प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ पृ. २५-२७
  • विशाल लेदरब्याक, जलकछुवाको वार्षिक आगमन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विशाल लेदरब्याक, जलकछुवाको वार्षिक आगमन
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समुद्रबाट तिनीहरू बाहिर निस्कन्छन्‌!
  • अण्डाहरू छोप्नु
  • संरक्षण प्रयासहरू
  • हम्पब्याक ह्वेल माछाको पखेटा
    ब्यूँझनुहोस्‌!—२०१३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • विनाशको अन्त
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ पृ. २५-२७

विशाल लेदरब्याक, जलकछुवाको वार्षिक आगमन

मलेशियाका ब्यूँझनुहोस्‌! (अवेक!) सम्वाददाताबाट

झन्डै मध्यरात भइसक्यो। पूर्णिमाको रातले शान्त र सौम्य समुद्रमाथि मधुरो चमक फैलाएको छ। रान्टाऊ अबाङ्‌ग टापूमा थुप्रै मानिसहरूको समूह छ, कोही उठिरहेका, कोही टुक्रुक्क बसिरहेका त कोही शितल, मसिना बालुवामाथि थ्याच्च बसिरहेका छन्‌। यति राती तिनीहरू यहाँ के गरिरहेका छन्‌? चौपाया भीमकाय खपटाको आगमनलाई धैर्यपूर्वक कुरिरहेका—त्यो हो, हेर्दा छालाजस्तो देखिने विशाल जलकछुवा अथवा लेदरब्याक।

अन्यथा वास्ता नगरिने यस बलौटे किनारालाई यी रहस्यमय उभयचरहरूले अन्तर्राष्ट्रिय ख्याति ल्याएको छ। रान्टाऊ अबाङ्‌ग मलेशिया उपद्विपको पूर्वी तट, डुङ्‌गगुनको उत्तर र सिङ्‌गापुरबाट ४०० किलोमिटर माथि अवस्थित छ। महान कामको लागि हरेक वर्ष लेदरब्याक फर्किने संसारका थोरै ठाउँहरूमध्ये यो एक हो।

अण्डा पार्ने समय यहाँ लगभग मेदेखि सेप्टेम्बर महिनासम्म हुन्छ। अत्यधिक मात्रामा अण्डा पार्ने जून, जुलाई र अगस्तका महिनाहरूमा अण्डा पार्ने प्रक्रिया हेर्न सजिलै हुन्छ। प्रायजसो अँध्यारो भएपछि जलकछुवाहरू पानीबाट बाहिर निस्किन थाल्छन्‌। मलेशिया, सिङ्‌गापुर र पश्‍चिमी गोलार्द्धबाट आएका यी आगन्तुकहरूको पर्खाइ के व्यर्थै जाला त?

समुद्रबाट तिनीहरू बाहिर निस्कन्छन्‌!

अकस्मात्‌, बलौटे किनाराको नजिकै टल्किरहेको पानीको छाँयामा तल माथि तैरिरहेको एउटा आकृति देखिन्छ। भीड उत्तेजित हुन्छन्‌! बलौटे किनाराको नजिकै आउँदा, गुम्बज आकारको वस्तु पानीबाट बाहिर निस्कन थाल्छ। त्यो त बलौटे किनारातिर आइरहेको जलकछुवा पो हो! हल्लाखल्लाको आवाजले गर्दा लेदरब्याक भाग्ला भनेर त्यहाँ उपस्थित केही पथप्रदर्शकहरूले यथासम्भव शान्त भएर हेर्न भीडलाई सतर्क गराउँछन्‌।

पहिला टाउको निस्किन्छ, त्यसपछि घाँटी, अनि खपटाको अघिल्लो भाग र अगाडिको खुट्टाहरू गर्दै सिङ्‌गो जलकछुवा किनारामा देखिन्छ। शान्त ज्वारभाटाले यसको पुच्छर र पछाडिका खुट्टाहरूमा पानी छ्याप्छ। निस्सन्देह, कति विशाल—नाकदेखि पुच्छरको टुप्पोसम्म झन्डै दुई मिटर लम्बाइ हुन्छ! बलौटे किनारामा त्यो अचल भएर बस्छ।

एकाएक, आफ्ना अगिल्ला खुट्टाहरू उचालेर मानौं आफ्नो जीउलाई अगिल्लतिर हुत्याएर जमिनमा आफूलाई बजार्छ। अर्को पटक उठ्‌न र पुनः त्यसरी फ्याँक्न सास तथा बल जम्मा गरेझैं एकछिन टक्क अड्‌छ। जमिनमा यो यसरी नै चलहल गर्छ। यसको दुवै छेउको भीडलाई अलि परै राखिन्छ। यस मामिलामा पथप्रदर्शकहरू असाध्यै कडा छन्‌। यसले प्रत्येक पटक कदम सार्दा भीड पनि आवाज ननिकाली अगि बढ्‌छ।

समुद्रको छेऊमा तलमाथि गर्दै आएपछि आफ्नो सहजज्ञानले गर्दा पुग्नु पर्ने लक्ष्य त्यसलाई थाहा हुन्छ। सफलतापूर्वक अण्डा काड्‌न सकिने ठाउँसम्म पुग्न त्यसलाई आफ्नो सहजज्ञानले मदत गर्छ। त्यहाँ त्यसले खाल्टो खन्‍न थाल्छ। कोदालोले झैं पछाडिका खुट्टाहरूले बालुवा निकाल्न थाल्छ।

लामो समयजस्तो बितेपछि अनुमतिप्राप्त अण्डा सङ्‌कलक अनि पथप्रदर्शक अगि बढेर कुहिनासम्म डुब्ने गहिरो खाल्टोमा आफ्नो हात घुसार्छ। त्यो खाल्टोबाट हात बाहिर निकाल्दा सबैले आश्‍चर्यचकित तथा उत्तेजित भएर लामो सास लिन्छन्‌। त्यहाँबाट तिनले एउटा अण्डा झिक्छन्‌!

लेदरब्याकको अण्डा फिक्का सेतो रङ्‌गको हुन्छ। आकारमा त्यो पिङ्‌गपङ्‌ग बलदेखि टेनिस बल जत्रोसम्म हुन्छ। झुप्पाका अन्तिम केही चाहिं प्रायजसो गुच्चा जत्रो मात्र हुन्छ। कुखुराका अण्डाहरू जस्तो नभएर यसको खोल कडा हुन्छ, यसलाई थिच्दा सजिलै कुच्चिन्छ। छक्कलाग्दो कुरा, अण्डाको सेतो भाग (एल्ब्युमेन) पकाउँदा पनि तरल अवस्थामै रहन्छ। यो अण्डाको स्वाद अलि तीतो र बेस्वादिलो माछा गनाउँछ भन्छन्‌। एउटा जलकछुवाले औसतन एक पटकमा ८५ वटा अण्डा पार्छ। तर सन्‌ १९६७ मा १४० वटासम्म अण्डा पारेको रेकर्ड छ।

अब भने ढुक्क भएर भीड चलहल गरे हुन्छ। केहीले डराइ डराइ जलकछुवालाई छोएर हेर्छन्‌। केही त्यसमाछि चढ्‌छन्‌ अथवा पारिवारिक एल्बमको लागि तस्वीर खिच्न त्यसमा अडेस लगाएर उभिन्छन्‌। जलकछुवालाई नजिकबाट हेर्दा त्यसको आँखाबाट बालुवाका कणहरू टाँस्सिएको बाक्लो ऱ्‍याल झरिरहेको हुन्छ। पानीबाट हावामा निस्कँदा यसो हुने गर्छ भनी भनिन्छ। समय समयमा गर्जेकोजस्तो आवाज निस्कने गरी सास फेर्न कछुवाले मुख बाउँछ।

अण्डाहरू छोप्नु

खाल्टोलाई पुनः बालुवाले पुर्न केही समयपछि यस जन्तुले यसका पछाडिका खुट्टाहरू चलाउन थाल्छ। खाल्टो पुर्नेबित्तिकै लेदरब्याकले पछाडिका खुट्टाहरूलाई शक्‍तिशाली वाइपरजस्तै चलाउन थाल्छ। जताततै बालुवा उड्‌न थाल्छ! आफ्नो अनुहार तथा जीउ बचाउन छिटोछिटो भीड पछाडि सर्छ। केही समयसम्म त्यसरी नै खुट्टा चलाउँछ। त्यसो गर्न कति शक्‍ति र बल लगाइँदो हो! अन्ततः खुट्टाहरू रोकिएपछि लेदरब्याकले खनेको खाल्टो नै देखिंदैन। निस्सन्देह, यो सहजज्ञान हो! तर यस जलकछुवाको सृष्टिकर्त्ताको बुद्धि कति महान छ!

लेदरब्याक समुद्रमा फर्कनुअघि अनुमतिप्राप्त अण्डा सङ्‌कलकले यसको अगिल्लो खुट्टामा नम्बर झुन्ड्याइदिन्छन्‌। यो कति पटक जमिनमा आउँछ र खुला समुद्रमा यो कहाँ कहाँ जान्छ भनी हेर्न यसो गरिन्छ। प्रत्येक मौसममा यसले छदेखि नौ पटकसम्म ९ देखि १४ दिनको अन्तरालमा अण्डा पार्छ।

अचानक लेदरब्याकले आफ्नो शरीरलाई उचालेर अगिल्लतिर हुत्याउँछ। फर्केर समुद्रतिर फर्कन्छ र पानीबाट निस्केको बेलाभन्दा तुलनात्मक हिसाबले छिटोछिटो जान्छ। पानीमा पुगेपछि सर्वप्रथम टाउको डुबाउँछ अनि त्यसपछि खपटा। अन्ततः त्यो दृष्टिपटलबाट बिलाउँछ। पछि पानीमाथि टाउको निकाल्दा जलकछुवा निकै टाढा पुगिसकेको हुन्छ। त्यो समुद्रमा असाध्यै छिटो पौडिन्छ र त्यसको नाकको टुप्पामा पूर्णिमाको चमक देखिन्छ। पानीमा त्यो कस्तो छरितो र छिटो हुन्छ! जमिनमा त्यसको भद्दा र सुस्त चालभन्दा कति भिन्‍न!

संरक्षण प्रयासहरू

अरू थुप्रै जन्तुहरू जस्तै लेदरब्याक, जलकछुवाहरू पनि प्रदूषित वातावरण र मानव लोभको कारण खतरामा परेका छन्‌। सन्‌ १९७० को दशकको बीचतिर पूर्णतः अविकसित सयौं मृत जलकछुवाहरू पाहाङ्‌ग वरपरका प्रान्तका किनारामा बगाइएको थियो! अनि विचित्रको भोजन खाने मानिसको चाहनालाई तृप्त गर्न जलकछुवाका अण्डाहरू बेइमानीपूर्वक सङ्‌कलन गरिन्छ।

आनन्दको कुरा, यी कम हुँदै गइरहेका जलकछुवाप्रतिको गहिरो चासोले गर्दा सन्‌ १९५१ मा मलेशियामा जलकछुवा संरक्षण कानुन बनाइयो। अण्डाहरू व्यक्‍तिगत तवरमा सङ्‌कलन गर्ने चलनलाई गैरकानुनी बनाइयो। तापनि यसबाट हुने फाइदा अत्यधिक हुनाले मानिसहरूले आर्थिक लाभको लागि यो कानुन उल्लङ्‌घन गर्छन्‌। यसको बावजूद संरक्षण प्रयासहरू व्यर्थमा गएका छैनन्‌।

रान्टाऊ अबाङ्‌गको बलौटे किनाराको बालुवामा साना पाटीहरू टाँगिएको हेर्नु आनन्दको कुरा हो। प्रत्येक चिह्नले लेदरब्याकको अण्डाको सानो झुण्ड गाडिएको ठाउँलाई चिह्नित गर्छ। त्यस पाटीमा अण्डाहरूको सङ्‌ख्या, अण्डा पारेको मिति, अण्डाहरूको सुरुको झुप्पालाई चिनाउने कोड नम्बर लेखिएको हुन्छ। अण्डा पारेको ४५ दिनपछि भुराहरूलाई भाग्न नदिन हरेक पाटी वरिपरि तारले बारिन्छ। कोरल्ने अवधि ५२ देखि ६१ दिन लामो हुन्छ। साँझमा सूर्यास्तपछि प्रायजसो भुराहरू निस्किन थालेपछि प्रत्येक खाल्टोबाट निस्केको सङ्‌ख्या रिकर्ड गरिन्छ। त्यसपछि तिनीहरूलाई भाँडाहरूमा हालिन्छ र पछि समुद्रको छेऊमा छोडिन्छ।

संरक्षण कार्यक्रमले सफलतापूर्वक हजारौं भुराहरू हुर्काएको छ र तिनीहरूलाई आफ्नो घर, समुद्रमा फर्काइदिएको छ। तर, तिनीहरू बाँच्ने न्यून दर र साथै रान्टाऊ अबाङ्‌गमा जलकछुवाहरू आउने सङ्‌ख्या कम भएकोले यो अझै पनि ठूलो चिन्ताको विषय भएको छ। (g94 7/8)

[पृष्ठ २६-मा भएको चित्र]

टाउकोदेखि पुच्छरसम्म झन्डै दुई मीटर लामो लेदरब्याकले दर्जनौं अण्डाहरू पार्छ। अण्डा पारेको आठ हप्तापछि भुराहरू निस्किन थाल्छन्‌

[चित्रका स्रोतहरू]

Leathery turtle. Lydekker

C. Allen Morgan/Peter Arnold

David Harvey/SUPERSTOCK

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने