कामकुरो पन्छाउनु समय चोर्नु हो
“कामकुरो पन्छाउनु समय चोर्नु हो।”—एडवर्ड यंग, इ. स. १७४२.
एकछिन पर्खनुहोस्! यो लेखलाई पूरै नपढी त्यतिकै नछोड्नुहोस्! त्यसको नतिजा के हुनसक्छ, त्यो त तपाईंलाई थाहै होला। शायद पूरै लेख नपढिकन तपाईं यसो भन्नुहोला: “शीर्षक निकै चाखलाग्दो छ तर अहिले मसँग पढ्ने समय छैन, पछि पढुँला।” तर त्यो पछि कहिल्यै नआउनसक्छ।
कामकुरो पन्छाउनेबारे लेखिएको यस लेखलाई त्यतिकै नपन्छाउनुहोस्! बरु पूरै लेख पढ्न कति समय लाग्ला यसो अनुमान लगाउनुहोस्। शायद पाँच मिनेटभित्रमा तपाईंले यो लेख पढी सिध्याउन सक्नुहुन्छ कि त्यसो गर्नुभयो भने तपाईंले पूरै पत्रिकाको १० प्रतिशत पढिसक्नुभएको हुनेछ! घडी हेरेर अब बाँकी भागहरू पढ्न कति समय लाग्दो रहेछ जाँच्नुहोस्। (नभुल्नुहोस्, तपाईंले यस लेखको ५ प्रतिशत त पढिसक्नुभयो!)
के यसो गर्नु कामकुरो पन्छाउनु हो?
आफूले तुरुन्तै गर्नसक्ने वा गर्नुपर्ने कामलाई बीचैमा छाड्नुभयो भने तपाईं कामकुरो पन्छाउँदै हुनुहुन्छ। अर्को शब्दमा भन्ने हो भने, अहिले र आजै गर्नसक्ने कामलाई तपाईं भोलि सार्दै हुनुहुन्छ। कामकुरो पन्छाउने व्यक्तिले जुनबेला जे काम गर्नुपर्ने हो, त्यसमा विलम्ब गर्छ।
सुपरिवेक्षकले आफ्नो कर्मचारीसित रिपोर्ट माग्दा, आमा-बाबुले छोरा वा छोरीलाई कोठा सफा गर्न अऱ्हाउँदा, पत्नीले पतिलाई धारा मर्मत गर्न आग्रह गर्दा आफूले नगरेको कामको लागि “म साह्रै व्यस्त थिएँ” वा “मैले बिर्सें” वा “मैले समय पाइँन” भनेर बहाना बनाइन्छ। तर वास्तविकता के हो भने, रमाइलो कुरा गर्न पाइने बेला कमैलाई रिपोर्ट तयार पार्न वा कोठा सफा गर्न वा धारा मर्मत गर्न मन पर्ला। अतः हामी त्यतिकै त्यसलाई पछि सार्छौं र विलम्ब गर्छौं।
तथापि, के तपाईंलाई थाह छ, कहिलेकाहीं कामकुरो पन्छाउने बानीले नभई अरू नै कारणले पनि हामी कामलाई पछि सार्छौं? एउटी व्यापारी महिला निवेदन प्राप्त गर्छिन् तर के गर्ने त्यो थाह नभएकोले त्यसलाई “स्थगित” भनेर लेबल लगाइएको बाकसमा फाइल गर्छिन्। केही हप्तापछि त्यस महिलाले ती निवेदनहरूलाई फेरि हेर्दा के पाउँछिन् भने आधा जति निवेदनहरू त केही गर्नै नपर्ने भइसकेका रहेछन्। ती या त आफै समाधान भइसकेका हुन्थे नभए काम नलाग्ने भइसकेका हुन्थे। यदि कुनै काम गर्ने हो वा पछि सार्ने हो भनी अन्योलमा हुनुहुन्छ भने तपाईंले त्यसरी स्थगित गर्नुभएको काम कहिल्यै नगर्दा के हुनेछ भनी सोच्ने कोसिस गर्नुहोस्। तपाईंले काम पूरा गर्दा नतिजा राम्रो हुन्छ कि खराब?
यदि तुरुन्तै कदम चाल्न सकिन्छ वा चाल्नुपर्ने पनि हो र ढिलो गर्दा पछि झनै समस्या बढ्नसक्छ भने तपाईं कामकुरोलाई पन्छाउँदै हुनुहुन्छ। उदाह- रणको लागि, खाना खाइसकेपछि भाँडाकुँडालाई त्यतिकै छाड्दा पछि माझ्न गाह्रो हुन्छ। गाडी मरम्मत गर्ने कामलाई स्थगित गर्दा पछि निकै खर्च बेहोर्नुपर्ने हुन्छ। बिल तिर्न ढिलो गर्दा ठूलो जरिवाना तिर्नुपर्ने वा आफूले प्राप्त गरिरहेका सेवाहरूबाट वञ्चित हुनुपर्ने हुनसक्छ। एउटी महिलाले हिसाब गर्दा ट्राफिक जरिवाना तिर्ने, भिडियो टेपहरू अनि पुस्तकालयका पुस्तकहरू फर्काउने म्याद नाघ्दा तिनले जरिवानास्वरूप जम्माजम्मी ४६ अमेरिकी डलर तिर्नुपरेछ। र त्यो पनि एक महिनाभित्रमा!
चोरलाई समात्ने
तपाईं किन कामकुरो पन्छाउँदै हुनुहुन्छ, त्यो बुझ्नुहोस्। हालै तपाईंले कुनै काम थाल्नु वा सिध्याउनु भएको छैन भने निम्न कारणहरूमध्ये कुन चाहिं कारण मेल खानसक्छ, एकछिन विचार गर्नुहोस्:
बानी:
साह्रै हतार नभएसम्म पर्खें भने त्यो काम टुंग्याउन म झनै उत्प्रेरित हुन्छु।
हतार हतार काम गर्दा म साह्रै रोमाञ्चित हुन्छु।
मेरो हाकिमले दुइ तीन पटक नसम्झाएसम्म म पर्खन्छु किनकि तब भने त्यो काम मैले साँच्चै नै गर्नुपर्ने रहेछ भनेर मलाई थाह हुन्छ।
मेरा यति धेरै काम छन्, संकटमा परेका कामहरूतर्फ मात्र मेरो ध्यान जान्छ।
मनोवृत्ति:
मलाई त्यो काम गर्ने इच्छै छैन।
मुड आएपछि मात्र त्यो काम गर्छु।
म अर्कै काम गर्न चाहन्छु।
ममा आत्मअनुशासन छैन।
डर:
त्यो काम गर्न सक्छु कि सक्दिनँ भनेर मलाई पक्का छैन।
त्यो काम गर्न मसँग यथेष्ट समय छैन।
त्यो काम मेरो वशमा छैन। मलाई मदत चाहिन्छ।
म त्यो काममा सफल भइँन वा त्यसलाई सिध्याउन सकिनँ भने के गर्ने?
त्यो काम गर्न मलाई अन्य सामग्रीहरू चाहिन्छ।
कसैले मेरो आलोचना गर्ला वा म लज्जित हुनुपर्ला भनेर मलाई डर लाग्छ।
विभिन्न मानिसहरू विभिन्न चरणहरूमा कामकुरो पन्छाउने गर्छन्। कसै कसैले आफ्नो काम साह्रै ठूलो लागेर कामै नथाली त्यसलाई पन्छाउँछन्। अरू चाहिं काम सुरु गरेर बीचमा पुगेपछि उत्साह गुमाएर त्यसलाई त्यतिकै छाड्छन्। बाँकी अरू चाहिं काम सुरु त गर्छन् तर सकिने बेलामा त्यसलाई त्यतिकै छोडेर अर्को नयाँ काम सुरु गर्छन्। (धेरै राम्रो। तपाईंले आधा-आधी लेख पढिसक्नुभयो।)
तपाईंले कुनै काम नथाल्नु वा नसिध्याउनुका कारणहरू उपरोक्त तीनै वटा समूहमा पर्नसक्छ। द नाउ ह्याबिट-मा निल फियोर यो लेख्छन्: “कामकुरो पन्छाउने अधिकांश समस्याहरू पछाडि लुकेका मुख्य कारणहरू यसप्रकार छन्: आफूमाथि अत्याचार गरिएको महसुस गर्नु, विह्वल हुनु र असफल होला भन्ने डर।” कारण जेसुकै होस्, कामकुरोलाई किन पन्छाउँदै हुनुहुन्छ भनेर औंल्याउन सक्नुभयो भने, तपाईं समाधानको नजीक पुग्नुहुनेछ।
तर आफूले किन काम पन्छाउँदैछुँ भनेर अनिश्चित हुनुहुन्छ भने, आधा-आधा घण्टाको फरकमा तपाईंले के के काम गर्नुहुन्छ हप्ताभरिको सूची बनाउनुहोस्। त्यसपछि कुन काममा कति समय लगाउने हो, त्यो निर्धारण गर्नुहोस्। त्यसो गर्दा महत्त्वपूर्ण कामहरूको बीच-बीचमा हामीले कति धेरै समय कम महत्त्वपूर्ण कामहरूमा लगाउँदा रहेछौं भनेर छर्लंग देख्न सक्नेछौं। तर त्यसपछि गर्ने के?
नतिजाहरू सोच्नुहोस्
कुनै काम प्रयत्नै नगरी पूरा हुनेछ भनी प्रत्याशा गर्दा विरक्त लाग्नसक्छ। प्रत्याशित अन्तिम मिति झन् झन् नजीक हुँदै जाँदा तपाईं दबाब र फिक्री महसुस गर्न थाल्नुहुन्छ। यस्तो भावना बढ्दै जाँदा तपाईंको सिर्जनशीलतामा ह्रास आउँछ। अब तपाईं त्यो काम पूरा गर्ने विभिन्न तौर-तरिकाहरूलाई तौल्न छाड्नुहुन्छ र तपाईंको ध्यान सिर्फ काम पूरा गर्नेतर्फ हुनसक्छ।
उदाहरणको लागि: तपाईंलाई कुनै विषयमा भाषण प्रस्तुत गर्न खटाइन्छ। तर तपाईं भाषण दिने दिनको अघिल्लो रात मात्र केही शब्दहरू कोर्न थाल्नुहुन्छ। आफूलाई दिइएको विषयमा अनुसन्धान गर्न यथेष्ट समय नबिताउनु भएकोले हतार हतारमा तपाईं भाषणको रूपरेखा तयार पार्नुहुन्छ। शायद अलि मेहनत गर्नुभएको भए तपाईंले अनुभवहरू, भाषणलाई समर्थन गर्ने जानकारी अथवा स्रोतालाई उक्त विषयमा कल्पना गर्न मदत दिने केही चार्टहरू समावेश गर्न सक्नुहुन्थ्यो होला।
हामीले काम गर्न ढिलो गर्दा आउने अर्को नतिजा, फुर्सत पाउँदा आरामसित बस्न नसक्नु हो। त्यसो हुनुको कारण, हामीले त्यो काम अधुरो छोड्यौं भन्ने भावनाले (वा हामीलाई बारम्बार सम्झाइरहने व्यक्तिले) हामीलाई पिरोल्ने हुनाले हो।
म के गर्नसक्छु?
सूची बनाउनुहोस्। यो काम अघिल्लो रातमै गर्नुहोस्। भोलि तपाईं के के गर्न चाहनुहुन्छ, कागजमा लेख्नुहोस्। यसो गर्दा तपाईंले कुनै कुरा भुल्नुहुनेछैन र आफूले पूरा गरेको काममा रुजु चिन्ह लगाउँदै जाँदा आफ्नो प्रगति पनि जाँच्न सक्नुहुनेछ। हरेक कामको दायाँपट्टि कति समयभित्र सो काम पूरा गर्ने अनुमान गर्नुभएको छ, लेख्नुहोस्। तपाईंले ‘आज गर्नुपर्ने काम’ भनेर सूची बनाउनु भएको छ भने मिनेट मिनेटको हिसाबमा समय तोक्नुहोस्। तर कुनै योजना बनाउँदै हुनुहुन्छ भने घण्टा घण्टाको आधारमा समय छुटाउनुहोस्। यो सूची अघिल्लो रात नै तयार पार्नुहोस्। अर्को दिनको सूची तयार पार्न केही समय छुटाउनुहोस्। मासिक क्यालेन्डरलाई आफ्नो नजीक राख्नुहोस्। कुनै काम सुम्पिंदा र नियुक्त गरिंदा त्यसलाई सूचीमा लेख्नुहोस्।
अर्को दिन गर्नुपर्ने कामको पुनरावृत्ति गर्दा क्यालेन्डर लिनुहोस् र पूरा गर्नुपर्ने कामको छेउमा क, ख, ग आदि चिन्ह कोरेर प्राथमिकता दिनुहोस्। केही मानिसहरू बिहान राम्ररी काम गर्नसक्छन् भने अरू चाहिं दिउँसो वा बेलुकी गर्नसक्छन्। तपाईंका ठूल-ठूला योजनाहरूलाई आफूले राम्ररी काम गर्नसक्ने समयका लागि छुट्याउनुहोस्। रमाइलो कामहरूको अगाडि कम रमाइला कामहरू राख्नुहोस्।
समय निर्धारण गर्नुहोस्। तपाईं सधैं ढिलो गर्नुहुन्छ, ढिला भएको कारण तपाईं साँच्चै नै दौडधूप गर्नुहुन्छ भने समय निर्धारण गर्न सिक्नुहोस्। त्यसको अर्थ काम पूरा गर्न तपाईंलाई कति समय चाहिएला भनेर सही निर्धारण गर्नु हो। सम्भावित “दुर्घटनालाई” ध्यानमा राखेर आफूले गर्नुपर्ने काममा केही मिनेट थप्नुहोस्। दुइ वा दुइभन्दा बढी ठाउँहरूमा जानुपर्छ भने बीचमा लाग्ने समय छुटाउन नबिर्सनुहोस्। आउन र जान लाग्ने समय पनि तपाईंले थप्नुपर्छ। शहरको त कुरै छाडौं, सँगैको कोठामा समेत बिहान १० बजे एउटा सभा सकेर १० बजे नै अर्को सभा धाउन सकिंदैन। कामहरूको बीच-बीचमा पर्याप्त समय छुटाउनुहोस्।
काम बाँडफाँड गर्नुहोस्। हामीले सधैं सबै काम गर्नु नपर्ने भए तापनि प्रायजसो हामी सबै काम आफै गर्न खोज्छौं। यदि कोही व्यक्ति हुलाक कार्यालयमा जाँदैछ भनी थाह छ भने शायद हाम्रो सामान उसले पुऱ्याइदिनसक्छ।
विभाजन गर्नुहोस्। कहिलेकाहीं योजना साह्रै ठूलो हुने भएकोले हामी नयाँ काम सुरु गर्दैनौं। त्यसो भए ठूलो कामलाई स-सानो भागमा विभाजन गरे कसो होला? यी सानो भागमा विभाजित कामलाई पूरा गर्दै जाँदा तपाईंले आफ्नो प्रगति देख्नुहुन्छ र अर्को भाग पूरा गर्न तपाईं प्रोत्साहित हुनुहुन्छ।
बाधाविघ्नहरूका लागि तयार हुनुहोस्। काम गर्दा सधैं फोन, आगन्तुक, समस्याहरू, चिट्ठीपत्र आदि जस्ता अड्चनहरू आउँछन्। हामी प्रभावकारी ढंगमा काम गर्न चाहन्छौ। त्यसमा आफूलाई दिइएको अन्तिम म्याद पूरा गर्न चाहने अन्य मानिसहरूसँग काम गर्नु पनि समावेश छ। जसरी हुन्छ कुशलतापूर्वक काम गर्ने हाम्रो धुन छ भने अरूले काममा बाधा ल्याउँदा हामी चिढिनेछौं। त्यसकारण त्यस्ता अड्चनहरू आउँछन् भनी सजग हुनुहोस्। आकस्मिक परिस्थितिहरूका लागि दिनहुँ केही समय छुट्याउनुहोस्। तपाईंले केही समय छुट्याउनुभएकोले त्यस्तो परिस्थिति खडा हुँदा त्यसलाई ध्यान दिन सक्नुहुनेछ।
इनाम। तपाईंले तालिका बनाउनुहुँदा एकाग्रचित्त वा जोडतोडका साथ काम गर्न ९० मिनेट जति समय छुटाउनुहोस्। कामको तयारी गर्दा लाग्ने समयका लागि तालिका बनाउन नबिर्सनुहोस्। साँच्चै नै काम थालेर एक डेढ घण्टासम्म काम गर्नुभएपछि शायद तपाईंलाई केही क्षण आराम गर्नुपर्ला। यदि अफिसमा काम गर्दै हुनुहुन्छ भने एकछिन काम बन्द गरेर आफ्नो आङ तन्काएर आराम गर्नुहोस्। बाहिर कतै काम गर्दै हुनुहुन्छ भने केही हलका जलपान गर्नुहोस्। आफ्नो कामको इनाम लिनुहोस्।—उपदेशक ३:१३.
यसो कल्पना गर्नुहोस् त, तपाईंले यस लेखको शीर्षक पढ्नुभएदेखि यसको अन्तसम्म आइपुग्न तपाईंलाई जम्मा पाँच मिनेट लाग्यो। अब भने तपाईं कामकुरो पन्छाउने समस्यादेखि उम्कने बाटोतर्फ लाग्दै हुनुहुन्छ! (g95 4/8)