के तपाईंलाई इन्टरनेट नभई हुँदैन?
के तपाईंसित इन्टरनेट हुनैपर्छ? निस्सन्देह, यो निजी प्रश्न हो जसको निर्णय तपाईं आफैले गर्नुपर्छ। त्यसोभए, तपाईंले निर्णय गर्दा कुन कुन कुरालाई ध्यान दिनुपर्छ त?
के तपाईंले खर्च निकाल्नुभएको छ?
इन्टरनेटको प्रयोगमा हाल भइरहेको प्रायजसो वृद्धिपछाडि व्यापारिक संगठनहरूको ठूलो हात छ। स्पष्ट छ, मानिसहरूमा नयाँ वस्तुहरूको चाहना बढाउन नै तिनीहरूले यसरी बजार सृजना गर्न खोजेका हुन्। मानिसहरूले एक पटक त्यस्तो चाहना महसुस गर्न थालेपछि केही संगठनहरू तपाईंले पहिले सित्तैमा पाउनुभएको जानकारी वा सेवाको सदस्य बन्न बाध्य गराउँछन् वा वार्षिक ग्राहक बन्नुपर्ने आवश्यकता महसुस गराउँछन्। अनि इन्टरनेट सेवा लिए वापत तिर्नुपर्ने मासिक महसुलबाहेक तपाईंले ती सेवाहरूको पनि शुल्क तिर्नुपर्ने हुन्छ। ग्राहकहरूलाई हात पार्ने यस्ता तरिकाहरूको उदाहरणको रूपमा कम्प्युटरबाटै पढ्न सकिने पत्रपत्रिकाहरूलाई लिन सकिन्छ।
के तपाईंले इन्टरनेट सेवा प्राप्त गर्न चाहिने सामान, सफ्टवेयर किन्न लाग्ने खर्चलाई ध्यानमा राखेर साँच्चै आफूलाई इन्टरनेट सेवा चाहिन्छ वा चाहिंदैन विचार गर्नुभएको छ? (लूका १४:२८ तुलना गर्नुहोस्।) इन्टरनेट सेवा प्रदान गर्ने सार्वजनिक पुस्तकालय वा विद्यालयहरू छन् कि? छन् भने, कम्प्युटर किनेर इन्टरनेटका लागि चाहिने अरू सामान जोरजाम गर्नुअघि त्यहाँ गएर आफ्ना आवश्यकताहरू तौलनसके खर्च धेरै जोगिनसक्छ। हुनसक्छ, आफूलाई कत्तिको जानकारी चाहिएको छ, स्पष्ट नभएसम्म पुस्तकालय वा विद्यालयबाटै इन्टरनेटको प्रयोग गर्नु उपयुक्त होला। यसरी केलाउनु जरुरी छ। किनभने इन्टरनेटको आवश्यकताको कुरै छोड्नुहोस्, मानिसहरूले इन्टरनेटबारे थाह पाउन थालेको पनि धेरै भएको छैन जबकि इन्टरनेट प्रयोगमा आएको दुइ दशकभन्दा धेरै भइसक्यो।
तपाईंको गोपनीयता कत्तिको सुरक्षित छ?
विचार गर्नुपर्ने अर्को मुख्य कुरा गोपनीयता पनि हो। उदाहरणका लागि, तपाईंले जसलाई पठाउन खोज्नुभएको हो, त्यसले मात्र तपाईंको इ-मेल पाउनुपर्ने हो। तर तपाईंको इ-मेल इन्टरनेट भएर जाँदा चलाख अनि धूर्त मानिस वा मानिसहरूको समूहले सजिलै हेर्नसक्छ। सन्देशलाई गोप्य राख्न केही मानिसहरू चिठीका संवेदनशील वाक्यहरूलाई पढ्न नसकिने पार्ने इ-मेल सफ्टवेयर चलाउँछन्। तर तपाईंले जसलाई इ-मेल पठाउनुभएको हो, उससित पनि त अस्पष्ट वाक्यहरूलाई स्पष्ट पार्ने सफ्टवेयर हुनुपऱ्यो।
हालै इन्टरनेटद्वारा क्रेडिट कार्ड आदानप्रदान गर्ने वा व्यापारिक प्रयोगको निम्ति गोप्य जानकारीहरू पठाउने सन्दर्भमा निकै छलफल भइरहेको छ। इन्टरनेटमा हुने यस्तो आदानप्रदानलाई अझ सुरक्षित पार्न नयाँ नयाँ प्रविधि जरुर पनि प्रयोगमा आउलान्। तथापि, कम्प्युटरलाई सुरक्षित बनाउने क्षेत्रमा निकै नाउँ कमाएकी विश्लेषक डोरोथी डेनिंग यसो भन्छिन्: “शतप्रतिशत सुरक्षा हासिल गर्न सकिंदैन। तर खतरा भने निकै हदसम्म कम गर्न सकिन्छ। शायद भित्रको मान्छे वा बाहिरकै मान्छेले हाम्रो अति गोप्य सन्देशहरू चोरेर हेर्नसक्ने सम्भावना अति कम पार्न सकिने हदसम्म सुरक्षा हासिल गर्न सकिएला।” जस्तोसुकै कम्प्युटर होस् अनि इन्टरनेटसित सम्पर्क भएको होस् वा नहोस्, शतप्रतिशत सुरक्षा हासिल गर्न असम्भव छ।
के तपाईं समय खर्च गर्न सक्नुहुन्छ?
अर्को महत्त्वपूर्ण पक्ष हो, तपाईंको समय। इन्टरनेटमा के के छ भनेर हेर्नुअघि त्यसका लागि चाहिने सफ्टवेयर हाल्नुपऱ्यो, सिक्नुपऱ्यो। यी सबै गर्न तपाईंसित कत्तिको समय छ? अनि अनुभवी इन्टरनेट प्रशिक्षकले भनेको यो कुरालाई पनि ध्यान दिनुहोस्। “सिकारुहरूलाई इन्टरनेटले असाध्यै लट्ठ पार्छ र समय पनि निकै बर्बाद गर्नसक्छ।” कसरी?
इन्टरनेटमा थुप्रै चाखलाग्दा विषयहरू अनि अनगिन्ती नयाँ कुराहरू छन्। वास्तवमा इन्टरनेट सजिसजावट गरिएका लेखहरूको विशाल पुस्तकालय हो। अतः, त्यसको एकछेउ मात्र हेर्दा पनि छर्लंगै रात बितेको पत्तै नहुन सक्छ। (पृष्ठ १३ को “तपाईंको समय कत्तिको बुहमूल्य छ?” भन्ने पेटी हेर्नुहोस्।) अवश्य त्यसो भन्दैमा इन्टरनेट प्रयोग गर्ने सबैसित आत्मसंयम नै हुँदैन भन्ने होइन। तथापि, वेब सर्फिंग गर्दा समय तोक्नु, कस्ता खाले कुरा हेर्न नहुने हो, निर्धारण गर्नु बेस हुनेछ। अझ घरमा कलिला छोराछोरीहरू छन् भने त्यसो गर्नु झनै आवश्यक छ। र वास्तवमा थुप्रै परिवारले टेलिभिजनलाई पनि त्यसरी नै नियन्त्रण गर्दै आएका छन्।a त्यसो गरेमा पारिवारिक अनि आध्यात्मिक गतिविधिहरूले समय पाउनेछन्।—व्यवस्था ६:६, ७; मत्ती ५:३.
के तपाईंलाई इन्टरनेट चाहिन्छ नै?
समय बित्दै जाँदा विकासोन्मुख मुलुकहरूमा इन्टरनेट अवश्य अझ व्यापक रूपमा प्रयोग हुँदै आउनेछ। तथापि, हामीले सुरुका लेखमा उल्लेख गरेका मानिसहरूलाई सम्झनुहोस् त। तिनीहरूले इन्टरनेटबाट हासिल गरेका धेरैजसो जानकारीहरू पुस्तकालय, टेलिफोन, पत्राचार वा पत्रपत्रिकाको माध्यमबाट पनि पत्ता लगाउन सकिन्थ्यो। हो, यीमध्ये कुनै कुनै तरिका अपनाउँदा समय बढी लाग्ला, पैसा खर्च होला। तर जे होस्, आउँदा केही समयसम्म पनि संसारका धेरैजसो मानिसहरूले बाध्यतावश सञ्चार माध्यमको रूपमा यी नै माध्यमहरू अपनाइरहनेछन् भन्नुमा कुनै अत्युक्ति नहोला।
[फुटनोट]
a फेब्रुअरी २२, १९८५ अंकको ब्यूँझनुहोस्! (अंग्रेजी) पत्रिकाको “युवा जनहरू सोध्छन् . . . असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ ९-मा भएको चित्र]
आत्मसंयम नभएमा नेट सर्फिंग पासो बन्नसक्छ