जवाफको लागि मानिस होइन परमेश्वरतर्फ हेर्नुहोस्
विकासवादको शिक्षाअनुसार हाम्रो अनेकन् रूप परिवर्तनपछि हामी सबैभन्दा उच्च प्रकारका जीव भएका हौं। अर्कोतर्फ, बाइबलको विवरणअनुसार परमेश्वरले हामीलाई उहाँकै स्वरूपमा सिद्ध सृष्टि गर्नुभएको थियो तर त्यसको केही समयपछि असिद्ध भयौं र मानिसजातिको अवस्था झन् झनै खस्कँदै गयो।
यस बिग्रँदो अवस्थाको लागि प्रथम आमाबाबु, आदम र हव्वा जिम्मेवार छन् किनभने तिनीहरूले नैतिक तवरमा स्वतन्त्र हुन रोजे र जानाजानी परमेश्वरप्रति अनाज्ञाकारी भएर आफ्नो अन्तस्करणमा चोट पुऱ्याए। तिनीहरूले जानाजानी परमेश्वरको सुरक्षात्मक पर्खाल तोडे जसले गर्दा मानिसहरू बिरामी, बुढ्यौली र मृत्युबाट पीडित छन् अनि त्यसमाथि पूर्वाग्रह, धार्मिक घृणा र डरलाग्दा युद्धहरू त छँदैछन्।—उत्पत्ति २:१७; ३:६, ७.
पशु जीन वा त्रुटिपूर्ण जीन?
निस्सन्देह, पाप गरेपछि आदम र हव्वाको सिद्ध शरीर के भयो भनी बाइबलले वैज्ञानिक ढंगमा वर्णन गरेको छैन। किनभने जसरी गाडीको निर्देशन पुस्तिका मोटरकारसम्बन्धी इन्जिनियरिङ पाठ्यपुस्तक होइन, त्यस्तैगरि बाइबल पनि विज्ञान पुस्तक होइन। तर गाडीको निर्देशन पुस्तिका जस्तै बाइबल सही छ र यो मिथ्या होइन।
जब आदम र हव्वा परमेश्वरको व्यवस्थाको सुरक्षित घेराबाट निस्के, तिनीहरूको शरीरमा क्षति हुनथाल्यो। त्यसपछि तिनीहरू मृत्युतर्फ ढकेलिंदै गए। वंशानुगत नियमअनुसार तिनीहरूको सन्तान अर्थात् सम्पूर्ण मानव परिवारमै असिद्धता व्याप्त भयो। त्यसैले तिनीहरू पनि मर्छन्।—अय्यूब १४:४; भजन ५१:५; रोमी ५:१२.
दुःखको कुरा, हामी पनि वंशानुगत पापतिर ढल्केका छौं। यो कुरा स्वार्थी र अनैतिक कार्यमा लाग्ने हाम्रो चाहनाबाट प्रस्ट हुन्छ। निस्सन्देह, यौनको आफ्नै उचित ठाउँ छ। परमेश्वरले प्रथम मानव दम्पतीलाई यस्तो आज्ञा दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२८) अनि उहाँ मायालु सृष्टिकर्ता हुनुभएकोले पति र पत्नीलाई उक्त आज्ञा पूरा गर्दा आनन्द पनि उठाउनसक्ने गरी प्रबन्ध गर्नुभयो। (हितोपदेश ५:१८) तर मानव असिद्धताको कारण यौन दुर्व्यवहार भएको छ। वास्तवमा असिद्धताले जीवनको हरेक पक्ष अर्थात् हाम्रो मन अनि शरीरलाई समेत असर गरेको तथ्य सर्वविदितै छ।
तर असिद्धताले हाम्रो नैतिक ज्ञानेन्द्रियलाई पूर्णतया कुल्चीमिल्ची पारेको छैन। हामी साँच्चै चाहन्छौं भने पापतिर लाग्ने हाम्रो चाहनाबाट “अर्कै दिशामा” मोड्नसक्छौं। निस्सन्देह, कुनै पनि असिद्ध मानव पाप विरुद्ध पूर्णतया विजयी हुन सक्दैन र परमेश्वरले कृपालु ढंगमा यो कुरा बुझ्नुहुन्छ।—भजन १०३:१४; रोमी ७:२१-२३.
हामी किन मर्न चाहँदैनौं
विकासवादले विलखबन्दमा पारिरहेको अर्को एउटा कुराको पनि बाइबलले सन्तोषजनक जवाफ दिन्छ: मृत्यु स्वाभाविक र अवश्यम्भावी देखिए तापनि मानिसहरू मृत्यु स्वीकार्न इच्छुक देखिंदैनन्।
बाइबलले प्रकाश पारेझैं परमेश्वरप्रति अनाज्ञाकारी भएको कारण पापबाट मृत्यु व्याप्त भयो। हाम्रा प्रथम आमाबाबु आज्ञाकारी भएको भए तिनीहरू आफ्ना छोराछोरीका साथमा सधैंभरि बाँच्नसक्थे। अतः परमेश्वरले सधैंभरि बाँच्ने इच्छासहित मानव मन सृष्टि गर्नुभएको थियो। उपदेशक ३:११ (नेपाली, नयाँ संशोधित संस्करण) ले भन्छ: “उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” अतः मृत्युले मानिसमा आन्तरिक भतभेद खडा गऱ्यो जुन अहिले पनि तर्कवितर्कको विषय हो।
यस आन्तरिक मतभेदलाई मिलाउन र सधैंभरि बाँच्ने इच्छालाई चित्त बुझाउन मानिसहरूले अनेक थरिका विश्वासहरू प्रतिपादन गरेका छन्। जस्तै, अमर आत्मादेखि लिएर पुनर्जन्मका सिद्धान्तहरू। वैज्ञानिकहरूले बुढ्यौलीसम्बन्धी रहस्यबारे अनुसन्धान नगरेका होइनन् किनभने तिनीहरू पनि मृत्युलाई पन्छाउन वा पर सार्न चाहन्छन्। नास्तिक विकासवादीहरूले अनन्त जीवनको चाहना विकासवादको चाल वा धूर्त्याइँ मात्र हो भन्छन् किनभने मानवहरू उच्च खाले पशुहरू मात्र हुन् भन्ने विचारसित तिनीहरूको धारणा मेल खाँदैन। अर्कोतर्फ, मृत्यु हाम्रो शत्रु हो भन्ने बाइबलको कथन बाँच्न चाहने हाम्रो स्वाभाविक इच्छासित मेल खान्छ।—१ कोरिन्थी १५:२६.
त्यसोभए, के हाम्रो शरीरले हामी सधैंभरि बाँच्न सृजिएका हौं भन्ने कुनै संकेत दिन्छ? अवश्य दिन्छ! मानव मस्तिष्कले नै हामी अहिले बाँचेभन्दा धेरै लामो समय बाँच्नको निम्ति बनाइएका हौं भनी संकेत दिन्छ।
सधैंभरि बाँच्न बनाइएको
मस्तिष्कको जम्मा वजन १.४ किलोग्राम छ अनि यसमा १० देखि १०० अरब स्नायुकोशिकाहरू छन् र भनिन्छ कुनै दुई स्नायुकोशिकाहरू दुरुस्त छैनन्। हरेक स्नायुकोशिकाहरूले २,००,००० भन्दा बढी अन्य स्नायुकोशिकाहरूसित सञ्चार कायम राख्नसक्छन् जसले गर्दा मस्तिष्कमा बृहत् प्रसारण मार्गहरू बन्छन्। अनि यति मात्र अपुग भए जस्तैगरि “हरेक स्नायुकोशिका उच्च प्रविधियुक्त कम्प्युटरजस्तै हो” भनी साइन्टिफिक अमेरिकन-ले बताउँछ।
मस्तिष्कमा हुने थुप्रै रासायनिक प्रतिक्रियाहरूले स्नायुकोशिकाहरूको कार्यशैलीलाई असर गर्छ। र मस्तिष्क सबैभन्दा प्रभावशाली कम्प्युटरभन्दा अत्यन्तै जटिल छ। लेखक टोनी बुजान र टेरेन्स डिक्सन लेख्छन्: “हरेक टाउकोमा एउटा अद्भुत पावरहाउस छ र यो सुसम्बद्ध अंगबारे जति बढी थाह पाउँछौं, यसको क्षमता त्यति नै अथाह देखिन्छ। यसबारे जति बढी सिक्छौं, यसको क्षमता उत्तिनै असीमित जस्तो देखिन्छ।” प्राध्यापक प्योटर अनोकिनलाई उद्धृत गर्दै तिनीहरू भन्छन्: “अहिलेसम्म जीवित कुनै पनि मानिसले मस्तिष्कको पूर्ण सदुपयोग गर्न सकेको छैन। त्यसैकारण हामी मानव मस्तिष्कबारे कुनै पनि निराशावादी अन्दाजहरू स्वीकार्दैनौं। यसको क्षमता असीमित छ।”
यसरी विकासवाद सिद्धान्तका लरखराउँदा तथ्यहरू निरर्थक हुन्छन्। दस लाख वा एक अरब जीवनकालसम्म सेवा गर्ने क्षमतासहित विकासवादले गुफामा बस्ने सादा मानिसहरूको निम्ति वा आजका अत्यन्तै शिक्षितहरूमा समेत यस्तो मस्तिष्कको ‘सृजना’ किन गर्थ्यो होला? साँच्चै, अनन्त जीवन मात्रै यसको मनासिब जवाफ देखिन्छ! तर हाम्रो शरीर नि?
स्याहारसम्भार तथा नवीकरण—मन अनि शरीरको यात्रा (अंग्रेजी) नामक पुस्तकले यसो भन्छ: “क्षतिग्रस्त हड्डी, तन्तु र अंगहरू जुन तरिकाले निको हुन्छन्, त्यो साँच्चै चमत्कारपूर्ण छ। अनि हामीले यसो विचार गऱ्यौं भने छाला, केस, नङलगायत शरीरका अन्य भागहरूको जसरी पुनरुत्पादन हुन्छ, त्यो साँच्चै विस्मयकारी छ: यो २४ सै घण्टा, हरेक हप्तैपिच्छे शरीर निर्माण कार्य भइरहेको हुन्छ। जीवरसायन भाषामा भन्ने हो भने हाम्रो जीवनकालमा यो प्रक्रिया थुप्रै चोटि दोहरिन्छ।”
परमेश्वरले तोक्नुभएकै समयमा आफै नयाँ हुने यस चमत्कारी प्रक्रियालाई अनन्तकालसम्म कायम राख्न कुनै समस्या हुने छैन। अनि अन्ततः “सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२६) तर साँच्चै खुसी हुन हामीलाई अनन्त जीवन मात्र भएर पुग्दैन। हामीलाई शान्ति चाहिन्छ। परमेश्वर र हाम्रो सँगी मानवहरूसित शान्ति। मानिसहरूले एक अर्कालाई साँच्चै प्रेम गरे भने मात्र त्यस्तो शान्ति सम्भव हुनेछ।
प्रेममा आधारित नयाँ संसार
“परमेश्वर प्रेम हुनुहुन्छ,” भनी १ यूहन्ना ४:८ बताउँछ। विशेषगरि यहोवा परमेश्वरको प्रेम अत्यन्तै शक्तिशाली छ। हामीले सधैंभरि बाँच्ने आशा राख्नसक्ने प्रमुख कारण पनि यही हो। यूहन्ना ३:१६ ले भन्छ, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”
अनन्त जीवन! कस्तो अद्भुत आशा! तर हामीले वंशानुगत पाप पाएकोले जीवन पाउने कुनै अधिकार छैन। बाइबल भन्छ: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) तर खुसीको कुरा, प्रेमको कारण नै परमेश्वरको पुत्र येशू ख्रीष्ट हाम्रोनिम्ति मर्न उत्प्रेरित हुनुभयो। प्रेरित यूहन्नाले येशूबारे यसो लेखे: “उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो।” (१ यूहन्ना ३:१६) हो, उहाँले आफ्नो सिद्ध शरीर “धेरैको उद्धारको निम्ति” दिनुभयो जसले गर्दा उहाँमा विश्वास गर्ने थुप्रैको पाप रद्द हुनेछन् र तिनीहरूले अनन्त जीवनको आनन्द उठाउनेछन्। (मत्ती २०:२८) बाइबल यसो भन्छ: “हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एक्लो पुत्रलाई यस संसारमा पठाउनुभयो।”—१ यूहन्ना ४:९.
त्यसोभए, परमेश्वर अनि उहाँको पुत्रले हामीप्रति देखाएको प्रेमको बदलामा हामी के गर्नसक्छौं? बाइबल अझ यसो भन्छ: “हे प्रिय हो, परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” (१ यूहन्ना ४:११) हामीले प्रेम गर्न सिक्नुपर्छ किनभने परमेश्वरको नयाँ संसारमा यो गुन नै मुख्य हुनेछ। आज थुप्रैले प्रेमको महत्त्व बुझ्न थालेका छन् जसबारे यहोवा परमेश्वरले आफ्नो वचन बाइबलमा पनि औंल्याउनुभएको छ।
प्रेम तथा प्रकृतिमा यसको स्थान (अंग्रेजी) नामक पुस्तकमा प्रेमबिना “बच्चाहरू मर्छन्” भनिएको छ। मानिस बूढो भएपछि पनि प्रेमको चाहना हराउँदैन। एक प्रख्यात मानवविज्ञानविद्ले प्रेमबारे यस्तो भने: “जसरी सौरमण्डलमा सूर्य बीचमा हुन्छ, त्यसरी नै प्रेम पनि हरेक मानव आवश्यकताको केन्द्रबिन्दु हो। . . . प्रेम नपाएको बच्चा प्रेम पाएको बच्चाभन्दा जीवरसायनिक, शारीरिक र मनोवैज्ञानिक तरिकामा अत्यन्तै भिन्न हुन्छ। दुई जना हुर्कने तरिकामा समेत भिन्नता हुन्छ।”
पृथ्वीमा रहेका सबैले एक अर्कालाई साँच्चै प्रेम गर्न थालेपछि जीवन कस्तो हुनेछ, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? विचार गर्नुहोस् त, कोही व्यक्ति अर्कै राष्ट्र, अर्कै जात वा अर्कै वर्णको भएको कारण पूर्वाग्रहको शिकार हुनेछैन! परमेश्वरद्वारा नियुक्त राजा येशू ख्रीष्टको प्रशासनअन्तर्गत प्रेरित भजनरचयिताको भविष्यवाणीको पूर्तिअनुसार पृथ्वीमा शान्ति अनि प्रेम छाउनेछ:
“राजालाई तपाईंको न्यायको वचन दिनुहोस्, हे परमेश्वर, . . . प्रजाहरूका दुःखी-दाखीलाई उसले इन्साफ गर्नेछ, उसले दरिद्रहरूको सन्तानलाई बचाउनेछ। . . . उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ। किनकि दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।”—भजन ७२:१, ४, ७, ८, १२, १३.
अर्को बाइबल भजनमा प्रतिज्ञा गरेझैं परमेश्वरको नयाँ संसारमा दुष्टहरू बस्न पाउनेछैनन्: “कुकर्मीहरू नष्ट हुनेछन्। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:९-११.
अनि मृत्युबाट पुनरुत्थान भएकाहरूलगायत सबैको मन र शरीर निको भइसकेको हुनेछ। अन्ततः जीवित सबैले सिद्ध तरिकामा परमेश्वरको स्वरूप प्रतिबिम्बित गर्नेछन्। त्यस बखत भने सही कुरा गर्न संघर्ष गर्नुपर्नेछैन। जीवनप्रति हाम्रो चाहना र मृत्युको वर्तमान कठोर वास्तविकताबीच अमेल पनि अन्त हुनेछ! हो, हाम्रो मायालु परमेश्वरको प्रतिज्ञा यही हो: “फेरि मृत्यु हुनेछैन।”—प्रकाश २१:४; प्रेरित २४:१५.
अतः सही काम गर्ने संघर्षमा कहिल्यै हार नमान्नुहोस्। ईश्वरीय सल्लाह सुन्नुहोस्: “विश्वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख।” परमेश्वरको नयाँ संसारअन्तर्गतको त्यो जीवनलाई नै बाइबलले “साँच्चै[को] जीवन” भन्छ।—१ तिमोथी ६:१२, १९.
बाइबलमा उल्लिखित यस सत्यलाई तपाईंले मूल्यांकन गर्न सकून्: “परमप्रभुनै [यहोवा] परमेश्वर हुनुहुन्छ।” त्यस सत्यको मूल्यांकन गर्नु नै परमेश्वरको प्रेम अनि धार्मिकताको नयाँ संसारमा बस्न योग्य हुनको निम्ति प्रमुख पाइला हो।—भजन १००:३; २ पत्रुस ३:१३.
[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरको नयाँ संसारअन्तर्गतको त्यो जीवनलाई नै बाइबलले “साँच्चै[को] जीवन” भन्छ।—१ तिमोथी ६:१९
[पृष्ठ ९-मा भएको चित्र]
मानिसहरू परमेश्वरको व्यवस्थाको सुरक्षात्मक घेराबाट निस्के। यसको नतिजा विपत्तिजनक भएको छ
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरको शासनअन्तर्गत मानिसजातिले शान्तिमय नयाँ संसारमा आनन्द उठाउनेछन्