प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ६/८ पृ. २४-२७
  • “धर्मविरोधी” माथि मुद्दा तथा मृत्युदण्ड

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “धर्मविरोधी” माथि मुद्दा तथा मृत्युदण्ड
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मुद्दा र अटो-डा-फे
  • धार्मिक अधिकारीको मुद्दा
  • जवान विद्यार्थीलाई दिइएको मृत्युदण्ड
  • गम्भीर दोषको अर्को कारण
  • अकल्पनीय यातनाका औजारहरू
    ब्यूँझनुहोस्‌!—१९९८
  • “अधर्मको मानिसको” विरूद्धमा परमेश्‍वरको न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • कथारीहरू—के तिनीहरू मसीही शहीदहरू थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ६/८ पृ. २४-२७

“धर्मविरोधी” माथि मुद्दा तथा मृत्युदण्ड

इटालीका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अन्धकारले छाएको न्यायालयको एउटा कुनामा न्यायाधीशहरूका अग्ला शानदार कुर्सीहरू छन्‌। बीचमा रहेको अध्यक्षको कुर्सी चाहिं चँदुवाले बेरिएको छ अनि त्यस न्यायालयको मुख्य आकर्षण नै काठको ठूलो क्रूस हो। अनि त्यसको अगाडि कठघरा छ।

यसरी नै अक्सर निष्ठूर क्याथोलिक इन्क्विजिशनको वर्णन गरिन्थ्यो। लाचार प्रतिवादी अर्थात्‌ “धर्मविरोधी” माथि भयंकर अभियोग लगाइन्थ्यो। धर्मविरोधी भन्‍ने शब्द सुन्‍ने बित्तिकै मनमा यातना र जिउँदै शूलीमा जलाइएको चित्र आउँछ। इन्क्विजिशन (यो ल्याटिन क्रिया इनक्युरो-बाट आएको हो, यसको अर्थ “सोधपुछ गर्नु” हो।) विशेष धार्मिक अदालत थियो जुन धर्मविरोधीहरूलाई नामेट गर्न स्थापना गरिएको थियो। धर्मविरोधी भन्‍नाले कट्टरपन्थी रोमन क्याथोलिक शिक्षाअनुरूप नलाग्ने मानिसहरू बुझिन्छ।

इन्क्विजिशन एकैचोटि स्थापना भएको होइन भनी केही क्याथोलिक स्रोतहरू भन्छन्‌। इन्क्विजिशन पोप लुसियस तेस्रोले सन्‌ ११८४ मा भेरोनाको परिषद्‌मा स्थापना गरे अनि यसको संगठन र कार्यप्रणालीलाई अन्य पोपहरूले अझ बढी खार्दै लगे। यदि यस शब्दले त्यस्तो डरलाग्दो संस्थाको वर्णन गर्न मिल्छ भने। पोप ग्रेगरी नवौंले १३ औं शताब्दीमा युरोपका विभिन्‍न ठाउँहरूमा जाँचपड्‌ताल आयोग गठन गरे।

शासनारूढ सार्वभौम फर्डिन्यान्ड र इसाबेलाको आग्रहमा पोप सिक्टस चौथोले सन्‌ १४७८ मा त्यस कुख्यात स्पेनी इन्क्विजिशन स्थापना गर्न विज्ञप्ति जारी गरे। सतावटबाट बच्नको निम्ति क्याथोलिक धर्म अपनाएको ढोंग रच्ने यहूदीहरू अर्थात्‌ मारानो विरुद्ध; सोही कारण क्याथोलिक धर्म अपनाएका मुस्लिम धर्मावलम्बी मरीसकस विरुद्ध र स्पेनी धर्मविरोधीहरू विरुद्ध लड्‌न त्यो खडा गरिएको थियो। डोमिनिकन भिक्षु टोमास दे टर्कमेडाको हठी जोसले गर्दा तिनी स्पेनमा इन्क्विजिशनको प्रमुख समर्थक हुनुका साथै यसको सबैभन्दा नराम्रो पक्ष बन्‍न पुगे।

पोप पल तृतीयले १५४२ मा रोमी इन्क्विजिशन गठन गरे र यसले सम्पूर्ण क्याथोलिकमाथि अधिकार जमाएको थियो। तिनले होलि रोमन एण्ड युनिभर्सल इन्क्विजिशन नामक पादरीहरूको छ सदस्यीय आयोग गठन गरे अनि त्यो “सरकार पूरा रोम नै थर्कमान हुनेगरि दमनकारी” बन्‍नपुग्यो। (डेत्सोनारियो इन्कख्लेपेडेको इटालियानो) धर्मविरोधीहरूलाई मृत्युदण्ड दिएको देखेर क्याथोलिक धर्मतन्त्रले पूर्ण अधिकार जमाएको मुलुकहरू भयभीत भए।

मुद्दा र अटो-डा-फे

धर्मविरोधी हुँ भनी जबरजस्ती स्वीकार्न लाउन इन्क्विजिशनका समर्थकहरूले अभियुक्‍तहरूलाई यातना दिएका थिए भनी इतिहासले पुष्टि दिन्छ। इन्क्विजिशनको दोषलाई न्यून गर्ने प्रयासमा क्याथोलिक टिप्पणीकारहरूले त्यतिबेला सरकारी अदालतहरूमा पनि यातना दिनु सामान्य कुरा थियो भनी लेखेका छन्‌। तर ख्रीष्टको प्रतिनिधि भनी दाबी गर्ने सेवकहरूको त्यस्तो कार्य के तार्किक छ त? ख्रीष्टले झैं तिनीहरूले पनि आफ्ना शत्रुहरूप्रति दयामाया देखाउनुपर्ने होइन र? यसलाई निष्पक्ष ढंगमा जाँच्न हामीले एउटा सरल प्रश्‍नमाथि विचार गर्नसक्छौं: के ख्रीष्ट येशूले उहाँको शिक्षासित सहमत नहुनेहरूलाई त्यस्तो सास्ती दिनुहुने थियो होला र? येशूले यसो भन्‍नुभयो: “आफ्ना शत्रुलाई प्रेम गर, र तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर।”—लूका ६:२७.

इन्क्विजिशनको न्यायालयमा अभियुक्‍तले न्याय पाउने कुनै ग्यारेन्टी थिएन। वास्तवमा, जाँचपड्‌ताल गर्नेसित असीमित अधिकार हुन्थ्यो। “शंका, अभियोग वा सुनेको भरमा मात्रै पनि जाँचपड्‌ताल गर्नेले कोही व्यक्‍तिलाई आफू सामुन्‍ने हाजिर हुन बोलाउनसक्थे।” (इनसाइक्लोपीडिया क्याटोलिका) रोमीहरूले बनाएको पुरातन अभियुक्‍त प्रणाली व्यवस्थालाई बेवास्ता गरेर क्याथोलिक धर्मतन्त्र आफैले इन्क्विजिशनको न्याय प्रणाली रचेको र ग्रहण गरेको हो भनी कानुन इतिहासकार इटालो मेरोइ बताउँछन्‌। रोमी व्यवस्थाअनुसार अभियोग लाउने मान्छेले आफ्नो दोष जायज हो भनी प्रमाणित गर्नुपर्थ्यो। पूरा प्रमाण छैन भने अभियुक्‍तलाई दोषी ठहराउनुको साटो दोषमुक्‍त गर्नु नै बेस हुनेथियो। शंकाको भरमा दोषी ठहराउने र उल्टो प्रतिवादीले नै आफ्नो निर्दोषिता प्रमाणित गर्नुपर्ने नियम लागू गरेर क्याथोलिक धर्मतन्त्रले स्थापित रोमी व्यवस्थाको ठाउँ लियो। वादीका साक्षीहरूलाई (जानकारी दिने मान्छे) गोप्य राखिन्थ्यो र कथंकदाचित्‌ प्रतिवादीको वकिल छ र तिनले तथाकथित धर्मविरोधीको प्रतिवाद सफलतापूर्वक गरेमा बदनामीका साथै आफ्नो पद नै गुम्ने खतरा हुन्थ्यो। फलतः, इनसाइक्लोपीडिया क्याटोलिका यसरी स्वीकार्छ “अभियुक्‍त वास्तवमा निस्सहाय हुन्थ्यो। तिनको वकिलले अभियुक्‍तलाई दोष स्वीकार्ने सल्लाह दिनेबाहेक अरू के नै गर्नसक्थे र!”

मुद्दाको चरमोत्कर्ष अटो-डा-फेमा पुग्थ्यो। यो पुर्तुगाली शब्द हो र जसको अर्थ “विश्‍वासको कार्य” हो। त्यो के थियो? त्यस समयका चित्रहरूले धर्मविरोधीको अभियोग लागेका अभियुक्‍तहरू भयंकर तमाशाको पात्र बन्‍न पुगेको चित्रित गर्छ। डेत्सोनारायो एक्लास्तेको-ले अभियोग पढेपछि “दोषी र पश्‍चात्तापी धर्मविरोधीले मिलापको लागि जनसाधारणसामु गर्ने कार्य” नै अटो-डा-फे भनी परिभाषित गरेको छ।

धर्मविरोधीलाई एक एक्लै दोषी ठहराउने र मृत्युदण्ड दिनुको साटो छ महिना वा त्यस्तैमा एक हूल अभियुक्‍तहरूलाई एकैचोटि मृत्युदण्ड दिइन्थ्यो। धर्मविरोधीहरूको लामो लस्कर दर्शकहरूको अघिबाट लगिन्थ्यो अनि दर्शकहरू चाहिं डर र पीडाको मिश्रित भावनासाथ हेर्थे। ठूलो चोकको बीचमा बनाइएको मचानमा दोषी चढ्‌नुपर्थ्यो अनि ठूलो स्वरले तिनको अभियोग पढेर सुनाइन्थ्यो। धर्मविरोधी सिद्धान्त परित्याग गर्नेहरू समाजबाट बहिष्कृत हुनबाट बच्थे र तिनीहरूलाई जन्मकैद वा त्यस्तै अन्य दण्डहरू दिइन्थ्यो। त्यस सिद्धान्त परित्याग नगर्ने तर पछि अन्तिम घडीमा पादरीसामु आफू धर्मविरोधी हुँ भनी स्वीकार्नेहरूको गला अँठ्याएर मार्न, झुन्ड्याउन वा घाँटी छिनालेर जलाइ दिन सरकारी अधिकारीहरूलाई सुम्पिन्थ्यो। अपश्‍चात्तापीहरूलाई जिउँदै जलाइन्थ्यो। सर्वसाधारणअघि अर्को एउटा तमाशा गरेपछि मात्रै मृत्युदण्ड दिइन्थ्यो।

रोमी इन्क्विजिशनमा हुने गतिविधिहरू एकदमै गुपचुपसित गरिन्थ्यो। आजसम्म पनि शास्त्रविद्‌हरूले ती पुराना कागजातहरू हेर्न अनुमति पाएका छैनन्‌। तथापि, लगनशीलताका साथ गरिएका अध्ययनहरूद्वारा रोमी अदालतका थुप्रै मुद्दामामिलाका कागजातहरू प्रकाशमा आएका छन्‌। त्यसबाट के प्रकाश भएको छ?

धार्मिक अधिकारीको मुद्दा

फ्लोरेन्समा १६ औं शताब्दीको सुरुतिर जन्मेका पेट्रो कार्नेशीले पोप क्लेमेन्त सातौंको अदालतमा आफ्नो धार्मिक कार्यमा धेरै प्रगति गरे अनि पोप क्लेमेन्त सातौंले तिनलाई निजी सचिवको रूपमा नियुक्‍त गरे। तथापि, पोपको मृत्युपछि कार्नेशीको कार्य तुरुन्तै बन्द भयो। पछि तिनको चिनापर्ची केही ठूलाबडा मानिस तथा पादरीहरूसित भयो जसले तिनले जस्तै प्रोटेस्टेन्ट सुधारवादीहरूले सिकाएका केही धर्मसिद्धान्तहरू स्वीकारेका थिए। फलतः तिनीमाथि तीनचोटि मुद्दा लगाइयो। ज्यान सजाय दिएपछि तिनको टाउको काटियो र शरीर जलाइयो।

कार्नेशी कैदी छँदा तिनी जिउँदो लाससरह थिए भनी टिप्पणीकारहरू भन्छन्‌। तिनको अडानलाई तोड्‌न तिनलाई सास्ती दिनुका साथै भोकै राखियो। सेप्टेम्बर २१, १५६७ का दिन विधिपूर्वक तिनको अटो-डा-फे रोममा झन्डै सबै कार्डिनलहरूको अगाडि गरिएको थियो। भीडअगाडि कार्नेशीलाई मचानमा राखेर तिनको दण्ड सुनाइयो। अन्तमा परम्परागत विधिका साथै निजामती अदालतका सदस्यहरूको लागि प्रार्थना गरिन्थ्यो। अनि सोही अदालतमा धर्मविरोधीलाई हस्तान्तरण गरिन्थ्यो र अभियुक्‍तलाई न ता ‘त्यति कठोर दण्ड दिन न मृत्युदण्ड वा अचाक्ली सास्ती नै दिन पाइन्थ्यो।’ के यो अचाक्ली पाखण्डपनको उदाहरण होइन र? इन्क्विजिशनका समर्थकहरू धर्मविरोधीहरू हटाउन चाहन्थे तर आफ्नो छविलाई धक्का नपुऱ्‍याउन र रक्‍तपातको दोष अरूमाथि थोपर्न सरकारी अधिकारीहरूप्रति दया देखाउन आग्रह गरेको ढोंग गर्थे। कार्नेशीको सजाय पढेपछि तिनलाई स्यानबेनिटोमा हालियो। स्यानबेनिटो भनेको एउटा भांग्रा हो जसमा पश्‍चात्तापीहरूका लागि पहेंलो रंगमा रातो क्रूस बनाइएको हुन्छ भने अपश्‍चात्तापीहरूका लागि कालो रंगमा आगो र पिशाच बनाइएको हुन्छ। त्यसको दश दिनपछि मृत्युदण्ड दिइन्थ्यो।

चर्चको यस भूतपूर्व सचिवलाई किन धर्मविरोधको अभियोग लगाइएको? उन्‍नाइसौं शताब्दीको अन्ततिर पाइएको तिनको मुद्दाको कागजातहरू हेर्दा तिनलाई ३४ वटा अभियोगमा दोषी ठहराइएको पाइयो र यो तिनले विरोध गरेको धर्मसिद्धान्तको आधारमा थियो। तिनीहरूमध्ये पापमोचन स्थान, पादरी तथा ननहरू कौमार्य बस्नुपर्ने, ट्रान्ससब्स्टेन्सीएशन, कन्फर्मेशन, पाप प्रायश्‍चित, कुनै खाना बार्नुपर्ने र “सन्तहरूलाई” प्रार्थना गर्नेजस्ता शिक्षाहरू थियो। आठौं अभियोग विशेषगरि चाखलाग्दो छ। (पृष्ठ २७ को पेटी हेर्नुहोस्‌।) इन्क्विजिशन न्यायालयले “पवित्र धर्मशास्त्रमा पाइने परमेश्‍वरका वचनमाथि मात्रै” विश्‍वास गर्नेहरूलाई मृत्युदण्ड दिंदा के कुरा स्पष्ट भयो भने, क्याथोलिक चर्चले पवित्र बाइबल मात्रै प्रेरित स्रोत हो भनी इन्कार गरेको थियो। अतः, चर्चका कतिपय धर्मसिद्धान्तहरू धर्मशास्त्रमा नभई चर्चका परम्पराहरूमा आधारित हुनु कुनै छक्कलाग्दो कुरा होइन।

जवान विद्यार्थीलाई दिइएको मृत्युदण्ड

नेपल्समा १५३१ मा जन्मेका पोम्पोन्यो आल्जारेका छोटो तथा हृदय विदारक जीवनकथा त्यति प्रख्यात त छैन तर समयको अन्तरालमा प्रकाशमा आएको छ। धन्यवाद छ ती शास्त्रविद्‌हरूलाई जसले ऐतिहासिक घटनाहरूबारे लगनशीलताका साथ थुप्रै अध्ययनहरू गरे। पादुवा विश्‍वविद्यालयमा अध्ययनरत छँदा युरोपका विभिन्‍न भागबाट आएका शिक्षक तथा विद्यार्थीहरूसित तिनको चिनापर्ची भयो र त्यही मार्फत आल्जारेको तथाकथित धर्मविरोधी तथा प्रोटेस्टेन्ट सुधारवादीहरूसित पनि चिनजान भयो। यसप्रकार धर्मशास्त्रप्रति तिनको चासो बढ्‌दै गयो।

बाइबल मात्रै प्रेरित वचन हो भनी तिनले विश्‍वास गरे अनि फलस्वरूप पापको प्रायश्‍चित, कनफर्मेशन, पापमोचन स्थान, ट्रान्ससब्स्टेन्सीएशन, “सन्तहरू” मध्यस्थकर्ताका साथै पोप ख्रीष्टको प्रतिनिधि हुन्‌ भन्‍ने जस्ता थुप्रै अन्य क्याथोलिक धर्मसिद्धान्तको शिक्षा इन्कार गरे।

आल्जारे पक्राउमा परे अनि पादुवामै छँदा तिनीमाथि जाँचपड्‌ताल आयोगले मुद्दा लगायो। तिनले इन्क्विजिशनका समर्थकहरूलाई यसो भने: “जेल सजाय र शायद मृत्यु पनि यदि परमेश्‍वरको इच्छा हो भने स्वेच्छापूर्वक भोग्न म तयार छु। परमेश्‍वरले उहाँको महिमामा सबैलाई झनै बढी ज्योति दिनुहुनेछ। म सबै प्रकारको यातना हाँसी हाँसी स्वीकार्छु किनभने दुःखीहरूका सान्त्वनादाता ख्रीष्ट नै मेरो ज्योति हुनुहुन्छ र उहाँले सबै अन्धकार हटाउनुहुनेछ।” त्यति नै बेला रोमी इन्क्विजिशनले तिनलाई झिकाउने अनुमति पाए र ज्यान सजाय दिए।

आल्जारेको मृत्यु हुँदा तिनी २५ वर्षका थिए। तिनलाई रोममा मृत्युदण्ड दिइएको दिनमा तिनले पाप स्वीकार्न वा कम्युनियन लिन इन्कार गरे। तिनलाई मृत्युदण्ड दिन चलाइएको सामग्री झनै क्रूर थियो। तिनलाई काठको एक थाकमाथि राखेर जलाइएको थिएन। बरु, एउटा ठूलो कराइमा दनदनसित बल्ने तेल, अलकत्रा र चोप टन्‍नै हालेर भीड सबैले देख्नेगरि मचानमा हालिएको थियो। टनक्क बाँधेर त्यस जवानलाई तल झारियो र त्यो कराइमा आगो दन्काइयो। तिनलाई जिउँदै बिस्तारै जलाएको थियो।

गम्भीर दोषको अर्को कारण

इन्क्विजिशनले मृत्युदण्ड दिएका कार्नेशी, आल्जेरा तथा अरूलाई धर्मशास्त्रबारे पूर्ण ज्ञान थिएन। यस रीतिरिवाजको “अन्तको समयमा” धेरै मानिस “ज्ञान-शून्य” हुनेछन्‌। तैपनि, आफूले परमेश्‍वरको वचनबाट जानेको सीमित सही ज्ञानको आदर गर्दै तिनीहरू मर्न तयार थिए।—दानियल १२:४.

प्रोटेस्टेन्ट सुधारकहरूले समेत विरोधीहरूलाई शूलीमा जिउँदै जलाएर वा क्याथोलिकहरूको मदत लिएर अभियुक्‍तलाई मार्न सरकारी अधिकारीहरूकहाँ सुम्पे। उदाहरणका लागि, क्यालभिन धर्मविरोधीहरूको टाउको छिनालेको चाहन्थे तर त्रिएक विरोधी भएको कारण माइकल सर्बिटसलाई शूलीमा जलाउन लगाए।

क्याथोलिक र प्रोटेस्टेन्टहरू दुवैले धर्मविरोधीहरूलाई सतावट र मुत्युदण्ड दिनु सामान्य थियो भन्दैमा त्यस्तो कार्य उचित थियो भन्‍न मिल्दैन। तर धार्मिक उच्च पदाधिकारीहरू झन्‌ बढी दोषी छन्‌ किनभने तिनीहरूले धर्मशास्त्रअनुसार त्यसो गरेको दाबी गर्छन्‌ अनि परमेश्‍वर स्वयंले आज्ञा दिनुभएको भनेर ढोंग रच्छन्‌। के यसले परमेश्‍वरको नाउँ कलंकित बनाउँदैन र? क्याथोलिक “चर्चका पिता” प्रख्यात अगस्टिनले “धार्मिक” शक्‍ति प्रयोग गर्ने सिद्धान्त अर्थात्‌ धर्मविरोधीलाई जबरजस्ती गर्ने सिद्धान्तलाई समर्थन गरेका थिए भनी केही शास्त्रविद्‌हरू भन्छन्‌। यस्तो व्यवहार जायज हो भनी बाइबलबाट प्रमाणित गर्ने प्रयासमा तिनले लूका १४:१६-२४ को उखानबाट येशूका शब्दहरू उद्धृत गरे: “मानिसहरूलाई भित्र आउन कर लगा।” स्पष्टतः, अगस्टिनले बंग्याएका ती शब्दहरूले क्रूरतापूर्वक बल लगाउने नभई अति उदार भई अतिथि-सत्कार गर्ने कुरालाई संकेत गर्छ।

इन्क्विजिशन व्यापक भइरहेको समयमा पनि धार्मिक सहिष्णुताका समर्थकहरूले गहुँ र सामाको उखानलाई उद्धृत गर्दै धर्मविरोधीहरूमाथि गरिएको सतावटको भर्त्सना गरेको कुरा उल्लेखनीय छ। (मत्ती १३:२४-३०, ३६-४३) तिनीहरूमध्ये एक जना रटर्डामका डेसिडेरस इरामस थिए। तिनले खेतका मालिक, परमेश्‍वर ती सामाहरू अर्थात्‌ धर्मविरोधीहरूलाई सतावट दिएको चाहनुहुन्‍न भने। अर्कोतर्फ, मार्टिन लुथरले असन्तुष्ट किसानहरू विरुद्ध हिंसा गर्न उस्काए, जसले गर्दा १,००,००० जति मानिसहरू मरे।

धर्मविरोधी भनौंदाहरूलाई सताउन उस्काएका मसीहीजगत्‌का धर्महरूको गम्भीर दोष बुझेपछि हामी के गर्न उत्प्रेरित हुनुपर्ने हो? निस्सन्देह, हामीले परमेश्‍वरको वचनको साँचो ज्ञान खोज्नुपर्छ। साँचो मसीहीहरूको चिनारी नै परमेश्‍वर तथा आफ्नो छिमेकीप्रतिको प्रेम हो भनी येशूले भन्‍नुभयो। यस प्रेमले हिंसा गर्न पक्कै पनि अनुमति दिंदैन।—मत्ती २२:३७-४०; यूहन्‍ना १३:३४, ३५; १७:३.

[पृष्ठ २७-मा भएको पेटी]

कार्नेशी विरुद्ध लगाइएका केही अभियोगहरू

८. “पवित्र धर्मशास्त्रमा पाइने परमेश्‍वरको वचनमा मात्रै विश्‍वास गर्नुपर्छ भनी [तिमीले अडान लियौ]।”

१२. “संस्कारअनुरूप पाप स्वीकार्ने दे युरी डेभेनो [ईश्‍वरीय व्यवस्थाअनुसार] होइन अर्थात्‌ ख्रीष्टले स्थापना गर्नुभएको होइन नता धर्मशास्त्रले नै अनुमति दिन्छ र परमेश्‍वर समक्षबाहेक अरू कसैअगाडि पाप स्वीकार्नु आवश्‍यक छैन [भनी तिमीले विश्‍वास गऱ्‍यौ]।”

१५. “पापमोचन स्थान छ भन्‍ने कुरामा तिमीले शंका गऱ्‍यौ।”

१६. “मरेकाहरूका लागि प्रार्थनाका पुस्तक, माकाबीसलाई तिमीले मनगढन्ते भन्यौ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने