प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. २०-२६
  • के रेभ लाभदायक मनोरञ्जन हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के रेभ लाभदायक मनोरञ्जन हो?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रेभको एक झलक
  • रेभको पतित पक्ष
  • के तपाईं रेभमा उपस्थित हुनु बुद्धिमानी होला?
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • युथ डान्स क्लबहरूमा जाने कि नजाने?
    ब्यूँझनुहोस्‌!—२००४
  • जवानहरू हो—संसारको आत्माको विरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌!
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. २०-२६

युवा जनहरू सोध्छन्‌ . . .

के रेभ लाभदायक मनोरञ्जन हो?

“संगीतको धुनमा लट्ठिएर हावामा हात हल्लाएर नाचिरहेको बेला अरू पनि त्यसरी नै नाचिरहेको देख्दा म झनै मच्ची मच्ची नाच्न थाल्छु। भावनाको लहरमा कहीं अन्तै पुगेजस्तो लाग्छ।”—जीना।

जीना रेभको वर्णन त्यसरी गर्छिन्‌। सर्वप्रथम १९८० को दशकमा बेलाइतमा लोकप्रिय हुन थालेका यी डान्स पार्टीहरू प्रायजसो रातभरि चल्छन्‌। अहिले त संसारको हरेक भागमा लोकप्रिय भइसक्यो। जस्तै, बेल्जियम, क्यानाडा, जर्मनी, भारत, न्यु जील्याण्ड, दक्षिण अफ्रिका र संयुक्‍त राज्य।

क्लब, कसैले प्रयोग नगर्ने भण्डारघर वा बाली नलगाएको खेतमा रेभहरू आयोजना हुन्छन्‌ अर्थात्‌ भनौं भने उन्मत्त भएर रातभरि नाचगान गर्न जहाँ मिल्छ त्यहीं भेला हुन्छन्‌। दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट प्रकाशित हुने सन्डे टाइम्स म्यागजिन-मा एडम लेभनले यस्तो लेखे, “युवाहरू नाइटक्लबको साटो यस्ता रेभहरू नै बढी रुचाउँछन्‌।” तिनी अझ यस्तो भन्छन्‌, “तपाईंका किशोरकिशोरी छोराछोरीहरूले यसबारे बताएका छैनन्‌ भने तपाईंहरूबीच खुलस्त कुराकानी नहुँदो रहेछ।”

रेभको एक झलक

रेभहरू कहिलेकाहीं गुपचुप गरिन्छन्‌ र जुन दिन हुने हो, त्यसअघि उक्‍त ठाउँबारे कसैलाई थाह दिइँदैन। तैपनि, रंगीचंगी बत्ती, नाँचु नाँचु लाग्ने टेक्नो संगीत बज्न थालेपछि दर्जनौंदेखि लिएर हजारौं युवाहरू अनौठो पहिरनमा त्यहाँ जम्मा हुन पुग्छन्‌। कलेजको दोस्रो वर्षमा अध्ययनरत काटी यसो भन्छिन्‌, “एक हूल मानिसहरू नाचको धूनमा मस्त भएर आफ्नो आक्रोश पोखिरहेको जस्तो देखिन्छ।”

तथापि, रेभ भनेको नाच्न भेला हुने सामाजिक जमघट मात्र होइन। यस्ता रेभमा भेला हुनेहरू यसलाई एउटा प्रचलित धारणा वा “अवस्था” भन्‍न रुचाउँछन्‌। रेभको आधारभूत सिद्धान्त विविध जातीयता, राष्ट्रियता वा यौन झुकाउको बावजूद शान्ति, प्रेम, एकता र सम्मान हो। किसिम किसिमको डान्स म्युजिक मात्रै बेच्ने पसलका साहुजी यसो भन्छन्‌, “हामी यस्ता पार्टीहरूमा विभिन्‍न संस्कृतिहरूलाई घुलमिल गराउन चाहन्छौं।” तिनी अझ यसो भन्छन्‌, “हाम्रो मूल ध्येय हो, सबैलाई एकतामा बाँध्ने र यसो गर्ने एकदमै राम्रो तरिका एकसाथ नाच्नु हो।”

यस्ता महान्‌ धारणाहरूलाई विचार गर्दा तपाईंको मनमा यस्ता प्रश्‍नहरू उठ्‌नसक्छन्‌, ‘रेभमा भाग लिनु अनुचित होला र?’ तर तपाईंले रेभबारे विचार गर्नुपर्ने अर्को एउटा पक्ष पनि छ।

रेभको पतित पक्ष

रेभमा प्रायः मादक पेयपदार्थ प्रयोग हुँदैनन्‌ भनी कोही कोही भन्छन्‌। तथापि, लागूपदार्थ भने फालाफाल पाइन्छ। रेभमा भाग लिने ब्रायन नाउँको केटो यसो भन्छन्‌, “रेभमा लागूपदार्थहरू त्यति बिघ्न फालाफाल नहुँदो हो त सर्वसाधारणले रेभप्रति खास आपत्ति जनाउँदैनथे कि जस्तो लाग्छ।” तिनी अझ यसो भन्छन्‌, “निस्सन्देह, लागूपदार्थ नै नहुँदो हो त रेभ भन्‍ने कुरा पनि सृजना हुनेथिएन भन्‍ने सोचाइ राख्नेहरू पनि छन्‌।”

कुनै कुनै रेभमा गाँजा र एल एस डी लोकप्रिय भए तापनि रेभ सहभागीहरू चलनचल्तीमा एक्सटसी भनेर चिनिने एम डी एम ए लागूपदार्थ बढी रुचाउँछन्‌। एक्स्टसी सेवन गर्नेहरू यो लागूपदार्थ अरूजत्तिको हानिकारक हुँदैन भन्‍ने दाबी गर्छन्‌। यसले रातभरि नाच्न बल दिन्छ र हर्षोल्लासको भावनालाई अझ बढाउँछ भन्छन्‌। यद्यपि, द न्यु योर्क टाइम्स-ले “लोकप्रिय लागूपदार्थले दिमागमा हानि पुऱ्‍याउनसक्छ” भन्‍ने शीर्ष समाचारमा यसो भन्यो: एक्स्टसीले “मनमा कुनै कुरा लाग्नेबित्तिकै तुरुन्तै गर्न लगाउनसक्छ अनि भोक, निद्रा, मुड तथा अन्य मानसिक क्रियाकलापहरूमा चिरकालीन हानिकारक असर पार्नसक्छ।” त्यति मात्र होइन। डा. हावर्ड मकिनी यसो भन्छन्‌, “एक्स्टसी सेवन गर्ने केही व्यक्‍तिहरूको मृत्यु भएको छ र कतिपय घटनाहरूमा सामान्य मात्रामा सेवन गर्नेहरूको पनि रक्‍तसंचार बन्द भएको, कलेजोले काम गर्न छोडेको वा बेहोश भएका छन्‌।” डा. सेल्भान डे मिरान्डाले यसो भन्‍नु एकदमै उचित छ: “एक्स्टसी सेवन गरेर रेभमा भाग लिनेहरूले मृत्युसित खेलबाड गरिरहेका हुन्छन्‌।”

जडिबुटीबाट बनाइने लागूपदार्थहरू जस्तै हर्बल एसिड, एक्सलरेशन, हर्बल एक्स्टसी वा रश पनि हानिकारक हुनसक्छन्‌। उदाहरणका लागि, जडिबुटीबाट बनाइएको लागूपदार्थ एक्सलरेशनले गर्दा कुनै कुनै अवस्थामा हृदयघात र मृत्युसमेत हुनसक्छ।

रेभमा प्रयोग हुने लागूपदार्थ हानिकारक हुँदैन भनी अझै पनि जिद्दी गर्नेहरूले विचार गर्नुपर्ने अर्को एउटा पक्ष छ। एक्स्टसी भनेर बेचिने ९० प्रतिशत लागूपदार्थ वास्तवमा एक्स्टसी नै होइन भनी क्यानेडियाली प्रहरी गुप्तचर इयान ब्रिग्ज भन्छन्‌। तिनी भन्छन्‌, “प्रायजसो त पी सी पी वा अन्य खतरनाक लागूपदार्थ हुन्छन्‌। यस्ता लागूपदार्थ बेच्ने मानिसहरू बेइमान हुन्छन्‌। यो लागूपदार्थको असर देखिन थाल्दा ती बेइमानहरू बेपत्ता भइसकेका हुन्छन्‌।”a

हो, कुनै कुनै रेभहरूमा लागूपदार्थको प्रयोग नहुन पनि सक्छ। तथापि, रेभमा उपस्थित हुनेहरूमध्ये कति जनाले लागूपदार्थ वा मादक पेयपदार्थ सेवन गरेका हुन्छन्‌, हुँदैनन्‌ किटान गर्न असम्भवै छ भने पनि हुन्छ।

के तपाईं रेभमा उपस्थित हुनु बुद्धिमानी होला?

संगीत र नाचगान नै खराब कुरा त होइन र रमाइलो गर्न चाहनुमा केही गल्ती पनि छैन। आखिर बाइबलले “हाँस्ने एउटा समय” र “नाच्ने एउटा समय” छ भन्छ। (उपदेशक ३:४) यस्तो सल्लाह पनि दिन्छ: “आफ्नो युवावस्थामा सुखी होऊ।” (उपदेशक ११:९) अतः सृष्टिकर्ता तपाईं खुशी होस्‌ भन्‍ने चाहनुहुन्छ! तैपनि “सारा संसार त्यस दुष्टको,” मतलब शैतान अर्थात्‌ दियाबलको “अधीनमा परेको छ” भनेर तपाईंले बिर्सनु हुँदैन। (१ यूहन्‍ना ५:१९) तसर्थ, यस संसारले वाहवाह गर्ने मनोरञ्जनमा प्रायजसो अस्वास्थ्यकर तत्त्वहरूको धब्बा हुनु कुनै अचम्मको कुरा होइन।

उदाहरणका लागि, रेभमा भाग लिनेहरूलाई विचार गर्नुहोस्‌। के तिनीहरूले ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट शुद्ध पार’ भन्‍ने बाइबलको सल्लाह पालन गरिरहेका छन्‌ त? (२ कोरिन्थी ७:१) हो, रेभमा जानेहरूले शान्ति, प्रेम र एकताको समर्थन गर्लान्‌। तर “माथिबाट आउने ज्ञान” “मिलापी” मात्र होइन “पवित्र” पनि हुन्छ। (याकूब ३:१५, १७) आफैलाई सोध्नुहोस्‌, ‘रेभमा गइरहने मानिसहरूको नैतिक आचरण के परमेश्‍वरको वचन बाइबलमा पाइने स्तरसित मिल्छ? के म “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” मानिसहरूसित रात बिताउन चाहन्छु?’—२ तिमोथी ३:४; १ कोरिन्थी ६:९, १०; तुलना गर्नुहोस्‌ यशैया ५:११, १२.

यी हामीले ध्यान दिनुपर्ने महत्त्वपूर्ण प्रश्‍नहरू हुन्‌ किनभने “खराब संगतले भला चाल चलनलाई बिगार्दछ” भनी पावलले लेखे। (१ कोरिन्थी १५:३३) परमेश्‍वरका नियमहरूको बेवास्ता गर्ने मानिसहरूसित संगत गर्नु भनेको आखिरमा विनाश भोग्नु हो किनभने बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

वास्तवमा भन्‍ने हो भने रेभहरू लागूपदार्थ प्रशस्त मात्रामा सेवन गर्न पाइने पार्टीहरू हुन्‌ र यहाँ जानेहरूले दुःखद परिणामहरू भोग्नु पर्नसक्छ। उदाहरणका लागि, प्रहरीहरूले केही रेभ थलोहरू छापा मारेका वा तालाबन्दी गरेका छन्‌ किनभने ती गैरकानुनी ढंगमा सञ्चालन भइरहेका हुन्छन्‌ वा लागूपदार्थ दुर्व्यसन गर्ने थलो हुन्छन्‌। के तपाईं पनि नियम पालन नगर्ने व्यक्‍ति भनेर चिनिन चाहनुहुन्छ? (रोमी १३:१, २) नियम भंग हुने नहुने कुरा यसमा मुछिएको छैन भने पनि के तपाईं त्यस्तो पार्टीमा उपस्थित भएर “दुनियाँबाट निष्कलंक” रहन सक्नुहुन्छ? (याकूब १:२७) बाइबलले अनियन्त्रित आमोदप्रमोद वा “छाडा पार्टीहरू”-को (बाइंग्टन) निन्दा गर्ने हुँदा के तपाईं रेभमा उपस्थित भएर परमेश्‍वर र मानिससामु सफा अन्तस्करण राख्न सक्नुहुन्छ?—गलाती ५:२१; २ कोरिन्थी ४:१, २; १ तिमोथी १:१८, १९.

स्पष्टतः रेभका खतराहरूप्रति मसीहीहरू सतर्क हुनुपर्छ। तर हताश नहुनुहोस्‌। तपाईंले अर्कै प्रकारको मनोरञ्जन गरेर रमाइलो गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूमध्ये थुप्रै परिवारले लाभदायक जमघटको आयोजना गर्छन्‌।b होसियारीपूर्वक योजना बनाएर असल रेखदेखमा गरिएका यी जमघटहरूमा उपस्थित हुने सबैले आध्यात्मिक तथा शारीरिक तवरमा स्फूर्ति पाएको महसुस गर्नसक्छन्‌। सबैभन्दा महत्त्वपूर्ण, “आनन्दित परमेश्‍वर” यहोवालाई उत्थानदायी संगीत मन पर्छ र आफ्ना जनहरू खुशी भएको चाहनुहुन्छ।—१ तिमोथी १:११, NW; उपदेशक ८:१५.

[फुटनोटहरू]

a पी सी पी (फेन्साइक्लीडिन) लट्ठाउने औषधी हो र कहिलेकाहीं कल्पनामा डुबाउन यसको अवैध प्रयोग गरिन्छ।

b थप जानकारीको लागि नोभेम्बर १, १९९२ प्रहरीधरहरा पृष्ठ २४-२८ र जून ८, १९९७ ब्यूँझनुहोस! पृष्ठ ८-१० हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको पेटी]

टेक्नो के हो?

सरल भाषामा भन्‍ने हो भने इलेक्ट्रोनिक डान्स म्युजिकलाई टेक्नो भनिन्छ। यो विभिन्‍न किसिमका हुन्छन्‌। धेरैजसो मानिसहरू टेक्नोलाई ताल मिलेको संगीत भन्छन्‌ किनभने यसमा प्रायजसो प्रति मिनेट ११५ देखि १६० ताल हुन्छन्‌।

दी योरोपियन यसो भन्छ, “यसबारे थाह नभएकाहरूलाई टेक्नो भनेको दन्तचिकित्सकले विभिन्‍न औजारहरूले दात कोट्याउँदा निस्कने आवाजसित सदोम अनि गमोरा विनाश गर्दाको आवाज मिसिंदा जस्तो आवाज निस्कन्छ, त्यस्तै सुनिन्छ।” तथापि, कोही कोही श्रोताहरू भने टेक्नोको एकनासे तालले मुग्ध हुन्छन्‌। अठाह्र वर्षीय क्रिस्टीन यसो भन्छन्‌, “यो संगीतले मलाई असीमित स्वतन्त्रता र आत्मनिर्भरताको भाव दिन्छ।” जोन्या पनि त्यस्तै महसुस गर्छिन्‌। उनी भन्छिन्‌, “सुरु सुरुमा त मलाई टेक्नो म्युजिक मन पर्दैनथ्यो। तर जति धेरै सुनें उति मन पर्न थाल्यो। चर्को आवाज गरेपछि तालसँगसँगै रमाउन थालिन्छ। चालै नपाइकन जीउ हल्लिन थाल्छ। होस गरेन भने त त्यो तालको कठपुतली होइन्छ।” उन्‍नाइस वर्षीय शर्लीले भने टेक्नोको अर्को पक्ष पनि विचार गरेकी छिन्‌। उनी भन्छिन्‌, “यो संगीत मात्र होइन। यो आफ्नो पहिरन तथा भाषामा झल्किने जीवनशैली हो।”

मसीहीहरू “प्रभुलाई मनपर्ने के हो, सो जाँचेर” पत्ता लगाउन चाहन्छन्‌। (एफिसी ५:१०) त्यसकारण, अन्य प्रकारको संगीतजस्तै टेक्नोबारे पनि सतर्क हुनुपर्छ। टेक्नोप्रति आकर्षित भएजस्तो लागेमा आफैलाई सोध्नुहोस्‌: ‘यो संगीतले मलाई कस्तो असर गर्छ? के यसले मलाई आनन्दित, संयमी अनि शान्त बनाउँछ? अथवा के यसले मलाई चिढचिढाहा, रीसाहा बनाउँछ वा मेरो मनभित्र अनैतिक विचारहरू जगाउँछ? के यस्तो संगीतले मलाई त्यस्तैप्रकारको जीवनशैलीतिर तान्‍नेछ? के रेभमा गएर यस्तो संगीत सुन्‍न वा नाच्न सकसक लाग्छ?’

मुख्य कुरा हो: तपाईंलाई जस्तोसुकै संगीत किन मन नपरोस्‌ तर त्यसले स्वर्गमा हुनुहुने पिता र तपाईंको बीचमा कहिल्यै बाधा नपुऱ्‍याओस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने