इन्टरनेट के हो?
सयुक्त राज्यमा बस्ने शिक्षक, डेभिडले इन्टरनेटको माध्यमबाट आफूलाई चाहिएको पाठ्य सामग्रीहरू प्राप्त गरे। क्यानाडा निवासी बाबुले रूसमा बस्ने आफ्नी छोरीसित इन्टरनेटकै माध्यमद्वारा भलाकुसारी गरे। गृहस्थी जीवन बिताइरहेकी लोमाले इन्टरनेटको प्रयोग गरेर ब्रह्माण्डको सुरुआतबारे गरिएका वैज्ञानिक खोजहरूबारे अध्ययन गरे। त्यस्तैगरि, उपग्रहको सुविधा लिएर रोपाइँ गर्ने नयाँ विधिबारे एक किसानले इन्टरनेटकै माध्यमबाट जानकारी प्राप्त गरे। ठूल-ठूला व्यापारिक संघ संस्थाहरू आफ्ना उत्पादन तथा सेवा बेचबिखनका लागि लाखौं सम्भाव्य ग्राहकहरूकहाँ पुग्न इन्टरनेटमै विज्ञापन दिन्छन्। अनि इन्टरनेटमा प्रशस्त रिपोर्ट एवं जानकारी सेवाहरू उपलब्ध भएको हुँदा संसारभरि राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचार प्राप्त गर्न मानिसहरू इन्टरनेटकै प्रयोग गर्छन्।
कम्प्युटर जगत्को नयाँ चमत्कार, यो इन्टरनेट वा नेट भनेको के हो? के तपाईंले इन्टरनेट सेवा लिनु जरुरी छ? इन्टरनेटमा “फाल हाल्नु” अघि पक्कै पनि तपाईं त्यसबारे केही जान्न चाहनुहुन्छ होला। इन्टरनेटबारे मानिसहरूले निकै उत्साह देखाए तापनि तपाईंले, अझ विशेषगरि घरमा छोराछोरीहरू छन् भने, सावधानी अपनाउनुपर्ने कारणहरू छन्।
इन्टरनेट के हो?
कल्पना गर्नुहोस्, कोठामा थुप्रै माकुराहरू आ-आफ्नै जालो बुनेर बसेका छन् र ती जालोहरू आपसमा यति राम्ररी जोडिएका छन् कि माकुराहरू एकअर्काको जालोमा सजिलै आउन जानसक्छन्। यही उदाहरणलाई ध्यानमा राखेर अब तपाईं सजिलै इन्टरनेटको कल्पना गर्न सक्नुहुन्छ। इन्टरनेट भनेको संसारभरि छरिएर रहेका विभिन्न प्रकारका कम्प्युटर र कम्प्युटर नेटवर्कहरू आपसमा जोडेर बनेको विशाल जालो हो। टेलिफोनको माध्यमद्वारा तपाईंले संसारको अर्को कुनामा बस्ने मानिससँग कुरा गर्न सकेझैं इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँका कम्प्युटर वा कम्प्युटर चलाउने व्यक्तिसँग तपाईं जानकारी आदानप्रदान गर्न सक्नुहुन्छ।
कसै कसैले इन्टरनेटलाई जानकारीको महा राजमार्ग पनि भनेका छन्। राजमार्गबाट देशको कुनाकाप्चाको यात्रा गर्न सकिएझैं इन्टरनेटको माध्यमबाट आपसमा जोडिएका विभिन्न प्रकारका कम्प्युटर नेटवर्क हुँदै जानकारी पठाउन सकिएकोले त्यसो भनिएको हो। हामीले पठाएको सन्देश एक नेटवर्कबाट अर्को नेटवर्क हुँदै जाँदा प्रत्येक नेटवर्कसित सो सन्देश अर्को नेटवर्कसम्म पुऱ्याउने निर्देशनहरू हुन्छन्। यसरी हामीले सन्देश पुऱ्याउन खोजेको ठाउँ अर्कै शहर वा देशमा होला, तर एक नेटवर्कबाट अर्को नेटवर्क हुँदै हाम्रो सन्देश हामीले चाहेको ठाउँमा पुग्छ।
इन्टरनेट डिजाइनरहरूले तयार पारेका सामान्य नियमहरूको माध्यमबाट प्रत्येक नेटवर्कले अर्को नेटवर्कसँग “सम्पर्क” राख्नसक्छ। त्यसोभए, अहिले संसारभरि कति वटा नेटवर्कहरू आपसमा जोडिएका छन् त? कसै कसैले ३०,००० भन्दा धेरै भएको अनुमान गरेका छन्। हालै गरिएका सर्वेक्षणहरूअनुसार यी नेटवर्कहरूले सारा संसारभरि १,००,००,००० कम्प्युटर अनि झन्डै ३,००,००,००० मानिसहरूलाई आपसमा जोडेका छन्। अनि एउटा अनुमानअनुसार हरेक वर्ष झन्डै दुइ गुना कम्प्युटरहरू नेटवर्कमा थपिंदैछन्।
इन्टरनेटमा कस्ता जानकारीहरू प्राप्त गर्न सकिन्छ त? यसले औषधीदेखि लिएर विज्ञान तथा प्रविधिसम्म विविध विषयहरूमा थुप्रै नयाँ नयाँ जानकारीहरू दिन्छ। कलासम्बन्धी जानकारीहरूका साथै विद्यार्थीहरूका निम्ति चाहिने अनुसन्धान सामग्रीहरू अनि शौक, मनोरञ्जन, खेलकुद, किनमेल र जागिर कहाँ कहाँ पाइन्छन् यी सब विषयमा तपाईंले थुप्रै जानकारी इन्टरनेटमा पाउन सक्नुहुन्छ। यसबाहेक, इन्टरनेटको माध्यमबाट तपाईंले वर्षभरि भएका घटनाहरूको विवरणका साथै शब्दकोश, विश्वकोश अनि मानचित्रहरू पल्टाएर हेर्न सक्नुहुन्छ।
तथापि, हामीले विचार गर्नुपर्ने इन्टरनेटका केही नराम्रा पक्षहरू पनि छन्। इन्टरनेटमा पाइने सबै सामग्रीहरू के फाइदाजनकै छन् त? अनि इन्टरनेटमा के कस्ता सेवा तथा सामग्री पाइन्छन् र त्यसको प्रयोग गर्दा कुन कुन कुरादेखि सावधान हुनुपर्छ? यस पछिका लेखहरूले ती प्रश्नहरूको जवाफ दिनेछन्।
[पृष्ठ ४-मा भएको पेटी/चित्र]
इन्टरनेटको सुरुआत तथा डिजाइन
चारैतिर छरिएका वैज्ञानिक तथा अन्वेषकहरूले दुर्लभ तथा महँगा कम्प्युटर र त्यसमा संकलन गरिएका इलेक्ट्रोनिक जानकारीहरू आपसमा बाँड्न सकोस् भन्ने हेतुले १९६० मा सं.रा. रक्षा मन्त्रालयले परीक्षणको रूपमा इन्टरनेटको सुरुआत गरेको थियो। यसको निम्ति रक्षा मन्त्रालयले नेटवर्कहरूलाई आपसमा जोडेर सिंगो प्रणाली सृजना गर्नुपऱ्यो।
अझ शीत युद्धको सुरुआत भएपछि “बमले नष्ट गर्न नसक्ने” नेटवर्कप्रति चासो बढ्न थाल्यो। फलतः नेटवर्कको कुनै भाग नष्ट भए तापनि बाँकी रहेका भागबाट जानकारी आफ्नो गन्तव्यस्थानमा पुऱ्याउन सकिने प्रविधिको विकास भयो। नेटवर्कहरूको यस्तो प्रयोगले गर्दा कम्प्युटर मार्फत सन्देश कुनै एकै ठाउँमा मात्र नभई नेटवर्कभरि पठाइन्थ्यो।
झन्डै दुइ दशक पुरानो भइसकेको इन्टरनेट प्रविधि लोकप्रिय हुनुमा मुख्यतः ब्राउजरहरूको हात छ। ब्राउजर भनेको इन्टरनेटमा पाइने विभिन्न सामग्रीहरू अति सरल तरिकामा “पत्ता लगाउन” मदत गर्ने सफ्टवेयर हो।