कथारीहरू—के तिनीहरू मसीही शहीदहरू थिए?
“तिनीहरू सबैलाई खत्तम पार; परमेश्वर आफैले आफ्नो सन्तान चिन्नुहुन्छ।” सन् १२०९ को जुलाई महिनातिर दक्षिण फ्रान्सस्थित बेजेर्सका मानिसहरूको आमसंहार गरिएको थियो। क्याथोलिक धर्मयुद्धको नेतृत्व लिन पोपद्वारा प्रतिनिधिको रूपमा खटाइएको भिक्षु आर्नोल्ड आमालरेकले दया देखाएनन्। आमधारणाअनुसार, तिनका मानिसहरूले क्याथोलिक र धर्मविरोधीलाई कसरी छुट्टयाउने भनी प्रश्न गर्दा तिनले माथि उद्धृत कुख्यात जवाफ दिएका थिए। तर क्याथोलिक इतिहासकारहरूले त्यसलाई हल्का बनाएर यस्तो लेखे: “धन्दा नमान। मेरो विचारमा धर्मविरोधीहरूमध्ये कमैले मात्र धर्म परिवर्तन गर्नेछन्।” सही जवाफ जेसुकै होस्, तर क्याथोलिक चर्चका अख्तियारवाला भिक्षुको निर्देशनमा धर्मयुद्ध लड्ने झन्डै ३,००,००० सिपाहीहरूले २०,००० पुरुष, स्त्री तथा केटाकेटीहरूको हत्या गरे।
यत्रो आमसंहारको कारण के थियो? वास्तवमा यो आमसंहार दक्षिण-मध्य फ्रान्सको लांगडक प्रान्तका तथाकथित धर्मविरोधी विरुद्ध पोप इन्नोसेन्ट तेस्रोले सुरु गरेको अल्बिजेनसियन क्रुसेडको (धर्मयुद्ध) सुरुआत मात्र थियो। झन्डै २० वर्षसम्म चलेको यो धर्मयुद्धका दौडान कथारी, वाल्डेनी र थुप्रै क्याथोलिकहरू गरेर सम्भवतः दश लाख मानिसहरू मारिए।
मध्यकालीन युरोपमा धार्मिक मतभेद
सा.यु. ११ औं शताब्दीतिर तीव्र व्यापारिक प्रगतिले गर्दा मध्यकालीन युरोपको सामाजिक तथा आर्थिक संरचनामा ठूला परिवर्तनहरू आए। कालिगड र व्यापारीहरूको संख्या बढ्दै जाँदा शहरहरू बसालिए। फलतः नयाँ विचारहरू अंकुराउने हावापानी तयार भयो। त्यस्तै एउटा शहर, लांगडकमा धार्मिक मतभिन्नता अंकुरायो। त्यतिबेला युरोपका अरू कुनै शहरमा यहाँ जस्तो सहिष्णुता र विकसित सभ्यता थिएन। अझ विशेषगरि लांगडकको टुलुज शहर युरोपका धनी महानगरीहरूमध्ये तेस्रो स्थानमा पर्थ्यो। त्यतिबेला त्यो शहर, सम्मानित कवि एवं संगीतकारहरूकै संसार थियो र तिनीहरूले निकै प्रगति गरे। तिनीहरूको गीतको मुख्य विषय नै दरबारी प्रेम भए तापनि कसै कसैको गीतले राजनैतिक तथा धार्मिक विषयहरूसमेत छोएको पाइन्छ।
एघारौं र बाह्रौं शताब्दीको धार्मिक वातावरणबारे वर्णन गर्दै रिभ्यु दिस्टवार ए दे फिलोसफी रेलिजिओस (इतिहास तथा धार्मिक दर्शनको पुनरावृत्ति) यसो भन्छ: “बितेको शताब्दीमा जस्तै १२ औं शताब्दीमा पनि पादरीवर्गको नैतिकता, तिनीहरूको सम्पत्ति, तिनीहरूको भ्रष्टाचार र तिनीहरूको जीवनशैलीमाथि आपत्ति व्यक्त गरियो। तर मुख्यतः तिनीहरूको धन र शक्ति, सरकारी अख्तियारवालाहरूसितको मिलेमतो र तिनीहरूको चापलुसीको आलोचना गरिएको थियो।”
परिभ्रमण प्रचारकहरू
वास्तवमा चर्चभित्र चलिरहेको व्यापक भ्रष्टाचारले गर्दा युरोपमा र अझ विशेषगरि दक्षिण फ्रान्स र उत्तरी इटालीमा भिन्न मत भएका परिभ्रमण प्रचारकहरूको तीव्र वृद्धि भएको हो भनेर पोप इन्नोसेन्ट तेस्रोलाई समेत थाह थियो। अधिकांश परिभ्रमण प्रचारकहरू या त कथारी या वाल्डेन्सी थिए। मानिसहरूलाई शिक्षा नदिएकोमा पोप इन्नोसेन्ट तेस्रोले पादरीहरूलाई यसो भन्दै हप्काए: “मानिसहरू आत्मिक रोटी चाहन्छन् तर तपाईंहरू वास्तै गर्नुहुन्न।” यद्यपि, मानिसहरूलाई बाइबलको शिक्षा दिनुको सट्टा पोप इन्नोसेन्ट तेस्रोले यस्तो दाबी गरे, “ईश्वरीय शास्त्र यति गहिरो छ, त्यसलाई आम अनपढ जनता त के, पढे लेखेका बाठा मानिसहरूले समेत बुझ्न सक्दैनन्।” त्यतिबेला सर्वसाधारणले पढ्न त परै जाओस् पादरीवर्गले समेत ल्याटिन भाषाबाहेक अरू भाषामा बाइबल पढ्नु निषेधित थियो।
भिन्न मत राख्ने परिभ्रमण प्रचारकहरूको कार्यलाई विफल तुल्याउन पोपले भिक्षु प्रचारकहरू अर्थात् डोमिनिकनहरू नियुक्त गरे। यिनीहरू क्याथोलिक पादरीवर्गजस्तो धन सम्पन्न थिएनन्। र यिनीहरूको काम, दक्षिणी फ्रान्सका “धर्मविरोधीहरूबाट” क्याथोलिक रूढिवादी सिद्धान्तहरूलाई जोगाउनु थियो। कथारीहरूलाई क्याथोलिक समूहमै गाभ्न पोपले आफ्ना प्रतिनिधिहरू पनि पठाए। तर यी सबै प्रयत्न विफल भए। र सम्भवतः एक जना धर्मविरोधीको हातबाट तिनको प्रतिनिधिको हत्यासमेत भयो। फलतः इन्नोसेन्ट तेस्रोले सन् १२०९ मा अल्बिजेनसियन क्रुसेड (धर्मिक युद्ध) सुरु गर्ने आज्ञा दिए। अल्बी शहरमा विशेषगरि कथारीहरूको जनसंख्या धेरै थियो। त्यसैकारण इतिहासकारहरूले कथारीहरूलाई अल्बिजेन्सीहरू (फ्रान्सेली भाषामा, अल्बिजिओइस) भनेर उल्लेख गरेका थिए। पछि गएर यो शब्द, वाल्डेन्सीलगायत त्यस क्षेत्रका सबै “धर्मविरोधीहरूलाई” जनाउन प्रयोग गरियो। (तल दिइएको पेटी हेर्नुहोस्।)
कथारीहरू को थिए?
“कथार” भन्ने शब्द युनानी शब्द कथारोस बाट लिइएको हो, जसको अर्थ, “शुद्ध” हुन्छ। विशेषगरि उत्तरी इटालीको लोमबार्डी र त्यसपछि लांगडकमा ११ औंदेखि १४ औं शताब्दीको दौडान कथारवाद फैलियो। कथारीहरूले पूर्वीय द्वैतवाद र गूढज्ञानवाद दुवैमा विश्वास गर्थे। सम्भवतः विदेशी व्यापारीहरू तथा मिसनरीहरूद्वारा त्यस्तो विचार त्यहाँ पुगेको हुनसक्छ। दि इनसाइक्लोपीडिया अफ रिलिजन-ले (धर्म विश्वकोश) कथार द्वैतवादलाई “दुइ सिद्धान्तहरू” मिलेर बनेको विश्वास भनेर व्याख्या गर्छ। ती हुन् “सबै आत्मिक कुराहरूलाई नियन्त्रण गर्ने असल सिद्धान्त अनि मानिसको शरीरलगायत भौतिक संसारका लागि जिम्मेवार खराब सिद्धान्त।” कथारीहरू यो भौतिक संसार शैतानले सृष्टि गरेको हो र त्यसको विनाश अपरिवर्तनीय छ भनेर विश्वास गर्थे। तिनीहरू खराब अर्थात् भौतिक संसारबाट उम्कने आशा राख्थे।
कथारीहरू दुइ वर्गमा विभाजित थिए। ती हुन्, सिद्ध र विश्वासीहरू। सिद्धहरू कन्सोलामेन्टम भनिने आत्मिक बप्तिस्मा विधिद्वारा नियुक्त हुन्थे। यो नियुक्ति एक वर्षको परीक्षणपछि शिरमा हात राखेर गरिन्थ्यो। यो विधिले परीक्षणकालमा बस्ने व्यक्तिलाई शैतानको नियन्त्रण र सबै पापबाट मुक्त गरेर पवित्र आत्मा दिन्छ भन्ने विश्वास गरिन्थ्यो। यो विधिले गर्दा विश्वासीहरूका तर्फबाट सेवकको हैसियतले काम गर्ने मुठीभर विशिष्टवर्गमाथि “सिद्ध” शब्द ओहदाको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्न थाल्यो। सिद्धहरूले परहेज, पवित्रता र अभावको शपथ खान्थे। सिद्ध हुने व्यक्ति विवाहित भएमा तिनले आफ्नो पति वा पत्नीलाई त्याग्नु पर्थ्यो। किनभने कथारीहरू यौन संसर्ग नै मूल पाप हो भनेर विश्वास गर्थे।
भिक्षुको जस्तो जीवनशैली नअपनाउने तर कथारवादको शिक्षाहरू स्वीकार्ने व्यक्तिहरूलाई चाहिं विश्वासी भनिन्थ्यो। यी विश्वासीहरूले मेलिओरामेन्टम भनिने विधिअनुसार सिद्धहरूको सम्मानमा घुँडा टेकेर क्षमा र आशिष् माग्न सक्थे। सामान्य जीवन व्यतित गर्न सकोस् भनेर विश्वासीहरूले सिद्धवर्गसित एक किसिमको सम्झौता वा कोनभेनन्सा गर्थे। जसअनुसार तिनीहरूले आत्मिक बप्तिस्मा वा कन्सोलामेन्टम विधिअनुरूप मृत्यु शैय्या सेवा पुऱ्याउनु पर्थ्यो।
बाइबलप्रतिको धारणा
कथारीहरूले बाइबलबाट निकै उद्धरण गर्ने गरेको भए तापनि तिनीहरूले बाइबललाई मुख्यतः प्रतीककथा र नीतिकथाको संगालो सम्झन्थे। हिब्रू शास्त्रको अधिकांश भाग शैतानबाट आएको हो भन्ने तिनीहरूको विश्वास थियो। आफ्नो द्वैतवाद दर्शनलाई समर्थन गर्न तिनीहरूले युनानी शास्त्रका ती अंशहरू चलाउँथे, जहाँ शरीर र आत्माबीच तुलना गरिएको हुन्थ्यो। तिनीहरूले प्रभुको प्रार्थना गर्दा “हाम्रो दिनभरिको भोजन” दिनुहोस् भन्नुको सट्टा “हाम्रो अलौकिक भोजन” (अर्थ, “आत्मिक भोजन”) दिनुहोस् भन्थे। तिनीहरूको दृष्टिमा शारीरिक भोजन खराब तर टार्न नसकिने आवश्यकता थियो।
कथारवादका अधिकांश शिक्षाहरू बाइबलका शिक्षाहरूका ठीक विपरीत थिए। उदाहरणको लागि, तिनीहरूले आत्माको अमरता अनि पुनर्जन्ममाथि विश्वास गर्थे। (उपदेशक ९:५, १० तुलना गर्नुहोस; इजकिएल १८:४, २०) तिनीहरूका शिक्षाहरू अप्रमाणिक ग्रन्थहरूमा पनि आधारित थिए। यद्यपि, शास्त्रका केही अंशहरू स्थानीय भाषामा अनुवाद गरेर कथारीहरूले मध्यकालीन युगमा बाइबललाई केही हदसम्म लोकप्रिय बनाए।
मसीहीहरू होइनन्
सिद्धवर्ग आफूलाई प्रेरितहरूका न्यायोचित उत्तराधिकारी सम्झन्थे। फलतः तिनीहरूले आफूलाई “मसीही” भनी नामाकरण गरे र त्यसलाई जोड दिन त्यसको अगाडि “साँचो” वा “असल” भन्ने शब्दहरू थपे। तर वास्तवमा कथारीहरूको अधिकांश शिक्षाहरू मसीही धर्मभन्दा बाहिरका थिए। कथारीहरूले ख्रीष्टलाई परमेश्वरको पुत्र मान्न त मान्थे तर उहाँले पृथ्वीमा शारीरिक रूप धारण गर्नुभयो भनेर विश्वास गर्दैनथे नता उहाँले दिनुभएको छुटकाराको बलिदानमाथि नै विश्वास गर्थे। बाइबलले शरीर तथा संसारलाई दोषी ठहराएकोमा गलत अर्थ लगाउँदै तिनीहरूले सबै पदार्थहरू खराबद्वारा उत्पन्न भएको सम्झन्थे। तसर्थ, येशूको आत्मिक शरीर मात्र हुनसक्छ र पृथ्वीमा हुनुहुँदा उहाँको शरीर, हाड मासुको जस्तो देखिएको मात्र हो भन्ने तिनीहरूको धारणा थियो। प्रथम शताब्दीका धर्मत्यागीहरूजस्तै कथारीहरूले “येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्।”—२ यूहन्ना ७.
आफ्नो पुस्तक, मिडियभल हेरेसे-मा (मध्यकालीन धर्मविरोध) एम. डि. ल्यामबर्टले के लेखे भने कथारीहरूले “मसीही नैतिकताको ठाउँमा अनिवार्य रूपमा परहेजी जीवन बिताउनुपर्ने बाध्यता स्थापित गरे। तिनीहरूले . . . [ख्रीष्टको मृत्युमा] निहित उद्धार शक्तिलाई अस्वीकार गरेर छुटकाराको मोललाई हटाइदिए।” तिनको विचारअनुसार “सिद्धवर्ग पूर्वीय साधुहरू, चीन वा भारतका भिक्षु वा फकिरहरूसित मिल्दाजुल्दा थिए। किनकि यिनीहरू रहस्यमय सिद्धान्तहरूका गुरु वा गूढज्ञानवादका शिक्षकहरू थिए।” कथारहरूको विश्वासअनुसार येशू ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानद्वारा नभई कन्सोलामेन्टम वा पवित्र आत्माको बप्तिस्माद्वारा मुक्ति पाइन्थ्यो। तिनीहरूको विचारअनुसार शुद्ध हुनेहरूले मृत्युद्वारा पदार्थहरूबाट मुक्ति पाउँथे।
अपवित्र धर्मयुद्ध
पादरीवर्गको अचाक्ली माग र व्यापक भ्रष्टता देखेर आममानिसहरू कथारी जीवनपद्धतिप्रति आकर्षित भएका थिए। सिद्धवर्गले क्याथोलिक चर्च र तिनीहरूको धर्मतन्त्रलाई प्रकाश ३:९ र १७:५ मा उल्लिखित “शैतानको सभा” अनि “वेश्याहरू[की] . . . आमा” भनी चिनाए। दक्षिणी फ्रान्समा कथारवाद फस्टाउँदै थियो र त्यसले चर्चको ठाउँ लिंदैथियो। यो देखेर पोप इन्नोसेन्ट तेस्रोले तथाकथित अल्बिजेन्सियन क्रुसेड सुरु गरेर त्यसलाई जारी राख्न वित्तीय सहायता दिए। वास्तवमा यो धर्मयुद्ध मसीहीजगतभित्र मसीही हुँ भनी दाबी गर्ने मानिसहरू विरुद्ध गरिएको पहिलो धर्मयुद्ध थियो।
पत्र तथा प्रतिनिधिहरूद्वारा पोपले युरोपका क्याथोलिक राजा तथा उच्च ओहदामा बस्ने भद्र पुरुषहरूलाई दिक्क पारे। “जुनसुकै उपाय गरेर भए पनि” धर्मविरोधीहरूलाई मेटाउने जति सबैलाई तिनले पापको क्षमा र लांगडकको धन दिने वचन दिए। तिनको यो आह्वान त्यतिकै खेर गएन। क्याथोलिक प्रतिनिधि र भिक्षुहरूको नेतृत्वमा उत्तर फ्रान्स, फ्लान्डर्स र जर्मनीबाट आएका सिपाहीहरूको मिश्रित दल दक्षिण हुँदै रह्न उपत्यकातर्फ लागे।
बेजेर्सको विजय अनि विनाशपश्चात् लांगडक रक्तपात र आगोको शिकार भयो। अल्बी, कार्कासन, कास्ट्रेस, फोइक्स, नरबोन, टर्मा र टाउलुस सबै यी रक्तपिपासु धर्मयुद्ध लडाकुहरूको हातमा परे। कासा, मिनर्भा र लाभोरजस्ता कथारहरूले बलियो जरा गाडेको ठाउँमा सिद्धवर्गका हजारौं मानिसहरूलाई काठमा जिउँदै जलाइयो। एक जना भिक्षु एवं इतिहासकार पिएर दे भोदेसर्नेअनुसार धर्मयुद्ध लडाकुहरूले ‘रमाइ-रमाइ सिद्धवर्गका मानिसहरूलाई जिउँदै जलाए।’ बीस वर्षसम्म चलेको कलह र विनाशपश्चात् सन् १२२९ मा लांगडक फ्रान्सेली सरकारको अधीनमा पऱ्यो। तर माराकाट भने अझै सकेको थिएन।
इनक्विजिसनको घातक प्रहार
सन् १२३१ मा पोप ग्रेगोरी नवौंले रक्तपातपूर्ण संघर्षलाई सहयोग गर्न क्याथोलिक इनक्विजिसन (धर्मविरोधी खोजी दण्ड दिन गठन गरिएको जाँचपडताल आयोग) गठन गऱ्यो।a प्रारम्भमा इनक्विजिसन प्रणालीमा भर्त्सना तथा धम्कीहरू दिइन्थ्यो तर पछि गएर व्यवस्थित रूपमा सताउने काम पनि सुरु भयो। त्यसको उद्देश्य तरवारले मेटाउन नसकेका कुरा मेटाउनु थियो। इनक्विजिसनका न्यायाधीशहरू प्रायः डोमिनिकन र फ्रान्सिस्कन भिक्षुहरू हुन्थे। आफूले गरेका कामहरूका लागि तिनीहरू केवल पोपसमक्ष जवाफदेही थिए। त्यतिबेला धर्मविरोधीहरूलाई दिइने आधिकारिक दण्ड नै जिउँदै जलाएर मार्नु थियो। इनक्विजिसन गर्ने व्यक्तिहरूको यस्तो कट्टरपना र क्रूरताले गर्दा अल्बी र टाउलुसलगायत अन्य ठाउँहरूमा विद्रोह सुरु भयो। अभिन्योना भन्ने ठाउँमा त इनक्विजिसन अदालतका सदस्यहरूको नरसंहार गरियो।
अन्तत: सन् १२४४ मा, पहाडको टुप्पोमा बनेको मन्टसेगर किल्लामा शरण लिएका सिद्धवर्गका थुप्रै मानिसहरूले आत्मसमर्पण गरेपछि कथारवाद सधैंको लागि अन्त भयो। करिब २०० पुरुष तथा स्त्रीहरूलाई एक साथ जिउँदै जलाइयो। समयको दौडान इनक्विजिसनले शेष कथारवादीहरूलाई खोजेर निकाले। विवरणअनुसार सन् १३३० मा अन्तिम कथारवादीलाई जिउँदै जलाइयो। मिडियभल हेरेसे (मध्यकालीन धर्मविरोध) नामक पुस्तक यसो भन्छ: “कथारवादको पतन नै इनक्विजिसिनको सबैभन्दा ठूलो जीत थियो।”
कथारीहरू कुनै रीतिले पनि साँचो मसीहीहरू थिएनन्। तर तिनीहरूले क्याथोलिक चर्चको आलोचना गरे भन्दैमा के तथाकथित मसीहीहरूले क्रूरतापूर्वक तिनीहरूलाई नामेट पार्नु न्यायोचित थियो त? क्याथोलिक हत्यारा तथा अरूलाई सताउनेहरूले पनि परमेश्वर र ख्रीष्टको अनादर गरे। किनभने तिनीहरूले भिन्न मत भएका लाखौं मानिसहरूलाई सताएर, तिनीहरूको हत्या गरेर साँचो मसीही धर्मको गलत प्रतिनिधित्व गरे।
[फुटनोट]
a मध्यकालीन इनक्विजिसनबारे विस्तृत विवरण चाहिएमा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इन्क.-द्वारा प्रकाशित अप्रिल २२, १९८६ अवेक!-को पृष्ठ २०-३ मा “भयावह इनक्विजिसन” शीर्षक लेख हेर्नुहोस्।
[पृष्ठ २८-मा भएको पेटी]
वाल्डेन्सीहरू
सा.यु. १२ औं शताब्दीको अन्ततिर लियोन्सको धनी व्यापारी पिटर वाल्डो भनिने पिएर वाल्डेसले पहिलो चोटि स्थानीय प्रान्तीय भाषाहरूमा बाइबलका केही भागहरू अनुवाद गर्न वित्तीय सहायता दिएका थिए। त्यसताका दक्षिण तथा दक्षिणपूर्वी फ्रान्समा ती नै भाषाहरू बोलिन्थे। तिनी निष्कपट क्याथोलिक थिए र सुसमाचारको प्रचार गर्न आफ्नो व्यापारसमेत छोडे। पादरीवर्गको भ्रष्टाचार देखेर अरू थुप्रै क्याथोलिकहरू पनि तिनको पछि लागे र परिभ्रमण प्रचारकहरू भए।
वाल्डोले चाँडै नै स्थानीय पादरीबाट वैमनस्य सामना गर्नुपऱ्यो। पादरीले पोपलाई तिनको आमप्रचार कार्यमाथि प्रतिबन्ध लगाउन फकाए। विवरणअनुसार वाल्डोले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरित ५:२९ तुलना गर्नुहोस्।) तिनको हठले गर्दा तिनलाई समाजबाट बहिष्कार गरियो। तिनका अनुयायीहरू, जसलाई वाल्डेन्सी वा लियोन्सका गरिबहरू भनिन्थ्यो, तिनीहरूले जोशिलो भई मानिसहरूको घर-घरमा दुइ दुइ जना भएर प्रचार गरेर तिनको अनुकरण गर्ने यत्न गरे। फलतः फ्रान्सको दक्षिण, पूर्व र केही उत्तरी भागहरूका साथै उत्तरी इटालीमा समेत तिनीहरूका शिक्षाहरू फैलिए।
मुख्यतः तिनीहरूले प्रारम्भिक मसीहीहरूको शिक्षा र प्रचलनहरू फेरि कायम गर्नेतर्फ जोड दिए। तिनीहरूले पर्गेटरी (शोधस्थान), मृतकहरूका लागि गरिने प्रार्थना, मरियमको उपासना, “सन्तहरूलाई” गरिने प्रार्थना, क्रसको आराधना, दण्डमोचन, यूखारिस्त र शिशुको बप्तिस्माजस्ता शिक्षालगायत अन्य थुप्रै शिक्षाहरूको विरोध गरे।b
वाल्डेन्सीका शिक्षाहरू र गैरमसीही द्वैतवादी कथारीका शिक्षा एकदम विपरीत भए तापनि, प्रायः यी दुइ समूहहरूबीच मानिसहरू झुक्किन्छन्। यस्तो हुनुको कारण चाहिं मुख्यतः अरूको मतमाथि घातक आक्रमण गर्ने क्याथोलिकहरू हुन्। तिनीहरूले जानाजानी वाल्डेन्सीहरूको प्रचार कार्यलाई अल्बिजेन्सी अर्थात् कथारीहरूको शिक्षासँग मिलाउने प्रयत्न गरे।
[फुटनोट]
b वाल्डेन्सीहरूबारे थप जानकारी चाहिएमा अगस्त १, १९८१ को द वाचटावर-को पृष्ठ १२-१५ मा दिइएको लेख, “वाल्डेन्सीहरू—धर्मविरोधी हुन् वा सत्य खोज्ने मानिसहरू?” शीर्षक लेख हेर्नुहोस्।
[पृष्ठ २९-मा भएको चित्र]
धर्मयुद्ध लडाकुहरूले २०,००० पुरुष, स्त्री तथा केटाकेटीहरूको हत्या गर्दा बेजेर्सस्थित सन्त मेरी मग्दालिन चर्चमा ७,००० मानिसहरू मारिए