न्युजील्याण्डका—फिस्टे ज्योतिवाहकहरू
न्युजील्याण्डका ब्यूँझनुहोस्! संवाददाताद्वारा
निष्पट्ट अँध्यारो तर छ्यांग आकाश। हामीले राती बास बसेको ठाउँमा बत्ती मात्र के निभाएका थियौं, स्वच्छ आकाशभरि टम्म ताराहरू चमचम चम्किरहेका देख्यौं। भिरालो बाटो हुँदै हामी तल साँघुरो खोंचको बाफिलो पानीको पोखरीतर्फ जाँदैथियौं। बाफ उडिरहेको पोखरीको दुवै किनारातर्फ झारपातहरू उम्रेका थिए। दिनभरिको यात्राको थकान मेटाउन हामी पानीभित्र पसेर आराम गर्न थाल्यौं। जमीनबाट आफै उम्लेर निक्लेको तातो पानीको यो पोखरी हामी राती बास बसेको ठाउँ नजीकै थियो।
म आकाशतिर हेर्दैथिएँ र एउटा तारा सुइँक्क गएजस्तो लाग्यो। तर मेरी पत्नीलाई त्यो कुरा भन्न मुण्टो फर्काएको मात्र के थिएँ, बर्ल्याङ पानीमा लडिहालें। उदेकलाग्दो त के भयो भने, मैले देखेका ती थुप्रै ताराहरू एक्कासि गायब भए! अनि अचम्म लागेर म बोल्दै गर्दा साराका सारा ताराहरू लोप भए। ब्रह्माण्डमा प्वाल पो पऱ्यो कि जस्तो मलाई लाग्यो!
के भएको होला भनेर बुझ्ने कोसिस गर्दैथिएँ, यत्तिकैमा ताराहरू फेरि एक एक गर्दै देखा परे। अनि ताराहरूको एउटा समूह त अरू ताराको समूहभन्दा नजीकैमा देखें। मानौं, कुनै कुनै तारालाई त छुन पनि सकिन्थ्यो। खासगरि हामीले यो प्रथम पटक न्युजील्याण्डको जूनकीरी देखिरहेका थियौं। हामीमाथिका हरिया घाँसपातहरूमा ती झुण्डिरहेका थिए र ताराहरूसितै तिनीहरूको मधुरो ज्योति पनि मिसिएको थियो।
न्युजील्याण्डको यो जूनकीरी एक प्रकारको कीरा हो। यो विश्वको अरू भागमा पाइने जूनकीरी र प्रकाश निकाल्ने कीराहरूभन्दा बेग्लै हुन्छ। यसको नाम आर्कोनोक्याम्पा ल्युमिनोसा राखिएकोले यो प्रकाश निकाल्ने एक प्रकारको माकुरा हो जस्तो तपाईंलाई लाग्ला। तर त्यो पनि साँचो होइन।
यसरी त्यहाँ पहिलो पटक ती जूनकीरी देखेको तुरुन्तैपछि न्युजील्याण्डको उत्तरी द्वीपस्थित विटोमो ओडारमा फेरि ती देख्यौं। जूनकीरी बस्ने ओडारमा हामीले गरेको यात्राबारे बताउँदैछु, त्यहाँ हामी डुंगाद्वारा यी साना प्राणीहरू हेर्न गएका थियौं।
विटोमो ओडार
यो जूनकीरी बस्ने ओडार हो र आश्चर्यलाग्दो छ। हजारौं वर्षदेखि ओडारको छतबाट झरेर थुप्रिएको चूनाको रासको अद्भुत कलाकृति देखाउन यहाँ आकर्षक ढंगमा ज्योति जगमगिन्छ। हामी हिंड्दै जाँदा हाम्रो मार्ग निर्देशकले उज्यालो देखाइदिन्थ्यो र आकर्षक बनावट र सुरुङहरू देखेर दंग पर्थ्यौं। जमीनमुनि पनि त्यस्तो अचम्मको ठाउँ होला भनेर आशै गरेका थिएनौं। भऱ्याङ टुंगिएको ठाउँ निष्पट अँध्यारो थियो र त्यहाँ पुग्दा हाम्रो पदध्वनि जोरले गुञ्जियो। जसै हामी अन्धकारमा हिंड्ने कोसिस गर्दैथियौं, माथितिर स-साना हरियो-हरियो प्रकाश चमचम चम्किंदै गरेको देख्न थाल्यौं। आहा, जूनकीरी!
हामी घाटमा पुगेर डुंगा चढ्यौं। घाटबाट निक्लेर त हामी अँध्यारो ठाउँमा पो पुग्यौं। त्यसपछि, हामी किनारातिर लाग्दा माथितिर जे देख्यौं, त्यसलाई आकाशगंगाको नमुना भन्न सिवाय त्यसको वर्णन गर्ने मसित अर्को शब्दै छैन। ओडारको छाना जूनकीरीले टम्म ढाकेको थियो। लेखक जर्ज बर्नाड शाले यस ठाउँलाई “विश्वको आठौं आश्चर्य” भनेका थिए।
आकर्षक जूनकीरी
जूनकीरी हेर्ने हाम्रो त्यो भ्रमण सिद्धियो र त्यहाँ हामीलाई जूनकीरीले छक्कै पारेको थियो। त्यसैले, यसबारे अझ सिक्न हाम्रो मन एकदमै चुलबुल भयो। अनि जे थाह पायौं, त्यो हामीले देखेकै जत्तिको आकर्षक थियो। फिस्टे लाब्रेबाट जीवन सुरु हुँदा नै न्युजील्याण्डका यी जूनकीरीको पुच्छरमा प्रकाश चम्किन थालिसकेको हुन्छ। यसले आफ्नो मुखमा भएका विभिन्न ग्रन्थीहरूबाट ऱ्याल र धागो निकालेर झोलुंगो बनाउँछ अनि त्यसलाई ओडारको भित्री छतमा झुन्ड्याउँछ। यो झोलुंगो खासगरि सुरुङ हो, जसभित्र लाब्रे अघिपछि ओहरदोहर गर्नसक्छ।
यस जूनकीरीलाई बाँच्नको लागि खानेकुरा चाहिन्छ। त्यसैकारण, यो छदेखि नौ महिनासम्म झोलुंगोमा झुन्डिएर शिकार गर्छ। ती शिकारहरू पानी मार्फत आउने भए तापनि यसले ती हावामा पक्रन्छ। प्रमुख नदी मार्फत यसको खानेकुराको रूपमा प्रकाशदेखि लट्ठ पर्ने भुसुना, लामखुट्टे आदि कीराहरू आउँछन्। जूनकीरीले ती कीराहरू पक्रन आफ्नो झोलुंगोबाट रेशमी धागोहरू (कहिलेकाहीं ७० वटा) तलतिर टांग्छ। बराबर अन्तरमा तलतिर झारेको प्रत्येक धागोमा च्यापच्याप टाँसिने ऱ्यालका थोपाहरू हुन्छन्। तसर्थ, यसो हेर्दा ती डोरीहरू तर्लङ्ग झुन्डिएको मोतीको स-साना हारजस्तो देखिन्छन्।
यी जूनकीरीको सबैभन्दा आकर्षक कुरा नै प्रकाश हो। त्यसै प्रकाशद्वारा ती टांगिएका धागोहरू टलक टलक टल्कन्छन्। न्युजील्याण्डका यी जूनकीरी, ती कीराहरूमध्ये पर्छ जसको चम्किने प्रकाश स्नायु प्रणालीसित सम्बन्धित हुँदैन। यद्यपि, यसले इच्छाअनुसार आफ्नो प्रकाश निभाउनसक्छ। प्रकाश दिने अंग निष्कासनद्वारको अन्तमा हुन्छ अनि यसमा लाब्रेको श्वासप्रश्वास प्रणालीको एउटा भागले तलतिर प्रकाश पठाएर परावर्तकको काम गर्छ। यसले प्रकाशलाई चाहिने अक्सिजन वा रासायनिक तत्त्वहरू रोकेर प्रकाश निभाउँछ।
तथापि, जूनकीरी बस्ने सुरुङभित्र चम्किरहेको प्रकाश कुनै कीराले चिताएको जस्तो हुँदैन। शिकार कीरा खतरनाक रेशमी धागोहरूको फन्दामा पर्छ। कसै कसैले बताएअनुसार ती रेशमी धागोहरूमा हुने रासायनिक तत्त्वले त्यसलाई बिस्तारै बेहोश बनाउँछ। ती धागो हल्लिंदा शिकार फन्दामा परेको थाह पाउँछ अनि झोलुंगोबाट निक्लेर जूनकीरीको त्यो लाब्रे तुलुङ्ग झुन्डिन्छ र शरीर खुम्चाउँदै डोरी मुखतिर तान्छ।
छदेखि नौ महिनासम्म झुन्डिएर शिकार गर्दै खाएपछि यो लाब्रे वयस्क हुन्छ। वास्तवमा, वयस्क जूनकीरीको जीवन अनिश्चित हुन्छ। यो दुइ वा तीन दिन मात्र बाँच्छ किनभने वयस्क जूनकीरीको मुख हुँदैन र खान सक्दैन। यसले बाँकी समय सन्तान उत्पादन गर्न बिताउँछ। खोलबाट निक्लनासाथ पोथीले अण्डा पार्छे। पोथीलाई एक एक गर्दै अण्डा पार्न पूरै दिन लाग्छ अनि त्यसपछि त्यो मर्छे। मानिसहरूलाई चम्किलो तारापुञ्जको आभास गराएर आनन्द दिने न्युजील्याण्डका यी फिस्टे ज्योतिवाहकको १० देखि ११ महिने जीवनचक्र यसरी अन्त हुन्छ।
[पृष्ठ १७-मा भएको चित्र]
अर्को पृष्ठः जूनकीरी बसेको ओडारमा पस्दै गरेको
[पृष्ठ १७-मा भएको चित्र]
माथिः जूनकीरीको प्रकाशले जगमगिरहेको ओडारको छाना
[पृष्ठ १७-मा भएको चित्र]
दाहिने: जूनकीरी झुन्डिएर शिकार गर्छ
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
पृष्ठ १६-१७ का चित्रहरू: Waitomo Caves Museum Society Inc.