प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १२/८ pp. १६-१८
  • रिसाहा चालक—सामना कसरी गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रिसाहा चालक—सामना कसरी गर्ने?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कारण तथा प्रभाव
  • चालकलाई रिस उठ्‌न नदिने
  • के तपाईं पीडित पक्ष हुनुहुन्छ?
  • क्रोधको जमानालाई कुन कुराले बढावा दिइरहेको छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • थकाइ—चालकहरूलाई पत्तै नभई आइपर्ने फन्दा
    ब्यूँझनुहोस्‌!—१९९७
  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • येसुको कुरा सुनिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १२/८ pp. १६-१८

रिसाहा चालक—सामना कसरी गर्ने?

बेलाइतस्थित ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

रिसले रन्कनु अनि रिसको झोंकमा हिंसात्मक काम गर्नु हिजोआज समाचारपत्रहरूमा ठूलठूलो अक्षरमा छापिने खबर हुन थालेका छन्‌। रिसाहा ग्राहक अर्थात्‌ ट्रली रेज (विशाल बजारमा ग्राहकहरूले ट्रली ठोक्काएर पोख्ने रिस) र रिसाहा फोनहोल्डर अर्थात्‌ फोन रेजबाहेक (फोनमा कुरा गरिरहेको बेला बीचैमा कुरा रोकेर अर्को व्यक्‍तिसित फोन गर्ने व्यक्‍तिप्रति पोखाउने रिस) हिजोआज रिसाहा चालक अर्थात्‌ रोड रेजले पनि बेलाइतीहरूको ध्यान खिचिरहेको छ।

रोड रेज बढ्‌दो समस्या भएको छ। गाडी हाँक्दा चालकहरू के के गर्छन्‌, त्यसबारे १९९६ को रिपोर्टले बेलाइतमा रोड रेजले “महामारीको रूप लिन थालेको र गत वर्ष झन्डै आधाजसो चालकहरूले आफू रोड रेजको शिकार भएको वा त्यसको मारमा परेको” दाबी गरेको छ। यातायात संघको सर्वेक्षणअनुसार रोड रेज झन्‌ व्यापक भएको देखिन्छ। यस सर्वेक्षणको रिपोर्टअनुसार “दस चालकहरूमध्ये नौ जना आफू रोड रेजको शिकार भएको दाबी गर्छन्‌।” तथापि चाखलाग्दो कुरा, “ती दसमध्ये [चालकहरू] छ जनाले मात्र गाडी हाँक्दा हाँक्दै आफूलाई रनक्क रिस उठेको स्वीकारेको” सो सर्वेक्षणबाट थाह लागेको छ।

के कति कारणले गर्दा गाडी हाँक्दा हाँक्दै रिस उठ्‌छ? रिसाहा चालकको कारण पीडित हुनुभएको भए आफ्नो बचाउका लागि तपाईं के गर्न सक्नुहुन्छ? अनि यदि तपाईंलाई अरूले गाडी हाँकेको तरिका देखेर रिस उठ्‌छ भने के गर्नुपर्छ? रोड रेज दिन दुई गुना रात चौगुना बढिरहेको हुँदा तपाईं कसरी त्यसको सामना गर्न सक्नुहुन्छ?

कारण तथा प्रभाव

चालकहरू रिसाहा हुनु कुनै नौलो कुरा होइन। बितेका समयमा पनि चालकहरू रिसाउँथे। जस्तै, अंग्रेज कवि लर्ड ब्रायन। तिनले सडकमा अरूसित परेको विवादबारे १८१७ मा एउटा पत्र लेखेका थिए। भनिन्छ, एक जना चालकले ब्रायनको घोडासित “बेसोमती” व्यवहार गरे रे। फलतः कविवरले त्यस मानिसको कान निमोठी दिएछन्‌।

धेरैजसो मुलुकहरूमा सवारी-साधनको संख्या बढेकोले चालकहरू पनि झन्‌ झन्‌ चिढिने स्वभावको हुन थालेका छन्‌। गाडी हाँक्दा हुने हिंसात्मक घटनाहरूको कारणलाई १९८० को दशकदेखि सं.रा.अ.-का समाचारपत्रहरूले “रोड रेज” भनेर व्याख्या गर्न थालेका हुन्‌। हुन त गाडी हाँक्दा हाँक्दै झनक्क रिस उठ्‌नु कुनै अपराध होइन। र पनि अर्को चालकको गाडी हाँक्ने तरिका देखेर चिढिने चालकहरू किन पो हिंसात्मक कार्य गर्छन्‌, त्यसको जरो कोट्याउन भने रोड रेजले मदत गर्छ।

हिजोआज सडकका वातावरण मपाईंत्वले ग्रसित हुन थालेका छन्‌। मानिसहरू गाडी हाँक्दा के के गर्छन्‌, त्यसबारे अध्ययन गर्ने विशेषज्ञहरू पुगेको निष्कर्षबारे लण्डनको द टाइम्स यसो भन्छ: “सडकमा हिंसा वा हमला गर्ने व्यक्‍तिहरू प्रायः सधैं, आफू बिना कारण अरूको जंगली व्यवहारको शिकार हुनुपरेकोले नै त्यस्तो काम गर्न सुरिएका हुन्‌ भन्‍ने गर्छन्‌।” आफूले जस्तै किसिमले गाडी हाँकिरहेको किन नहोस्‌, यस्ता चालकहरू आफैलाई ठीक ठान्छन्‌। अनि अर्को चालकले खिटिक्क सानो गल्ती गर्नेबित्तिकै रिसले दन्किन्छन्‌।

किशोरकिशोरीहरूबीच व्यापक तवरमा फैलिरहेको लागूपदार्थको बढ्‌दो दुर्व्यसनले गर्दा पनि रोड रेजमा बढौती भएको हो। अस्पतालका परामर्शदाताअनुसार कोकिन खाएर गाडी हाँक्नु “जाँड-रक्सीले मातेको बेला सवारी-साधन हाँक्नु जस्तै” हो। लागूपदार्थ सेवन गर्नेहरू प्रायजसो आफूलाई बडो बहादुर सम्झन्छन्‌। फलतः यिनीहरूमध्ये कोही कोही डरलाग्दो वेगले गाडी हाँक्छन्‌। अरू चाहिं नशाको धुनमा बाटो ठम्याउनै नसकेकोले जथाभावी सवारी-साधन कुदाउँछन्‌।

यहाँनेर फिक्रीले चालकहरूमाथि गर्ने असरलाई पनि विचार गर्नु बेस हुन्छ। म्यान्चेस्टर विश्‍वविद्यालयका प्राध्यापक क्यारी कुपर दैनिक जीवनका फिक्री तथा तनाउले गर्दा नै १९९० को दशकमा धेरै रोड रेज भएका हुन्‌ भन्छन्‌। शाही यातायात क्लबका प्रवक्‍ताअनुसार “चालकहरू झन्‌ झन्‌ तनाउग्रस्त भइरहेका हुनाले हिंसात्मक आक्रमणहरू धमाधम बढ्‌दैछन्‌।” अफिस ओहरदोहर गर्न निकै समय गाडी हाँक्नुपर्ने एउटी व्यस्त जनसम्पर्क प्रशासक गाडी चलाउँदा आफू पहिले जत्ति सहनशील हुन नसकेको स्वीकार्छिन्‌। तिनको आफ्नै भनाइ द सण्डे टाइम्स यसरी उद्धृत गर्छ, “आजकाल म सानोतिनो कुरामा पनि जंगी हाल्छु। पहिले पहिले मलाई त्यस्तो हुँदैन थियो।” सायद तपाईंलाई पनि त्यस्तै लाग्दो हो। हो भने, तपाईं के गर्न सक्नुहुन्छ?

चालकलाई रिस उठ्‌न नदिने

अरू चालकहरू पनि गल्ती गर्छन्‌ भनेर स्वीकार्नुहोस्‌। कहिलेकाहीं तिनीहरूले पनि नियम उल्लंघन गर्छन्‌। गाडी हाँक्दा यस्ता कुरा मनमा राख्नुहोस्‌। पहिल्यै विचार गर्नुहोस्‌। उदाहरणका लागि, मानी लिनुहोस्‌ तपाईं मल्टी लेन सडकको छेउ हुँदै वा स्लो लेनमा गाडी चलाउँदै हुनुहुन्छ। अगाडि अरू गाडीहरू पनि राजमार्गमा घुस्न मिल्ने स्लिप रोड वा इन्ट्रान्स राम्प छ। तपाईं स्लिप रोड हुँदै राजमार्गमा पस्न खोजिरहेको गाडी देख्नुहुन्छ। अब तपाईं के गर्नुहुन्छ? आउँदै गरेका गाडीहरूलाई राजमार्गमा पस्न दिनुहुन्छ वा म पहिलेदेखि आइरहेको, त्यसलाई मेरोअगाडि किन पस्न दिने भनेर तर्क गर्नुहुन्छ? के तपाईं यसो भन्‍नुहुन्छ: अर्को बाटोबाट घुस्न आउने गाडीहरूलाई म किन बाटो दिऊँ? तिनीहरूलाई राजमार्गमा घुस्ने ठाउँ दिन म किन अर्को लेनमा साइड लागूँ? तर तपाईंले म मेरो बाटो मरेकाटे छोड्‌दिन भन्‍नुभयो भने के हुनसक्छ सोच्नुहोस्‌। सायद स्लिप रोडबाट राजमार्गमा घुस्न खोजिरहेको चालकले पनि त्यस्तै सोचिरहेको होला। निस्सन्देह, तपाईंहरू दुइमध्ये एक जनाले त बाटो दिनैपर्छ। अन्यथा त्यहाँ दुर्घटना हुनसक्छ।

यस्तो बेला, रोड रेज चर्केको नचाहने चालकहरू गाडी हाँक्दा पहिल्यै विचार गर्छन्‌ र अरूको पनि ख्याल राख्छन्‌। सम्भव भएसम्म अर्को सवारीलाई तिनी बाटो दिन्छन्‌ र आफूले देखाएको शिष्टतालाई अर्को चालकले वास्ता नगर्दा पनि रिसाउँदैनन्‌। बेलाइतस्थित अनुभवी चालक संस्थानका प्रतिनिधिको अनुमानअनुसार प्रत्येक ३ चालकहरूमध्ये १ जनाको खतरनाक मनोवृत्ति हुन्छ। यी चालकहरू राम्ररी सवारी हाँक्नसक्छन्‌ तर शिष्ट व्यवहार भने गर्न सक्दैनन्‌। तिनी यस्ता चालकहरूलाई “कुशल तर अशिष्ट चालक” भन्छन्‌।

धेरैजसो चालकहरू सडकमा हिंड्‌ने बटुवा वा चालकहरूलाई बेवास्ता गर्छन्‌। तर त्यसो भन्दैमा केही भइहाल्यो भने तपाईंले छुट पाउनुहुन्‍न। यसो गर्दा हुनसक्ने परिणामहरू विचार गर्नुहोस्‌। आफ्नो एकोहोरो हठीपनले एकपछि अर्को गाडीहरू आपसमा ठोक्किन थालेको त तपाईं पक्कै चाहनुहुन्‍न। अतः आफ्ना भावनाहरूलाई वशमा राख्नुहोस्‌। गाडी हाँक्ने प्रशिक्षण दिने एक विशेषज्ञ यस्तो सुझाउ दिन्छन्‌: “सडकमा रनक्क रिस उठ्‌ने घटना हुँदा कहिल्यै प्रतिक्रिया जनाउनु वा त्यसको जवाफ फर्काउनुहुँदैन।” रिसाहा चालकहरूको जमातमा सामेल हुन नपरोस्‌ भनेर सतर्क रहनुहोस्‌।

के तपाईं पीडित पक्ष हुनुहुन्छ?

भनौं भने सबै चालकहरू एक न अर्को समय रोड रेजबाट पीडित भएका हुन्छन्‌। अरूले मुक्का ताक्दा, फोहर गाली गर्दा, मनपरी सवारी हाँक्दा हामीलाई डर लाग्नसक्छ र लाग्छ पनि। यस्तो बेला कुनै किसिमको झगडामा नफस्नु नै बुद्धिमानी हुन्छ। रोड रेजको शिकार हुने एक जना व्यक्‍ति अर्को चालकले डरलाग्दो किसिमले उच्छिन्‍न खोज्दा डराए र उच्छिन्‍न खोज्ने रिसाहा चालकले उसलाई उछिन्यो पनि। तर उछिनेपछि त्यो रिसाहा चालकले यति बिस्तारै गाडी हाँक्न थाल्यो कि पछाडिबाट आइरहेको त्यो अर्को चालकलाई कतै आफ्नो गाडी ठोक्किने पो हो कि भनेर डर लाग्यो। रिसाहा चालकको फेला पर्ने यो चालकले अर्को बाटो नसमातेसम्म यो क्रम चलिरह्‍यो।

पछाडिबाट आइरहेको गाडीले तपाईंलाई उछिन्‍न खोजेको जस्तो लाग्यो भने उछिन्‍न दिनुहोस्‌। म आफ्नो ठाउँबाट किन हटूँ भनेर ढिपी नकस्नुहोस्‌। तपाईं जानाजानी अरूलाई रिस उठाउँदै हुनुहुन्छ भने माफी माग्नुहोस्‌। अनजानमै रिस उठाइरहनुभएको छ भने पनि आफूलाई खेद लागेको संकेत दिनुहोस्‌। नबिर्सनुहोस्‌, मीठो बोलीले क्रोध शान्त गराउँछ।

जुनसुकै कारणले गर्दा तपाईं रोड रेजको शिकार हुनुभएको किन नहोस्‌ बदला लिन नखोज्नुहोस्‌। फोकस पत्रिका सुझाउ दिन्छ, “तपाईंसित जस्तो व्यवहार गरियो, त्यस्तै व्यवहार नगर्नुहोस्‌। खतरनाक हतियारको रूपमा प्रयोग गर्नसकिने कुनै पनि कुरा गाडीमा नराख्नुहोस्‌।” अर्को सल्लाह यो पनि छ: आफ्नो गाडीको झ्याल तथा ढोका दुवै बन्द गर्नुहोस्‌। रिसाहासित आँखा नजुधाउनुहोस्‌।

रोड रेजबाट जोगिने माथि उल्लिखित सुझाउहरू नयाँ होइनन्‌। इस्राएलका राजा दाऊदले धेरै समयअघि यस्तै सुझाउ दिएका थिए: “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो। रिसाउन छोड़ र क्रोधलाई त्याग्‌।”—भजन ३७:१, ८.

रोड रेज धमाधम बढ्‌न थालेको भए तापनि तपाईंभित्र चाहिं त्यस्तो किसिमको रिस बढ्‌न नपाओस्‌!

[Box/Picture on page 23]

रोड रेज नियन्त्रण गर्ने

रोड रेज हटाउन गाडीमा “जे-जस्तो यान्त्रिक परिवर्तन गर्न आवश्‍यक छ त्यतिकै आवश्‍यक मानिसहरूको मनोवृत्ति परिवर्तन गर्नुमा छ” भनेर यातायात संघ उल्लेख गर्छ। आफ्नो र अरू सवारी चालकहरूको गाडी हाँक्ने कौशलताप्रति सही दृष्टिकोण राख्नु रोड रेजबाट बच्न अत्यावश्‍यक कुरा हो। अरूको गल्ती प्रस्टै देखे तापनि आफूले पनि गल्ती गरेको हुनसक्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। सवारी नियमसित खेलबाड गर्ने चालकहरू पनि हुन्छन्‌ भन्‍ने तथ्यलाई स्वीकार्नुहोस्‌। अनि सवारी हाँक्दा एकदमै सजग हुनुहोस्‌। थकाइले गर्दा तपाईं तनाउग्रस्त हुनुहुन्छ र एकछिन ध्यान पुऱ्‍याउन नसक्दा घातक परिणाम भोग्नुपर्ने हुनसक्छ।

निम्न लिखित सल्लाहहरूलाई पनि ध्यान दिनुहोस्‌ र बुद्धिमान्‌ राजा सुलेमानले दिएका हितोपदेशहरूसित ती कसरी मेल खान्छन्‌, विचार गर्नुहोस्‌।

• तपाईं रिसाउनुभएको के यात्रीहरूले पनि थाह पाउँछन्‌? सायद तिनीहरूले तपाईंलाई शान्त हुने सल्लाह देलान्‌। तिनीहरूको सल्लाह नसुनेजस्तो नगर्नुहोस्‌ र चालक म हुँ, गाडी कसरी हाँक्नुपर्छ, मलाई सिकाउनु आवश्‍यक छैन भन्‍ने खालको ओठे जवाफ नफर्काउनुहोस्‌। नबिर्सनुहोस्‌, शान्त मनोवृत्ति स्वास्थ्यवर्धक हुन्छ र शान्त हुनुभयो भने तपाईं दीर्घायु पनि हुन सक्नुहुन्छ! “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।”—हितोपदेश १४:३०.

• अरू चालकहरूको पनि ख्याल गर्नुहोस्‌ र समस्या उत्पन्‍न हुने मौका नदिनुहोस्‌। “बुद्धिमान मानिस होशियार हुन्छ र खराब कुरादेखि परै बस्छ, मूर्ख मानिस बेहोशियारी हुन्छ र त्यसमा सोझै जाकिन्छ।”—हितोपदेश १४:१६.

• इसारा वा शब्दद्वारा खेद प्रकट गरेर रिस शान्त पार्नुहोस्‌। “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।”—हितोपदेश १५:१.

• सवारी हाँक्दा रिसाउने व्यक्‍तिहरू पनि हुनसक्छन्‌। तर यसो भन्दैमा तपाईं पनि तिनीहरू जस्तै हुनुपर्ने आवश्‍यकता छैन। “रीसगर्ने मानिसलाई कहिल्यै मित्र नबना।”—हितोपदेश २२:२४.

• अरूको झगडामा हात नहाल्नुहोस्‌। “झगड़ा . . . बढ़नअघिनै रीस छोड़िदेऊ।”—हितोपदेश १७:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने