प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ पृ. १२-१४
  • टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • टेलिफोन र तपाईं
  • अरूको ख्याल राख्ने
  • वाक्‌शैलीको गुणस्तर
  • ध्यान दिएर सुन्‍नुहोस्‌
  • अन्तमा विचार गर्नुपर्ने केही कुराहरू
  • सफल टेलिफोन साक्षी
    हाम्रो राज्य सेवकाई—२००१
  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
    हाम्रो राज्य सेवकाई—२०००
  • परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ पृ. १२-१४

टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ?

“पारिवारिक स्नेह, स्वास्थ्य र कामप्रतिको मोहबाहेक मीठो वार्तालापले हाम्रो जीवन जति रमणीय बनाउँछ, हाम्रो स्वाभिमान जति बढाउँछ, के अन्य कुनै कुराले त्यति गर्छ होला र?”

उक्‍त प्रश्‍न भूतपूर्व अमेरिकी लेखिका तथा शिक्षिका लुसि एलिअट कीलरले सोधेकी हुन्‌। उनको प्रश्‍नले मौखिक वार्तालापद्वारा प्राप्त हुने व्यक्‍तिगत आनन्द र सन्तुष्टतामाथि निकै जोड दियो। यो क्षमता मानिसलाई सृष्टि गर्दा मायालु ढंगमा दिइएको थियो।—प्रस्थान ४:११, १२.

एलेक्जेण्डर ग्राहाम वेलले टेलिफोन आविष्कार गरेर मानव वाक्‌ प्रवाहलाई बढाउन योगदान दिएको १२ दशकभन्दा बढी भइसक्यो। व्यापारजगत्‌मा होस्‌ वा रमाइलो गर्न होस्‌, आज अरबौं पृथ्वीवासीबीच टेलिफोनले महत्त्वपूर्ण सम्बन्ध गाँसेको छ।

टेलिफोन र तपाईं

टेलिफोनको प्रयोगले तपाईंको जीवनलाई कुन हदसम्म गुणस्तरीय बनाउँछ? यो प्रश्‍नको जवाफ त्यस उपकरणमा नभई त्यो प्रयोग गर्ने मानिसमा निर्भर छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? अवश्‍य हुनुहुन्छ, त्यसैकारण टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ? भनेर सोध्नु असामयिक नहोला।

टेलिफोनमा कुरा गर्ने शिष्टतामा मानसिक झुकाउ, बोलीको गुणस्तर र सुन्‍ने क्षमता बिथोलित छ। टेलिफोन प्रयोग गर्ने विधि र वाहियात फोन आउँदा कसरी जवाफ दिने, त्यसबारे छलफल गर्नु पनि प्रासंगिक नै हुनेछ।

अरूको ख्याल राख्ने

अन्य मानव अन्तरक्रियामा झैं टेलिफोनमा कुरा गर्ने असल शिष्टता पनि आपसी भावनाबाट प्रस्फुरित हुन्छ। प्रेरित पावलले लेखे: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।”—फिलिप्पी २:४.

“टेलिफोनमा कुरा गर्ने सबैभन्दा नराम्रो आमतरिका तपाईंलाई कुन लाग्यो?” भनी सोध्दा एक अनुभवी टेलिफोन स्वीचबोर्ड सञ्चालिकाले आफ्नो सूचीको पहिलो पंक्‍तिमा “‘सुनिता बोल्दैछु’ (तपाईं सुनिता नाउँ भएका कति जनालाई चिन्‍नुहुन्छ?) भनेर फोन गर्ने अथवा ‘म बोलेको,’ वा ‘मलाई चिन्‍नुभयो?’ भनेर दिक्कलाग्दो जवाफ दिने व्यक्‍तिहरू पर्छन्‌” भनिन्‌। शायद राम्रै मनसायले भनिएका यस्ता लापरवाही कुराले अप्ठ्यारो पार्ने वा अधीर बनाउने स्थितिमा पुऱ्‍याउनसक्छ। त्यस सञ्चालिका अझै भन्छिन्‌: “फोन गर्ने व्यक्‍तिले सुरुमै आफ्नो स्पष्ट परिचय दिएर आफूले कुरा गर्न खोजेको व्यक्‍तिको विचार गर्दै अहिले कुरा गर्न मिल्छ कि? भनेर सोध्नु बेस हुनेछ।”

नबिर्सनुहोस्‌, तपाईंको अनुहार नदेखिए तापनि तपाईंको मनोवृत्ति भने प्रष्टै झल्किन्छ। कसरी? तपाईंको स्वरद्वारा। तपाईं धैर्य हराउँदै हुनुहुन्छ कि, पट्याइँ मानिरहनुभएको छ कि, रिसाउनु वा भावशून्य हुनुहुँदैछ कि वा हर्षित, मदतकारी, मायालु कस्तो हुनुहुन्छ सबै थाह पाइन्छ। फोन गरेर दिक्क पार्दा रीस उठ्‌नु स्वाभाविक हो। तर यस्तो परिस्थितिमा जवाफ दिनुअघि एकछिन रोकेर “मीठो स्वरमा” बोल्नु शिष्टता हो। असहमति झल्काउने पाराले नबोलिकन पनि असहमति जनाउन सकिन्छ।

विचारशील तथा मीठो बोलीको समिश्रणले “सुन्‍नेलाई अनुग्रह मिलोस्‌” भन्‍ने कुरालाई ध्यानमा राख्दै “परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो” भन्‍न लगाउँछ।—एफिसी ४:२९.

वाक्‌शैलीको गुणस्तर

हो, हाम्रो वाक्‌शैली महत्त्वपूर्ण छ। के तपाईं निम्न नियमहरूसित सहमत हुनुहुन्छ? अनि के तपाईं ती पालन गर्नुहुन्छ? स्वाभाविक ढंगमा, स्पष्ट र बुझ्नेगरि बोल्नुहोस्‌। बुझ्न नसकिने तरिकामा नबोल्नुहोस्‌। ट्रंकलमा समेत चिच्याउने नगर्नुहोस्‌। शब्दहरू अस्पष्ट नहोस्‌। बोली चपाएर वा पूरा उच्चारण नगरेर, शब्द खाएर नबोल्नुहोस्‌; “अनि अँ अँ जस्ता शब्द थप्ने” र वाक्य पूरा नगरी फेरि सुरुदेखि कुरा थाल्ने नगर्नुहोस्‌। यसले सुन्‍ने व्यक्‍तिलाई अत्त्याउनसक्छ र रीस उठाउनसक्छ। आफै मात्र नबोल्नुहोस्‌। आवश्‍यकताअनुसार शब्दमा जोड दिंदा बोली अर्थपूर्ण, जीवन्त र स्फूर्तिदायी हुन्छ। खाँदै टेलिफोनमा कुरा गर्नाले वाक्‌शैलीको गुणस्तर बढाउँदैन र त्यसले असल शिष्टता झल्काउँदैन भनेर पनि नबिर्सनुहोस्‌।

शब्द छनौटलाई पनि ध्यान दिनुपर्छ। यसका लागि विवेकशील हुनु आवश्‍यक छ। सजिलै बुझ्न सकिने सरल, साधारण शब्दहरू प्रयोग गर्नुहोस्‌। द्वयर्थक शब्दहरू पनि छन्‌। ती दयालु वा निर्दयी, आरामदायी वा कठोर, प्रोत्साहनदायी वा निराश पार्ने हुनसक्छन्‌। यसबाहेक, एक व्यक्‍ति रूखो नभई चतुर कुरा गर्नसक्छ तथा ठाडो वा अभद्र नभई स्पष्ट कुरा गर्नसक्छ, कुरा टार्न खोजेजस्तो नदेखिने गरी व्यवहारकुशल हुनसक्छ। “कृपया” र “धन्यवाद” जस्ता शिष्ट अभिव्यक्‍तिहरू सधैं स्वीकार्य छन्‌। नम्र, विचारणीय र रसयुक्‍त शब्दहरू ध्यानमा राखेर नै प्रेरित पावलले “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌” भनी लेखेका थिए।—कलस्सी ४:६.

ध्यान दिएर सुन्‍नुहोस्‌

यो कथा एउटा जवान मानिसको हो। उसले आफ्नो पितालाई कुशल वक्‍ता हुने कुञ्जी सोध्यो। जवाफ थियो, “सुन, ए मेरो छोरो।” “म सुन्दैछु” त्यस जवानले भन्यो। “मलाई अझ धेरै बताउनुहोस्‌।” “कुञ्जी यही हो,” पिताले जवाफ दिए। भनौं भने, सहानुभूतिशील जिज्ञासु भएर सुन्‍नु नै शिष्ट तरिकाले फोनमा कुरा गर्न अत्यावश्‍यक तत्त्व हो।

तपाईंले साधारण नियमसमेत पालन गर्नुभएन भने तपाईंसित टेलिफोनमा कुरा गर्न अरूले झिंजो मान्‍नसक्छन्‌। भनाइको तात्पर्य? अरूलाई बोल्ने मौका नदिई आफू मात्र नबर्बराउनुहोस्‌। एउटै कुरामा नअल्झिनुहोस्‌। उदाहरणका लागि, अर्थहीन, टुंगो नलाग्ने घटनाबारे एक-एक विवरण सुनाउने अथवा सानातिना शारीरिक समस्याहरूको लम्बेतान विवरण बताउने नगर्नुहोस्‌। यसबारे पनि हामीसित व्यवहारिक बाइबल नियम छ र यो नियम चेला याकूबबाट लिइएको हो। “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो . . . होस्‌।”—याकूब १:१९.

अन्तमा विचार गर्नुपर्ने केही कुराहरू

टेलिफोनमा कुरा गर्ने शिष्टताबारे अन्तमा हामी यी दुइ प्रश्‍नहरू प्रस्तुत गरौं। टेलिफोनको प्रयोगबारे के भन्‍न सकिन्छ? निरर्थक फोन कलहरू आउँदा कसरी जवाफ दिने त्यसबारे केही सुझाउहरू छन्‌ कि?

टेलिफोनमा कुरा गरिरहँदा दोस्रो पक्षको स्वर छिनछिनमा मधुरो हुँदै गएको महसुस गर्नुभएको छ? यसो हो भने, यसले तपाईंलाई टेलिफोनको माउथपिस र तपाईंको ओठको दूरी लगभग दुइ सेन्टिमिटर मात्र हुनुपर्छ भनेर स्मरण गराउनुपर्ने हो। यसबाहेक क्यारक्यार सुनिने आवाजलाई नियन्त्रण गर्नु पनि शिष्टता हो। फोन गर्नुहुँदा गलत नम्बर नथिचोस्‌ भनेर होश पुऱ्‍याउनुपर्छ। अनि कुरा सिद्धिएपछि रिसिभर सुस्तरी क्रेडलमा राख्नुपर्छ।

वाहियात फोन कलहरूले के तपाईं दिक्क हुनुभएको छ? दुःखको कुरा, यस्ता कलहरू धमाधम बढ्‌दैछन्‌। अशिष्ट, अश्‍लील अथवा फोहर बोलीको एउटै उपाय हो, फोन थपक्क राख्नु। (एफिसी ५:३, ४ तुलना गर्नुहोस्‌।) फोन गर्ने व्यक्‍तिले आफ्नो परिचय दिन इन्कार गर्दा पनि त्यसै गर्न सकिन्छ। उत्तम तरिकामा कसरी लेख्ने र बोल्ने (अंग्रेजी) शीर्षक प्रकाशनले “अपरिचित व्यक्‍तिले ‘को बोल्नुभएको?’ भनेर सोध्दा शंका लागेमा जवाफ नदिनुहोस्‌” र त्यस अपरिचितहरूसित आफ्ना योजनाहरू छलफल नगर्नुहोस्‌ भन्‍ने सुझाउ दिन्छ।

फोनमा शिष्ट तरिकाले कुरा गर्न तीन थुप्रो नियम निर्देशन जान्‍नु आवश्‍यक रहेनछ भनेर थाह पाउनु कति राम्रो! मानिसहरूसित गर्नुपर्ने सम्पूर्ण व्यवहारलाई रमाइलो र इनामदायी सम्बन्ध बनाउन साधारणतया सुनौलो नियम भनिने नियम प्रयोगमा ल्याए पुग्छ। येशूले भन्‍नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौं, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) अनि जहाँसम्म मसीहीहरूको कुरा छ, तिनीहरूले मानिसलाई वाक्‌ क्षमता दिनुहुनेलाई प्रसन्‍न तुल्याउने इच्छा राख्छन्‌। भजनरचयिताले यसरी प्रार्थना गरे: “हे परमप्रभु, मेरो चटान र मेरो उद्धारक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।”—भजन १९:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने