ग्रीष्म ऋतुमा ईश्वरतान्त्रिक क्रियाकलापहरू पछ्याउनुहोस्
१ ग्रीष्म ऋतुले विभिन्न क्रियाकलापहरूमा भाग लिन सक्ने अवसरहरू प्रदान गर्छ। हामीमध्ये धेरै जना स्कूल बिदाको फाइदा उठाएर दैनिक तालिकाभन्दा बेग्लै र आरामदायी कार्य गर्न चाहन्छौं। तर, हाम्रो ईश्वरतान्त्रिक क्रियाकलाप भङ्ग हुन दिनदेखि हामी सतर्क हुनुपर्छ।—फिलि. ३:१६.
२ हामी उत्सुकतापूर्वक क्षेत्रीय सम्मेलनहरू र विशेष सम्मेलन दिनको प्रतीक्षा गर्छौं। यीमध्ये एउटा ग्रीष्म ऋतुमा आयोजना हुन्छ भने त्यहाँ उपस्थित हुन, यातायात र आवासको प्रबन्ध मिलाउन के तपाईंले निश्चित योजनाहरू बनाउनु भएको छ? तपाईंको मण्डलीमा व्यक्तिगत मदतको खाँचो पर्ने कसैलाई समावेश गर्नेबारे के तपाईंले सोच्नुभएको छ? त्यस्तो दयालु कार्यले दुवैलाई आशिष ल्याउन सक्छ।
३ स्कूल बिदा भएको बेला समय छ भने के तपाईंले सेवकाईमा अझ बढी भाग लिने विचार गर्नुभएको छ? थुप्रैले यस समय सहायक अग्रगामीको रूपमा भर्ती हुनु उपयुक्त भेट्टाएका छन्। यसो गर्दा प्रायः सेवकाईमा ठूला अवसरहरूको ढोका खुलेको छ। परिवारले सम्पूर्ण दिन क्षेत्र सेवकाईमा एकसाथ बिताउँदा साँचो आनन्द अनुभव गर्न सक्छन्। परिस्थिति जस्तोसुकै भए तापनि के तपाईं सेवकाईमा अझ बढी समय बिताउन सक्नुहुन्छ? दिन लामो हुने हुँदा सन्ध्याकालीन साक्षीबाट थुप्रैले प्रशस्त आशिषहरू प्राप्त गर्न सक्नु पर्ने हो।
४ आफ्नो इलाका ढाक्न मदत चाहिरहेको मण्डलीलाई सहयोग गरे कसो होला? आवश्यकता बढी भएको ठाउँमा गएर एक दुई हप्ता सेवा गर्न तपाईंको मण्डलीमा अरू पनि इच्छुक होलान्। तपाईंको समूह सानो छ भने सायद नजिकैको अर्को मण्डलीका प्रकाशकहरू तपाईंसित जान चाहलान्। तपाईं निकै टाढासम्म जान सक्नु हुन्न भने मदतको खाँचो पर्ने नजिकको मण्डलीबारे क्षेत्रीय निरीक्षकले केही सुझावहरू दिन सक्छन् होला।
५ के तपाईं घरबाट टाढा छुट्टी मनाउने योजना बनाउँदै हुनुहुन्छ? यदि हो भने, तपाईं जानुहुने ठाउँमा सभा धाउन के तपाईंले योजना बनाउनुभएको छ? त्यहाँका भाइहरूसित क्षेत्र सेवकाईमा भाग लिनुभए कसो होला? यी क्रियाकलापहरूलाई तपाईंको छुट्टीमा समावेश गर्नु तपाईं र साथै अरूको निम्ति पनि इनामदायी हुनेछ। (रोमी १:११, १२) साथै, यात्रा गर्दा के तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ? बाइबल र यथेष्ट साहित्यहरू आफ्नो साथमा लैजान नभुल्नुहोस्। आफूले पढी नसिध्याएका सामग्रीहरू पढ्न र बाइबल अध्ययन गर्न आफ्नो फुर्सतको समय प्रयोग गर्नुहोस्। हामीलाई समय समयमा सांसारिक कामकुराहरूबाट छुट्टी चाहिन्छ तर हामी यहोवाको सेवाबाट कहिल्यै छुट्टी लिन चाहँदैनौं भन्ने कुरा नबिर्सनुहोस्।
६ मण्डलीका क्रियाकलापहरूलाई सुव्यवस्थित राख्न प्राचीनहरू सजग हुनुपर्छ। कुनै प्राचीन अथवा सेवकाई सेवक कतै जान लागेको छ भने आफ्नो जिम्मेवारी अरू कसैले पूरा गर्न प्रबन्ध मिलाउनुपर्छ। आफू अनुपस्थित हुने मितिबारे मण्डलीको अध्यक्षलाई पहिले नै अवगत गराएमा उपयुक्त प्रबन्धहरू मिलाउन उनलाई सजिलो हुनेछ।
७ हो, ग्रीष्म ऋतु एकदमै व्यस्त समय हुन सक्छ। तर राज्य सेवकाई सम्बन्धी तपाईंको राम्रो तालिकालाई अलमलहरूले सजिलै भङ्ग गर्न सक्छ। ग्रीष्म ऋतुले प्रदान गर्ने अवसरहरूको यथासम्भव लाभ उठाउनुहोस्। स्वस्थकर आध्यात्मिक प्राथमिकताहरू छुट्याउनुहोस् र त्यसमा अडिग रहनुहोस्।—फिलि. १:१०.