ।

तर, आनन्दको कुरा, पीडा भोग्नेहरू आशावादी हुने कारण छ। किनभने उन्‍नत उपचारविधिद्वारा धेरै बिरामीहरूले अहिले लाभ उठाइरहेका छन्‌। यो भयानक बिमारीबारे राम्ररी बुझ्दा त्यस्ता प्रगतिहरू भएका हुन्‌। अमेरिकन एकेडमी अफ पेन मेडिसिनका सभापति डा. श्रीधर वासुदेवन यसरी बताउँछन्‌: “कहिलेकाहीं पीडा स्वयं एउटा रोग हुन सक्छ भन्‍ने विचारधाराले १९८० को दशकमा यसको उपचारविधिमा क्रान्ति ल्यायो।”

पीडाको उपचारमा यस्तो क्रान्ति कसरी भयो? कस्ता उपचारहरू प्रभावकारी साबित भएका छन्‌? (g94 6/22)

[पृष्ठ ७-मा भएको चित्र]

अक्युपङ्‌कचरले कसरी पीडालाई कम अथवा निर्मूल गर्छ?

[स्रोत]

H. Armstrong Roberts

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने