आदर्श समाधान भेटाउने
परमेश्वरको वचन, बाइबलले स्वर्गमा स्थापित परमेश्वरको राज्यले मानिसजातिको सबै समस्या समाधान गर्ने समयबारे बताउँछ। त्यसमा हाल विद्यमान सवारीसाधनहरूले गर्ने प्रदूषणको समस्या पनि समावेश छ। धेरैलाई प्रार्थना गर्न सिकाइएको यो मसीही राज्यले के पूर्णतया प्रदूषणमुक्त सवारीसाधन उत्पादन गरेर आदर्श समाधान प्रदान गर्नेछ? वा पृथ्वीबाट सम्पूर्ण सवारीसाधनहरू हटाइएपछि त्यो आदर्श समाधान प्राप्त हुनेछ? बाइबलले हामीलाई किटेरै जवाफ नदिने भएकोले पर्खनु सिवाय केही गर्न सक्दैनौं।—मत्ती ६:९, १०.
तर हामी एउटा कुराबारे भने निश्चिन्त हुनसक्छौं: परमेश्वरको राज्यले ल्याउने पुनर्स्थापित प्रमोदवनमा सृष्टिको सौन्दर्यलाई प्रदूषणले बिगार्न पाउनेछैन।—यशैया ३५:१, २, ७; ६५:१७-२५.
परमेश्वरको वचन पालन गर्ने व्यक्तिहरूलाई प्रदूषणमुक्त नयाँ संसारमा जीवन बिताउन प्रशिक्षण दिइसकेको हुँदा तिनीहरूले वर्तमान समयमा सवारीसाधनको प्रयोगबारे कस्तो दृष्टिकोण राख्नुपर्छ? जून २२, १९८७ को ब्यूँझनुहोस्!-ले (अंग्रेजी) “हाम्रा वनजंगलहरू के हुँदैछन्?” विषयमा छलफल गरेको थियो। यसमा बताइएअनुसार सवारीसाधनको धुवाँमा हुने वायु प्रदूषक र विनाश भइरहेको वनजंगलबीच सम्बन्ध छ भनी केही वैज्ञानिकहरू सोच्छन्। त्यसकारण गाडी चलाउनु मसीहीहरूको लागि उचित हो कि होइन भनी प्रश्न गर्दै एक चिन्तित पाठकले वाचटावर सोसाइटीलाई पत्र लेखे। तिनलाई गाडी चलाउँदा यहोवाको सृष्टिप्रति अनादर होला कि भन्ने शंका लागेको थियो।
उक्त पत्रको जवाफको केही अंश यसप्रकार थियो: “सरकारी अधिकृतहरूले प्रदूषण कम गर्न वातावरणसम्बन्धी लागू गरेका नियमहरू यहोवाका साक्षीहरूले वफादार भई पालन गर्छन्। (रोमी १३:१, ७; तितस ३:१) सरकारले माग गरेभन्दा बढी कदम चाल्ने नचाल्ने व्यक्तिविशेषको निर्णय हो। कसैले अब उप्रान्त गाडी नचलाउने निर्णय गर्छ भने, त्यो तिनको निजी मामिला हो। तथापि, केही मानिसहरू कस्तो महसुस गर्छन् भनी उक्त ब्यूँझनुहोस्!-को पृष्ठ ८ मा यसरी लेखियो: ‘धेरैले वायु प्रदूषणलाई यथासम्भव कम गर्न व्यवहारिक कदमहरू चालिरहेका छन्। तिनीहरू बिस्तारै गाडी हाँक्छन्, कम यात्रा गर्छन्, पालैपालो निजी गाडीमा अरू यात्रुहरू ओसारपसार गर्ने प्रबन्धमा भाग लिन्छन्, सिसा नमिसाएको पेट्रोल प्रयोग गर्छन् र सरकारले प्रदूषण नियन्त्रण गर्न लागू गरेका नियमहरू पालन गर्छन्।’”
मसीही सन्तुलन
यो जवाफले मसीही सन्तुलन प्रकट गऱ्यो। तर एउटा कुरा भने बिर्सनै हुँदैन, सवारीसाधनहरूले मात्र प्रदूषण गर्ने होइन। वास्तवमा, हवाइजहाज र रेलजस्ता अत्याधुनिक यातायात साधनले पनि प्रदूषण गर्छ। तर प्रदूषण गर्ने मनसाय राखेरै यी यातायातका साधनहरू विकास गरिएका होइनन्। त्यसबाट उत्पन्न हुने प्रदूषण, त्यसको प्रतिकूल असर हो। तर अफसोचको कुरा, सीमित ज्ञान र असिद्ध मनोवृत्तिले गर्दा त्यसो भएको हो।
जनवरी १, १९९३ को प्रहरीधरहरा, पृष्ठ ३१ ले (अंग्रेजी) उक्त विषयलाई छलफल गर्दै यसो भन्यो: “प्रकृति र प्राणीबीचको अन्तरसम्बन्धबाट उत्पन्न थुप्रै समस्याहरूले हाम्रो पार्थिव घरलाई असर गरिरहेका छन्। यहोवाका साक्षीहरूको हैसियतमा हामी त्यसबारे असाध्यै चिन्तित छौं। सिद्ध मानव परिवार बसोस् भनेर पृथ्वीलाई शुद्ध, स्वास्थ्यकर घर सृजिएको थियो भनी अरू थुप्रै मानिसहरूले भन्दा राम्ररी बुझेका छौं। (उत्पत्ति १:३१; २:१५-१७; यशैया ४५:१८) . . . मानिसहरूले पृथ्वीलाई अनावश्यक तवरमा निरन्तर बिगारिरहेका छन्। तसर्थ, त्यसमा थपथाप गर्नुको साटो सन्तुलित तथा व्यवहारिक प्रयासहरू गर्नु उचित हो। तर ‘व्यवहारिक’ शब्दलाई नबिर्सनुहोस्। . . . परमेश्वरका जनहरू प्रकृति र प्राणीबीचको अन्तरसम्बन्धजस्ता मामिलाहरूमा लापरवाही हुनु हुँदैन। यहोवाले आफ्ना पुरातन जनहरूलाई फोहर पुर्ने सन्दर्भमा नियमहरू दिनुभयो र यो प्रकृति र प्राणीबीचको अन्तरसम्बन्ध तथा स्वास्थ्यका लागि महत्त्वपूर्ण थियो। (व्यवस्था २३:९-१४) पृथ्वीलाई नाश गर्ने व्यक्तिहरूप्रति उहाँको दृष्टिकोण थाह भएकोले वातावरण स्वच्छ राख्न हामीले गर्नसक्ने कुराहरूको अवश्य बेवास्ता गर्नु हुँदैन। . . . तथापि, कुनै मसीहीले यस सन्दर्भमा कानुनले माग गरेबाहेक कुन हदसम्म गर्छ, त्यो व्यक्तिगत मामिला हो। . . . असिद्ध मानवहरू सजिलैसित कट्टरपन्थी हुने पासोमा फस्छन्। . . . प्रदूषणलगायत प्रकृति र प्राणीबीचको अन्तरसम्बन्धबाट पैदा हुने समस्याहरूलाई हटाउन मानव प्रयासहरू पूर्णतया सफल हुनेछैनन्। कतै कतै फाटफुट प्रगति होला तर एक मात्र स्थायी समाधानको लागि परमेश्वरको हस्तक्षेप हुनुपर्छ। यसकारण हामी सतही लक्षणहरू निवारण गर्नुको साटो ईश्वरीय समाधानमा आफ्नो प्रयास तथा स्रोतहरू केन्द्रित गर्छौं।”
परमेश्वरको राज्यको सन्देश सारा संसारभरि प्रचार गर्नुपर्ने ईश्वरीय आदेशलाई ध्यानमा राख्दै मसीहीहरू सन्तुलित भई बाइबल सिद्धान्तहरू पालन गर्छन्। (मत्ती २४:१४) यो जत्तिको महत्त्वपूर्ण वा जरुरी कार्य अरू कुनै छैन! यस दायित्व पूरा गर्न मसीहीहरूलाई यातायात र सञ्चारको आधुनिक साधनले मदत गर्छ भने ती सदुपयोग गर्ने हर कारण छ। त्यसो भन्दैमा तिनीहरूले अनावश्यक तवरमा वा जानाजानी प्रदूषण गर्दैनन्। तसर्थ, तिनीहरूले मानिस र परमेश्वरसमक्ष असल अन्तस्करण कायम गर्छन्।
अतः, प्रदूषण र सवारीसाधनको समस्या कसरी समाधान हुनेछ भनी हामीलाई अहिले थाह नभए पनि यो चाहिं थाह छ, त्यो अवश्य समाधान हुनेछ। वास्तवमा, आदर्श समाधान सँघारमै छ।
[पृष्ठ ९-मा भएको पेटी]
प्रदूषणको सामना गर्ने
• यथासम्भव हिंडेर वा साइकल प्रयोग गरेर
• निजी गाडीमा अरू यात्रुहरू ओसारपसार गर्ने प्रबन्धमा सहभागी भएर
• नियमित तवरमा गाडीको स्याहारसम्भार गरेर
• इन्धनलाई सधैं शुद्ध राख्न सजग भएर
• अनावश्यक यात्रा नगरेर
• मध्यम गतिमा गाडी हाँकेर
• यथासम्भव र उपयुक्त हुँदा सार्वजनिक सवारीसाधन प्रयोग गरेर
• कुनै अवधिसम्म रोकिनु पर्दा बिनसित्ति इन्जिन चालू नराखी बन्द गरेर