शान्ति र चैन के कहिल्यै होला?
विदेशमा के पाउन छुट्टी मनाउन चाहनुहुन्छ भनेर सोद्धा तीन चौथाइ बेलाइती पर्यटकहरूले “शान्ति र चैन” भनेर जवाफ दिए। तर ध्वनि प्रदूषण विश्वव्यापी समस्या भएकोले धेरैको विचारमा साँचो शान्ति र चैन केवल मनको लड्डू भएको छ।
ध्वनि प्रदूषण कम गर्न जबरदस्त प्रयासहरू गरिए तापनि प्रदूषणलाई पूर्णतया नियन्त्रण गर्न सकिएला र भनेर तपाईंलाई शंका लाग्नसक्छ। ध्वनि प्रदूषणबारे तपाईं जति चिन्ता गर्नुहुन्छ, त्यति नगर्नेहरूबारे चाहिं के भन्न सकिन्छ?
पार गर्नुपर्ने बाधाहरू
ढिपी गर्ने मानिसहरूसित तिनीहरूलाई आफ्नो दृष्टिकोण बुझाउन त परै जाओस्, बोल्न पनि गाह्रो हुन्छ। रनको घरबाहिर असाध्यै हल्ला गर्ने जमात केटाहरू भेला हुँदा, रनले सबैभन्दा पहिला ती केटाहरूसित मित्रैलो व्यवहार गरे। तिनले उनीहरूको नाउँ सोधे। तिनले उनीहरूमध्ये एक जनाको साइकल मर्मत गर्न मदतसमेत गरे। त्यसबेलादेखि उनीहरूले तिनलाई सताएनन्।
अब, जवान छोरी भएकी एक्ली आमा मार्जरीलाई विचार गर्नुहोस्। तिनको कोठामाथि बस्ने र तल बस्ने दुवै छिमेकीहरू असाध्यै हल्लाखल्ला गर्नेहरू थिए। माथिको कोठामा बस्नेहरूले आफ्नो भुइँमा गलैंचा बिच्छाएका थिएनन्। फलतः बच्चाहरूले कोठामा स्केटिङ गर्दा, बल खेल्दा वा खाटमाथि उफ्रँदा निस्केको आवाजले तिनलाई हुनसम्म पिरोल्थ्यो। त्यसबाहेक, ती बच्चाहरूका आमाचाहिंले घरमा बस्दा पनि अग्लो जुत्ता लगाउँथिन्। मार्जरीले नम्रतासाथ त्यस छिमेकीलाई हल्ला अलि कम गर्न आग्रह गरिन् तर भाषाको समस्याले गर्दा केही लागेन। तिनीहरूले एकअर्कालाई भन्न खोजेको कुरा स्पष्ट बुझाइदिन वडाबाट मान्छे पठाइन लागेको छ, त्यसैकारण मार्जरी समस्या सुल्झिन्छ कि भन्ने आशामा छिन्।
तिनको कोठामुनि बस्ने लोग्नेमानिस चाहिं हरेक बिहान सातदेखि आठ बजे घरै थर्कनेगरि गीत बजाउँछ। तिनले त्यस पुरुषसित कौशलतासाथ कुरा गरिन् तर ‘मुड राम्रो पार्न’ बाजा नबजाई नहुने जवाफ पाइन्। मार्जरीले यो समस्यालाई कसरी सुल्झाइन्?
“म आत्मसंयम र धीरजी हुने कोसिस गरिरहेकी छु,” तिनी भन्छिन्। “मैले आफ्नो तालिकामा काँटछाँट गरें र आवाज आए तापनि पढ्न बसें। यसो गर्दा म किताब पढ्न यत्ति मस्त हुन्छु, त्यो आवाज आइरहेको पत्तै हुँदैन।”
अर्कोतिर हिथरलाई विचार गर्नुहोस्। हिथरको कोठा माथिबाट सडकपारिको नाइटक्लब मजाले देखिन्छ। रातभर होहल्ला मच्चाएपछि बिहानको लगभग छ बजेतिर यो क्लब बन्द हुन्छ। केही नलागेर तिनले स्थानीय अधिकारीहरूकहाँ गएर उजुर गरिन् तर यो होहल्ला कम गर्न त्यस्तो कुनै खास कदम चालिएको भने छैन।
ध्वनि प्रदूषणको अन्त?
बेलाइतको औषधी अनुसन्धान परिषद्को श्रव्य अनुसन्धान संस्थानका डा. रस कोल्सको अवलोकन यस्तो छ, “चकमन्न हुँदा कतिपय व्यक्तिहरू असाध्यै अप्ठ्यारो मान्छन्, अतासिन्छन्।” चराहरूको चिरबिर, बलौटे तटलाई समुद्रको छालले सुस्तरी छुँदा निस्केको आवाज, बच्चाहरू रमाउँदै चिच्याइरहेको आवाज र त्यस्तै अरू आवाज सुन्दा हामीलाई रमाइलो लाग्छ। अहिले आवाजबाट केही हदसम्म उम्कन खोजे तापनि हामी हितकर मित्रहरूसित कुराकानी गर्न पाउँदा रमाउँछौं। परमेश्वरले आफ्ना विश्वासी सेवकका लागि शान्ति र चैन ल्याउने प्रतिज्ञा गर्नुभएको छ।
बाइबलमा भजनरचयिताले यसरी घोषणा गरेका छन्: “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:११) अब चाँडै परमेश्वरको स्वर्गीय राज्य सरकारले मानव गतिविधिमा हस्तक्षेप गर्नेछ। (दानियल २:४४) त्यसपछि ख्रीष्ट येशूको शासनअन्तर्गत “जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।”—भजन ७२:७; यशैया ९:६, ७.
ईश्वरीय हस्तक्षेपपछि हामी सबैले चाहेको शान्ति र चैन छाउनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्न। भविष्यवक्ता यशैयाले यस्तो घोषणा गरे: “धार्मिकताको परिणाम शान्ति हुनेछ, र त्यसको नतिजा चाहिं सदाको शान्ति र निश्चयता हुनेछ। मेरो प्रजा चाहिं . . . शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्।”—यशैया ३२:१७, १८.
अहिले पनि तपाईंले आफ्नो इलाकाका यहोवाका साक्षीहरू भेला हुने ठाउँमा आध्यात्मिक शान्ति र चैन प्राप्त गर्न सक्नुहुन्छ। कहिलेकाहीं दशौं हजार ‘पुरुष, महिला तथा केटाकेटीहरू’ उपासना गर्न एकसाथ ठूलठूला अधिवेशनहरूमा भेला हुँदा तिनीहरूको ‘हल्ला’ त पक्कै पनि सुनिन्छ। तर यो हल्ला सुन्दा तपाईंलाई अशान्ति होइन रमाइलो लाग्नेछ। (मीका २:१२) स्थानीय साक्षीहरूलाई भेट्न वा तिनीहरूसित सम्पर्क गर्न चाहनुहुन्छ भने यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानामा पत्र पठाई तपाईं आफैले यो शान्ति अनुभव गर्नुहोस्। तिनीहरूसित संगत गरेर साँचो शान्ति र चैनको आनन्द अहिल्यै र सायद अनन्तसम्म पनि उठाउन सक्नुहुनेछ।