कम्बोडियामा जीवन-मरणको लामो संघर्ष
वाथाना मिआसको वृत्तान्तमा आधारित
सन् १९७४ को कुरा हो, कम्बोडियामा खमेरूज विरुद्ध लड्ने सेनामा म सेवारत् थिएँ। म कम्बोडियाली सेनाको सेनानी थिएँ। एउटा लडाइँमा हामीले एक जना खमेरूज सिपाहीलाई समात्यौं। पोल पोटका भावी योजनाहरूबारे तिनले मलाई जे जति भने त्यसले मेरो जीवनमा नयाँ मोड ल्यायो अनि भौतिक तथा आध्यात्मिक लामो जीवन यात्रा सुरु भयो।a
तर मेरो यस लामो यात्राको सुरुदेखिको कथा सुन्नुहोस्। मेरो जन्म १९४५ मा नोम पेनमा भयो जसलाई खमेर भाषामा कम्पुचिया (कम्बोडिया) भनिन्छ। त्यसताका गुप्तचर प्रहरीमा मेरी आमाको ठूलो ओहदा थियो। उहाँ शासक राजकुमार नरोद्दम सिहानुकका विशेष दूत हुनुहुन्थ्यो। एक्लैले मेरो हेरचाह गर्नुपर्ने र उहाँको अत्यन्तै व्यस्त तालिका भएको हुँदा शिक्षादीक्षाको लागि एउटा बौद्ध गुम्बामा मेरो जिम्मा लगाइदिन बाध्य हुनुभयो।
मेरो बौद्ध पृष्ठभूमि
मुख्य बौद्ध भिक्षुसित बस्न जाँदा म आठ वर्षको थिएँ। त्यो बेलादेखि १९६९ सम्म कहिले गुम्बा त कहिले घरमा समय बिताउँथें। मैले चुन नात नामक भिक्षुको सेवा गरें र तिनी त्यतिबेला कम्बोडियाका सबैभन्दा उच्च पदस्थ बौद्धभिक्षु थिए। केही समयको लागि मैले तिनको सचिव भएर काम गरें अनि बौद्ध धर्मग्रन्थ “तीन टोकरी” (टिपिटका, वा संस्कृतमा त्रिपिटक) पुरानो भारतीय भाषाबाट कम्बोडियालीमा अनुवाद गर्न सहयोग गरें।
म १९६४ मा भिक्षु नियुक्त भएँ र १९६९ सम्म भिक्षुको हैसियतमा सेवा गरें। यसै समयताक मलाई थुप्रै प्रश्नहरूले पिरोल्न थाले, संसारमा यति धेरै दुःखकष्ट किन र यो कसरी सुरु भयो? मानिसहरूले आ-आफ्ना भगवान्हरूलाई खुसी पार्न अनेक तरिका अपनाएको देखें तर भगवान्ले समस्या समाधान गर्ने तरिका भने तिनीहरूलाई थाह थिएन। बौद्ध लेखोटहरूमा सन्तोषजनक जवाफ पाउन सकिनँ र मैले मात्र होइन अरू भिक्षुहरूले पनि चित्तबुझ्दो जवाफ पाएनन्। म अत्यन्तै अलमल्लमा परें र गुम्बाबाट निस्केर त्यसउप्रान्त भिक्षु नहुने निर्णय गरें।
अन्ततः १९७१ मा म कम्बोडियाली सेनामा भर्ती भएँ। म १९७१ तिर भियतनाममा खटिएँ र मेरो शैक्षिक पृष्ठभूमिले गर्दा सहायक सेनानीको ओहोदामा पदोन्नति भएर विशेष सेनामा खटिएँ। हामी कम्युनिस्ट खमेरूज र भियतकंग सेना विरुद्ध लडिरहेका थियौं।
कम्बोडियामा लडाइँ तथा हेरफेरहरू
म युद्धले गर्दा अति कठोर बनें। दिनहुँजसो मान्छे मरेको हेर्ने बानी परिसकेको थियो। म १५७ वटा लडाइँमा सामेल भएँ। एकचोटि त बीच जंगलमा हामी महिना दिनभन्दा बढीसम्म खमेरूजको घेरामा पऱ्यौं। त्यसमा ७०० भन्दा बढी मानिस मरे। जम्मा बच्ने १५ जनामध्ये म पनि थिएँ तर घाइते। धन्न मेरो ज्यान बच्यो।
अर्कोपटक १९७४ को कुरा हो, हामीले एक जना खमेरूज सिपाहीलाई समात्यौं। मैले तिनलाई केरकार गरेपछि थाह पाएँ, पोल पोटले सारा भूतपूर्व सरकारी कर्मचारीहरूलगायत सेनामा भएका सबैलाई खतम पार्ने योजना बनाएका रहेछन्। तिनले मलाई सारा कामकुरा छोडेर भाग भने। तिनले भने: “नाउँ फेरिराख्नुहोस्। तपाईं को भनेर कसैलाई थाह नदिनुहोस्। मूर्ख र गवाँरजस्तो व्यवहार गर्नुहोस्। तपाईं पहिला को हुनुहुन्थ्यो भनेर कसैलाई नभन्नुहोस्।” मैले तिनलाई जान दिएपछि तिनको चेताउनी मेरो दिमागमा घन्किरह्यो।
आफ्नो देशको लागि लडिरहेका छौं भनेर हामी सिपाहीहरूलाई भनिएको थियो तर हामीले कम्बोडियालीहरूलाई नै मारिरहेका थियौं। शक्तिको भोका कम्युनिष्ट गुट अर्थात् खमेरूज हाम्रै मानिसहरू थिए। भनौं भने, कम्बोडियाका ९० लाख बासिन्दाहरूमध्ये अधिकांश व्यक्तिहरू खमेर हुन् तर तिनीहरूमध्ये थोरै मात्र खमेरूजमा संलग्न छन्। यो मलाई चित्त बुझेन। हामीले निश्शस्त्र अनि युद्धप्रति कुनै चासो नभएका निर्दोष किसानहरूलाई मारिरहेका थियौं।
लडाइँबाट फर्कंदा सधैं खिन्न लाग्थ्यो। आफ्ना पति वा बुबा फर्के कि भनेर उत्सुकतापूर्वक पर्खिरहेका पत्नी तथा बालबच्चाहरू हुन्थे। तिनीहरूको परिवारका मान्छेहरू युद्धमा मारिए भनेर मैले धेरैजसोलाई भन्नुपऱ्यो। मलाई बौद्ध धर्मबारे जे जति थाह थियो, त्यसले यस्तो घडीमा कुनै सान्त्वना दिएन।
कम्बोडियामा भएका हेरफेरहरू अहिले झलझली सम्झन्छु। त्यहाँ १९७० अघि अवस्था शान्तमय अनि सुरक्षितै थियो। प्रायजसो मानिसहरूसित बन्दुक थिएन र अनुमतिपत्रबिना बन्दुक राख्नु गैरकानुनी ठहर्थ्यो। लुटमार वा चोरीका घटनाहरू कमै मात्र हुन्थे। तर पोल पोट र तिनको सेनाले सुरु गरेको गृह युद्धपछि समयले कोल्टो फेऱ्यो। बन्दुकहरू जताततै पाइन थाले। बाह्र तेह्र वर्षका स-साना केटाकेटीहरूलाई समेत सैनिक तालिम दिइयो, बन्दुक चलाउन तथा मार्न सिकाइयो। पोल पोटले कोही कोही केटाकेटीलाई आफ्नै आमाबाबु मार्न समेत उक्साए। सिपाहीहरू केटाकेटीहरूलाई यसो भन्थे, “आफ्नो देशको माया छ भने शत्रुहरूलाई घृणा गर्नुपर्छ। तिम्रा आमाबाबु सरकारका लागि काम गर्छन् भने तिनीहरू हाम्रा शत्रु हुन् र तिनीहरूलाई मार्नुपर्छ अन्यथा तिमी नै मारिनेछौ।”
पोल पट तथा निष्कासन
सन् १९७५ मा पोल पोटले युद्ध जिते र कम्बोडिया कम्युनिस्ट राष्ट्र बन्यो। पोल पोटले विद्यार्थी, शिक्षक, सरकारी अधिकृत र शिक्षा हासिल गरेका सबैलाई सखाप पार्न थाले। चश्मा लगाउने मान्छे शिक्षित हुन्छ भन्ने अनुमान लगाएर त्यस्तो व्यक्तिलाई मार्ने गर्थे! पोल पोटको शासन प्रणालीले अधिकांश मानिसहरूलाई शहरबाट खेदेर ग्रामीण इलाकाहरूमा खेतीपाती गर्न लगाए। सबैले एकै नासे लुगा लगाउनुपर्थ्यो। हामीले दिनमा १५ घण्टा काम गर्नुपर्थ्यो र पर्याप्त भोजन पनि दिइँदैनथ्यो, औषधी अनि लुगाफाटाको व्यवस्था थिएन र २, ३ घण्टा मात्र सुत्न पाउँथ्यौं। कामकुरा धेरै बिग्रनुअघि आफ्नो जन्मभूमि छोड्ने निधो गरें।
मैले त्यस खमेरूज सिपाहीको सल्लाह सम्झें। मैले मलाई दोषी ठहराउनसक्ने तस्बिर, कागजात तथा सम्पूर्ण कुराहरू फ्याँकें। मैले खाल्टो खनेर केही कागजातहरू लुकाएँ। त्यसपछि, थाइल्याण्डतिर पश्चिम लागें। यो खतरनाक यात्रा थियो। बाटोमा ठड्याइएका तगारोहरू पन्छाउनुपर्थ्यो र कर्फ्यु लगाएको बेला निकै होसियार हुनुपर्थ्यो किनभने औपचारिक अनुमति लिएर खमेरूज सिपाहीहरू मात्र यताउता जानसक्थे।
म केही समयको लागि एक जना साथीसित बसें। त्यसपछि, खमेरूजले त्यहाँका सबैलाई नयाँ ठाउँमा साऱ्यो। तिनीहरूले शिक्षक तथा डाक्टरहरूलाई मार्न थाले। म र अरू तीन जना साथीहरू त्यहाँबाट भाग्यौं। हामी जंगलमा लुक्यौं र रूखमा जे जस्तो फल भेट्टाउँथ्यौं, त्यही खान्थ्यौं। अन्ततः बाताम्बांग प्रान्तको सानो गाउँमा आइपुगें र त्यहाँ मेरो एक जना साथी बस्थे। मलाई भाग्ने तरिका सिकाउने भूतपूर्व सिपाही पनि त्यहीं देख्दा म तीन छक परें! पहिले मैले तिनलाई भाग्न दिएको हुँदा तिनले मलाई तीन महिनासम्म खाल्डोमा लुकाएर राखे। तिनले एक जना बच्चालाई त्यो खाल्डोतिर नहेरी खाना खसाल्न लगाए।
म त्यहाँबाट भाग्नसकें र थाइ सीमातिर भागिरहेका मेरी आमा, सानीआमा र बहिनीलाई पनि भेटें। मेरोलागि यो अत्यन्तै दुःखद पुनर्मिलन थियो। आमा बिरामी हुनुहुन्थ्यो अनि रोग र खानाको अभावले गर्दा शरणार्थी शिविरमा उहाँको मृत्यु भयो। तथापि, मैले जीवनमा एउटा आशाको किरण देखें। सोफी उमसित मेरो चिनापर्ची भयो र तिनी मेरी पत्नी भइन्। हामी दुई अनि मेरी सानीआमा र बहिनी थाइ सीमा हुँदै संयुक्त राष्ट्रको शरणार्थी शिविरसम्म पुग्यौं। कम्बोडियाको गृहयुद्धमा हाम्रो परिवारले ठूलो नोक्सानी खप्नुपऱ्यो। मेरो भाइ अनि बुहारीलगायत हाम्रो परिवारका १८ जना सदस्यहरू मारिए।
संयुक्त राष्ट्रमा नयाँ जीवन
शरणार्थी शिविरमा हाम्रो पृष्ठभूमिबारे सोधपुछ गरियो अनि हामी संयुक्त राज्यमा प्रवेश गर्नको निम्ति सं रा-ले हाम्रो जिम्मा लिने व्यक्तिको प्रबन्ध मिलाउन खोज्यो। बल्ल हाम्रो जिम्मा लिने व्यक्ति भेटियो! सन् १९८० मा म सेन्ट पल, मिनेसोटा पुगें। यो नयाँ देशमा केही गर्ने हो भने जति सक्यो चाँडो अंग्रेजी सिक्नुपर्छ भनेर मलाई थाह भयो। मेरो जिम्मा लिने व्यक्तिले मलाई केही महिना मात्र पढ्न पठायो तर वास्तवमा अलि लामो समयसम्म पढ्न पठाउनुपर्थ्यो। बरु, तिनले एउटा होटेलमा मलाई काम लगाइदिए। तर फाट्टफुट्ट मात्र अंग्रेजी बोल्नसक्ने हुँदा हाँसोको पात्र बनें। मालिकले मलाई भऱ्याङ ल्याउन अह्राउँदा फोहरको टोकरी ल्याउँथें!
भेट्न आउँदा खंग्रङ भएँ
सन् १९८४ तिर म राति काम गरेर दिउँसो सुत्ने गर्थें। हामी बसेको इलाकामा एसियाली तथा कालाहरूबीच निकै खिचातानी थियो। अपराध तथा लागूपदार्थ दुर्व्यसनको बिगबिगी थियो। एक बिहान दस बजेतिरको कुरा हो, एक जना कालो मान्छे ढोकाबाहिर उभिरहेको छ भनेर मेरी पत्नीले मलाई उठाइन्। त्यो मानिस हामीलाई लुट्न आएको होला भनेर मेरी पत्नी तर्सीन्। मैले ढोकाको प्वालबाट चियाएर हेरें र ब्रीफकेस बोकेको सफा चट्ट परेको कालो मानिस थियो तर उसँगै एक जना गोरो पनि थियो। गोरो मानिस पनि सँगै देखेपछि म ढुक्क भएँ।
तिनी के बेच्न आएका हुन् भनेर सोधें। तिनले मलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! देखाए। मैले केही पनि बुझिनँ। म ती पत्रिकाहरू लिन चाहन्नथें किनभने केही महिनाअघि मात्र एक प्रोटेस्टेन्ट बिक्रेताले पाँचवटा किताब किन्न लगाएर मसित १६५ डलर ठगेका थिए। तथापि, तिनले मलाई ती पत्रिकाका चित्रहरू देखाए। ती असाध्यै मनोहर अनि सुन्दर थिए! अनि तिनको मुहारमा मित्रैलो मुस्कान थियो। त्यसकारण, मैले चन्दास्वरूप १ डलर दिएर ती पत्रिकाहरू लिएँ।
दुई हप्तापछि तिनी फेरि आए अनि मसित कम्बोडियाली बाइबल छ कि भनेर सोधे। हुन त नाजरीन चर्चबाट ल्याएको एउटा बाइबल थियो तर त्यो कालो अक्षर भैंसी बराबर जस्तो थियो। तर दुई बेग्लाबेग्लै जातका मानिसहरू सँगै आएको देखेर म दंग परें। त्यसपछि, तिनले मलाई सोधे, “के तपाईं अंग्रेजी सिक्न चाहनुहुन्छ?” किन नचाहनु, अवश्य चाहन्थें तर अंग्रेजी कक्षाहरूका लागि पैसा तिर्न नसक्ने कुरा बताएँ। तिनले बाइबल आधारित प्रकाशनद्वारा निश्शुल्क सिकाउनेछन् भनेर बताए। तिनी कुन धर्मको मानिस हुन् भनेर थाह नभए पनि मनमनै सोचें, ‘के भो र, पैसा नतिरी अंग्रेजी लेखपढ गर्न पाए भइहाल्यो नि।’
अंग्रेजी तथा बाइबल सिक्दै
प्रगति एकदमै सुस्त थियो। तिनले बाइबलको प्रथम पुस्तक उत्पत्ति देखाउँथे अनि मैले कम्बोडियालीमा “लो का बात” भन्थें। तिनले भन्थे, “बाइबल” अनि म “कम्पी” भन्थें। मेरो प्रगति हुन थाल्यो र म जोसिएँ। काममा जाँदा अंग्रेजी-क्माम्बोडियाली शब्दकोश, प्रहरीधरहरा, बाइबलको नयाँ विश्व अनुवाद र कम्बोडियाली बाइबल सँगै लैजान्थें। कामको बीचबीचमा आराम लिंदा यी प्रकाशनहरू दाँज्दै एक एक शब्द गरेर अंग्रेजी सिक्न थालें। हप्तेवारी कक्षाहरूको साथसाथै यो सुस्त प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी लाग्यो। तर बल्लबल्ल अंग्रेजी पढ्नसक्ने भएँ!
मेरी पत्नी अझै पनि बौद्ध गुम्बा गएर पूर्खाहरूका लागि खानेकुरा चढाउँथिन्। त्यो भोजन त झिंगाहरूलाई पो ठिक्क हुन्थ्यो! सानो छँदा र बौद्धधर्ममा लाग्दादेखिका मेरा थुप्रै कुलतहरू थिए। भिक्षु छँदा मानिसहरूले भेटीहरूमा चुरोट पनि चढाउँथे। तिनीहरूको विचारमा भिक्षुले चुरोट खानु भनेको पुर्खाहरूले चुरोट खाए बराबर थियो। त्यसरी म निकोटीनको दुर्व्यसनी भएँ। अनि सेनामा छँदा असाध्यै पिउँथें। लडाइँमा जाने साहस बटुल्नको लागि अफिम तान्थें। त्यसकारण, बाइबल अध्ययन गर्न थाल्दा मैले निकै छाँटकाँटहरू गर्नुपऱ्यो। त्यतिबेला मैले थाह पाएँ, प्रार्थनाले कत्ति धेरै मदत गर्दो रहेछ। केही महिनाभित्रै मैले आफ्ना कुलतहरू छोड्नसकें। यो देखेर मेरो परिवार खुसीले गदगद् भयो!
मिनेसोटामा मैले सन् १९८९ मा साक्षीको हैसियतमा बप्तिस्मा लिएँ। त्यसैताक मैले थाह पाएँ कि क्यालिफोर्नियाको लङ बिचमा थुप्रै कम्बोडियालीहरू छन् र कम्बोडियाली भाषा बोल्ने साक्षीहरूको समूह पनि छ। आफ्नी पत्नीसित यसबारे छलफल गरेपछि हामी लङ बिचमा बसाइँ सर्ने निधो गऱ्यौं। यो निर्णयले हाम्रो जीवनमा अर्को नयाँ मोड ल्यायो! सबैभन्दा पहिले मेरी बहिनीले, पछि सानीआमा (उहाँ अहिले ८५ वर्षको हुनुभयो) र मेरी पत्नीले बप्तिस्मा लिए। तत्पश्चात् मेरा तीन जना छोराछोरीले पनि बप्तिस्मा लिए। पछि बहिनीले साक्षीसित विवाह गरिन् जो मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्।
यहाँ संयुक्त राज्यमा हामीमाथि अनेकन् परीक्षाहरू आइपर्छन्। हामीले कठोर आर्थिक कठिनाइ तथा स्वास्थ्य समस्याहरू भोगेका छौं तर बाइबल सिद्धान्तहरू पालन गरेर यहोवामाथि हाम्रो भरोसा डग्न दिएका छैनौं। उहाँले आध्यात्मिक क्षेत्रमा मेरो प्रयासलाई आशिष् दिनुभएको छ। सन् १९९२ मा म मण्डलीका सेवकाई सेवक र १९९५ मा यहाँ लङ बिच मण्डलीको प्राचीन नियुक्त भएँ।
बौद्ध भिक्षु र पछि युद्धग्रस्त कम्बोडियाका रणभूमिमा सेनानीको हैसियतमा बिताएको लामो यात्रा अन्त भएर हाल हाम्रो नयाँ घर तथा देशमा शान्त अनि आनन्दमय भएको छ। अनि हामीले यहोवा परमेश्वर अनि ख्रीष्ट येशूमाथि नयाँ विश्वास पाएका छौं। कम्बोडियामा मानिसहरूले अझै पनि एकअर्कालाई मारिरहेका खबर सुन्दा मेरो मन पोल्छ। यसैकारण, पनि म र मेरो परिवार प्रतिज्ञा गरिएको त्यो नयाँ संसारको प्रतिक्षा गर्छौं जब युद्धहरू हुनेछैनन् र सबै मानिसहरूले आफूलाई आफ्ना छिमेकीलाई जस्तै प्रेम गर्नेछन्।—यशैया २:२-४; मत्ती २२:३७-३९; प्रकाश २१:१-४.
[फुटनोट]
a पोल पोट, खमेरूजका तात्कालीन नेता थिए र लडाइँ जितेपछि कम्बोडिया तिनीहरूको हातमा पऱ्यो।
[पृष्ठ २४-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
भियतनाम
थाइल्याण्ड
कम्बोडिया
बाताम्बांग
नोम पेन
बौद्ध भिक्षु हुँदा
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ २६-मा भएको चित्र]
राज्यभवनमा मेरो परिवारसित