प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ३/८ पृ. १७-१९
  • तपाईं आफै टुसा उमार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं आफै टुसा उमार्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तयारी
  • टुसा उमार्ने
  • टुसाका कस्ता परिकारहरू बनाउन सकिन्छ
  • बीउ बढाउन पानी हाल्नै पर्छ
    हाम्रो राज्य सेवा—२०११
  • राज्य सत्यको बीउ छर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • विविधता—जीवन धान्‍नको लागि अपरिहार्य
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ३/८ पृ. १७-१९

तपाईं आफै टुसा उमार्नुहोस्‌

हवाइका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

के तपाईं कहिलेकाहीं ताजा, कलिलो र पौष्टिक पदार्थयुक्‍त तरकारी बजारमा धुइँधुइँती खोज्नुहुन्छ? अब नखोज्नुभए हुन्छ! थोरै समय र मेहनतमा तपाईंले आफ्नो घर वा कोठामा तरकारी उमार्न सक्नुहुन्छ। कसरी? टुसा उमारेर!

टुसा उमार्न यति सजिलो छ कि सानो बच्चाले समेत यो काम गर्नसक्छ। यो उमार्न ठूलो ठाउँ पनि चाहिंदैन, गोडगाड र झार उखेल्ने झन्झट पनि छैन र कुन मल हाल्ने हो भनी टाउको दुखाइरहनु पनि पर्दैन। अझ राम्रो कुरा, टुसा उम्रेको चार पाँच दिनमै खान पनि सक्नुहुन्छ! तर यो उमार्न सजिलो मात्रै होइन, यसका थुप्रै फाइदाहरू पनि छन्‌।

एउटा लाभ त यो पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ। शायद साधारण गेडागुडी वा बीउहरूमा भन्दा पनि यसमा धेरै पौष्टिक पदार्थ होला। गे कोर्टरद्वारा लिखित गेडागुडीको टुसा उमार्ने पुस्तक (अंग्रेजी) यसो भन्छ: “टुसा उम्रिंदै जाँदा बीउमा भिटामिन पनि बढ्‌दै जान्छ। पेन्सल्भेनिया विश्‍वविद्यालयमा गरेको एक परीक्षणअनुसार भटमासको (१०० ग्राम [चार आउन्स जति] बीउमा) उम्रेको सुरुका टुसाहरूमा भिटामिन सी १०८ मिलिग्राम मात्रै हुन्छ। तर ७२ घण्टामा भिटामिन सी बढेर ७०६ मिलिग्राम पुग्छ!”

टुसा उमार्नु किफायती पनि छ। वास्तवमा, तपाईंसित यो उमार्न चाहिने सबै सामग्रीहरू पनि छन्‌ होला।

तयारी

पहिला, एउटा भाँडो चाहिन्छ। काँच वा प्लाष्टिकको ठूलो बाटा, धातुबाहेक अन्य वस्तुबाट बनेको डेक्ची वा काँच वा माटोको ठूलो खाले कचौरा अथवा कुनै गहिरो खाले भाँडो भए हुन्छ। त्यति गहिरो नभएको भाँडो पनि चलाउन सक्नुहुन्छ। तर यस्तो भाँडो चलाउँदा तपाईंले सुक्खा हुन नदिन भिजेको मलमल वा नेपाली कागतजस्तो खाले कागतको दुइ पत्रबीच एक पत्र बीउ हाल्न सक्नुहुन्छ। तपाईंले जस्तोसुकै भाँडो छान्‍नुभए तापनि टुसा उम्रनको लागि पुग्दो ठाउँ छ कि छैन र हावा आवतजावत हुन ठाउँ छ कि छैन पक्का गर्नुहोस्‌। मैले चाहिं आलफाल्फाजस्तो सानो बीउको लागि काँचको बाटा अति उत्तम पाएको छु। मुङजस्तो अलि ठूलो खाले बीउलाई चाहिं गहिरो खाले भाँडो राम्रो भएको पाएको छु। यसमा तिनीहरूले अलि धेरै ठाउँ पाउँछन्‌ र टुसा कुहिने वा अमिलो हुने पनि हुँदैन।

भाँडो छोप्न एउटा ढक्कन पनि चाहिन्छ। प्लाष्टिकको जाली, मलमलको कपडा वा थोत्रो पातलो मोजाले पनि काम चल्छ। अनि त्यसले भाँडोको मुख बन्द गर्न बलियो रबर ब्यान्ड वा धागो भए पुग्छ। दिनको दुइ चोटिसम्म बीउलाई भिजाउनुपर्ने हुँदा पानी त चाहिन्छ नै र शायद पानी तर्काउन एउटा चाल्नी पनि।

अनि बीउ पनि चाहियो नि होइन र? खान हुने जति सबै बीउको टुसा निकाल्न सकिन्छ। (तर, म सकेसम्म कुनै प्रकारको रासायनिक पदार्थ प्रयोग नभएको बीउ चलाउँछु।) सिकारुको लागि मुङ वा आलफाल्फा नै बेस हुनेछ। तिनीहरूको टुसा निकाल्न सजिलो हुनुका साथै असाध्यै स्वादिष्ट पनि हुन्छ! गर्ने कसरी, त्यो पनि म तपाईंहरूलाई भन्छु।

टुसा उमार्ने

पहिलो दिन: पहिला बीउलाई राम्रोसित पखाल्नुहोस्‌। बीउ वा गेडागुडी चार पाँच सेन्टिमिटरसम्म डुब्ने गरी भाँडोमा पानी भर्नुहोस्‌। कम्तीमा पनि आठदेखि दश घण्टासम्म बीउलाई भिजाउनुहोस्‌। राती सुत्न जानुअघि भिजाउँदा पनि बेस हुन्छ। आठदेखि दश घण्टापछि बीउ फुल्छ र बोक्रा अलिअलि फाटिन थाल्छ। अब टुसा निस्किन तयार छन्‌।

दोस्रो दिन: बिहान ढक्कन समातेर भाँडोबाट पानी सबै तर्काउनुहोस्‌। (पानीमा एकदमै भिटामिन हुने हुँदा अक्सर म मेरो बोटबिरुवामा हाल्ने गर्छु।) अब, फेरि भाँडोमा पानी भर्नुहोस्‌। एक दुइ चोटि हल्लाउनुहोस्‌ र भाँडालाई ढक्कन समातेर घोप्ट्याउनुहोस्‌। यसो गर्दा बढ्‌ता भएको पानी तर्किन पाउँछ। यसरी भाँडोमा फेरि पानी भरेर पखाल्ने र तर्काउने काम जम्मा तीन चोटि गर्नुहोस्‌। तपाईंले बीउलाई थालमा हाल्नुभएको छ भने मलमलमाथिबाट पानी बिस्तारै हाल्नुहोस्‌ र थाललाई अलि ढल्काएर पानी तर्काउनुहोस्‌। पछि पनि दिनको दुइ चोटि राम्रोसित पखाल्नुहोस्‌।

तेस्रो दिन: अब त तपाईंले टुसा निस्किन थालेको देख्नुपर्ने हो। दिनको दुइ चोटि पखाल्ने चाहिं गर्दै गर्नुहोस्‌।

चौथो दिन: टुसा खान थाले हुन्छ! तपाईंले मुङको टुसा अलि ठूलो हुन दिन सक्नुहुन्छ, यो हतपती तीतो हुँदैन। दिनको दुइ चोटि पखाल्न भने नबिर्सनुहोस्‌। तपाईंले टुसालाई एक घण्टा जति घाममा राखेर फ्रिजमा हाल्न सक्नुहुन्छ। स-साना पात हेर्दै खाऊँ खाऊँ लाग्ने हरियो रंगमा परिणत हुन्छ!

सफलताको स्वाद पाउनु भएपछि तपाईं अरू प्रकारको अन्‍न र बीउको पनि टुसा निकाल्न चाहनुहुन्छ होला। प्रत्येकको स्वाद र टुसा निस्किने समय भिन्‍नाभिन्‍नै हुन्छ। उदाहरणका लागि, तपाईंले खोस्टा निकालेको सूर्यमुखीको बीउको टुसा पनि निकाल्न सक्नुहुन्छ। यो चाहिं दुइ दिनमा अर्थात्‌ टुसा आधा इन्च मात्र लामो हुँदा खानु एकदमै राम्रो हुन्छ। त्योभन्दा लामो भयो भने, तीतो हुनसक्छ।

टुसाका कस्ता परिकारहरू बनाउन सकिन्छ

टुसाहरू त्यतिकै सलाद अथवा स्याण्डवीचमा राखेर काँचै खानसक्छौं वा गेडागुडी र बीउहरू राखेर पकाउने जुनै पनि पकवानमा राख्नसक्छौं। सिमीको टुसा चाहिं खानुअघि १०/१५ मिनेटको लागि बफाउनसक्छौं। वा ठूलो आँचमा अलिकति तेल, लसुन र नुन हालेर भुट्‌न पनि सक्नुहुन्छ। यसो गर्दा असाध्यै मीठो परिकार बन्छ! गहुँ र रायोको टुसा चाहिं एकदमै गुलियो हुने हुँदा पाउरोटीमा राखेर खाँदा राम्रो हुन्छ।

अतः, टुसा उमार्ने काम स्वास्थ्यवर्धक र किफायती छ। तपाईंलाई यो काम रमाइलोका साथै इनामदायी पनि लाग्नसक्छ। जे होस्‌, यसमा सफलता पाउने सम्भावना धेरै छ र नतिजा पनि स्वादिष्ट हुन्छ।

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

जापानी स्टेन्सिल डिजाइन

[पृष्ठ १८-मा भएको चित्र]

पहिलो दिन: बीउ लिनुहोस्‌ र आठदेखि दश घण्टासम्म भिजाउनुहोस्‌

[पृष्ठ १९-मा भएको चित्र]

दोस्रो र तेस्रो दिन: दिनको दुइ चोटि राम्रोसित पखाल्नुहोस्‌

[पृष्ठ १९-मा भएको चित्र]

चौथो दिन: टुसा (यहाँ मलमलमा राखेर उमारिएको पनि देखाइएको छ) खान तयार!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने