ध्वनि प्रदूषण—आधुनिक मर्का
बेलाइतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“जीवनको सबैभन्दा ठूलो तनाउको कारण।”—विश्व स्वास्थ्य संघका सल्लाहकार माकिस स्तापोगास।
“अमेरिकाको सबैभन्दा व्यापक प्रदूषक।”—द बस्टन सन्डे ग्लोब, सं.रा.अ.
“आज हाम्रो समयको सबैभन्दा खराब प्रदूषक।”—डेली एक्सप्रेस, लण्डन, बेलाइत।
तपाईं त्यसलाई हेर्न, सुँघ्न, स्वाद लिन वा छुन सक्नुहुन्न। ध्वनि, आधुनिक शहरी जीवनको यस अभिशापले गाउँ-घरसमेत प्रदूषित पारेको छ।
बितेका १६ वर्षहरूदेखि प्रकृतिमा सुनिने विभिन्न आवाजहरू रेकर्ड गर्ने एक अमेरिकी प्रकृतिविद्लाई अहिले आफ्नो काम पूरा गर्न झन् झन् गाह्रो लागेको छ। तिनले सन् १९८४ मा सं.रा.अ.-स्थित वासिङ्टन प्रान्तका २१ वटा शान्त ठाउँहरूको अध्ययन गरे। अध्ययनअनुसार ती ठाउँहरू १५ मिनेटभन्दा बढी समयसम्म शान्त थिए तर पाँच वर्षपछि शान्त ठाउँ मात्र तीनवटा भए।
मात्र तीनवटा चकमन्न ठाउँ खोज्नु पनि यस संसारका थुप्रै मानिसहरूलाई धौ धौ पर्छ। जापानमा १९९१ को राष्ट्रव्यापी प्रतिवेदनअनुसार प्रदूषणहरूमध्ये सबैभन्दा धेरै उजुरी ध्वनि प्रदूषणबारे पाइयो। वास्तवमा, लण्डनको द टाइम्स-ले ध्वनि प्रदूषणलाई “आधुनिक जीवनको सबैभन्दा ठूलो दण्ड” भनेर जीवन्त वर्णन गरेको छ। दिमागै तातिनेगरि भुकेको भुकेकै गर्ने कुकुर, छिमेकीले ठूलठूलो स्वरमा घन्काइरहेको स्टेरियो वा गाडीमा चोर छिर्दा अथवा रेडियो कार्यक्रम सक्किएपछि एकनासले बजिरहने ट्वाँ आवाज दालभातसरह भइसक्यो। यद्यपि, ध्वनि प्रदूषण कुनै नौलो समस्या होइन। यसको इतिहास लामो छ।
नौलो समस्या होइन
आवागमन अवरुद्ध नहोस् भनेर जुलियस सिजरले त्यसताक दिउँसोपख रोम भएर कुनै पनि पांग्रे-सवारी जान नपाउने नियम तोकेका थिए। तथापि, दुःखको कुरा “ठेलाको काठ वा फलाम जडित पांग्रा ढुंगा बिछाएको बाटोमा गुडाउँदा” रातमा असाध्यै चर्को आवाज निस्कियो। (द सिटी इन हिस्ट्री, लुईस मम्फर्डद्वारा) फलतः यो नियमले गर्दा जुलियस सिजर र रोमी जनताहरूलाई झन् दुःख भयो। यसको लगभग एक/डेढ शताब्दीजतिपछि कविवर जुभानालले रोमीहरूलाई पटक्कै निद्रा नलाग्ने रोग लाग्नुको कारण ध्वनि प्रदूषण हो भन्दै गुनासो पोखे।
सोह्रौं शताब्दीसम्ममा बेलाइतको राजधानी लण्डन व्यस्त राजधानी हुनपुग्यो। एलिजाबेथान इंग्ल्याण्ड-की लेखिका एल्सन प्लाऊडन भन्छिन्: “अधिकांश आगन्तुकहरूलाई असर गर्ने पहिलो कुरा नै . . . निरन्तर उत्पन्न भइरहेको आवाज थियो होला। हजारौं कारखानाहरूबाट निस्केको ट्याङ्ङ ट्याङ्ङ र ढ्वाङ ढ्वाङ, ठेलागाडाको घर्रघर्र, बजारमा ल्याइएका गाईवस्तुको बाँबाँ, सडकहुँदो मालसामान बेच्दै हिंड्ने बिक्रेताको कर्कश स्वर।”
अठाह्रौं शताब्दीको उदय औद्योगिक क्रान्तीसँगसँगै भयो। कल-कारखानाका कामदारहरू बहिरा हुन थालेपछि मात्र मेसिनको आवाजका कुअसरहरू प्रस्टै देखिन थाले। त्यतिञ्जेल कल-कारखाना नभएको ठाउँका शहरबासीहरूले पनि होहल्ला बढ्दै गएको गुनासो पोख्न थालिसकेका थिए। भाले बासेको, छिमेकीले पियानो बजाएको र सवारी-साधनको आवाज सुन्न नपरोस् भनेर इतिहासकार थोमस कार्लाइल लण्डनस्थित “आफ्नो घरको चोटामा” बस्थे। द टाइम्स यस्तो रिपोर्ट दिन्छ: “तैपनि समस्या सुल्झेन।” किन? किनकि “पानी जहाज र रेलगाडीको सिटीलगायत नाना थरीका आवाजहरू लगातार सुन्नुपर्दा तिनी फेरि व्याकुल भए!”
आधुनिक जमानाको व्यापक प्रदूषक
ध्वनि प्रदूषण विरुद्ध कानुन बनाउन खोज्ने प्रयासलाई विमानसेवाहरूले प्रतिरोध गरेका हुनाले हाल ध्वनि प्रदूषण विरोधीहरू विमानस्थलतर्फ औंला ठड्याउँदैछन्। बेलाइतस्थित म्यानचेस्टर विमानस्थलले वेगले उड्ने कङ्कोर्ड विमान प्रत्येक चोटी उडाउँदा जरिबाना तिर्नैपर्ने नियम लागू गर्दा के त्यो प्रभावकारी भयो? अहँ, भएन। विमानले निकै आवाज निकाल्छ भनेर एउटा कङ्कोर्ड विमानका कप्तानले स्वीकारेका छन् तर ध्वनि कम होस् भन्ने हेतुले विमानमा कम इन्धन हालियो भने, कङ्कोर्ड कतै नरोकी एकै चोटि न्यु योर्क वा टोरोन्टो पुग्नसक्दैन।
सवारी-साधनबाट निस्कने आवाजलाई कम गर्नु पनि उत्तिकै समस्या भएको छ। उदाहरणका लागि, जर्मनीमा सवारी प्रदूषणले ६४ प्रतिशत जनतालाई असर गर्ने गरेको कुरा अध्ययनबाट पत्ता लाग्यो। अनि यो समस्या झन् झन् बढ्दैछ। भनौं भने, सवारी-साधन चलनमा आउनुअघिभन्दा अहिले एक हजार गुना बढी ध्वनि प्रदूषण भएको रिपोर्ट छ। ग्रीसको प्रतिवेदन यसो भन्छ, “युरोपका सबैभन्दा हल्लाखल्ला हुने शहरहरूमध्ये एथेन्स एक हो र यहाँ चर्को आवाज यत्ति नराम्रो भएको छ, त्यसको प्रभाव एथेन्सबासीहरूको स्वास्थ्यमा देखापर्न थालिसक्यो।” त्यसैगरि, जापानमा सवारी-साधनको प्रयोग धेरैभन्दा धेरै हुनथालेकोले सवारी-साधनबाट भएको ध्वनि प्रदूषण झन् झन् बढ्दै गएको हो भनेर वातावरणीय एजेन्सी उल्लेख गर्छ। कम गतिमा गाडी हाँक्दा मुख्यतया गाडीको इन्जिनले आवाज निकाल्छ तर लगभग ६० किलोमिटर प्रति घण्टाको गतिले गाडी कुदाउँदा पांग्राहरूले आवाज निकाल्छ।
बेलाइतमा सबैभन्दा बढ्ता उजुरी परेको ध्वनि प्रदूषण छिमेकीहरूले गर्ने होहल्ला हो। सन् १९९६ मा बेलाइतको चार्टर्ड इन्सटिच्युट अफ इन्भाइरनमेन्ट हेल्थले छिमेकीले गर्ने होहल्लाको उजुरी १० प्रतिशतले बढेको उल्लेख गऱ्यो। यस संस्थानकी प्रवक्ताले यस्तो टिप्पणी गरिन्: “कारण औंल्याउनु निकै गाह्रो छ। तथापि, एउटा कारण चाहिं के हुनसक्छ भने कामको दबाबले गर्दा सायद मानिसहरू कमसे कम घरमा त शान्ति र चैन होस् भनी पहिलेको अनुपातमा धेरै चाहन्छन्।” बेलाइतमा १९९४ मा दर्ता गरिएका उजुरीमध्ये दुइतिहाइ राति अबेरसम्म संगीत बजाउनु तथा असाध्यै आवाज निकाल्ने इन्जिनहरू, अलार्म र हर्नबारे गरिएका थिए। उजुर गर्दा कतै आफूसित बदला लिइने हो कि भन्ने डरको कारण उजुर नगर्ने अनुमानित ७० प्रतिशत पीडित व्यक्तिबारे चाहिं के भन्न सकिन्छ? वास्तवमा यो समस्याले सबैलाई पिरोलेको छ।
ध्वनि प्रदूषणले सबैलाई मर्का परिरहेको हुँदा वातावरण संरक्षक कार्यसंस्थानहरूले ध्वनि प्रदूषणलाई रोक्न नियम पारित गर्न खोजिरहेका छन्। उदाहरणका लागि, संयुक्त राज्य अमेरिकामा केही समुदायहरूले घाँस काट्ने मेसिनहरूको प्रयोग कम गर्ने स्थानीय नियम बनाएका छन्। बेलाइतमा ध्वनिसम्बन्धी नयाँ व्यवस्थाअनुसार राति ११:०० बजेदेखि बिहान ७:०० बजेसम्म होहल्ला मच्चाउने छिमेकीलाई समात्ने र तुरुन्तै जरिबाना तिराउन सकिन्छ। चर्को स्वरमा बजाइराखेको स्टेरियो जफत गर्ने अधिकारसमेत स्थानीय अख्तियारवालाहरूसित छ। तथापि, यी सबका बावजूद ध्वनि प्रदूषण यथावत् छ।
ध्वनि प्रदूषण साँच्चै एउटा बढ्दो समस्या भएकोले पीडित व्यक्तिको हैसियतमा मैले के गर्नसक्छु भनेर तपाईंले सोच्नु भइरहेको होला। यसका साथै तपाईं आफैले पनि ध्वनि प्रदूषण हुन नदिन के गर्न सक्नुहुन्छ? चिरकालीन शान्ति र चैन के कहिल्यै होला? यी प्रश्नहरूका जवाफका लागि यसपछिका लेखहरू पढ्नुहोस्।