बीउ बढाउन पानी हाल्नै पर्छ
१. बीउ सप्रेको चाहन्छौं भने हामीले के गर्नै पर्छ?
१ बगैंचामा रोपिएको बीउ बढाउन त्यसमा पानी हाल्नै पर्छ। हाम्रो इलाकाका मानिसहरूको मनमा रोपिएको सत्यको बीउको सन्दर्भमा पनि त्यसै भन्न सकिन्छ। (१ कोरि. ३:६) प्रतीकात्मक बीउ अर्थात् परमेश्वरको वचनले मानिसहरूको मनमा जरा गाडेको अनि त्यो सप्रेको चाहन्छौं भने ती मानिसहरूलाई पुनःभेट गरेर पानी हाल्नै पर्छ।
२. हामी कसरी पुनःभेट गर्नको लागि आधार तयार पार्न सक्छौं?
२ प्रश्न उठाउनुहोस्: आफ्नो प्रस्तुति तयारी गर्दा पुनःभेटमा छलफल गर्नको लागि एउटा चासो जगाउने खालको प्रश्न पनि तयार गर्नुभए कसो होला? कुराकानीको अन्तमा प्रश्न उठाउनुहोस् अनि पुनःभेट गर्न निश्चित प्रबन्ध मिलाउनुहोस्। थुप्रैले बाइबलले सिकाउँछ किताबमा भएको कुनै एउटा प्रश्न रोजेर छलफल गर्ने तरिका मदतकारी पाएका छन्। यसो गर्दा तिनीहरूले घरधनीलाई बाइबल अध्ययन गर्ने तरिका देखाउन सकेका छन्।
३. रेकर्डमा के-कस्ता जानकारीहरू लेख्न सकिन्छ?
३ रेकर्ड राख्नुहोस्: पहिलो भेटमा घरधनीसित कुराकानी गरेर सिद्धिएपछि जतिसक्दो चाँडो रेकर्ड राख्न पर्याप्त समय दिनुहोस्। उक्त व्यक्तिको नाम र ठेगाना लेख्नुहोस्। त्यस व्यक्तिसित कुराकानी गरेको मिति र समय, कुराकानीको विषय अनि कुनै साहित्य दिनुभएको छ भने त्यो पनि लेख्नु राम्रो हुन्छ। के तिनले आफूले मान्ने धर्म कुन हो भनेर बताएका थिए? के तिनको परिवार छ? के तिनले आफ्नो चासो र चिन्ताबारे बताएका थिए? यी जानकारीहरूले तपाईंलाई पुनःभेटमा उक्त व्यक्तिको आवश्यकतालाई ध्यानमा राखेर कुराकानीलाई अघि बढाउन मदत गर्नेछ। घरधनीलाई फेरि भेट्ने समय र तिनलाई छोडेको प्रश्न पनि लेख्नुहोस्।
४. हामीले किन चासो देखाएकाहरूलाई हार नमानीकन पुनःभेट गरिरहनुपर्छ?
४ हार नमान्नुहोस्: सैतानले मानिसको मनमा छरिएको ‘परमेश्वरको वचन खोसेर लैजान’ सक्दो कोसिस गर्छ। (मर्कू. ४:१४, १५) त्यसकारण पुनःभेटमा जाँदा चासो देखाएकाहरूलाई घरमा भेट्टाउन गाह्रो भयो भने हार नमान्नुहोस्। बरु तिनीहरूलाई पत्र लेख्न वा कुनै नोट लेखेर ढोकामा छोड्न सक्नुहुन्छ कि? एक अग्रगामीले एक जना आइमाईसँग ढोकामै बाइबल अध्ययन सुरु गरिन् तर पछि तिनलाई घरमा भेट्न सकिनन्। त्यसकारण उक्त अग्रगामीले तिनलाई पत्र लेखिन्। अन्ततः उक्त अग्रगामीले तिनलाई घरैमा भेट्न सकिन् र ती आइमाईले आफूप्रति देखाइएको व्यक्तिगत चासोले गर्दा आफू एकदमै प्रभावित भएको कुरा बताइन्। सत्यको बीउमा पानी हालेर त्यो अङ्कुराएको, सप्रेको अनि ‘कुनैले तीस गुणा, कुनैले साठी गुणा अनि कुनैले सय गुणा फल फलाएको’ देख्न पाउँदा हामी आनन्दित हुन सक्छौं।—मर्कू. ४:२०.