बौद्ध धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
१ कुनै कुनै मुलुकहरूमा बप्तिस्मा लिनेहरूमध्ये बौद्ध धर्मावलम्बी पृष्ठभूमिकाहरू नै आधाभन्दा बढी छन्। यिनीहरू सत्यप्रति आकर्षित हुनुको कारण के हो? बौद्ध धर्मावलम्बीलाई तपाईं कसरी सुसमाचार प्रस्तुत गर्न सक्नुहुन्छ?
२ साँचो चासो देखाउनुहोस्: पहिला बौद्ध धर्म मान्ने थुप्रैले भनेका छन् कि तिनीहरू धर्मशास्त्रका गहिरो तर्कहरूले सत्यप्रति आकर्षित भएका होइनन्। बरू तिनीहरूप्रति साँचो व्यक्तिगत चासो देखाएकोले तिनीहरूको हृदय छोएको हो। संयुक्त राज्यमा बस्ने एसियाली महिला एक जना बहिनीको मित्रैलो व्यवहारबाट साह्रै प्रभावित भइन्। त्यसैले तिनले अध्ययन गर्ने सहमति पनि जनाइन्। तिनलाई अङ्ग्रेजीमा कुरा गर्न त्यति आउँदैन्थ्यो तरै पनि बहिनीले झिंजो मानिनन्। तिनी थाकेको बेला वा अध्ययन गर्न नसक्दा बहिनी तिनीसँग भेटघाट गर्न मात्र भएपनि जान्थिन् र अर्को पाली अध्ययन गर्ने प्रबन्ध मिलाउँथिन्। अन्ततः यी महिला, तिनका दुई छोराहरू र तिनकी वृद्ध आमासमेतले बप्तिस्मा लिए। आफ्नो जन्मस्थल फर्केपछि तिनले धेरैलाई सत्य सिक्ने मदत दिइन्। अहिले तिनको एक जना छोरा शाखा कार्यालयमा सेवारत छन्। यहोवाको ‘दया र मानिसप्रति प्रेम प्रकट’ गर्दा कति ठूलो आशिष् पाइयो।—ती. ३:४.
३ बौद्ध धर्मावलम्बीहरूको धारणा: सामान्यतया बौद्ध धर्मावलम्बीहरू अरूको कुराहरू सुन्छन् तर कुनै एउटा खास सिद्धान्त पालन गर्न आवश्यक ठान्दैनन्। यसैले तिनीहरूको विश्वास फरक फरक छ। तर सबै बौद्ध धर्मावलम्बीले मानिलिएको एउटा शिक्षाचाहिं यस्तो छ, जीवन दुःखपूर्ण छ, तर मानिसहरूले पुनर्जन्म लिंदै असन्तोषजनक जीवन पाइरहने चक्रलाई रोक्न ज्ञानको आवश्यकता पर्छ। भनिन्छ, यो चक्रदेखि मुक्त हुन निर्वाण प्राप्त गर्नुपर्छ। यसको अवस्था वर्णन गर्न सकिंदैन किनभने यो कुनै ठाउँ वा घटना होइन। बरु यो शून्यता मात्र हो जहाँ कुनै किसिमको दुःख र दुष्टता हुँदैन। (मृत्युपछि हामीलाई के हुन्छ? [अङ्ग्रेजी] पुस्तिकाको पृष्ठ ९-१० हेर्नुहोस्।) यसबाट कुन कुरा स्पष्ट हुन्छ? बौद्ध धर्मको दर्शनबारे मानिसहरूसित तर्कवितर्क गर्नु बेकार छ। त्यसो नगरेर सबैले चासो राख्ने समस्याहरूबारे छलफल गर्नुहोस्।
४ दुवैले चासो राख्ने विषयमा जोड दिनुहोस्: बौद्ध धर्मावलम्बीहरू पृथ्वीमा जीवन भन्नु नै कष्ट भोग्नु हो भन्ठान्छन्। पृथ्वीमा अनन्त जीवन भन्ने विचार तिनीहरूलाई वाहियात कुरा जस्तो लाग्न सक्छ। तैपनि, पृथ्वीमा दुःख नामेट भएको हेर्ने, जीवनको उद्देश्य के हो बुझ्ने र सुखी पारिवारिक जीवनको आनन्द उठाउने चाहनाचाहिं हामी सबैको हुन्छ। यस्तो दुवैले चासो राख्ने कुराहरूप्रति कसरी प्रकाश पारिन्छ ध्यान दिनुहोस्।
५ तपाईं यो परिचय चलाउन सक्नुहुन्छ:
▪ “आज हामी बाँचिरहेको संसारमा थुप्रै निर्दोष मानिसहरूले दुःखकष्ट भोग्नु परिरहेको छ। तपाईंलाई यो दुःखकष्ट र पीडाको अन्त हुन के गर्नु आवश्यक छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मलाई एउटा पुरानो प्रतिज्ञाले धेरै सान्त्वना दिएको छ। [प्रका. २१:४ पढ्नुहोस्।] हुन त हो, अहिले त्यस्तो समय आएको छैन। तर हामी यो समय आएको देख्न चाहन्छौं, होइन त?” त्यसपछि दुःखकष्टको अन्त कसरी हुनेछ भन्ने विषयमा चर्चा गर्ने कुनै एउटा पत्रिका दिनुहोस्।
६ वृद्धहरूलाई यसो भन्न सक्नुहुन्छ:
▪ “तपाईं पनि सायद मजस्तै वर्तमान समयको पतित विचारहरू र त्यसले हाम्रा छोराछोरीमा पारेको प्रभाव देखेर चिन्तित हुनुहुन्छ होला। किन युवा जनहरूमा यस्तो अनैतिकता बढ्दो छ? [जवाफ दिने मौका दिनुहोस्।] मुसलमान, इसाई र हिन्दू धर्महरू सुरु हुनुभन्दा वर्षौंअघि नै एउटा पुस्तकमा यस्तै हुनेछ भनेर भविष्यवाणी गरिएको थियो भनेर तपाईंलाई थाह थियो? [२ तिमो. ३:१-३ पढ्नुहोस्।] यसो विचार गर्नुहोस् त, मानिसहरूले विभिन्न किसिमका ज्ञान लिइरहेकै छन्, तर अवस्था भने जस्ताको तस्तै छ। [पद ७ पढ्नुहोस्।] यस पत्रिकाले मलाई अधिकांश मानिसहरूले कहिल्यै नसिकेका सत्य बुझ्न मदत दियो। तपाईं पनि पढ्न चाहनुहुन्छ? कुराकानीसित सुहाउँदो कुनै पुस्तक वा पुस्तिका दिनुहोस्।
७ बौद्ध धर्मावलम्बीहरूले बाइबललाई एउटा पवित्र लेखोटको रूपमा आदर गर्छन्। बाइबलबाटै पढ्नुहोस्। (हिब्रू ४:१२) यदि मानिसहरू यसलाई पश्चिमी सांस्कृतिको प्रभाव भन्ठानेर अप्ठ्यारो महसुस गर्छन् भने तिनीहरूलाई बाइबल लेखकहरू सबै एसियालीहरू नै थिए भनेर बताउनुहोस्।
८ कुन प्रकाशनहरू सबैभन्दा प्रभावकारी छन्? थुप्रै प्रकाशकहरूले निम्न साहित्यहरू चलाउँदा राम्रो परिणाम पाएका छन्: पुस्तकहरू मानिसजातिद्वारा परमेश्वरको खोज, पारिवारिक आनन्दको रहस्य, युवाजनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ; पुस्तिकाहरू “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” र जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?; अनि अझै उपलब्ध छ भने राज्य समाचार न. ३५, के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र? थुप्रै बौद्ध धर्मावलम्बीहरू जस-जसले भर्खरै सिक्दैछन् तिनीहरूले पहिला चाहनुहुन्छ पुस्तिका त्यसपछि ज्ञान पुस्तक अध्ययन गर्छन्।
९ बौद्ध धर्मावलम्बी मिसनरीहरू एथेन्समा पावलले प्रचार गर्नुभन्दा ४०० वर्ष पहिला नै आइसकेका थिए भनिन्छ तर उनले त्यहाँ बौद्ध धर्मावलम्बी विचारधाराले प्रभावित भएका मानिसहरू भेटे या भेटेन हामीलाई थाह छैन। तथापि सबै किसिमका मानिसहरूलाई साक्षी दिंदा पावलले कस्तो महसुस गर्थे भन्ने कुरा हामीलाई थाह छ। उनले “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर” आफैलाई ‘सबैका बन्धनमा पारे।’ (१ कोरि. ९:१९-२३) त्यसै गरी हामीले पनि मानिसहरूप्रति व्यक्तिगत चासो देखाउँदै हाम्रो आशा अर्थात् हामी सबैमा भएको एउटै चाहनाबारे बताउन सक्छौं।