राज्य प्रचारकहरूका रिपोर्ट
“तिनले पढ़ेकी प्रत्येक शास्त्रपदले मेरो हृदयलाई छोयो”
“परमेश्वरको वचन जीवित र प्रवल छ,” भनी प्रेरित पावलले भने। (हिब्रू ४:१२) बौद्ध धर्म अनुसार हुर्केकी एकजना भियतनामी आइमाईको जीवनमा ती शब्दहरू सत्य साबित भयो। यो हो तिनको कथा।
“मेरा माता-पिता, जो अहिले भियतनाममै छन्, नाममात्रका बुद्धिष्ट हुन्। अतः २२ वर्षको उमेरमा मेरो विवाह भयो। त्यस बेलासम्म म एउटी बुद्धिस्ट भएर हुर्किएँ। मेरा पतिका परिवारले मलाई क्याथोलिक गिर्जामा गएर बप्तिस्मा लिन बाध्य गर्न धेरैनै प्रयास गरे। तिनीहरूले भने कि म बुद्धिस्ट भएकी हुनाले मेरी मरेकी सासु स्वर्ग जान पाइ रहेकी छैनन्! पहिले ता मैले त्यसो गर्न इन्कार गरें, तर पछि तिनीहरूलाई खुशी तुल्याउन मैले बप्तिस्मा लिएँ। तथापि, भित्र हृदयमा, क्याथोलिक गिर्जामा भएको कपट देखेर मलाई यी सबै कुरा हास्यास्पद लाग्द थियो। यो बुद्ध धर्म भन्दा भिन्न थिएन। यिनीहरू पनि तिनीहरू जस्तै युद्ध र राजनीतिमा विथोलित थिए, र दुवै धर्मले पुर्खाहरूको उपासना गर्ने प्रोत्साहन दिन्थ्यो।
“भियतनाममै म बसेकी भए, सत्य सिक्ने मैले अति नै कम मौका पाउने थिएँ। म त्यस बेला हुर्किएँ जब दक्षिण भियतनाममा ठूलो राजनैतिक उथल-पुथल भइरहेको थियो, र म सायगोन भन्दा धेरै टाढ़ाको एउटा शहरमा बस्दथिएँ। अतः अस्ट्रेलिया भागेर जाने मौका पाउनु एउटा आशिष सरह थियो।
“नावबाट भागेर जाने मानिसहरूमध्य म अलिक बढ़ी भाग्यमानी थिएँ। आफ्नो दुई महिनाको बच्चो काखमा लिएर, पुलिसबाट बच्न र सानो माछामार्ने डुङ्गामा पस्नकालागि अँध्यारोमा दगुर्न पऱ्यो। सात दिन समुद्रमा बिताए पछि, हामी मलेशिया आइपुग्यौं। अस्ट्रेलिया आउनु भन्दा अघि, त्यहाँ एउटा शरणार्थी शिविरमा केही महिनासम्म हामी बस्यौं।
“अढ़ाई वर्षसम्म अस्ट्रेलियामा बसे पछि, घरघर सेवकाईमा आउँदा यहोवाका साक्षीहरूले मलाई भेटे। प्रथम भेंटमा, मैले नियमित बाइबल अध्ययन स्वीकार गरें किनकि त्यसमा मैले अंग्रेजी भाषा सिक्ने एउटा राम्रो मौका देखें। तर मलाई भेट्ने र सच्चाइ सिकाउने साक्षीको व्यवहारबाट म धेरै नै प्रभावित भएँ। तिनले पढ़ेकी प्रत्येक शास्त्रपदले मेरो हृदयलाई छोयो, र यहोवाको सङ्गठनमा मैले कुनै कपट देखिन। डेढ़ वर्षसम्म बाइबल अध्ययन गरी सके पछि, यहोवालाई मैले आफ्नो जीवन समर्पण गरें र बप्तिस्मा लिएँ।
“जीवन प्रति मेरो दृष्टिकोणलाई सत्यले सम्पूर्णतया बदलिदिएको छ। मेरा पति विश्वासमा छैनन् तर यहोवाले मलाई र मेरा सानो परिवारलाई मदत गर्नु भएको छ र हामीलाई थाम्नु भएको छ। उहाँ मेरा महान शिक्षक हुनु भएको छ र उहाँले मलाई एउटी असल पत्नी र एउटी असल आमा हुन सिकाउनु भएको छ। आध्यात्मिक अन्धकारबाट निस्केर बाइबलको सत्यको ज्योतिमा आउन मदत गर्नु भएकोमा म उहाँलाई सदा धन्यवाद चढ़ाउँदछु।”
साँच्चैनै, यहाँ परमेश्वरको प्रेरित वचनले असल गराउने शक्ति प्रयोग गऱ्यो। बाइबल अध्ययन द्वारा सिकेका कुराहरूलाई प्रयोग गर्दा जीवन अर्थपूर्ण र उद्देश्यपूर्ण हुन्छ र परमेश्वरको नया संसारमा अनन्त जीवन तर्फ लैजान्छ। जस्तो कि परमेश्वरले मोशालाई यसो भन्न प्रेरित गर्नु भयो: “यो तिमीहरूका लागि साधारण कुरो होइन, तर यो तिमीहरूको जीवन हो।”—व्यवस्था ३२:४७. (w91 4/1)