विश्वदर्शन
उच्छृंखल यात्रुहरू
रीसले मुरमुरिएका यात्रुहरूले निकै उच्छृंखल कामहरू गर्न थालेका छन् भनी व्यापारिक विमान सेवा बताउँछ। उडान ढिलाइ हुनु र सरसामान बेपत्ता हुनुजस्ता कुराहरूले रुष्ट भएका यात्रुहरू “हवाईजहाजका परिचारिकाहरूलाई थुक्छन्, भोजन थालीहरू फाल्छन् अनि कहिलेकाहीं त कर्मचारीहरूमाथि हातसमेत उठाउँछन्। कहिलेकाहीं त तिनीहरूले विमानचालकलाई आक्रमण पनि गरेका छन्,” द न्यु योर्क टाइम्स् बताउँछ। उडानको दौडान विमानमा हुने यस्ता आक्रमणहरूप्रति अधिकृतवर्ग निकै चिन्तित छन्। किनकि यस्ता घटनाहरूले विमान दुर्घटना हुनसक्छ। हरेक महिना सालाखाला १०० जति मौखिक वा शारीरिक प्रहार हुन्छ भनी एउटा विमान सेवा बताउँछ। टाइम्स-ले बताएअनुसार, “पुरुष तथा स्त्री, विभिन्न जाति, विविध उमेरका र इकनमि, बिज्निस् तथा फस्ट क्लासका सबै यात्रीहरूले नै उत्पात मच्चाउँछन्। प्रत्येक तीन यात्रुमा एक जना मातेर लट्ठ भएका हुन्छन्।”
छारे रोगीहरूलाई कुकुरको मदत
छारे रोगले अपर्झट आक्रमण गर्नअघि रोगीलाई चेताउनी दिन बेलाइतमा कुकुरहरूलाई प्रशिक्षण दिइँदैछ। यसले गर्दा रोगले चाप्नुअघि नै आफू तयार हुन बिमारीले मौका पाउनेछन् भनी लन्डनको द टाइम्स बताउँछ। अशक्त व्यक्तिहरूलाई मदत गर्ने हेतुले कुकुरहरूलाई प्रशिक्षण दिइने परोपकारी संस्थाकी प्रबन्धक बताउँछिन्, “छारे रोगले अपर्झट आक्रमण गर्नअघि भुक्दा इनाम दिइने हुनाले रोगीमा देखा पर्ने संकेत तथा लक्षणहरू देख्नासाथ कुकुर भुक्ने गर्छ।” त्यसरी भुक्दा इनाम पाइन्छ भनेर जानेको हुनाले रोगीमा देखा पर्ने संकेतहरूप्रति कुकुर निकै सचेत हुन्छ।
औषधीले “जवानी जोगाउन” सक्दैन
वृद्ध मानिसहरूसम्बन्धी चिकित्सक एन्ड्रिया प्राट्सको भनाइअनुसार जवानी जोगाउन हर्मोनजस्ता औषधीहरू प्रयोग गर्नाले “केही न केही फाइदा त होला तर स्वास्थ्यमा बढी नोक्सानी पुऱ्याउनसक्छ।” बूढाबूढी नहुन “नयाँ औषधीहरूभन्दा नयाँ आनीबानीहरू प्रभावकारी हुन्छ,” प्राट्स सुझाउ दिन्छन्। प्रशस्त सुत्नु, शान्त मिजास कायम गर्नु, आङ तन्काउनु तथा हल्का कसरत गर्नु, मानसिक काम गर्नु अनि चिल्लो पदार्थहरू नखानुजस्ता राम्रा आनीबानीहरूले चिरायु बनाउनसक्छ भनी ब्राजिलका सुपरेन्टरासाइन्ट पत्रिका बताउँछ। फलफूल तथा सागपातमा पाइने भिटामिन र खनिज पदार्थहरू खानु पनि उत्तिकै जरुरी छ। बूढो हुनुमा शरीरका सम्पूर्ण कोषिकाहरू नै विथोलित हुन्छन् र शरीरका विभिन्न अंगहरूलाई एकै किसिमको पदार्थ मात्र भएर हुँदैन।
पाक कला—लोप हुँदै गएको हो?
खानपिन गर्ने बानीबारे अस्ट्रेलियाली प्रान्त क्विन्सल्याण्डमा गरिएको १२ महिने अध्ययनअनुसार पाक कला लोप हुनसक्छ। द कुरियर मेल के बताउँछ भने, २५ वर्षमनिका अधिकांश व्यक्तिहरूले आफ्नै निम्ति पनि खाना पकाउन जान्दैनन्। उक्त अध्ययनका लेखिका जनस्वास्थ्य प्राध्यापक मार्गारेट विंगेट भन्छिन्, पहिले पहिले जवानहरूले खासगरि केटीहरूले घरमै आफ्नो आमाबाट अथवा स्कूलमा पकाउन सिक्थे। तर अहिले केटीहरूलगायत थुप्रै जवानहरूले केही पनि पकाउन जान्दैनन् अनि पकाउन सिक्ने मनै गर्दैनन्। धेरैले बजारमा पाइने तयारी खाना रुचाउँछन्। कसै कसैको मतअनुसार तयारी खाना खानाले उच्च रक्तचाप, मधुमेह अनि मुटुको रोग लाग्नसक्छ।
जवान स्तनपायी पशुको पहिलो नकल प्रति
गत फेब्रुअरीमा स्कटल्याण्डका अनुसन्धानकर्ताहरूले जवान भेडाको डि एन ए-बाट नकल प्रति बनायौं भन्ने घोषणा गरेर संसारलाई चकित तुल्याए। वर्षौंअघिदेखि भ्रूण कोषिकाहरूको नकल प्रति बनाइएको भए तापनि जवान स्तनपायी पशुको आनुवंशिक जोडा बनाउन सकिन्छ भनेर थुप्रै वैज्ञानिकहरूले सोचेकै थिएनन्। प्रमाणित विचारमा, मानिसहरूमा पनि यही प्रविधि अपनाउन मिल्छ अर्थात् कुनै वयस्क व्यक्तिको कोषिकाको डि. एन. ए. बाट कलिला तर आनुवंशिक रूपमा दुरुस्तै जोडा बनाउन सकिन्छ। तथापि, इन्टरनेशनल हेरल्ड ट्रिब्युन-अनुसार उक्त योजनामा नेतृत्व गर्ने वैज्ञानिक एयान विलमेटको विचारमा नकल प्रति बनाएर दुरुस्तै मानव जोडा बनाउनु नैतिक रूपमा स्वीकार्य छैन। यस कुरालाई विश्व स्वास्थ्य संगठनले समर्थन गर्दै मानिसको नकल प्रति बनाउनु ‘हद बाहिरको परीक्षण’ हो भन्ने आपत्ति जनाएको छ भनी द जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसन बताउँछ।
साङलाको कारण बाल्यावस्थामा दमको रोग
शहरी बच्चाहरूमा साङलाको कारण अत्यधिक दमको रोग बढेको हो भन्ने कुरा सं.रा.-को नेशनल इन्सटिच्युट अफ हेल्थको निम्ति गरिएको पाँच वर्षे अध्ययनले देखाएको छ भनी न्यु योर्कको डेली न्युज बताउँछ। सातवटा शहरहरूमा दमको रोग लागेका १,५२८ जना बच्चाहरूको अध्ययन गरियो। तिनीहरूमध्ये ३७ प्रतिशत बच्चाहरूमा साङलाले गर्दा उच्च एलर्जी भएको पाइयो। दमको रोगले ग्रसित अन्य बच्चाहरू भन्दा साङलाले एलर्जी भएका तथा छ्यासछ्यास्ती साङला भएका कोठामा सुत्ने बच्चाहरूलाई अस्पताल भर्ना गर्नुपर्ने सम्भावना तीन गुणा बढी हुन्छ। चंगुलमा पारेर, कीटनाशक औषधी छर्केर, बोरिक एसिड प्रयोग गरेर तथा राम्रो सरसफाइ गरेर साङलाहरू भगाउनुपर्छ भनी उक्त अध्ययनका प्रमुख डा. डेविड रोसेन्सट्रीक प्रोत्साहन दिन्छन्। तिनी भन्छन्, घरको कुनाकाप्चा भ्याकुम क्लिनरले सफा गरेर धूलोसँग मिसिएका साङलाका मलमूत्र सफा गर्न सकिन्छ। तिनी अझ यसो भन्छन्, “जताततै खाने कुरा र पानी राख्नु हुँदैन। खासगरि पानी पोख्न वा चुहिनै दिनु हुन्न किनभने पानी खान पाएन भने त साङला बाँच्नै सक्दैन।”