पृथ्वीप्रतिको मेरो प्रेम सधैं सधैंका लागि तृप्त हुनेछ
डोरथी कन्लीको वृत्तान्तमा आधारित
म आदिवासी भएकोले नरकमा जान्छु रे भनेर मलाई सानै हुँदा मानिसहरूले भन्ने गर्थे। वर्षौंपछि अर्थात् १९३६ मा मैले बाइबल भाषणको रेकर्ड सुन्न पाएँ। उक्त भाषणले नरकसम्बन्धी डरहरू मेटाइदियो र मेरो मनमा आशा जगायो। त्यो आशा पहिलेभन्दा झनै चहकिलो भएको छ। यसको कारण बताउनुअघि म तपाईंहरूलाई आफ्नो विषयमा केही भन्छु है।
मेरो जन्म लगभग १९११ मा भएको थियो। त्यतिखेर आदिवासीहरूलाई तारिख र जन्म प्रमाणपत्रसँग कुनै सरोकार नै नभएको हुनाले मैले “लगभग” भनेकी हुँ। मुमाबुबा मेहनती र ईश्वरभीरु हुनुहुन्थ्यो। हामी अस्ट्रेलियाको मध्य क्विन्सल्याण्डस्थित उबडखाबड र मनोहर कारनारभेन पर्वत नजिकैको सानो शहर स्प्रिंगसुरमा बस्थ्यौं।
मेरो बुबालाई रोमन क्याथोलिक धर्म मान्ने एउटा गोरा परिवारले हुर्काएको थियो। यद्यपि, मेरो आदिवासी मुमाबुबाले उहाँहरूका जन्मजात रीतिथिति र पृथ्वीप्रतिको प्रेम मेरो हृदयमा ठप्प राखिदिनुभयो। हामी कंगारू, इमु, कछुवा, सर्पहरूको शिकार गर्थ्यौं अनि माछा र कीराहरूको लार्भा (खान हुने ठूलठूला कीरा) पक्रन्थ्यौं। तर मैले कहिल्यै इमु खाइनँ। परिवारमा मैले मात्र इमु खान हुँदैनथ्यो किनकि इमु मेरो प्रतीक थियो। आदिवासी परम्परा अथवा “स्वप्नसमय”-अनुसार यस जातिका हरेक सदस्यको आ-आफ्नै प्रतीक हुन्थ्यो अनि परिवार र जातिले उक्त प्रतीक खान हुँदैन भनेर निषेध गरिन्थ्यो।
हुन त यस्ता कुराहरू अन्धविश्वासमा आधारित थिए, तापनि यस्तो निषेधले जीवनको पवित्रताबारे स्मरण गराउँथ्यो। आदिवासीहरू बिनसित्ति जीवजन्तु मार्दैनथे। मैले सानोमा एकचोटि जिउँदै फट्याङग्रा अंगभंग गर्दैगरेको बुबाले भेट्नुभयो। त्यतिखेर म उहाँको बल्दो रिसले खंग्रङगै भएको अझै याद छ। “यो त अति भो!” उहाँ कराउनुभयो। “परमेश्वरले क्रूरतालाई घृणा गर्नुहुन्छ भनेर के तिमीलाई थाह छैन? कसैले तिमीलाई पनि यसै गऱ्यो भने नि?”
हामी अनेक प्रकारका अन्धविश्वासमा रुमलिएका थियौं। उदाहरणका लागि, हाम्रो पालअघाडि विल्ली वेग्टेल (एक प्रकारको सानो चरा) नाच्यो भने अशुभ समाचार सम्झन्थ्यौं; वा पाल नजिकैको रूखको हाँगोमा दिउँसो लाटोकोसेरो बस्यो भने अब कोही मर्नेछ भन्ने विश्वास गर्थ्यौं। कुनै कुनै सपनाले अनिष्ट घटनाको पूर्वसूचना दिन्छ भन्ने विश्वास पनि गर्थ्यौं। उदाहरणका लागि, सपनामा हिलैहिलो देखेकोले परिवारमा बिरामी भएको हो भन्ठान्थ्यौं। तर पानीबाट हिलो उम्लेको देख्यौं भने चाहिं कसैको मृत्यु हुनेछ भन्ठान्थ्यौं। हो, हामी क्याथोलिक थियौं तर क्याथोलिक भएर पनि हाम्रा जातीय अन्धविश्वासहरू हराउन सकेन।
मेरो परिवारले आदिवासी भाषा पनि बोल्न छोडेन। यद्यपि, अहिले प्रायः लोप हुँदै गएका भाषाहरूमध्ये यो पनि एक हो। तैपनि, कहिलेकाहीं म अरूसँग बाइबलबारे यही भाषामा कुराकानी गर्छु। तर प्रायजसो चाहिं अंग्रेजी वा स्थानीय सजिलो भाषामै कुराकानी गर्छु।
प्रारम्भिक मूल्यवान् प्रशिक्षण
म लगभग दस वर्षकी हुँदा हाम्रो परिवार स्प्रिंगसुरदेखि करिब ३० किलोमिटर टाढामा अवस्थित गाईवस्तुको गोठमा बस्थ्यौं। घरायसी काम गर्न हरेक दिन गोठसम्म पुग्न केही किलोमिटर हिंड्नुपर्थ्यो। मैले दिनभरिको ज्याला एक डिब्बा दूध र एउटा रोटी पाउँथें। हाम्रो परिवार बाकलले बनाएको छाप्रोमा बस्थ्यो। आदिवासीहरूको परम्परागत निवासस्थान यस्तै हुन्थ्यो। पानी पर्दा चाहिं नजिकैको ओडारमा सुतेर रात काट्थ्यौं। के यस्तो साधारण जीवनशैली मलाई बोझजस्तो लाग्यो? अहँ, लागेन। किनकि शताब्दीयौंदेखि आदिवासीहरूले यस्तै जीवनशैली बिताइरहेका थिए र हामीले पनि त्यही जीवनशैली अपनायौं।
भनौं भने, हुनेखानेका परिवारमा हुर्कन नपाएकोमा म दुःखी छैन। किनकि अनुशासित हुन, कडा मेहनत गर्न र काम गरेर जीविका चलाउन सिकाउनुहुने मायालु मुमाबुबा पाएँ। सन् १९३४ मा हामी क्विन्सल्याण्डस्थित वराबिन्दे नजिकै आरक्षित थलोमा बसाइँ सऱ्यौं। त्यसको केही समयपछि मैले जीवनमा पहिलोचोटि घर छोडेर टाढा काम गर्न थालें अनि गाईवस्तु र भेडाहरूको गोठमा घरायसी तथा अन्य सामान्य काम गर्न पश्चिमतिर लागें। आफ्नो कामले गर्दा म अन्ततः पूर्वमा अर्थात् तटवर्ती रकेम्टन शहरको बाहिरपट्टि गएँ। मेरा पति मार्टिन कन्लीसँग त्यहीं भेट भएथ्यो तर अहिले उहाँ रहनुभएन। उहाँका आमाबुबा आइरिस थिए। हामीले १९३९ मा विवाह गऱ्यौं।
बाइबल सच्चाइ सिक्दै
म सधैं बाइबललाई गहिरो श्रद्धा गर्थें। म बच्ची छँदा गोठका मालिक्नीले हामी अर्थात् आदिवासी र गोराहरूलाई एकै ठाउँमा भेला गराएर येशूका विषयमा कथाहरू सुनाउनुहुन्थ्यो। एकचोटि उहाँले येशूका यी शब्दहरूको अर्थ बुझाउनुभयो: “बालकहरूलाई मकहाँ आउनालाई नरोक।” (मत्ती १९:१४) म नरकमा जान्छु रे भनेर मलाई बताइएको समयदेखि यता मैले जीवनमा पहिलोपल्ट आशाको किरण देखें।
सुरुमा भनेको रेकर्ड गरिएको भाषणमा पछि नरक भतभती पोल्ने ठाउँ होइन भनेको सुनें। यसले गर्दा मेरो मनमा कुरा खेल्न थाले तापनि १९४९ सम्म यहोवाका साक्षीहरूसँग सम्पर्क हुनसकेन। त्यतिखेर हामी रकेम्टनदेखि २५० किलोमिटर पश्चिमपट्टि अवस्थित इमरेल्डमा बस्थ्यौं। हामीकहाँ आउनुभएका आगन्तुक आर. बेन्नेट ब्रिकललेa हामीसँग बाइबलबारे कुराकानी गर्नुभयो। त्यसपछि त जब जब बेन हाम्रो इलाकामा आउनुहुन्थ्यो, तब तब हाम्रो घर उहाँकै घरसरह भयो। मार्टिन र हाम्रा चार बालबच्चालगायत हामी सबैले उहाँलाई गहिरो आदर गर्थ्यौं। मार्टिनले बाइबल सन्देशप्रति चासो देखाउनुभएन तापनि साक्षीहरू र विशेषगरि बेनप्रति सधैं दयालु र आतिथेय हुनुहुन्थ्यो।
बेनले मलाई थुप्रै बाइबल अध्ययन सहायकहरू दिनुभयो। तर मेरो एउटा ठूलो समस्या थियो—म पढ्न सक्दिनँथें। तसर्थ, बेनले मेरा बच्चाहरू र मेरोलागि धैर्यसाथ बाइबल तथा बाइबल आधारित साहित्यहरू पढ्नुहुन्थ्यो अनि पढेको कुरा बुझाउँदै लानुहुन्थ्यो। उहाँ ती पादरीभन्दा कत्ति भिन्न हुनुहुन्थ्यो जसले धार्मिक औपचारिकता पूरा गरेपछि हामीलाई पढ्न सिकाउन जाबो पाँच मिनेट पनि दिन सक्दैनथे! मेरो परिवारलगायत सबै मानिसजातिलाई जकडेका थुप्रै अन्धविश्वासको प्रवर्तक शैतान र त्यसका दूतहरू हुन् भनेर बेनले बाइबलबाट बताए। मैले येशूका यी शब्दहरू अति मूल्यांकन गर्नथालें: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”!—यूहन्ना ८:३२.
परमेश्वरका आज्ञा पालन गर्नेहरूका निम्ति उहाँले पार्थिव प्रमोदवनको उद्देश्य राख्नुभएको छ भन्ने जानेर रोमाञ्चित भएँ। तर सबैभन्दा मुख्य कुरा, मृत जनहरू पुनरुत्थान भएको हेर्न सकसक लाग्नथाल्यो। किनकि मेरी मुमा १९३९ मा र बुबा १९५१ मा बित्नुभयो। उहाँहरूलाई अंकमाल गरेर उहाँहरूले साह्रै प्रेम गर्नुभएको संसारमा पुनः स्वागत गर्ने समयको अक्सर म बाटो हेर्छु। अनि उहाँहरूलाई यहोवा परमेश्वर र उहाँको राज्यबारे सिकाउनु कत्ति रोमाञ्चकारी हुनेछ!
अनपढ प्रचारक
बाइबलको ज्ञान आर्जन गर्दै गएपछि अरूसँग त्यो ज्ञान बाँड्न चाहन्थें। मैले नातेदार अनि साथीहरूसँग कुराकानी गरें तर म आफ्नो सेवकाई अझ विस्तार गर्न चाहन्थें। अतः अर्कोचोटि बेन इमरेल्डमा आउनुहुँदा बच्चाहरूलाई पनि आफूसितै प्रचारमा लैजान हतारपतार तयार पारें अनि हामी सबै उहाँसित प्रचारमा गयौं। उहाँले मलाई सरल प्रस्तुतिहरू बताउनुभयो अनि प्रार्थनाद्वारा यहोवामा भर पर्न सिकाउनुभयो। मेरो प्रस्तुति त्यति राम्रो थिएन भनेर म मानीलिन्छु तर त्यो मेरो हृदयदेखि निस्केको हुन्थ्यो।
म पढ्न सक्दिनँ भनेर पहिल्यै घरधनीलाई भन्थें; त्यसपछि उनीहरूलाई मैले भनेका बाइबल पदहरू पढ्न आग्रह गर्थें। मैले ती पदहरू कण्ठ गरेकी थिएँ। मुख्यतः गोराहरू रहेका शहरमा मलाई कसै कसैले उदेक मानेर हेरे तापनि ती मानिसहरू त्यति अशिष्ट व्यवहार गर्दैनथे। रहँदा बस्दा मैले पढ्न सिकें। यसले गर्दा मेरो विश्वास र आध्यात्मिकता निकै बलियो भयो!
मेरो पहिलो अधिवेशन
मार्च १९५१ मा यहोवालाई जीवन समर्पण गरेपछि म जीवनको अर्को दुइटा मोडमा पुगें। त्यो हो, पानीद्वारा बप्तिस्मा लिनु र यहोवाका साक्षीहरूको अधिवेशनमा पहिलोचोटि उपस्थित हुनु। तर यसका लागि ठूलो शहर सिड्नी जानुपर्थ्यो जो एउटी गाउँले केटीको निम्ति भयंकर ठूलो काम थियो। त्यति मात्र कहाँ हो र, मसँग रेल भाडा पनि थिएन। अब के गर्ने?
मैले जुवा खेलेर भाडाका लागि पैसा बटुल्ने निर्णय गरें। मैले विचार गरें, ‘म यहोवाकै लागि जुवा खेल्दैछु। अतः उहाँले पक्कै पनि मलाई जित्न मदत गर्नुहुनेछ।’ केही हात जुवा खेलेपछि त उहाँले मदत गर्नुभए जस्तो लाग्यो किनकि मैले ओहरदोहरकै भाडा पुग्ने पैसा जितें।
सिड्नी जाने मेरो योजना बेनलाई पनि थाह थियो। अतः अर्कोचोटि आउनुहुँदा उहाँले मसँग पुग्दो पैसा छ, छैन, सोध्नुभयो। “किन नहुनु नि!” मैले भनें। “मैले जुवा खेलेर रेलको भाडा कमाएको छु।” त्यसो मात्र के भनेकी थिएँ, उहाँको अनुहार त गोलभेडाझैं रातो भयो। मैले केही गल्ती भनेछु भनेर मलाई झट्ट थाह भइहाल्यो। तसर्थ, मैले आफू बच्ने कोसिस गर्दै हतारपतार भनें: “तपाईंलाई के भयो? मैले चोरेको त होइन नि!”
शान्त भएपछि उहाँले मसीहीहरूले किन जुवा खेल्दैनन् भनेर नरम मिजासमा बुझाउनुभयो अनि आश्वासन दिनुहुँदै यसो भन्नुभयो: “तर यसमा तपाईंको दोष छैन। मैले नै तपाईंलाई खेल्नु हुँदैन भनेर बताइनँ।”
हार्दिक स्वागत गरेको महसुस भयो
मार्च २२-२५, १९५१ मा सम्पन्न उक्त चारदिने अधिवेशनमा पहिलोचोटि अनेकौं साक्षीहरूसँग भेटघाट गर्न पाएँ। बेन र अरू दुईचार जनालाई मात्र चिनेको हुनाले मलाई कसले स्वागत गर्ला र भनेर अनकनाइरहेकी थिएँ। अतः पूर्वाग्रहको नाउँसमेत नभएका मेरा आध्यात्मिक भाइबहिनीहरूले हार्दिक स्वागत गर्दा म कत्ति रोमाञ्चित भएँ, तपाईंहरू अनुमान गर्न सक्नुहुन्छ। त्यहाँ मलाई आफ्नै घरजस्तो र ढुक्क लाग्यो।
त्यतिखेर बोटानी बेमा बप्तिस्मा लिने १६० जनामध्ये म पनि एक भएको हुनाले उक्त अधिवेशन अझै मेरो स्मृतिमा ताजै छ। स्पष्टतः यहोवाका साक्षी हुने पहिलो अस्ट्रेलियाली आदिवासीहरूमध्ये म पनि एक हुँ। आइतबार प्रकाशित हुने साप्ताहिक अखबारमा मेरो फोटो छापियो अनि सिनेमा हलमा ट्रेलरमा पनि देखाइयो।
शहरभरिमा एक मात्र साक्षी
म सिड्नीबाट फर्केको महिना दिनपछि हाम्रो परिवार उत्तर-पश्चिमी क्विन्सल्याण्डस्थित खानीहरूले भरिएको शहर माउन्ट इजामा बसाइँ सऱ्यो। छ वर्षसम्म शहरबाहिरको ठूलो जमीन देखभाल गर्ने काम गर्दै छाना मात्र भएको छाप्रोमा जीवन बितायौं। नजिकैको झाडीमा काठपात काटेर छाप्रोको वरिपरि बारबेर गऱ्यौं। पुराना ढ्वांगहरू काटेर चेप्टो बनायौं र छाप्रोको छाना हाल्यौं। मार्टिनले रेलवेमा जागिर पाउनुभयो तर अत्यधिक पिउने बानीले अन्ततः उहाँको स्वास्थ्य खत्तम भयो। तत्पश्चात्, परिवार थाम्ने जिम्मेवारी मेरो काँधमा आयो। सन् १९७१ मा उहाँको मृत्यु भयो।
सुरु सुरुमा माउन्ट इजामा म मात्र साक्षी थिएँ। माउन्ट इजा पनि बेनले प्रचार गर्नुपर्ने विशाल इलाकाकै एक भाग भएकोले उहाँ प्रायः छ महिनामा एकचोटि आउनुहुन्थ्यो। उहाँ येशू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा शहरमै हुनुहुँदा त्यो उत्सव मेरो परिवारसँग अक्सर रूखमुनि बसेर मनाउनुहुन्थ्यो। बेनको लागि यो उत्सव एउटा विशेष अवसर थियो किनकि उहाँको स्वर्गीय आशा थियो।
साधारणतया बेन लामो समयसम्म हामीसँग रहनुहुन्नथ्यो। तसर्थ, बच्चाहरू र मैले यथासम्भव साक्षी दिने काम गर्थ्यौं। हो, हामी एक्लो थियौं तर यहोवाको आत्मा र उहाँको मायालु संगठनले हामीलाई शक्ति प्रदान गऱ्यो। वर्षौंसम्म हाम्रो समूह सानो भए तापनि माउन्ट इजामा आएर हामीलाई प्रोत्साहन दिन विश्वासी परिभ्रमण निरीक्षक तथा तिनीहरूका पत्नीहरूले उखरमाउलो गर्मी, झिंगा, धूलोमूलो र उबडखाबड सडकहरूको पर्बाह गर्नुभएन। यसबाहेक, १,२०० किलोमिटरभन्दा टाढामा अवस्थित भर्खरै स्थापना भएको छिमेकी मण्डली डारविनका साक्षीहरू पनि बेलाबखतमा आउने गर्थे।
मण्डलीको स्थापना
डिसेम्बर १९५३ मा माउन्ट इजामा एउटा मण्डली स्थापित भयो। बेन निरीक्षक नियुक्त हुनुभयो। त्यतिखेर सेवकाईमा भाग लिने अन्य साक्षी भनेको मेरी छोरी आन र म मात्र थियौं। तर केही समयपछि अन्य साक्षीहरू हाम्रो शहरमा बसाइँ सरे। हाम्रो इलाकामा पनि चेलाहरू बढ्न थाल्यो र पछिपछि त थुप्रै आदिवासीहरू पनि चेला भए।
मण्डलीमा लगातार वृद्धि हुँदै गयो अनि हामीलाई सभाहरू सञ्चालन गर्न राज्यभवन चाहिने कुरा स्पष्ट भयो। कडा परिश्रम गरेर मे १९६० मा हामीले आफ्नै नयाँ राज्यभवन निर्माण गरी सिध्यायौं। त्यसपछिका १५ वर्षभित्र यसलाई दुइचोटि बढाउनुपऱ्यो। तर १९७० दशकको मध्यतिर जन सेवकाईमा भाग लिनेहरूको संख्या १२० पुग्यो र फेरि राज्यभवन सानो भयो। अतः २५० सिट भएको एउटा अति सुन्दर राज्यभवन बनायौं र १९८१ मा समर्पण गऱ्यौं। यो भवनमा थुप्रै मानिसहरू अटाउने हुनाले क्षेत्रीय सम्मेलनहरूजस्ता ठूला जमघटहरूको लागि पनि प्रयोग गरियो।
आदिवासीहरूमा वृद्धि
सन् १९९६ मा माउन्ट इजा मण्डलीसँग सम्बद्ध आदिवासी र द्वीपवासीहरूको समूह गठन भएको कुराले म रोमाञ्चित भएँ। द्वीपवासीहरू अस्ट्रेलियाको मुख्य भूभाग नजिकैका आदिवासीहरू हुन्। यस समूहको मुख्य उद्देश्य आदिवासीहरूलाई राम्ररी साक्षी दिनु हो। तिनीहरूमध्ये कोही कोही गोराहरूसँग सम्पर्क गर्न अलि अप्ठ्यारो मान्छन्।
आदिवासीहरूका यस्ता करिब २० वटा समूहहरू अस्ट्रेलियाभरि छरिएका छन्। यस अतिरिक्त, एडिलेड, कार्न्ज, इपस्विच, पर्थ अनि टाउन्सभिलमा पनि आदिवासीहरूको मण्डली स्थापित भएका छन्। ती समूह तथा मण्डलीहरूमा करिब ५०० जना धाउँछन् जसमध्ये केही त मेरै परिवारका सदस्यहरू हुन्। आदिवासी साक्षीहरूमध्ये झन्डै १० प्रतिशतले अग्रगामी अथवा पूर्ण-समय सेवकाईको काम गरिरहेका छन्!
सन् १९७५ मा मलाई मधुमेह रोगले समात्यो। थुप्रै आदिवासीहरूलाई सताउने यो रोगले मलाई वर्षौंसम्म सताएपछि नराम्रो असर छोड्यो। पढ्न असाध्यै गाह्रो हुनथाल्यो। यद्यपि, यहोवाले मलाई सँभालिरहनुभएको छ अनि आनन्द दिइरहनुभएको छ।
मेरो परिवार र मलाई मदत गर्ने साहसी सेवकहरूप्रति म आभारी छु। तिनीहरूको अदम्य जोस, प्रेम र तिनीहरूले सुदूर क्विन्सल्याण्डका धूलैधूलोले ढाकिएका सुनसान सडक र गोरेटाहरू हुँदै मोटरसाइकलद्वारा यात्रा गरेर आध्यात्मिक धन ल्याएकै कारण हामीले बाइबल सत्य सिक्नसक्यौं। अहिले म विश्वस्त भएर पृथ्वीप्रतिको मेरो प्रेम सधैं सधैंका लागि तृप्त हुने समयको मीठो प्रतीक्षा गरिरहेकी छु।
[फुटनोट]
a सेप्टेम्बर १, १९७२ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ५३३-६ मा बेन ब्रिकलको उल्लेखनीय जीवनी प्रकाशित भएको थियो।
[पृष्ठ १३-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
पर्थ
अहिले डोरथी
डारविन
कार्न्ज
टाउन्सभिल
माउन्ट इजा
रकेम्टन
इमरेल्ड
स्प्रिगसुर
वराबिन्दे
इपस्विच
एडिलेड
सिड्नी
[पृष्ठ ११-मा भएको चित्र]
सन् १९५० दशकको मध्यतिर बेनसँग अभ्यास गर्दै