प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ pp. ११-२८
  • म किन सिक्न सक्दिनँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म किन सिक्न सक्दिनँ?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सामना गर्ने चुनौती
  • ध्यानकेन्द्रित गर्न सिक्नुहोस्‌
  • अधीर स्वभाव घटाउने
  • आत्मसम्मान कायम राख्नुहोस्‌
  • सत्य कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • असफलताको सामना म कसरी गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
  • सिक्ने असमर्थतालाई राम्ररी बुझ्ने
    ब्यूँझनुहोस्‌!—१९९७
  • युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ pp. ११-२८

युवा जनहरू सोध्छन्‌ . . .

म किन सिक्न सक्दिनँ?

“म घर जान चाहन्‍न थिएँ,” जेस्सिका सम्झिन्छिन्‌, “म आमाबाबुलाई आफ्नो अनुहार देखाउन चाहन्‍न थिएँ। किनभने त्यतिबेला म फेरि निकै विषयहरूमा अनुत्तीर्ण भएकी थिएँ।”a पन्ध्र वर्षीया जेस्सिका चनाखो र सुन्दरी छिन्‌। तर अधिकांश किशोरकिशोरीहरूलाई जस्तै तिनलाई पनि कक्षामा उत्तीर्ण हुन साह्रै गाह्रो छ।

विद्यालयमा राम्ररी पढ्‌न नसक्नु शिक्षा वा शिक्षकको कारण अक्सर चासो नलिनु हो। तर जेस्सिकाको सन्दर्भमा त्यसो भन्‍न मिल्दैन। कठिन विषयहरू बुझ्न तिनलाई अत्यन्तै गाह्रो लाग्छ। अतः जेस्सिकाले गणितमा राम्रो गर्न नसक्नु अनौठो कुरा होइन। अनि पढ्‌न गाह्रो भएकोले अन्य विषयहरूमा पनि राम्रो गर्न तिनलाई साह्रै धौ धौ पऱ्‍यो।

अर्कोतिर मारियालाई शुद्ध हिज्जे लेख्न आउँदैन। मसीही सभाहरूमा टिपेको टिपोट अरूले देख्लान्‌ भनेर तिनी सधैं लुकाउने गर्छिन्‌। किनभने तिनलाई आफ्नो अशुद्ध हिज्जेको कारण लाज लाग्छ। तथापि, जेस्सिका र मारिया दुवै मूर्ख भने होइनन्‌। जेस्सिका मानिसहरूसित व्यवहार गर्न कुशल छिन्‌। त्यसैकारण तिनी विद्यालयमा मध्यस्थकर्ताको रूपमा नियुक्‍त छिन्‌। अर्थात्‌ विद्यालयमा तिनका साथीहरूबीच झगडा हुँदा तिनीहरूको समस्या समाधान गर्छिन्‌। अनि विद्यालयमा मारिया आफ्नो कक्षाका प्रथम १० श्रेणीका विद्यार्थीमा पर्नेहरूमध्ये एक हुन्‌।

समस्या के हो भने, जेस्सिका र मारिया दुवै सिक्ने क्षमता विकारले पीडित छन्‌। लगभग ३ देखि १० प्रतिशत केटाकेटीहरूले यस्तै कठिनाइ भोग्छन्‌ भन्‍ने विश्‍वास विशेषज्ञहरूले राखेका छन्‌। अहिले करिबन २० वर्ष पुगिसकेकी तान्या ध्यान दिने क्षमतामा ह्रास तथा चकचके स्वभाव विकारले (अटेन्सन डेफिसिएट हाइपरएक्टिभ डिस्‌अडर) (एडीएचडी) पीडित छिन्‌।b तिनी भन्छिन्‌: “ध्यानकेन्द्रित गर्नु त परै जाओस्‌, चुपचाप बस्नसमेत नसक्ने भएकीले मसीही सभाहरूमा, व्यक्‍तिगत अध्ययन गर्दा र प्रार्थना गर्दा मलाई निकै गाह्रो हुन्छ। अरूले कुरा बुझ्न नपाउँदै म तुरुन्तातुरुन्तै विषय बद्‌लेर कुरा गर्ने भएकी हुँदा मेरो मसीही सेवकाईमा पनि यसले असर गरेको छ।”

चकचके स्वभावको छैन भने त्यस्तो विकारलाई ध्यानकेन्द्रित क्षमता ह्रास विकार (अटेन्सन डेफिसिएट डिस्‌अडर) (एडीडी) भनिन्छ। यस विकारद्वारा पीडितहरूलाई अक्सर दिवास्वप्न देख्ने व्यक्‍ति पनि भनिन्छ। एडीडीद्वारा पीडित व्यक्‍तिहरूबारे स्नायु विशेषज्ञ डा. ब्रुस रोजमेन यसो भन्छन्‌: “४५ मिनेटसम्म कितापमा घोरिए तापनि तिनीहरूले केही पनि सिक्न सक्दैनन्‌।” एक वा अर्को कारणले गर्दा कसै कसैलाई ध्यानकेन्द्रित गर्न निकै गाह्रो हुन्छ।

हालै यी समस्याहरूका कारणहरू बुझ्न थालेको विश्‍वास औषधी अनुसन्धानकर्ताहरूले गरेका छन्‌। तैपनि निकै कुरा थाह पाउनु बाँकी नै छ। अनि सिक्ने क्षमतामा बाधा पुऱ्‍याउने विभिन्‍न विकार तथा असक्षमताबीचका सीमाहरू सधैं प्रष्ट हुँदैनन्‌। तर पढ्‌न, सम्झन, ध्यान केन्द्रित गर्न समस्या परेको होस्‌ वा चकचके स्वभावको जुनसुकै विकारले पीडित भएको होस्‌ वा ती विकारहरूलाई जेसुकै नाउँ दिइएको होस्‌ अथवा त्यसो हुनुका कारणहरू जेसुकै होऊन्‌, त्यसले व्यक्‍तिविशेषलाई शिक्षा हासिल गर्न बाधा पुऱ्‍याउँछ र उसले निकै कठिनाइ भोग्नुपर्ने हुन्छ। सिक्ने क्षमता विकारले पीडित हुनुहुन्छ भने तपाईं त्यस समस्याको सामना कसरी गर्न सक्नुहुन्छ?

सामना गर्ने चुनौती

यस लेखको प्रारम्भमा उल्लेख गरिएकी जेस्सिकालाई विचार गर्नुहोस्‌। पढ्‌न नसक्ने आफ्नो असक्षमतामाथि विजयी हुन संकल्प गरेपछि तिनले विभिन्‍न पुस्तकहरू पढ्‌ने कोसिस गरिरहिन्‌। त्यस्तै कोसिसमा तिनले कविताको पुस्तक भेट्टाइन्‌ र कविता-संग्रहमा पूर्णतया भिज्दा तिनको जीवनले अर्कै मोड लियो। तिनले त्यस्तै अन्य कितापहरू पनि पढिन्‌ र आनन्द लिन थालिन्‌। केही समयपछि तिनले थुप्रै कथा-संग्रहहरूप्रति पनि रुचि राख्न थालिन्‌ र बिस्तारै तिनको पढ्‌न नसक्ने समस्या घट्‌दै गयो। निरन्तर मेहनत गरिरहेमा त्यसको फल मीठो हुन्छ भन्‍ने पाठ हामी यसबाट सिक्नसक्छौं। कोसिस गरिरहनु भयो भने तपाईंले सक्ने क्षमता विकार समस्यामाथि विजय प्राप्त गर्न सक्नुहुन्छ अथवा उन्‍नति मात्रै भए पनि गर्न सक्नुहुन्छ।—गलाती ६:९ तुलना गर्नुहोस्‌।

अनि तुरुन्तै बिर्सने समस्याबारे चाहिं के भन्‍न सकिन्छ? यस समस्यालाई समाधान गर्ने महत्त्वपूर्ण कुञ्जी यस भनाइमा लुकेको छ: “तीक्ष्ण स्मरणशक्‍तिको लागि दोऱ्‍याउनु तेहऱ्‍याउनु।” आफूले सुनेको पढेको कुरा उच्चारण गर्दै दोऱ्‍याउँदा निकीलाई सम्झन मदत गऱ्‍यो। तपाईं पनि कोसिस गर्नुहोस्‌। यसले तपाईंलाई पनि मदत दिनसक्छ। उल्लेखनीय कुरा, बाइबलकालीन मानिसहरू व्यक्‍तिगत रूपमा पढ्‌दा पनि ओठ चलाएर पढ्‌थे। यसर्थ, यहोवाले बाइबल पुस्तक लेखक यहोशूलाई यस्तो आज्ञा दिनुभयो: “तैंले [परमेश्‍वरको व्यवस्थामा] दिनरात ध्यान गर्नू [मनमनै पढ्‌नू, NW]।” (यहोशू १:८; भजन १:२) ओठ चलाएर पढ्‌नु किन महत्त्वपूर्ण छ? किनभने यसो गर्दा दुइ ज्ञानेन्द्रिय प्रयोग हुन्थ्यो—मुख तथा आँखा। अनि यसले पाठकको मनमा गहिरो छाप पार्न मदत गर्थ्यो।

जेस्सिकाको लागि गणित सिक्नु पनि अत्यन्तै गाह्रो थियो। तथापि, गणितका नियमहरूलाई दोऱ्‍याएर तिनले सिक्ने प्रयत्न गरिन्‌। कहिलेकाहीं त एउटा सूत्र सिक्न तिनी आधा घण्टाजसो बिताउँथिन्‌। अन्ततः, तिनको मेहनतको फल मीठो भयो। त्यसकारण दोऱ्‍याउनुहोस्‌, तेहऱ्‍याउनुहोस्‌! कक्षामा सुनिरहँदा वा केही पढिरहँदा कागज र कलम आफूसितै राखेर टिपोट टिप्नु बुद्धिमानी कुरा हो।

सिकेरै छाड्‌छु भनेर दृढ संकल्प गर्नु अत्यावश्‍यक छ। छुट्टी पछि पनि विद्यालयमा आफ्ना शिक्षकहरूसित कुरा गर्ने बानी बसाल्नुहोस्‌। उहाँहरूलाई चिन्‍ने यत्न गर्नुहोस्‌। तपाईं सिक्ने क्षमता विकार समस्याले पीडित हुनुहुन्छ तर त्यस समस्यामाथि विजयी हुने संकल्प गर्नुभएको छ भनेर बताउनुहोस्‌। अधिकांश शिक्षकहरू तपाईंलाई सहयोग गर्न उत्सुक हुनेछन्‌। अतः उहाँहरूको मदत लिनुहोस्‌। जेस्सिकाले त्यसै गरिन्‌ र सहानुभूतिशील शिक्षकबाट चाहिएजति समर्थन पाइन्‌।

ध्यानकेन्द्रित गर्न सिक्नुहोस्‌

यसले आफ्नोनिम्ति एउटा लक्ष्य निर्धारण गर्नुका साथै आफूलाई इनाम दिने व्यवस्था गर्न पनि मदत गर्छ। विशिष्ट लक्ष्य तोक्नुहोस्‌। जस्तै गृहकार्य सकाएपछि मात्र टेलिभिजन हेर्ने वा मन पर्ने संगीत सुन्‍ने। लक्ष्य तोक्नुभयो भने ध्यानकेन्द्रित गर्ने उत्प्रेरणा तपाईंले पाउन सक्नुहुन्छ। तर निर्धारित लक्ष्यहरू व्यवहारिक छन्‌ वा छैनन्‌, पक्का गर्नुहोस्‌।—फिलिप्पी ४:५ तुलना गर्नुहोस्‌।

कहिलेकाहीं आफ्नो परिस्थितिमा उत्थानवर्धक परिवर्तनहरू गर्दा पनि मदत पाइन्छ। आफूले राम्ररी ध्यानकेन्द्रित गर्न सकोस्‌ भनेर शिक्षक नजीकै अर्थात्‌ कक्षामा सबैभन्दा पहिलो पंक्‍तिमा बस्ने प्रबन्ध निकीले मिलाए। जेस्सिकाले पढन्ते सँगिनीसित मिलेर गृहकार्य गर्दा फाइदा हुने थाह पाइन्‌। आफ्नो कोठा आरामदायी बनाउनु पनि मदतकारी हुनसक्छ।

अधीर स्वभाव घटाउने

तपाईं चकचके स्वभावको हुनुहुन्छ भने सिक्नु तपाईंको लागि कठिन परीक्षा हुनसक्छ। तथापि, केही विशेषज्ञहरूअनुसार चकचके स्वभावलाई शारीरिक कसरतद्वारा नियन्त्रित गर्न सकिन्छ। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट यसरी टिप्पणी गर्छ, “एरोबिक गर्दा मस्तिष्कमा जैविक परिवर्तन हुन्छ। अनि त्यसले प्रत्येक व्यक्‍तिमा नयाँ कुराहरूमा कुशलता प्राप्त गर्ने तथा पुराना जानकारीहरू सम्झनसक्ने क्षमता उन्‍नति भएका प्रशस्त प्रमाणहरू पाइएका छन्‌।” अतः पौडनु, दौडनु, बल खेल्नु, साइकल चढ्‌नु, स्केटिङ गर्नु र त्यस्तै हल्का कसरतले तन र मन दुवैलाई असल गर्छन्‌।—१ तिमोथी ४:८.

सिक्ने क्षमता विकार भएकाहरूलाई नियमित तवरमा औषधी लिने सुझाउ दिइन्छ। एडीएचडीले पीडित ७० प्रति- शत केटाकेटीहरूलाई मनोद्दीपक औषधीहरू दिंदा तिनीहरूले सकारात्मक प्रतिक्रिया देखाए भन्‍ने दाबा गरिएको छ। यस समस्याको गहराइ, हुनसक्ने प्रतिकूल असर र अन्य कुराहरू विचार गरेपछि यो औषधोपचार प्रणाली प्रयोग गर्ने वा नगर्ने त्यो निर्णय तपाईं र तपाईंका आमाबाबुको हो।

आत्मसम्मान कायम राख्नुहोस्‌

हुन त सिक्न गाह्रो हुने कठिनाइलाई भावनात्मक समस्याको रूपमा लिइएको छैन तर त्यसले भावनामा खलल भने पुऱ्‍याउनसक्छ। आमाबाबु तथा शिक्षकहरूबाट निरन्तर अस्वीकृत र आलोचनाको पात्र हुँदा, विद्यालयमा अनुत्तीर्ण हुँदा वा सन्तोषजनक नतिजा प्राप्त नहुँदा र घनिष्ठ मित्रहरूको अभावले सजिलै आत्मसम्मान घट्‌छ। केही जवानहरू यस भावनालाई रीस देखाएर वा धम्क्याएर लुकाउन चाहन्छन्‌।

सिक्न गाह्रो हुने समस्याले गर्दा आफ्नो आत्मसम्मान गुमाउनु पर्दैन।c सिक्न गाह्रो हुने समस्याले पिरोलिएकाहरूसित काम गर्ने एक पेशेवरले “मेरो लक्ष्य जीवनप्रति तिनीहरूको मनोवृत्ति परिवर्तन गर्नु हो। अर्थात्‌ ‘म मूर्ख हुँ, म कुनै पनि काम राम्ररी गर्न सक्दिनँ भन्‍नुको साटो . . . मैले समस्यालाई जित्नै लागेको छु र मैले यत्ति धेरै गर्नसक्दो रहेछु भनेर त सोचेकै थिइनँ’ भन्‍न लगाउनु हो” भने।

अरूको मनोवृत्तिबारे केही गर्न नसक्नु भए तापनि तपाईंले आफ्नो मनोवृत्तिलाई भने परिवर्तन गर्न सक्नुहुन्छ। जेस्सिकाले त्यसै गरिन्‌। तिनले यसो भनिन्‌: “विद्यालयमा केटाकेटीहरूले जे भने वा मलाई जुन नाउँले बोलाउँथे, त्यसको आधारमा आफूलाई जाँच्दा म विद्यालयबाट भाग्न चाहन्थें। तर अहिले म तिनीहरूले भनेका कुरा सुनेको नसुन्यै गर्नुका साथै सके जति राम्रो गर्ने यत्न गरिरहेकी छु। त्यसो गर्नु गाह्रो छ र आफैलाई सम्झाइ रहनुपर्छ तर सफलता अवश्‍य पाइन्छ।”

जेस्सिकाले अर्को कुरामा पनि चित्त बुझाउनुपऱ्‍यो। तिनको दाइ पढन्ते विद्यार्थी थिए। जेस्सिका भन्छिन्‌, “मैले उहाँसित आफ्नो तुलना गर्न नछाडुञ्जेल त्यसले मेरो आत्मसम्मानमा धक्का पुऱ्‍यायो।” अतः आफूलाई दाजुभाइ वा दिदीबहिनीसित तुलना नगर्नुहोस्‌।—गलाती ६:४ तुलना गर्नुहोस्‌।

भरपर्दो मित्रसित कुरा गर्दा पनि उचित सकारात्मक धारणा राख्न मदत पाउनुहुनेछ। उन्‍नति गर्ने यत्न गर्नुहुँदा साँचो मित्रले सधैं तपाईंलाई साथ दिनेछ। (हितोपदेश १७:१७) अर्कोतिर खराब मित्रले तपाईंको धज्जी उडाउन वा तपाईं स्वयंबारे अनुचित धारणा राख्न लगाउनसक्छ। तसर्थ, मित्रहरू छान्दा होश पुऱ्‍याउनुहोस्‌।

तपाईंलाई सिक्न कठिन हुन्छ भने पक्कै पनि अन्य किशोरकिशोरीहरूले भन्दा तपाईंले धेरै ताडना पाउनुहुनेछ। तर त्यसको कारण आफूप्रति नकारात्मक धारणा सिर्जना नगर्नुहोस्‌। दिइएको ताडनालाई महत्त्वपूर्ण ठान्दै ईश्‍वरीय दृष्टिकोण राख्नुहोस्‌। नबिर्सनुहोस्‌, तपाईंका आमाबाबु तपाईंलाई माया गर्नुहुन्छ र तपाईंको भलो चाहनुहुन्छ भन्‍ने प्रमाण उहाँहरूले दिनुहुने ताडना हो।—हितोपदेश १:८, ९; ३:११, १२; हिब्रू १२:५-९.

अहँ, आफ्नो सिक्ने क्षमता विकार समस्याको कारण तपाईं हतोत्साही नहुनुहोस्‌। त्यसलाई कम पार्न तपाईंले केही गरेर हाँस्दैखेल्दै आफ्नो जीवन बिताउन सक्नुहुन्छ। यसका साथै आशा गरेर बस्ने अर्को ठूलो कारण पनि छ। परमेश्‍वरले प्रशस्त मात्रामा ज्ञान हुने अनि तन र मन दुवै विकारहरू हटाइने धार्मिक मानिसहरूको नयाँ संसारको प्रतिज्ञा गर्नुभएको छ। (यशैया ११:९; प्रकाश २१:१-४) त्यसैले यहोवा परमेश्‍वर अनि उहाँका उद्देश्‍यहरूबारे अझ धेरै सिक्न दृढ निश्‍चयी हुनुहोस्‌ र त्यस ज्ञानअनुसार चल्नुहोस्‌।—यूहन्‍ना १७:३.

[फुटनोटहरू]

a कुनै कुनै नाउँ परिवर्तन गरिएका छन्‌।

b कृपया ब्यूँझनुहोस्‌!-का (अंग्रेजी) नोभेम्बर २२, १९९४ को “कठिन केटाकेटीहरूलाई बुझ्ने” विषयक श्रृंखलाबद्ध लेख र मे ८, १९८३ को “के तपाईंको छोरा वा छोरीलाई सिक्ने समस्या छ?” विषयक लेख हेर्नुहोस्‌।

c ब्यूँझनुहोस्‌! (अंग्रेजी) अप्रिल ८, १९८३ को “युवा जनहरू सोध्छन्‌ . . . म आत्मसम्मान कसरी बढाउनसक्छु?” विषयक लेख हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्र]

सिक्न प्रतिबद्ध हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने