टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
१ हामी अहिले “आखिरी दिनमा” बाँचिरहेका छौं भन्ने प्रशस्त प्रमाण छन्। (२ तिमो. ३:१) राज्य प्रचार र चेला बनाउने कामको समय थोरै मात्र बाँकी छ भन्ने कुरामा कुनै शंका छैन। त्यसकारण, अरूलाई यहोवा परमेश्वरका अनुमोदन प्राप्त उपासकहरू हुन मदत गर्न हामी प्रत्येकले अविलम्बी भावसहित काम गर्नुपर्छ।
२ प्रेरित पावलले आफ्नो विश्वासबारे आम घोषणा गर्नुपर्ने जिम्मेवारी महसुस गरे। (रोमी १०:१०) “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने” परमेश्वरको इच्छा छ भनेर उनलाई थाह थियो। (१ तिमो. २:४) आफूसँग भएको सत्य ज्ञानको आधारमा पावलले आफूलाई सबैको ऋणी महसुस गरे। त्यसकारण, उनले सुसमाचार घोषणा गर्न अझ अविलम्बी हुनुपर्ने आवश्यकता बुझे। उनले यसो भने: “सुसमाचार प्रचार गर्न, म तयार छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने हरेकको . . . मुक्तिको निम्ति, यो परमेश्वरको शक्ति हो।”—रोमी १:१४-१७.
३ के हामी पनि व्यक्तिगत तवरमा त्यस्तै ऋणी महसुस गरेर हाम्रो क्षेत्रमा भएका सबैकहाँ पुग्न त्यस्तै तत्परता देखाउँछौं? हुन त हामी ढोका ढोकामा अनि सडक साक्षीमा अरूसँग आमने समाने भएरै कुरा गर्न रुचाउँछौं, तैपनि हाम्रो क्रियाकलाप त्यत्तिमै किन सीमित राख्ने? हुनसक्छ, हाम्रो मण्डलीको क्षेत्रमा पर्ने थुप्रै मानिसहरूले यहोवाका साक्षीहरूसित कुरा गर्ने मौकै पाएका छैनन् होला। त्यसो कसरी हुनसक्छ?
४ काम नगरेको क्षेत्र: के तपाईंको क्षेत्रमा पालेहरूले पहरा दिइरहेका ठूलठूला भवनहरू छन्? सायद, ढोका ढोकामा जान निषेध गरिएका कडा सुरक्षा व्यवस्था भएका भवनहरू पनि होलान्। त्यस क्षेत्रमा भएका पहरेदारहरू बस्ने क्वाटरमा मण्डलीलाई सुसमाचार प्रचार गर्ने अनुमति दिइएको छैन कि? त्यस्तै इलाकाहरूमा बस्ने केही मानिसहरूले परमेश्वरको राज्यले ल्याउने आशिष्हरूबारे कहिल्यै सुन्न नपाएका हुनसक्छन्। के त्यहाँ घर घरको साक्षी कार्यमा भेट्नै नसकिएका मानिसहरू छन्?
५ तिनीहरूसँग सम्पर्क राख्न गाह्रो भए तापनि हामी निराश हुनु आवश्यक छैन। यस्तो अवस्थालाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ? प्रेरित पत्रुस यसरी लेख्छन्: “[यहोवा] कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा [गर्नुहुन्छ]। . . . प्रभुको धीरजनै मुक्ति हो भनी सम्झ।” (२ पत्रु. ३:९, १५) यो, जीवन-मरणको कुरा हो र यहोवा प्रत्येक व्यक्तिमा चासो राख्नुहुन्छ। (मत्ती १८:१४) हामी कसरी यहोवाले देखाउनु भएजस्तै प्रत्येक व्यक्तिमा करुणा र दया देखाउनसक्छौं? हाम्रो इलाकामा भएका प्रत्येकले साक्षी पाए नपाएको पक्का गरेर।—प्रेरि. २०:२०, २१; प्रका. १४:६, ७.
६ विस्तृत क्रियाकलापका लागि संगठित: बितेका समयमा सोसाइटीले रोगबिमार अथवा शारीरिक असक्षमताका कारण अस्थायी वा स्थायी रूपमा आफ्नो घरमै बसिरहनेहरूलाई टेलिफोनको सदुपयोग गर्न प्रोत्साहित गरेको थियो। त्यस्ता अवस्थामा भएकाहरूले यस्तो राम्रो काम कायमै राख्नुपर्छ। तिनीहरूका अलावा नियमित र सहायक अग्रगामीहरूलगायत केही भाइबहिनीसमेतले टेलिफोन साक्षी कार्यलाई ढोका ढोका सेवकाईको एउटा भागको रूपमा लिएका रिपोर्ट प्राप्त भएका छन्।
७ केही मण्डलीले टेलिफोन साक्षी दिने प्रबन्ध गर्न विशेष प्रयास गरेका छन्। व्यक्तिगत तवरमा वा प्रकाशकहरूको मदत लिएर प्राचीनहरूले इलाकाहरू व्यवस्थित गर्न नेतृत्व लिंदा ठूलो सफलता प्राप्त भएको रिपोर्ट छ। यस कामको रेखदेख गर्ने जिम्मेवारी सेवा निरीक्षकको हो। तथापि, सेवा निरीक्षकसँगै काँधमा काँध मिलाएर यस कामलाई व्यवस्थित गर्न प्राचीनहरूको निकायले कुनै योग्य प्राचीन वा जिम्मेवारी वहन गर्नसक्ने सेवकाई सेवक पनि छान्न सक्छन्।
८ सुरुसुरुमा प्रचार गर्दाका बाधाहरू पार गर्न सकेका र टेलिफोन साक्षीमा अनुभव बटुलेका प्रकाशकहरूले टेलिफोन साक्षी फलदायी क्षेत्र साबित भएको पाएका छन्। पहिले, सायद केही प्रकाशक र अग्रगामीहरूले मात्र फोनमा कुरा सुरु गर्नसक्छन्। तिनीहरू यस प्रकारको साक्षी कार्यमा अभ्यस्त भएपछि र धक नमानी साक्षी दिनसक्ने भएपछि तिनीहरूको जोस र प्रोत्साहनदायी अनुभवहरूले सायद अरूलाई पनि यस चाखलाग्दो प्रचारको क्षेत्रमा भाग लिने तरिका सिक्न उत्प्रेरित गर्नसक्छ।
९ कसरी सुरु गर्ने: भवनका मूल ढोकामा राखिएका नामावलीबाट सायद त्यहाँका निवासीहरूको नाम थाह पाउन सकिएला। अथवा तिनीहरूको चिठीपत्र राख्ने बाकसमा पनि तिनीहरूको नाम हुनसक्छ। त्यसपछि, टेलिफोन नम्बरहरूचाहिं टेलिफोन पुस्तकमा खोज्न सकिएला। टेलिफोन पुस्तकको नयाँ अंकबाट फोटोकपी गरिएका पृष्ठहरू इलाकाको रूपमा बाँड्न सकिन्छ। यी इलाकाहरू अलि सानो सानो बनाउनुपर्छ।
१० जुनसुकै प्रकारको साक्षी कार्य होस्, सही रेकर्ड राख्नु एकदमै फाइदाजनक हुन्छ। टेलिफोन साक्षीको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। होसियार भएर काम लाग्ने जानकारीहरू घर घरको रेकर्ड कार्डमा लेख्नुहोस्। जस्तै, छलफल गरिएको विषय, घरधनीलाई चाख लागेको विषय अनि अर्को पालि छलफल गरिने विषय। पछि फेरि फोनमै कुरा गर्ने हो कि व्यक्तिगत भेटघाटको लागि प्रबन्ध मिलाइएको छ, चिह्न राख्नुहोस्।
११ व्यक्तिगत तालिका चाहिन्छ: नियमित तालिकाले तपाईंको आत्मविश्वास बढाउनुका साथै धक हटाउन पनि मदत गर्छ। मानिसहरू प्रायजसो घरमै हुने समयमा फोन गर्नु अति उत्तम हुन्छ। जस्तै, साँझपख र सप्ताहन्तमा। फोन गर्न प्रत्येक हप्ता नियमित समय तालिका बनाउनुहोस्। कसै कसैले मण्डली पुस्तक अध्ययनअघिको समय फलदायी पाएका छन्। तपाईंको इलाकामा सबैभन्दा राम्रो नतिजा हुने समय पत्ता लगाउनुहोस्।
१२ कसरी तयारी गर्ने: सेवाको यस सुअवसरबाट आनन्द उठाएका र अनुभव बटुलेकाहरूसँग कुराकानी गर्नुहोस्। सधैं सकारात्मक हुनुहोस्। शक्ति र बलको श्रोतको रूपमा यहोवामा भर पर्नुहोस् अनि प्रार्थनामार्फत उहाँको निर्देशन खोज्नुहोस्। (भज. २७:१४; फिलि. ४:१३) अन्य साक्षी कार्यमा जस्तै आफ्नो पूर्ण मनतनले यस क्रियाकलापमा भाग लिने योजना बनाउनुहोस्।—मर्कूस १२:३३ तुलना गर्नुहोस्।
१३ टेबल अथवा डेस्कअगाडि बस्नु मदतकारी हुनसक्छ भन्ने कुरा अनुभवहरूले प्रमाणित गरेका छन्। उपयुक्त प्रकारको मेचमा बस्नाले राम्रोसँग सोच्न र ध्यान दिन सकिन्छ। साक्षी दिंदा चाहिनसक्ने सबै सरसामानहरू तयार राख्नुहोस्। जस्तै, पर्चा, हालै प्रयोग गर्न सुझाउ दिइएको साहित्य, नयाँ पत्रिका अथवा चाखलाग्दा पुराना पत्रिकाका प्रति, बाइबल, रीजनिंङ पुस्तक, राज्यभवनको सही ठेगाना र सही समय भएको निमन्त्रणा पर्ची, कलम वा सिसाकलम र घर घर जाँदा चलाउने रेकर्ड कार्ड। तपाईंको साहित्य नजिकै राख्नुहोस्, अझ भनौं, चाहिएको लेख पनि खोलेरै राख्नुहोस्। आफ्नो प्रस्तुति राम्रोसँग अभ्यास गर्नुहोस्। यो कुरा नबिर्सनुहोस्, तपाईंले फोन गर्नुको मुख्य कारण साक्षी दिन र सकेसम्म चाँडै उक्त व्यक्तिसँग भेट्ने प्रबन्ध मिलाउन हो।
१४ साँच्चैको कुराकानी गर्ने: नहडबडाउनुहोस्। स्वाभाविक हुनुहोस्। प्रभावकारी टेलिफोन साक्षी दिन न्यानो अनि मीठो सोर चाहिन्छ। तपाईंको मुस्कान आवाजमा झल्कन्छ। राम्रोसँग सुनिने गरी बिस्तारै र प्रस्टसँग बोल्नुहोस्। शिष्ट, धीरजी र मित्रैलो हुनुहोस्। कुरा नसुन्ने हो कि भनेर नडराउनुहोस्। मानिसहरूले तपाईंको समाचार नसुन्न पनि सक्छन् भन्ने वास्तविकता स्वीकार्नुहोस्। ढोका ढोकामा साक्षी दिंदा राख्नुहुनेजस्तै दृष्टिकोण राख्नुहोस्।
१५ परिचयमा आफ्नो पूरा नाम बताउनुहोस्। बाधक हुनसक्ने भएकोले, तपाईं त्यस भवनका सबै मानिसहरूलाई फोन गर्दैहुनुहुन्छ नभन्नु नै उचित हुन्छ।
१६ रीजनिंग पुस्तकमा भएका थुप्रै परिचयहरू जस्ताको तस्तै कुराकानी गरेजस्तै गरी पढ्दा पनि फरक नपर्ला। उदाहरणका लागि, तपाईं आफ्नो परिचय यसरी दिनसक्नुहुन्छ: “नमस्कार, मेरो नाम ________ हो। तपाईंलाई व्यक्तिगतरूपमा भेट्न नपाएकोले मैले फोन गरेको हुँ।” त्यसपछि, तुरुन्तै यसो भन्नुहोस्: “के तपाईंको विचारमा हाम्रो जीवनस्तर कहिल्यै सुध्रेलाजस्तो लाग्छ? हामीमध्ये सबैजसो जीवित हुन पाएकोमा आनन्दित त छौं। तर धेरैको मनमा यस्तो प्रश्न छ, ‘के साँच्चैको आनन्दमय जीवन सम्भव छ?’ तपाईंलाई कस्तो लाग्छ? [जवाफको लागि समय दिनुहोस्।] वर्तमान समयको आनन्द हरण गर्ने एउटा मुख्य कुरा तपाईंलाई के हो जस्तो लाग्छ?” अथवा माथि भनेजस्तै आफ्नो परिचय दिनुभएपछि तपाईं यसो भन्न पनि सक्नुहुन्छ: “म अन्तरराष्ट्रिय स्वयम्सेवामा सम्मिलित व्यक्ति हुँ र जीवनको उद्देश्यबारे म तपाईंको सोचाइ जान्न चाहन्छु। जसै हाम्रो उमेर ढल्कँदै जान्छ, यो जीवन एकदमै छोटो छजस्तो हामी महसुस गर्छौं। के जीवन भनेको यति नै हो त? यसबारे तपाईंलाई कस्तो लाग्छ?” (रीजनिंग पुस्तकको पृष्ठ १३, उपशीर्षक “जीवन/आनन्द” हेर्नुहोस्।) टेलिफोनमा साक्षी दिंदा चलाउन सकिने विभिन्न परिचय र सामना गरिएका केही बाधाहरूबारे हाम्रो राज्य सेवकाई, जुलाई १९९०, पृष्ठ ४ मा मदतकारी जानकारी पाउन सकिन्छ।
१७ छलफलको सुरुतिरै बाइबल प्रयोग गर्नुहोस्। कुराकानीको दौडान उपयुक्त समयमा आफू यहोवाको साक्षी हो भनी चिनाउनुहोस्। कुराकानीमा घरधनीलाई पनि बोल्ने मौका दिनुहोस्। उनले विचार व्यक्त गर्दा सुन्न नहिचकिचाउनुहोस्। उनले व्यक्त गरेका कुरा र भनाइको लागि धन्यवाद दिनुहोस्। तारिफ गर्न तत्पर हुनुहोस्। यद्यपि, यदि कसैले कुराकानीमा होच्याउन थाल्दा वा वादविवाद सुरु गर्दा चलाखीपूर्ण ढंगमा कुराकानी बन्द गर्नुहोस्। परमेश्वरको आत्माले तपाईंको प्रयत्नमा डोऱ्याइ प्रदान गरून् अनि उहाँमा मन लगाउनेहरूलाई खोज्न मदत गरून्।
१८ घरधनीलाई कुराकानी टुंग्याउन दिनुको सट्टा तपाईं आफैले टुंग्याउनु राम्रो हो। तपाईंले त्यस व्यक्तिलाई राज्यभवनको ठेगाना र समय बताउँदै जन-भाषणमा निम्तो दिएर कुरा टुंग्याउन सक्नुहुन्छ। छलफल गरिएको विषयमा अझ बढी बताउन तिनलाई घरमै भेट्न सकिन्छ कि भनेर पनि सोध्न सक्नुहुन्छ। टेलिफोनमा कुराकानी सिध्याएपछि प्रभावकारी ढंगमा साहित्य प्रस्तुत गर्न पनि सम्भव होला। पत्रिका रूट सुरु गर्ने उद्देश्य लिएर पत्रिकाहरू पनि प्रस्तुत गर्न सकिन्छ।
१९ टेलिफोन साक्षीको आनन्दमा सहभागी हुनुहोस्: के टेलिफोनमा कुराकानी गरेजति सबैले बाइबल अध्ययन गर्छन्? गर्दैनन्, तर केहीले भने गर्नेछन्। उदाहरणका लागि, एउटी बहिनीले एउटा महिनामा ३०० भन्दा धेरै फोन गरिन्। आफ्नो परिचय दिइसकेपछि, प्रत्येक घरधनीलाई भेट्नुको सट्टा फोन गर्नुको कारण बताइन्। त्यसपछि तिनले सानो प्रस्तुती टक्य्राइन्। त्यसको परिणामस्वरूप १२ वटा राम्रो कुराकानी भयो। तिनको अझै तीन जना जिज्ञासुसँग टेलिफोन सम्पर्क कायमै छ र अरू चार जनाले तिनलाई उनीहरूको घरमै बोलाएका छन्।
२० येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई “पृथ्वीको अन्तसम्म” साक्षी कार्य फैलाउने आज्ञा दिनुभयो। (प्रेरि. १:८) कुनै कुनै इलाकामा यो आज्ञा पालन गर्नु भनेको टेलिफोन साक्षी दिनु हो। माथि उल्लिखित सबै कुरा पुनरावलोकन गरिसक्नुभएपछि आफैलाई यो प्रश्न सोध्नुहोस्: ‘पहिले कहिल्यै भेट्न नसकिएको इलाकाका मानिसहरूलगायत “सबै मानिसहरू[लाई]” सुसमाचार सुनाउन के म मेरो मण्डलीको इलाकामा अझ बढी गर्न सक्छु?’ यी सल्लाहहरू पछ्याउने भाइहरूले राम्रो राम्रो नतिजा पाएर एकदमै उत्साहित भएका छन्। तिनीहरूले टेलिफोन साक्षी कार्यलाई ‘आफ्नो सेवामा गर्व गर्ने’ असाधारण माध्यमको रूपमा पाएका छन्। (रोमी ११:१३) तपाईंलाई पनि टेलिफोन साक्षीबाट त्यस्तै आनन्द अनुभव गर्ने मौका मिलोस्।