विश्वदर्शन
कुरा राम्ररी नबुझ्दाको खतरा
सन् १९७७ को कुरा हो, एउटा सानो शब्द राम्ररी नबुझ्दा संसारकै सबैभन्दा दुःखलाग्दो विमान दुर्घटना भयो भनी दी युरोपियन रिपोर्ट गर्छ। बोइङ ७४७ का डच पाइलटले सन्देश पठाए, हामी “टेकअफमा छौं” र टेनरीफ, क्यानरी आइल्याण्ड्सको एर-ट्राफिक कन्ट्रोलले विमान रोकिएको छ भन्ने बुझे। तथापि, पाइलटले भन्न खोजेको कुरा अर्कै थियो अर्थात् हुस्सुले डम्म ढाकेको अवतरण मार्गमा टेकअफ गर्न लागेका छौं। फलतः यो विमान अर्को ७४७ सित ठोकिन पुग्यो र ५८३ जनाको मृत्यु भयो। त्यस्तैगरि १९९६ मा भारतको दिल्ली नजिकै दुइटा विमान एकअर्कोसँग जुधेर ३४९ जनाको मृत्यु हुनुको एउटा कारण भाषासम्बन्धी अपर्याप्त ज्ञान थियो। गम्भीर गल्तीहरू छिटफुट मात्र हुने र विमान टोलीले उडानसम्बन्धी अंग्रेजी शब्दहरूबारे निकै तालिम पाए तापनि कुनै कुनै विमान टोलीलाई उडानसम्बन्धी त्यति धेरै अंग्रेजी शब्दहरू थाह हुँदैन। आपत्कालीन परिस्थितिमा ती अंग्रेजी शब्दहरू भुसुक्कै बिर्सनसक्छन्। उडानसम्बन्धी सही सञ्चार कायम गर्न ककपिटमा कम्प्युटर प्रविधिको व्यवस्था हुनुपर्ने सुझाउ विशेषज्ञहरूको छ।
विश्वव्यापी तवरमा अवैध लागूपदार्थको प्रयोग
अन्तरराष्ट्रिय व्यापार तथा उत्पादनबाट संकलन हुने सालाखाला ४०० अरब अमेरिकी डलरको आम्दानीमध्ये ८ प्रतिशतजति त अवैध लागूपदार्थबाट प्राप्त हुन्छ भनी सं रा-को प्रतिवेदनले बताउँछ। यस ३३२ पन्ना लामो प्रतिवेदनमा अवैध लागूपदार्थको विश्वव्यापी प्रभावबारे प्रस्तुत गरिएको यो प्रथम प्रतिवेदन थियो। यसले देखाएअनुसार सालाखाला १४ करोड मानिसहरू अर्थात् विश्व जनसंख्याको झण्डै २.५ प्रतिशतले गाँजा वा चरेस सेवन गर्छन्। तीन करोडले एम्फेटामाइनजस्ता उत्तेजक पदार्थ, १.३ करोडले कुनै न कुनै प्रकारको कोकेन र ८० लाखले हेरोइन सेवन गर्ने गर्छन्। कानुनी निकायहरूले हजारौं टन गाँजा, कोकेन, हेरोइन र मोर्फिन जफत गरे तापनि त्योभन्दा धेरैलाई हात पार्न सकेका छैनन्। यसरी जफत हुनेमध्ये ३० प्रतिशत कोकेन, १० देखि १५ प्रतिशत मात्र हेरोइन पर्छ भनी प्रतिवेदनले बताउँछ। अन्तरराष्ट्रिय तहमा लागूपदार्थको ओसारपसार असाध्यै जटिल छन्। सं. रा लागूपदार्थ नियन्त्रण कार्यक्रमका निर्देशक जोर्जो जाकोमेली यसो भन्छन्, “यो एउटा अन्तरराष्ट्रिय समस्या भएको हुँदा कुनै एउटा राष्ट्रले मात्र सुल्झाउन सक्दैन।”
रिमोट कन्ट्रोल कसको हातमा?
इ यु आर आइ एस पी इ एस (राजनैतिक, आर्थिक तथा सामाजिक शिक्षा संस्थान) अनुसन्धानकर्ताहरूले टिभी हेर्ने बानीसम्बन्धी हालै एउटा विवरण प्रकाशित गरे। लगभग २,००० इटालेली परिवारको अन्तरवार्ता लिइयो। तिनीहरूलाई सोधिएका थुप्रै प्रश्नहरूमध्ये एउटा थियो, टिभी रिमोट कन्ट्रोल प्रायजसो कसको हातमा हुन्छ। यो रिमोट कन्ट्रोललाई एउटा अखबारले आधुनिक परिवारको अख्तियारको प्रतीक भनेर नामाकरण गरेको छ। प्रायजसो त यो रिमोट कन्ट्रोल बुबाको हातमा हुन्छ भनिएको थियो। त्यसपछि, च्यानेल चेन्ज गर्नेहरूमा छोराछोरीहरू हुन्छन्। रिमोट कन्ट्रोल लिने होडबाजीमा आमाले सबैभन्दा अन्तिम मौका पाउँछिन्।
संक्रामक रोगहरूको वृद्धि
नाशोइच नोय प्रेस यसो भन्छ, “गत २० वर्षमा एकदमै नयाँ तथा अत्यन्त संक्रामक ३० प्रकारका रोगहरू देखा परेका छन्। इबोला, एड्स र हेपाटाइटीस सी-जस्ता थुप्रै रोगहरूको त उपचारै छैन। यसबाहेक मलेरिया, कलेरा र क्षयरोगजस्ता संक्रामक रोगहरू पनि बढिरहेका छन्। किन? विश्व स्वास्थ्य संगठनअनुसार (डब्ल्यु एच ओ) “धेरैजसो एन्टिबायोटिकहरूले भाइरसहरूमाथि कुनै असर नपार्ने हुँदा थुप्रै रोगहरू फेरि देखा परिरहेका छन्। एन्टिबायोटिक विकास गर्ने प्रणाली असाध्यै महँगो भएको हुँदा नयाँ एन्टिबायोटिकहरू त्यति धेरै उत्पादन गरिंदैनन्।” यस्ता गतिविधिहरू रोक्न विश्व स्वास्थ्य संगठनले सरकार तथा औषधी कम्पनीहरूलाई “नयाँ एन्टिबायोटिकहरू बनाउन तथा संक्रामक रोगहरू परीक्षण गरेर पत्ता लगाउने कार्यमा बढी पैसा लगानी गर्न” आग्रह गरेको छ। सन् १९९६ मा विश्वभरि संक्रामक रोगले मर्नेहरूको संख्या ५.५ करोड थियो।
“पवित्र शहर,” खस्कँदो भक्तिभाव
रोम पवित्र शहर भनिनुका साथै यहाँका विशप क्याथोलिक चर्चका प्रमुख भए तापनि मानिसहरूले सोचेजति यहाँका बासिन्दाहरू धर्मपरायण छैनन्। रोमको थर्ड विश्वविद्यालयले गरेको एउटा सर्वेक्षणअनुसार १० प्रतिशत इटालेलीहरू मसीहीधर्मप्रति “पटक्कै” चासो नभएको कुरा बताउँछन् तर रोममा त्यसो भन्नेहरूको संख्या १९ प्रतिशत छ। थप २१ प्रतिशत रैथानेहरू क्याथोलिक चर्चप्रति “पटक्कै” चासो राख्दैनन् भनी ला रिपब्लीका बताउँछ। अर्कोतिर केवल १० प्रतिशतले मात्र धर्मप्रति बढी चासो राख्छन्। समाजशास्त्री रबर्टो चेप्रियानीअनुसार ४ जना रैथानेमध्ये १ जनाले मात्र मनोवृत्ति तथा आचरणसम्बन्धी चर्चको नीतिनियम पालन गर्छन्।
भारतलाई टिबीले सतायो
क्षयरोग (टिबी) जीवाणुलाई नियन्त्रण गर्ने व्यापक प्रयासको बावजूद भारतका २ वयस्कमध्ये १ जना टिबीले संक्रमित हुन्छन् भनी विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) दाबी गर्छ। भारतको ९० करोडभन्दा बढी मानिसहरूमध्ये वर्षेनी २० लाखभन्दा बढीलाई सक्रिय टिबी लाग्छ र ५,००,००० यसैबाट मर्ने गर्छन् भनी दी एसियन एज बताउँछ। विश्व स्थास्थ्य संगठनअनुसार रोगले संक्रमित तथा संक्रमण हुनसक्ने सम्भावना भएका मानिसहरूको संख्या एकदमै बढी छ। टिबी रोगीहरूले यो रोग सहनुपर्ने मात्र होइन तर यो रोगसित सम्बन्धित धब्बा लिएर बाँच्नुपर्छ। टिबी रोगीहरूलाई छिमेकी, मालिक तथा सहकर्मीहरूले पनि तिरस्कार गर्नसक्छन्। जवान दुलहीहरूलाई टिबी लागेको थाह पाएपछि सन्तान जन्माउन तिनीहरू असक्षम हुन्छन् भनेर माइत फर्काइन्छ।
योनि विच्छेद गरिएका केटीहरू, किशोरी आमाहरू
केटाकेटीहरूको स्वास्थ्य, पोषण तथा शिक्षासम्बन्धी संयुक्त राष्ट्र संघको बालकोशद्वारा प्रकाशित राष्ट्रहरूको विकास प्रकाशनको १९९६ संस्करण यसो भन्छ, “हरेक वर्ष सालाखाला २० लाख केटीहरूको योनि विच्छेद गरिन्छ। यसमध्ये ७५% घटनाहरू इजिप्ट, इथियोपिया, नाइजेरिया, सोमालिया र सुडानमा हुने गर्छन्। जिबुटी र सोमालियामा ९८% केटीहरूको योनि विच्छेद गरिन्छ।” पीडा त छँदैछ, त्यसमाथि यसले गर्दा संक्रमण हुने, लामो समयसम्म रगत बगिरहने, बाँझोपन तथा मृत्यु हुनसक्छ। उक्त प्रतिवेदन यसो भन्छ, “कुनै पनि धर्मले योनि विच्छेद गर्नुपर्छ भनेको छैन। यो कौमार्य जोगाउने, विवाहयोग्य बनाउने र यौनाकांक्षालाई नियन्त्रणमा राख्ने परम्परा हो।” महिला अधिकार तथा बाल हितसित सम्बन्धित समूह तथा संगठनहरूले यस्तो प्रचलनलाई गैरकानुनी घोषित गर्न सरकारहरूलाई दबाब दिइरहेका छन्।
दोस्रो रिपोर्टले देखाएअनुसार थुप्रै मुलुकहरूमा किशोरीहरूको गर्भाधारण अर्को ठूलो समस्या हो। उदाहरणका लागि, औद्योगिक राष्ट्रहरूमध्ये संयुक्त राज्यमा यसको दर सबैभन्दा बढी छ: वर्षेनी १५ देखि १९ वर्षबीचका १,००० केटीहरूमध्ये ६४ जना गर्भवती हुन्छन्। जापानमा यो दर सबैभन्दा कम छ, वर्षमा चार जना गर्भवती हुन्छन्। किशोरीहरू गर्भवती हुँदा केटीको विकास, शिक्षामा धक्का पर्नुका साथै अनेकन् मौकाहरू गुमाउनुपर्ने हुन्छ। यसका साथसाथै त्यसरी जन्मेका बच्चाहरूले राम्रो हेरचाह पाउँदैनन्, गरिबीको चपेटामा पर्छन् र अस्थिर पारिवारिक वातावरणमा हुर्कन्छन्।
प्रदूषण तथा बाल क्यान्सर
एपिडेमियोलोजिस्टहरूको एउटा समूहले २२,४०० बेलाइती बच्चाहरूको २७ वर्षसम्म अध्ययन गरिसकेपछि के पत्ता लगाए भने प्रदूषणको स्रोतबाट पाँच किलोमिटर वरपर जन्मेका बच्चाहरू ल्युकेमिया र बाल्यावस्थामा लाग्ने अन्य क्यान्सरहरूले मर्ने सम्भावना २० प्रतिशत बढी हुन्छ। हावामा हुने प्रदूषकहरू “यसको एउटा प्रमुख कारण हुनसक्छ” र यसले गर्दा बाल क्यान्सर बढी देखा पर्न थालेको छ भनी लण्डनको द टाइम्स बताउँछ। यस्ता प्रदूषकहरू तेल प्रशोधनशाला, गाडी कारखाना, आणविकरहित पावर प्लान्ट, स्टील तथा सिमेन्ट कारखानाबाट निस्किने पेट्रोलको धूवाँ वा प्रज्ज्वलनशील जैविक रासायनिक तत्त्वहरू हुन्। उक्त अध्ययनअनुसार राजमार्ग वा रेलमार्गको चार किलोमिटर छेउछाउमा जन्मिएका बच्चाहरू क्यान्सर लागेर बढी मर्ने गर्छन्। पेट्रोल तथा डिजेलको धूवाँले गर्दा त्यस्तो भएको हुनसक्छ भनी उक्त प्रतिवेदनका लेखकहरू दाबी गर्छन्।
रगत तथा एच आइ भी संक्रमण
संसारभरि एच आई भी/एड्सद्वारा संक्रमित झण्डै २.२ करोड मानिसहरूमध्ये ९० प्रतिशतभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा बस्छन्। लण्डनस्थित सूचनासम्बन्धी संगठन पानोस यस्तो रिपोर्ट दिन्छ, “विकासोन्मुख राष्ट्रहरूमा देखिएका नयाँ प्रकारका १० प्रतिशत जति एच आइ भी संक्रमण रक्तक्षेपणले गर्दा भएको हो।” धेरै मुलुकहरूमा रक्तक्षेपण गरिने रगत सुरक्षित हुँदैन किनभने एच आइ भी-को लागि प्रयोगशालामा गरिने परीक्षणहरू पूर्णतया भरपर्दो छैनन्। जस्तै, पाकिस्तानमा आधाभन्दा बढी ब्लड बैंकहरूसित एच आइ भी परीक्षण गर्ने उपकरणहरू छैनन्। फलस्वरूप, त्यहाँ देखिएका १२ किसिमका एच आइ भी संक्रमण रक्तक्षेपणले गर्दा भएका हुन्। पन्ध्र वर्षअघि एड्स पहिलो चोटि पत्ता लागेदेखि यता अहिले संसारभरि त्यो रोगको जीवाणु अर्थात् एच आइ भी-बाट झण्डै तीन करोड मानिसहरू संक्रमित भइसकेका छन्।
किशोरकिशोरीहरूको यौनसम्बन्ध
हालैको एउटा अध्ययनअनुसार “नाइजेरियाली किशोरकिशोरीहरू यौनसम्बन्ध राख्ने सन्दर्भमा संसारमा सबैभन्दा सक्रिय रहेको कुरा” नाइजेरियाली अखबार विकेन्ड कन्कर्ड-मा लेखिएको थियो। त्यहाँ १४ देखि १९ वर्षबीचका ६८ प्रतिशत केटा तथा ४३ प्रतिशत केटीहरूले “यौवनावस्था सुरु हुनेबित्तिकै” यौनसम्बन्ध राखेको मानी लिए। यसले गर्दा नचाहँदा नचाहँदै थुप्रै गर्भधारणहरू हुन्छन्। एउटा अर्कै अध्ययनले देखाएअनुसार “१९ वर्षमनिका केटीहरूको मृत्युमध्ये ७१ प्रतिशत मृत्युको कारण गर्भपात गर्दा उत्पन्न स्वास्थ्य समस्याहरूले” हुन् भनी कन्कर्ड बताउँछ।
हात धुने संकट
फ्रान्सेली चिकित्सा पत्रिका ले कोटेड्यान ड्यु मेड्सन-मा हालै प्रकाशित लेखले एउटा चिन्ताजनक समस्याबारे उल्लेख गऱ्यो, जुन दिन परदिन बढिरहेको छ। त्यो हो, खाना खानुअघि वा शौचालय गएपछि हात नधुने बानी। डा. फ्राडरीक साल्डमानअनुसार स्वास्थ्यसम्बन्धी यस्तो सानो कुरामा राम्रो ध्यान दिन नसक्दा भोजनसम्बन्धी ठूलो समस्या देखा परेको छ र यो समस्या व्यापक होला जस्तो देखिन्छ। उक्त लेखमा उल्लिखित एउटा अध्ययनले देखाएअनुसार बेलाइती पेय गृहहरूमा प्रयोग हुने बदामका बटुकाहरूमा १२ जना मानिसहरूको मूत्रदाग पाइयो। अमेरिकी स्कूलमा गरिएको अर्को अध्ययनअनुसार केटाकेटीहरूलाई एक एक गरेर राम्ररी हात धुन लगाउँदा पाचनसम्बन्धी गडबडी र श्वासप्रश्वाससम्बन्धी समस्याले गयल हुनेहरूको संख्या क्रमशः ५१ र २३ प्रतिशतले कम भयो। उक्त लेखले केटाकेटीहरूलाई स्वास्थ्यसम्बन्धी आधारभूत कुराहरू शैशवकालदेखि नै सिकाउनुपर्ने महत्त्वमाथि जोड दियो।
हात्तीको सञ्चार माध्यम
हात्तीको स्वर नली असाध्यै ठूलो हुन्छ अर्थात् २० साइकल प्रति सेकेण्ड वा त्योभन्दा कम फ्रिक्वेन्सीमा यसबाट ध्वनि निस्कने हुँदा मानिसले यो आवाज त्यति प्रस्ट सुन्न सक्दैन। त्यस्तो धीमा आवाज पनि हात्तीहरूले टाढाटाढासम्म सुन्नसक्छन् र डेढ किलोमिटर टाढाबाट त्यो आवाज चिन्नसक्छन्। हात्तीले अरू १५० वटा हात्तीको आवाज छुट्याउनसक्छ र त्यसैको भरमा आफ्नो परिवारका सदस्यहरू तथा बथानतिर जान्छ। हात्तीहरू प्रायजसो अज्ञात हात्तीहरूको आवाजलाई वास्ता गर्दैनन् वा त्यो आवाज सुनेर झर्को मान्छन्। केन्याको आम्बोसेली राष्ट्रिय निकुञ्जका पशुहरूको अनुसन्धान गरिरहेका विशेषज्ञ अर्थात् बेलाइतको ससेक्स विश्वविद्यालयका डा. करेन मेकमले “ध्वनि सञ्चारसम्बन्धी त्यस्तो प्रकारको विस्तृत नेटवर्क अरू कुनै पनि स्तनपायीमा नभएको” उल्लेख गरे र यो खबर लण्डनको द टाइम्स-मा प्रकाशित गरिएको थियो।