प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ७/८ पृ. १३-१५
  • छुट्टीका पिरलोहरूबाट कसरी जोगिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छुट्टीका पिरलोहरूबाट कसरी जोगिने
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राम्रो तयारी गर्नुहोस्‌
  • गन्तव्यस्थानमा पुग्दा
  • छुट्टी रमाइलो बनाउने महत्त्वपूर्ण पक्षहरू
  • ग्रीष्म ऋतुमा ईश्‍वरतान्त्रिक क्रियाकलापहरू पछ्याउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ७/८ पृ. १३-१५

छुट्टीका पिरलोहरूबाट कसरी जोगिने

छुट्टीको समय भन्‍ने बित्तिकै तपाईंको मनमा कस्तो विचार आउँछ? टन्टलापुर घाम लागेको दिनमा समुद्र किनारमा आरामले खजूर रूखको छहारीमा बस्ने? वा सायद पहाडमा स्वच्छ चिसो हावा लिने?

यद्यपि, तपाईंको मनमा खराब मौसम, उडान समयमा ढिलाइ, यात्रा गर्दा बिरामी हुने र त्यस्तै अन्य कुराको चिन्ताहरू पनि आउनसक्छन्‌। जे होस्‌, तपाईंले आफ्नो छुट्टी रमाइलो बनाउन के गर्न सक्नुहुन्छ?

राम्रो तयारी गर्नुहोस्‌

रमाइलोसित छुट्टी मनाउन चाहनेहरूले पहिल्यै योजना बनाउँछन्‌। तिनीहरूले यात्रा र स्वास्थ्यसम्बन्धी कागजातहरू प्राप्त गर्छन्‌ ताकि यात्रा थाल्दा सबै चीजबीजहरू ठाउँमा हुनेछन्‌। आफू जाने ठाउँमा के कस्ता स्वास्थ्य खतराहरू आइपर्नसक्छन्‌, त्यसबारे यात्रुहरूले जानकारी लिंदा पहिल्यै औषधीहरू जोरजाम गर्ने मदत पाउँछन्‌।

औलोको महामारी भएको ठाउँमा जान विचार गर्ने कतिपयले छुट्टीमा जानुभन्दा केही दिनअघिदेखि औलो विरुद्ध औषधीहरू सेवन गर्न थाल्छन्‌। तर सुरक्षाको दृष्टिले छुट्टीको समयमा र त्यसको चार हप्तापछिसम्म पनि औलोको औषधी लिइरहने सल्लाह दिइन्छ। किनभने औलोको जीवाणु लामो समयसम्म शरीरमा बस्छ। तर अन्य सावधानीहरू अपनाउनु पनि आवश्‍यक छ।

सरसफाइ तथा उष्ण प्रदेशीय औषधीसम्बन्धी लन्डन स्कूलका डा. पल कर्लाक यस्तो सुझाउ दिन्छन्‌: “छालामा वा नाडीमा कीराहरू नछिरोस्‌ भनेर पट्टी बाँध्नु, झूल लगाउनु या विद्युतद्वारा चल्ने कीटनाशक भेपराइजर चलाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।” यी सरसामग्रीहरू यात्रा गर्नुअघि नै किन्‍नु बेस हुन्छ।

वाकवाक लाग्ने, चक्कर लाग्ने जस्ता बिसन्चोले पनि यात्रालाई नरमाइलो बनाउनसक्छ। यस्तो बिसन्चोको कारण के हो? एक अनुसन्धानकर्ताअनुसार नौलो परिस्थितिमा दिमागमा अनेकन्‌ नयाँ संकेतहरू आएर भार पर्दा यस्तो बान्ता या चक्कर लाग्ने हुनसक्छ। जहाजको गति, हवाईजहाज हल्लिंदा वा गाडीको इन्जिनको आवाजले यो समस्या हुनसक्छ। यस्तो हुँदा कुनै स्थिर कुरामा ध्यान केन्द्रित गर्ने कोसिस गर्नुहोस्‌ जस्तै क्षितिज वा अगाडिको बाटो। हावा राम्ररी आवतजावत हुने प्रबन्ध मिलाइएको छ भने पर्याप्त मात्रामा अक्सिजन लिन सकिन्छ। असाध्यै गम्भीर अवस्थामा एन्टिहिस्टामाइन औषधीहरूले त्यति बिसन्चो हुन दिंदैन। तर यस चेताउनीलाई ध्यान दिनुहोस्‌: लट्ठ हुने जस्ता प्रतिकूल असरहरूबारे पनि सजग हुनुहोस्‌ किनभने यस्तो अवस्थामा तपाईंको सुरक्षा नै खतरामा हुनसक्छ।

धेरै घण्टा हवाईजहाजमा यात्रा गर्नुपर्दा पनि स्वास्थ्यसम्बन्धी खतराहरू आउनसक्छन्‌। जस्तै विजलन। कसै कसैलाई एकै ठाउँमा लामो समयसम्म चलहल नगरी बसिराख्दा खुट्टामा रगत जम्नसक्छ। यदि त्यो जमेको रगत सरेर फोक्सो वा मुटुमा पुगेमा आपतै हुन्छ। अतः लामो उडानमा जाने कसै कसैले हवाईजहाजको बीचको बाटोमा हिंड्‌नसक्छन्‌ वा बसेरै भए पनि कम्मर र खुट्टा तन्काउनसक्छन्‌। अनि विजलन कम गर्न मादक पदार्थरहित पेय पदार्थ प्रशस्त मात्रामा पिउनुहोस्‌।

के तपाईं पनि उपरोक्‍त कारणहरूले गर्दा नै हवाईजहाजबाट यात्रा गर्न डराउनुभएको हो? तर नआत्तिनुहोस्‌ किनभने अन्य यातायातका साधनको तुलनामा हवाईजहाजको यात्रा सुरक्षित हुन्छ। भनिन्छ, यो मोटरसाइकलभन्दा ५०० र गाडीभन्दा २० गुना सुरक्षित छ। कसैले भन्ला, ती सबै तथ्यांक त यात्रा गरेको किलोमिटरको हिसाब मात्रै हो र यात्राको दौडान बिताएको समयको हिसाबै गरेको हुँदैन।

बच्चाहरूसित यात्रा गर्दा अझ चुनौतीपूर्ण हुन्छ। “सैनिक शिविरमा जस्तै तपाईंको यात्राको पाइला पाइलाको योजना बनाउनुहोस्‌” भनी प्रसारक क्याथी आर्नोल्ड भन्छिन्‌। तपाईंले त्यो सबै गर्नसक्नुभएन भने पनि आफ्नो साथमा बच्चाहरूलाई मनपर्ने किताब, गेम वा अरू चीजबीजहरू लैजानुहोस्‌। यसो गर्दा सम्पूर्ण परिवारको लागि यात्रा रमाइलो हुनेछ।

गन्तव्यस्थानमा पुग्दा

छुट्टीमा जाने थुप्रैले यस्तो टिप्पणी गर्छन्‌, ‘छुट्टीको रमाइलोमा भिज्नुअघि कम्तीमा पनि मलाई चार वा पाँच दिन लाग्छ।’ हो, नयाँ वातावरणमा भिज्न समय लाग्छ। त्यसैले पुगेको पहिलो एक वा दुई दिनमै यताउता दौडधूप गर्नु बुद्धिमानी हुनेछैन। बेग्लै तालिकाअनुसार आफ्नो मन अनि शरीरलाई छाँटकाँट गर्न समय दिनुहोस्‌। यस्तो गर्नुभएन भने तनाउ हुनसक्छ र छुट्टीको मजा नै लिन सक्नुहुन्‍न।

एउटा अनुमानअनुसार हरेक वर्ष विदेश जाने करोडौं मानिसहरूमध्ये आधाजति एउटा न एउटा रोगबाट पीडित वा घाइते हुन्छन्‌। अतः यात्रुहरूका स्वास्थ्य-का (अंग्रेजी) सम्पादक डा. रिचर्ड डाउड भन्छन्‌, “स्वास्थ्य एउटा यस्तो कुरा हो जसलाई कुनै पनि यात्रुले हेलचेक्य्राइँ गर्न मिल्दैन।” यात्रुको शरीर नयाँ वातावरणमा हुने विभिन्‍न प्रकारको जीवाणुसित भिज्नुपर्ने भएकोले विशेषगरि पहिलो दुई तीन दिन खाना र पानीको सन्दर्भमा अत्यन्तै होसियार हुनुपर्छ।

डा. डाउड चेताउनी दिन्छन्‌, “आफूले खाने भोजन सुरक्षित नै होला भनेर कहिल्यै अन्दाज गर्नु हुँदैन। ताजा हुनुका साथै राम्ररी पकाएको पक्का भएपछि मात्र खानुपर्छ। मासु चाहिं रातो नदेख्ने गरी राम्ररी पकाएको हुनुपर्छ।” तात्‌तातो खाना पनि सधैं सुरक्षित भन्‍न सकिंदैन। त्यसैले “आज दिउँसोको खाना हिजो साँझको खानासँगै तताएर मिसमास नगर्नुहोस्‌।”

अतः तपाईं आफ्नो ठाउँभन्दा अत्यन्तै भिन्‍नै ठाउँमा छुट्टी मनाउँदै हुनुहुन्छ भने जहाँ पायो त्यहीं, जे मन लाग्यो त्यही खान सक्नु हुन्‍नहोला। तर पखालाबाट बच्नको निम्ति यस्तो असुविधा साँच्चै नगण्य छ किनभने भनिन्छ पाँच भागको दुई भाग अन्तरराष्ट्रिय यात्रुहरू पखालाबाट पीडित हुन्छन्‌।

पिउने पदार्थको सन्दर्भमा स्थानीय तवरमा उपलब्धभन्दा सिसीको तयारी पानी सुरक्षित हुनेछ। तर, समस्याबाट बच्न आफ्नैअगाडि सिसी वा क्यान खोल्न लाउनु बेस हुन्छ। पानी वा पेय पदार्थमा बरफको टुक्रा नहाल्नु पनि बेस होला। साँच्चै सुरक्षित छ या छैन, पक्का हुनुहुन्‍न भने त्यो अस्वास्थ्यकर नै ठान्‍नुहोस्‌।

छुट्टी रमाइलो बनाउने महत्त्वपूर्ण पक्षहरू

आफ्ना पाठकहरूसित लिइएको सर्वेक्षणपछि यात्रासम्बन्धी एउटी सम्पादकले रिपोर्ट गरिन्‌: “छुट्टी रमाइलो हुनु नहुनुमा मौसमको ठूलो हात छ भने साथीहरूको त झनै ठूलो हात छ।” वास्तवमा, “राम्रो होटेल, आरामदायी यात्रा, राम्रो खाना र रमणीय ठाउँहरूभन्दा पनि साथी संगतिको भूमिका गहन छ।”

तर छुट्टीमा जाँदा तपाईंले उत्थानदायी नयाँ साथीहरू कहाँ भेट्‌न सक्नुहुन्छ? एउटा तरिका त तपाईं जाने मुलुकको वाच टावर सोसाइटीका शाखा कार्यालयमा पहिल्यै पत्राचार गर्न सक्नुहुन्छ। तिनीहरूले तपाईंलाई पायक पर्ने राज्यभवनहरूको ठेगानाका साथै सभा हुने समयबारे जानकारी दिनेछन्‌। केही शाखा कार्यालयहरूको ठेगाना यस पत्रिकाको पृष्ठ ५ मा पनि पाइन्छ र अझ विस्तृत ठेगानाको निम्ति यहोवाका साक्षीहरूको नवीनतम वार्षिक पुस्तक हेर्न सक्नुहुन्छ।

छुट्टी रमाइलो हुनु महत्त्वपूर्ण छ र पछि नपछुताउन बाइबलको यस बुद्धिमान्‌ सल्लाह पालन गर्नु पनि आवश्‍यक छ: “नठगियौ, खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) कहीं अनकन्टार ठाउँमा छुट्टी मनाउन जाँदा परमेश्‍वरका स्तरहरू बेवास्ता गर्ने तुलबुली जाग्यो भने त्यो कमजोरी हो भनी बुद्धिमानीपूर्वक स्वीकार्नुहोस्‌ र सामना गर्ने ईश्‍वरीय मदत माग्नुहोस्‌। आमाबाबुले आफ्नो छोराछोरीको क्रियाकलापमा ध्यान दिनु पनि आवश्‍यक छ। नबिर्सनुहोस्‌, तपाईं संसारको जुनसुकै कुनाकाप्चामा भए तापनि यी “आखिरी दिनमा डरलाग्दो समय” हुन्छ।—२ तिमोथी ३:१.

परिवारै बिदामा जाँदा घरमा जस्तै यहाँ पनि आमाले सबै कामकाज गरिहाल्छिन्‌ नि भन्‍ने विचार नराख्नुहोस्‌। दिनहुँको कामकाजमा मदत दिन इच्छुक हुनुहोस्‌ र सहयोगी मनोभाव झल्काउनुहोस्‌। यस्तो मनोभाव देखाउँदा सबैलाई छुट्टी झनै रमाइलो लाग्नेछ।

छुट्टी रमाइलो बनाउन अझै के गर्न सक्नुहुन्छ? केही फोटो, पोस्टकार्ड, स्मारिका र केही स्थानीय कलाकृति समेत सम्झनाको लागि किन्‍न सक्नुहुन्छ। तर सबैभन्दा स्मरणीय त नयाँ साथीहरू हुनेछन्‌। तिनीहरूसित सम्पर्क राख्नुहोस्‌। आफ्ना अनुभवहरू बाँड्‌न पत्राचार गर्नुहोस्‌। आफ्नो छुट्टीको समय रमणीय बनाउने साँच्चै थुप्रै तरिकाहरू छन्‌।

[पृष्ठ १५-मा भएको पेटी]

छुट्टीमा जाँदा सम्झनुपर्ने केही कुराहरू

जानुअघि

• स्वास्थ्य तथा यात्रासम्बन्धी आवश्‍यक कागजातहरू सबै प्राप्त गर्नुहोस्‌

• रोगनिरोधक औषधीहरू लिनुहोस्‌

यात्राको दौडान

• मादक पदार्थरहित पेय पदार्थ प्रशस्त पिउनुहोस्‌ र लामो उडानमा व्यायाम गर्नुहोस्‌

• बच्चाहरूको लागि चाखलाग्दा चीजबीजहरू लग्नुहोस्‌

गन्तव्यस्थानमा पुग्दा

• नयाँ ठाउँमा भिज्न शरीर अनि मनलाई समय दिनुहोस्‌

• सुरक्षित खाना र पानी मात्र पिउनुहोस्‌

• नैतिकताबारे सजग हुनुहोस्‌

• परिवारका अन्य सदस्यहरूलाई दैनिक कामकुरामा सघाउनुहोस्‌

[पृष्ठ १४-मा भएको चित्र]

छुट्टीमा हुँदा पनि आफ्नो संगतबारे सजग हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने