विश्वदर्शन
बाघ संरक्षण परियोजना असफल
भारतमा राष्ट्रिय पशु, बाघलाई लोप हुनबाट रोक्न १९७३ मा बाघ संरक्षण परियोजना बनाइयो। त्यस बखत भारतमा बाघको संख्या घटेर १,८२७ पुगिसकेको थियो। त्यस परियोजनाले अन्तरराष्ट्रिय समर्थन पाउनुका साथै उल्लेखनीय सफलता हासिल गऱ्यो। सन् १९८९ सम्म भारतमा बाघको संख्या बढेर ४,००० पुगेको थियो। तथापि, इण्डिया टुडे-अनुसार अहिले फेरि बाघ खतरामा पर्दैछ। भारतमा बाघको संख्या घट्दै घट्दै अनुमानित ३,००० भन्दा कम भएको छ। किन? कतिपयको भनाइअनुसार शिकारीहरूले प्रत्येक दिन कम्तीमा सरदर एउटा बाघ मार्छन्। त्यस बाघ संरक्षण परियोजनाको उद्देश्य बाघको रक्षा गर्नु थियो। तर त्यो सफल भएको देखिंदैन। रिपोर्टले बताउँछ, “शिकारीहरूको अत्याधुनिक बन्दुकको गोलीले वनपालेलाई हतोत्साहित बनाउँछ किनभने ऊसित भनेजस्तो हातहतियार हुँदैन।” फलतः, बाघको “अस्तित्व लोप हुँदैछ।”
हेर्दा बूढोजस्तो तर बेलै नपुगी चट
निम्न रिपोर्टहरूले देखाएअनुसार धूम्रपानले चाँडै बूढो बनाउनसक्छ भनेर अनुसन्धानकर्ताहरू विश्वास गर्छन्। बेलाइतको लान्सेट-अनुसार धेरै समयदेखि धूम्रपान गर्नेहरूको उमेर नपुगी चार गुणा छिटो कपाल फुल्ने अनि दुइ गुणा छिटो तालुखुइले हुने वा हुन थाल्ने सम्भावना पाइएको छ। यसबारे रिपोर्ट गर्दै युसी बकैली वेल्नेस लेटर-ले के औंल्यायो भने, धूम्रपान गर्नेहरूको अनुहारमा धेरै चाउरी पर्छ र धूम्रपान नगर्नेहरूको तुलनामा तिनीहरूको दाँत दुइ गुणा छिटो झर्ने सम्भावना हुन्छ। त्यस रिपोर्टले ब्रिटीश मेडिकल जर्नल-मा दिइएको हालैको अध्ययनलाई उद्धृत गर्छ। त्यस अध्ययनले देखाएअनुसार धूम्रपान नगर्नेहरूको तुलनामा जीवनभर धूम्रपान गर्नेहरूमध्ये आधा मात्र ७३ वर्षसम्म बाँच्नसक्छन्। त्यसबाहेक, गूड हाउसकिपिङ पत्रिका बताउँछ, “धूम्रपान गर्नेहरूसित बस्ने मानिसहरूमध्ये २० प्रतिशतलाई हृदयरोग लाग्ने सम्भावना हुन्छ।”
सुन निकाल्ने धमिराहरू
सन् १९८४ मा एक जना गाउँलेले नाइजर भन्ने अफ्रिकी देशमा सुन पत्ता लगाए। फलस्वरूप, थुप्रै देशबाट मानिसहरू खानीमा काम गर्न त्यस प्रान्तमा ओइरिए। भूगर्भशास्त्री, क्रिस ग्लिसनले पुरातन अफ्रिकी मानिसहरूले सुनको खानी पत्ता लगाउन धमिराको ढिस्को प्रयोग गर्थे भन्ने कुरा बताए। नाइजरमा थरीथरीका धमिराहरू पाइन्छन्। ती धमिराहरूले ठूलठूलो ढिस्को बनाउँछन्, जसमध्ये कतिपय १.८ मिटर अग्लो र १.८ व्यासको हुन्छ। नेशनल जियोग्राफिक पत्रिकाले बताएअनुसार, धमिराहरूले पानीको खोजीमा जति जमिन खन्दै जान्छन् त्यति नै त्यो ढिस्को पनि बढ्दै जान्छ; कहिलेकाहीं त ७५ मिटर गहिरोसम्म खन्छ। कहाँ खन्दा ठीक हुन्छ भनेर पत्ता लगाउने आशा गर्दै ग्लिसनले थुप्रै ढिस्कोबाट माटो लिए। धेरैजसो ढिस्कोको माटोमा सुन थिएन र केहीमा भने सुन पाइयो! “सुनको संकेत पाइएको ढिस्कोमा थुप्रै सुन” तिनले भेट्टाए। कुरा के हो भने, धमिराहरूले पानीको खोजीमा जमिन खन्दा सुनलगायत भेटेजति सबै थोक बाहिर जमिनमा थुपार्दारहेछन्।
चट्यांगको खतरा
दि अस्ट्रेलियन समाचारपत्र बताउँछ, “मानिसहरूले सोचेभन्दा धेरै घातक चट्यांग परिरहेको छ।” अस्ट्रेलियामा चट्यांगले प्रत्येक वर्ष पाँचदेखि दश जना मानिस मार्छ र १०० भन्दा धेरैलाई घाइते बनाउँछ। मेलबर्नको मौसम विज्ञान विभागका फिल अल्फर्ड भन्छन्, “चट्यांग पर्ने बेलामा कपाल ठाडो ठाडो उठेको जस्तो लाग्यो भनेर केही मानिसले भने” तापनि एक्कासि आइपर्ने चट्यांगले कुनै चेताउनी दिंदैन। चट्यांगको प्रहारबाट बच्न मेघ गर्जनका साथ पानी पर्न थाल्दा भवन वा बलियो छाना भएको गाडीभित्र आश्रय लिनुपर्छ भनेर अल्फर्ड बताउँछन्। तर त्यस्तो गाडी धातुले बनिएका वस्तुहरूको छेउमा हुनु हुँदैन।
सेलुलर-टेलिफोनमा शिष्टाचार
फार इस्टर्न इकनमिक रिभ्यु अनुसार बोकेर यताउता लान मिल्ने सेलुलर टेलिफोनको सुरुआतले पुरानो ढंगका शिष्टाचारहरूको आवश्यकतालाई जोड दिन्छ। तपाईंसित टेलिफोनमा कुरा गर्ने व्यक्ति र त्यतिबेला तपाईंको छेउछाउमा भएका व्यक्तिहरूप्रति आदर देखाउनु तथा विचार पुऱ्याउनु भनेर हङकङका व्यापारसम्बन्धी परामर्शदाता, टीना लुइ प्रोत्साहन दिन्छिन्। स्पष्टसित तर नचिच्याई कुरा गर्ने अनि खाँदै वा पिउँदै फोन नगर्ने सल्लाह तिनको छ। सभा भइरहेको बेला आउने टेलिफोन कललाई कम गर्ने सुझाउ पनि लुइ दिन्छिन्। साथसाथै टेलिफोन कललाई अर्को ठाउँमा पठाउने वा अस्पताल, पुस्तकालय तथा हलमा सेलुलर टेलिफोन प्रयोग गर्ने सल्लाह पनि तिनी दिन्छिन्, जुन टेलिफोन गोजीभित्र राखिन्छ र त्यसको कम्पनद्वारा फोन आएको थाह पाइन्छ। सामाजिक जमघटहरू भइरहेको बेला फोन आउँदा फोन उठाएर कुराकानी गर्न थालेपछि मित्र वा आफन्तहरूले आफ्नो बेवास्ता गरिएको ठान्छन्। चमेनाघरमा भोजन गर्ने सन्दर्भमा लुइ बताउँछिन्: “कुनै स्त्रीसित चमेनाघरमा भेट्ने चाँजो मिलाएको व्यक्तिले फूलको गुच्छाको स्वागतद्वारा स्त्रीको हृदय जित्लान् तर वार्तालापको दौडान टेलिफोनमा कुरा गर्दा त्यस स्त्रीलाई न्यास्रो लाग्नसक्छ। त्यसैकारण, त्यस्तो स्थिति हुनुअघि नै ती व्यक्तिले टेलिफोन कललाई टुंगो लगाइहाल्नुपर्छ।”
भूकम्पबारे पूर्वानुमान गर्न नसकिने
भूकम्पको वैज्ञानिक पूर्वानुमानबारे छलफल गर्न लण्डनमा हालै भूकम्पसम्बन्धी अन्तरराष्ट्रिय विशेषज्ञहरूको सभा बस्यो। तिनीहरूको निर्णय? टोक्यो विश्वविद्यालयका डा. रोबर्ट गेलर इओएस् प्रकाशनमा यसो लेख्छन्, “लगभग १०० वर्षभन्दा अघिदेखि पृथ्वीसम्बन्धीका थुप्रै वैज्ञानिकहरूले के सोच्दै आएका छन् भने, स्पष्टतः [ठूलठूला भूकम्पहरू] खतरा थाह लगाउने आधारको रूपमा प्रयोग गर्न सकिने पूर्वसंकेतहरूद्वारा पत्ता लगाइनैपर्छ। ती पूर्वसंकेतहरू देख्न तथा चिन्न सकिने हुन्छन्।” त्यसको साटो, “प्रत्येक भूकम्पबारे एक एक कुरा पूर्वानुमान गर्न सम्भव नहुँदा” सोचाइमा परिवर्तन ल्याउन आवश्यक पर्छ। भूकम्पबारे ठीकसित पूर्वानुमान गर्न सम्भव नभए तापनि भूकम्पका अत्यधिक रेकर्डहरू भएको इलाकामा भूकम्प आउनेबारे वैज्ञानिकहरूले अनुमान लगाउनसक्छन्। उदाहरणका लागि, आगामी ५० वर्षको दौडान संयुक्त राज्यभित्र ठूलो भूकम्प जाने सम्भावना रहेको ठाउँलाई देखाउने मानचित्र सं.रा. भौगोलिक सर्वेक्षणले निकालेको छ। यस तथ्यांकको आधारमा सरकारी एजेन्सीहरू के सुझाउ दिन्छन् भने, क्यालिफोर्नियाको ७० प्रतिशत जनसंख्या हाल भूकम्प जाने सम्भावना भएका इलाकाहरूमा बसोबास गर्छन्।
बिजुलीले चल्ने गाडी र वातावरण
वातावरणको लागि पेट्रोलद्वारा चल्ने गाडीभन्दा ब्याट्रीले चल्ने गाडी उत्तम हो कि होइन भनेर पत्ता लगाउन जर्मन अटोमोबाइल कम्पनीले अध्ययन गऱ्यो। सुडोइच जाइटुंग समाचारपत्रअनुसार त्यस अध्ययनमा १०० जना चालकहरू समावेश गरिएको थियो जसले १९९२ देखि १९९६ भित्र १३ लाख किलोमिटर यात्रा गरेका थिए। बिजुलीले चल्ने गाडीहरू कम दूरीसम्म मात्र कुद्नसक्ने भए तापनि त्यसमा थुप्रै लाभहरू भेट्टाइयो। जस्तै, ती होहल्ला नमच्चाइ गुड्छन् र वातावरण प्रदूषण पार्ने कुनै पदार्थ निकाल्दैनन्। तथापि, यी लाभहरूभन्दा ठूलो एउटा समस्या छ। त्यो हो, पेट्रोल वा डिजेलबाट चल्ने गाडी चलाउँदाभन्दा बिजुलीले चल्ने गाडीको ब्याट्री चार्ज गर्दा धेरै उर्जा खर्च हुन्छ अर्थात् १.५ देखि ४ गुणा बढी उर्जा खर्च हुन्छ र यो उर्जा खर्च गाडी कति चलाइन्छ त्यसमा निर्भर गर्छ। अनि त्यो उर्जा कहिंकतै उत्पादन गर्नैपर्छ। कसरी उर्जा उत्पादन गरिन्छ, त्यस कुरालाई हेर्दा सम्भवतः “पेट्रोल वा डिजेलबाट चल्ने गाडीले भन्दा बिजुलीले चल्ने गाडीले वातावरणमा बढी हानि पुऱ्याउँछ” भनेर उक्त समाचारपत्र बताउँछ।
वनस्पतिले विस्फोटक पदार्थहरू नष्ट गर्छ
चुकन्दर र एक प्रकारको पानीझारले पुराना युद्ध सामग्रीहरू फ्याँकिएको क्षेत्रको माटो तथा पानीबाट विस्फोटक पदार्थहरू सोसेर कुनै हानि नपुऱ्याई कुहाउनसक्छ भनेर न्यु साइन्टिस्ट पत्रिका बताउँछ। टेक्सासको हाउस्टनस्थित राइस विश्वविद्यालयका वैज्ञानिकहरूले अंग्रेजीमा पेरिविन्कल र प्यारोट फेदर नामक सामान्य पानीझारलाई टी एन टी खुवाए। एक हप्ताभित्र त्यसको तन्तुहरूमा विस्फोटक पदार्थको नामोनिसान रहेन अनि ती झारहरू जलाउँदा विस्फोट पनि भएन। यसबीच मेरिल्याण्डस्थित विश्वविद्यालयका अन्वेषकहरूले के पत्ता लगाए भने, साधारण चुकन्दरका कोषिका र तत्त्वहरूले नाइट्रोग्लिसिरिन सोस्न र नष्ट गर्नसक्छन्। विस्फोटक पदार्थहरू कुहाउन वनस्पतिहरूले सूक्ष्म जीवहरूको मदत लिएका थिएनन् भनेर प्रमाणित गर्न दुवै समूहका वैज्ञानिकहरूले ती वनस्पतिहरूलाई जीवाणु मुक्त बनाए। त्यही लेख बताउँछ, “हाल, पुराना युद्ध सामग्रीहरू फ्याँकिएका क्षेत्रहरूको पुनरुद्धार गर्न प्रायः एकदमै खतरापूर्ण र खर्चिलो छ। तर कम खर्चमा उमार्न सकिने यस्ता वनस्पतिहरूलाई माटो तथा पानीबाट विस्फोटक पदार्थहरू निकाली सुरक्षितसाथ कुहाउन प्रयोग गरेमा त्यो समस्या हट्नसक्छ।” त्यसो गर्न नितान्त जरुरी पनि छ किनभने “समुद्रमा युद्ध सामग्रीको ढेर फ्याँक्न बन्द गरिंदैछ।”
सहस्र वर्षबारे पागलपन
न्युजवीक पत्रिका बताउँछ, “विश्वयुद्धबाट सुरु भएर आणविक युगमा प्रवेश गरिसकेको यस २० औं शताब्दी मनोरञ्जनको युग भएर अन्त हुँदैछ जस्तो देखिन्छ।” सन् १९९९ नयाँ वर्ष युगका उत्सवहरू मनाउनको लागि “संसारभरिका होटेलहरू आरक्षित भइसकेका छन्।” तथापि, हजार वर्षीय ठीक कहाँ सुरु हुनेछ भनेर विवाद चर्किरहेको छ। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ, “समस्या किरिबाटी राष्ट्रबाट सुरु भएको थियो। अन्तरराष्ट्रिय मिति रेखाले जब द्वीपहरूको श्रृंखला पार गर्थ्यो: पूर्वी किरिबाटीमा आइतबार हुँदा पश्चिमी किरिबाटीमा सोमबार हुन्थ्यो।” जनवरी १, १९९५ देखि यता मिति रेखा सुदूर पूर्वी द्वीप, केरोलाइनामा जानेछ भनी बताउँदै त्यस राष्ट्रले उठेको समस्या समाधान गऱ्यो। त्यसको अर्थ, नयाँ दिनको सुरुआत देख्ने प्रथम देश किरिबाटी हुनेछ। तथापि, टोंगा र न्यु जील्याण्डजस्ता राष्ट्रहरू “प्रथम” हुन चाहन्थे। रोयल ग्रीनविच अभजर्भेटरीअनुसार त्यो कुरा विवादास्पद छ। त्यस रिपोर्टले बताउँछ, “दक्षिणी ध्रुवमा दिन र रात बराबर हुने सेप्टेम्बर २३ देखि दिन र रात बराबर हुने मार्च २१ सम्म घाम लाग्ने भएकोले सहस्र वर्ष पहिला पृथ्वीको फेदमा सुरु हुन्छ।” तथापि, त्यो २००० मा होइन तर २००१ को जनवरी १, नलागेसम्म हुनेछैन भनेर पनि अभजर्भेटरी बताउँछ।
सावधान: लामपुच्छ्रे अफ्रिकी बाँदरहरू बाटो काट्दैछन्
दक्षिण केन्याको समुद्रीतट नजीकैको डीयानी जंगल पूर्वी अफ्रिकाको विरलै ठाउँहरूमध्ये एक हो जहाँ अफ्रिकी लामपुच्छ्रे बाँदरहरू प्रशस्त छन्। यी पशुहरूलाई जोगाएर समुद्रीतटको व्यस्त सडक सुरक्षितसाथ पार गर्नु गाह्रो भएको छ। एउटा अनुमानअनुसार प्रत्येक महिना गाडीले त्यस सडकमा कम्तीमा १२ वटा बाँदर मार्छ भनेर पूर्वी अफ्रिकी वन्य पशु-पंक्षी सोसाइटीको पत्रिका, स्वारा रिपोर्ट गर्छ। डियानी समुद्रीतटको आसपासमा बसोबास गर्ने चिन्तित मानिसहरूको एक समूहले त्यस्तो संहारलाई रोक्न पाइला चाल्ने निर्णय गऱ्यो। चालकहरूलाई अझ होशियार हुन आग्रह गर्नुबाहेक तिनीहरूले सडकदेखि निकै उँचाइमा डोरीको पुल भर्खरै बनाए। त्यस पुलमा बाँदरहरू ओहरदोहर गरेकोले प्रोत्साहित भएर तिनीहरूले अझ धेरै त्यस्ता पुलहरू बनाउने योजना बनाउँदैछन्।