थकाइ—चालकहरूलाई पत्तै नभई आइपर्ने फन्दा
जर्मनीका ब्यूँझनुहोस्! संवाददाताद्वारा
धेरै समय गाडी चलाएपछि शक्तिशाली इञ्जिनको पट्टाइलाग्दो एकोहोरो आवाज र १४ वटा पांग्राको आवाजले चालकहरूलाई थकाइ हटाउन कठिन पर्छ। हेडलाइटको उज्यालोमा सडकको बीचमा कोरिएका धर्काहरू छोडिंदै जान्छ। अचानक ट्रेलर यता र उता हल्लिन्छ। ट्रकले सडकलाई छोड्न थालिसकेको छ।
चालकले स्टेरियंग घुमाउँदै ४० टन ओजनको गाडीलाई सडकमा घुमाएर ल्याउँछ। पूरा होश आएपछि पो उसले थाह पाउँछ कि केही समयअघि त उसको होशै हराएको रहेछ। ऊ थकाइले चूर भएको छ।a
थकाइ लाग्दा लाग्दै पनि गाडी चलाइरहँदा निद्राले झुपुक्क छोपिहाल्छ। भीडभाड सडकलाई हेर्दा त त्यस्तो स्थिति झनै खतरनाक हो। यस्तो स्थितिले आफ्नो मात्र नभई अरूको समेत ज्यान लिनसक्छ। उदाहरणका लागि, जनवरी १९८९ देखि मार्च १९९४ सम्म दक्षिण अफ्रिकामा भएको गह्रौं मालवाहक गाडी दुर्घटनामध्ये ३५ प्रतिशत त गाडी चलाउँदा चलाउँदै चालकलाई निद्राले छोपेकोले गर्दा भएको थियो।
चालकहरूको बानीबेहोरासम्बन्धी अनुसन्धान गर्ने प्राध्यापक, जी. स्टकरले जर्मन पत्रिका फार्सुले-मा बताएअनुसार थकाइ लाग्दै जाँदा रक्सी पिउँदा भए जस्तै झुपुक्क निद्राले छोप्नसक्छ। निस्सन्देह, तिनले भनेका कुरा ट्रक चालकहरूले मात्र नभई सबै सवारी चालकले विचार गर्नुपर्छ।
थकाइ लाग्नुका कारणहरू
ट्रक चालकहरूले बढीमा कति घण्टा गाडी चलाउने भनेर थुप्रै मुलुकमा कानुनले समय तोक्छ वा शर्तसमेत राखेको हुन्छ। तैपनि, त्यस्ता मुलुकहरूमा थकाइले गर्दा किन यति बिघ्न दुर्घटनाहरू हुन्छन्? प्रथमतः हामीले ट्रक चालकहरूले काम गर्ने कुल घण्टालाई हेर्नुपर्छ। त्यसमा गाडी कुदाउँदा लागेको घण्टालगायत अरू काम गरेको समय पनि जोड्नुपर्छ। यी समयहरू प्रायः लामो र अनियमित हुन्छन्।
अधिकांश ट्रक चालकहरू काम पूरा भएको अर्थात् जस्तोसुकै मौसममा पनि ग्राहकसम्म मालसामान पुऱ्याउन मन पराउँछन्। चालकको दक्षता यात्राको दूरी र ढुवानी मालको ओजनअनुसार नापिन्छ। काम गर्ने घण्टा सरदर समयभन्दा अति धेरै हुनसक्छ। जर्मनीका अधिकांश मानिसहरू हप्तामा ४० घण्टाभन्दा कम काम गर्छन् तर थुप्रै ट्रक चालकहरू त्यसको दोब्बर काम गर्छन्।
अरू मुलुकमा पनि स्थिति त्यस्तै छ। दक्षिण अफ्रिकामा ज्याला कम छ। त्यसैकारण, चालकहरू लामो समयसम्म काम गरेर थप पैसा कमाउने कोसिस गर्छन्। भारतको प्रतिवेदनले देखाउँछ, ढुवानी कम्पनीहरूले चालकहरूलाई मालसामान गन्तव्यस्थानसम्म पुऱ्याउन प्रशस्त समय दिएका भए तापनि थप कमाइ गर्न चालकहरूले अरू नै ठाउँमा पुऱ्याउनुपर्ने थप सामानहरू लाद्छन्। फलतः धेरै समय गाडी चलाउनुपर्ने हुन्छ। त्यसो हुँदा कम्पनीमा समयमै फर्कि आउन तिनीहरूले जाग्राम बसेर गाडी नचलाई हुँदैन।
युरोपीय संघभित्र कानुनले तोकेअनुसार एक जना ट्रक चालकले हप्तामा धेरैभन्दा धेरै ५६ घण्टा गाडी हाँक्नसक्छन्। तर त्यसो गरेमा अर्को हप्ता तिनले गाडी चलाउन पाउने घण्टा घटेर ३४ पुग्छ। तिनले सामान लाद्न र झार्नमा बिताएको समयलगायत गाडी चलाएका घण्टाहरू, जाँच्ने यन्त्रमा रेकर्ड गरिन्छ। प्रत्येक चालकले नियमहरू पालन गरेको छ कि छैन, त्यो जाँच्न यो रेकर्डले मदत गर्छ।
चालकले गाडी कुदाउने समयमा असर गर्ने अर्को कुरा हो, साहूको दृष्टिकोण। ट्रक किन्न निकै पैसा खर्च भएकोले उसले नाफा हुनैपर्छ भनेर सोच्ला र हुन्छ भने चौबीसै घण्टा गाडी कुदाउनुपर्छ भन्ने उसको विचार होला। अर्कोतर्फ, ढुवानी कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दै गएकोले व्यवस्थापकहरूले चालकहरूलाई धेरै घण्टा काम गर्ने दबाब दिन्छन्।
लामो समयसम्म काम गर्दा थकाइ त लाग्छ नै तर बेसमयमा काम गर्न थाल्दा पनि त्यस्तो हुन्छ। उदाहरणका लागि, सामान्यतः बिहान एकदेखि चारबजेभित्र काम गर्न थालिन्छ। तर यतिबेला थुप्रै चालकहरू एकदमै सुस्ताएका हुन्छन् र त्यति राम्ररी ध्यानकेन्द्रित गर्न सकिरहेका हुँदैनन्। अनि कम्पनीले स्टक कम गरेर ढुवानी ‘समयमा’ नै गर्न लगाउँदा दबाब बढ्छ। यसको अर्थ, सामान लिएर चालक जसरी भए पनि ग्राहककहाँ तोकिएको समयमा पुग्नुपर्छ। अत्यधिक ट्राफिक जाम, खराब मौसम र सडक मर्मतले गर्दा ढिलो हुनसक्छ तर चालकले जसरी भए पनि समयमै काम फत्ते गर्नुपर्ने हुन्छ।
गाडी चलाउने समय तोकिएको भए तापनि प्रहरीले बेलाबखत अनायासै जाँच गर्दा अझ नियम उल्लंघन भएको देखिएको छ। पोलेट्साइ फर्कार उन्ट टेकनीक पत्रिकाले बताएअनुसार “ट्रक तथा बस चालक अनि खतरनाक मालसामान ढुवानी गर्नेहरू आठ जनामध्ये एक जनाले गाडी चलाउनुपर्ने र आराम गर्नुपर्ने सुझावित समयको पालना गर्दैनन्।” हार्मबार्गोको प्रहरीले ट्राफिक जाँच गर्दा एक जना चालकले नबिसाई ३२ घण्टा गाडी चलाएको पत्ता लाग्यो।
खतरा चिन्ने
तीस वर्षअघिदेखि लामो दूरीमा अर्थात् विदेशमा समेत सामान ढुवानी गर्दै आएका एक चालकलाई यस प्रकारको थकान किन हुन्छ भनेर सोध्दा तिनले भने: “सकी हाल्छु नि भन्ने भावना र अत्यधिक विश्वस्तताले गर्दा चालकलाई थकाइ लागे पनि वास्तै हुँदैन। त्यसैकारण, दुर्घटना हुन्छ।” थकाइका लक्षणहरू पृष्ठ २२ को पेटीमा दिइएका छन्।
खतराका लक्षणहरू समयमै चिन्न सकेमा ज्यान जोगिनसक्छ। राष्ट्रिय यातायात सुरक्षा समितिले संयुक्त राज्यमा अध्ययन गर्दा चिन्ताजनक तथ्यांक निस्क्यो: १०७ ट्रक दुर्घटनामध्ये ६२ वटा त थकाइले गर्दा भएको थियो। यसर्थ, ट्रक ढुवानी उद्योगले यस्तो प्राविधिक यन्त्रहरू बनाउने कुरालाई अत्यधिक महत्त्व दिन्छ जुन यन्त्रले चालकलाई निदाउन लाग्दा चेताउनी देओस्।
जापानको एउटा कम्पनीले भिडियो क्यामेरा प्रयोग गरेर एउटा विद्युतीय प्रणाली बनाउँदैछ। त्यसले चालकले कति छिटछिटो आँखा झिमझिम गर्छ त्यो निरीक्षण गर्छ। अति धेरै समयसम्म आँखा झिमझिम गरिरहेमा पूर्व रेकर्ड गरिएको आवाजले तिनलाई खतराको सूचना दिन्छ। युरोपीय कम्पनीले एउटा यस्तो यन्त्र बनाउँदैछ, जसले गाडी कति राम्ररी चलाइँदैछ भनेर जाँच्छ। ट्रक दायाँ बायाँ हुँदै यताउता कुद्न थाल्यो कि क्याबिनमा चेताउनीको आवाज बजिहाल्छ। तथापि, यी प्रभावशाली यन्त्रहरू उत्पादन गरेर प्रयोगमा ल्याउन समय लाग्नेछ।
खतरालाई रोक्ने
जुनै गाडी चलाए पनि प्रायः नचाहँदा नचाहँदै चालकलाई थकाइ लाग्छ। प्रश्न उठ्छ, थकाइ हटाउने कसरी? कतिपय चालकहरूले क्याफिन भएका पेयपदार्थहरू प्रशस्त पिउँछन् तैपनि तिनीहरूको थकाइ मरेको हुँदैन। अरूले चाहिं शरीर उत्तेजित पार्ने चीजहरू खान्छन्। निस्सन्देह, ती कुरा स्वास्थ्यको लागि हानिकारक छ। मेक्सिकोमा चालकहरू जागै रहन पिरो (असाध्यै पिरो खुर्सानी) खान्छन्।
चाँडै काम थाल्नअघि धीत मरुञ्जेल सुत्नु असल हो। अनि नियममुताबिक तोकिएको घण्टासम्म मात्र गाडी कुदाउनुपर्छ। दक्षिण अफ्रिकाका विशेषज्ञहरू पाँच घण्टा गाडी चलाएपछि विश्राम लिने सल्लाह दिन्छन्। पट्टाइलाग्दो लामो न लामो सडकमा चालक चनाखो र सजग हुनुपर्छ। केही चालकहरू रेडियो सुन्छन् वा सीबी रेडियोमा अरू चालकसित कुरा गर्छन्। एक चालक जो यहोवाका साक्षी हुन्, तिनी बाइबलसम्बन्धी क्यासेटहरू सुन्छन्। जस्तै, प्रहरीधरहरा, ब्यूँझनुहोस्! र बाइबलका परिच्छेदहरू। अरू सुझाउहरू यसै पृष्ठको पेटीमा पाउन सकिन्छ।
जीवन धान्न झन् झन् गाह्रो हुँदैछ। त्यसैले, सन्तुलित हुन पक्कै पनि सजिलो छैन। थकाइले गर्दा चालकलाई पर्नसक्ने हानिबारे कम्पनी अथवा व्यवस्थापकहरू सोच्दैनन्। तसर्थ, ढुवानी व्यापारसित सम्बन्धित प्रत्येकले थकाइबारे जेजति थाह पाएको छ, त्यसलाई मनमा राख्नु राम्रो हो। त्यसबाहेक, चालकहरूले पनि अनुभवद्वारा उपयोगी सुझाउहरू बटुलेका हुन्छन्, जसले अरू चालकलाई निद्रा हटाउन मदत दिनसक्छन्।
निस्सन्देह, सतर्क रहने सबैभन्दा असल तरिका चाहिं शरीरले दिएको चेताउनी पालन गर्नु हो: कुनै चेताउनीमूलक लक्षण थाह पाएमा गाडी बिसाउने ठाउँमा गाडी रोकेर केही क्षण सुत्नुहोस्। त्यसपछि, गाडी कुदाउनुहोस्। थकाइ लागेको पत्तै नहुने फन्दामा नपर्नुहोस्!
[फुटनोट]
a जमर्नीमा नगन्य मात्रामा महिलाहरूले ट्रक चलाउने भएकोले यस लेखमा पुलिंग शब्द चलाइएको छ।
[पृष्ठ २२-मा भएको पेटी]
तुरुन्तै पाइला चालिहाल्नुपर्ने चेताउनीमूलक लक्षणहरू
• आँखा पोल्छ वा आँखा खोल्नै गाह्रो छ?
• कल्पनामा डुब्नुहुँदैछ वा दिउँसै सपना देखेको जस्तो लाग्दैछ?
• के सडकको बीचमा कुदाउनुपर्ने गरी सडक साँघुरो देख्नुहुँदैछ?
• कति बाटो काटिसक्यो, त्यो थाहै भइरहेको छैन कि?
• बेला बेलामा झसंग हुँदै स्टेरियंग र ब्रेक चलाउनुहुँदैछ?
उपरोक्त कुराहरूमध्ये तपाईंलाई एउटै मात्र भइरहेको छ भने पनि तपाईंले तुरुन्तै विश्राम लिनुपर्छ
[पृष्ठ २३-मा भएको पेटी]
लामो यात्रामा
• निद्रा पुगुञ्जेल सुत्नुहोस्
• शरीर उत्तेजित गराउने चीजहरूमा भर नपर्नुहोस्
• नियमित विश्राम गर्नुहोस्, शरीरलाई फूर्तिलो बनाउन व्यायाम गर्नुहोस्
• विशेषगरि पट्टाइलाग्दो लामो यात्रा खतरनाक हुन्छ भनेर याद गर्नुहोस्
• भोकै यात्रा नगर्नुहोस्। राम्ररी खाना खाने बानी बसाल्नुहोस्: हल्का वा स्वास्थ्यकर भोजन
• प्रशस्त तरल पदार्थ पिउनुहोस् तर रक्सी नपिउनुहोस्