युवाहरूको मृत्यु, एक दुःखद् घटना
“मलाई यस्तो लाग्छ, हाम्रो यो पुस्ता मरेर जाँदैछ।”—स.रा.अ., कनेटिकट्स्थित विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया छात्रा जोहाना पि.।
प्रहरी अधिकृतहरूले अस्ट्रेलियाको द्वीप राज्य तास्मानियाको राजधानी होबार्ट बाहिरको फाँटमा एउटा विभत्स दृश्य देखे। एउटा घरभित्र १० देखि १८ वर्षका चार जना केटीहरू थिए। तिनीहरू सबै मृत अवस्थामा थिए। तिनीहरू आफ्नै बुबाद्वारा मारिएका थिए। बुबा आफै पनि छेवैमा लडिरहेका थिए र तिनको शिरमा राईफलको गोलीको चोट थियो। तिनले आफ्नो दाहिने हात बञ्चरोले च्वाट्टै काटेका थिए। यो हत्या-आत्महत्या काण्डले सम्पूर्ण तास्मानियामा तहल्का मच्चायो। मानिसहरूको मनमा खुलदुली मच्चाउने एउटै प्रश्न उठ्यो—आखिर किन? किन ती निर्दोष केटीहरू मर्नुपरेको?
जमानतमा छुटेका एक बलात्कारीले छ जना केटीहरूलाई लैंगिक दुर्व्यवहार गरेर तीमध्ये चार जनाको हत्या गरेको घटनाले बेल्जियमलाई अझै रन्थनाइरहेको छ। यहाँ पनि त्यही प्रश्न उठ्छ—किन ती केटीहरू मर्नुपरेको? अर्जेन्टिनामा केही आमाहरूअनुसार अहिले फोहोर युद्धकोa रूपमा चिनिने एउटा घटनामा ३०,००० मानिसहरू वेपत्ता भए जसमध्ये कतिपय तिनीहरूका आफ्नै छोराछोरी थिए। यस दुःखद् घटनाको शिकार भएकाहरूमध्ये कतिपयलाई यातना दिइयो, लट्ठ पार्ने औषधी खुवाइयो अनि त्यसपछि हवाईजहाजबाट समुद्रमा फ्याँकियो। तिनीहरूमध्ये कतिलाई त जिउँदै फ्याँकियो। तिनीहरू किन मर्नुपरेको? तिनीहरूका आमाहरू अझै जवाफको पर्खाइमा छन्।
सन् १९५५ मा आमाहरूको विश्व अधिवेशनले युद्धहरू बेकामका हुन् भनी आलोचना गरे र उक्त अधिवेशनले “युद्ध र युद्धको तयारीले ल्याउने दुःखकष्टहरूबाट आफ्ना साना-ठूला छोराछोरी सबैलाई जोगाउन संघर्षरत सम्पूर्ण आमाहरूबाट चेताउनीको चिच्च्याहट हो” भनेर घोषणा गऱ्यो। हास्यास्पद कुरा के छ भने, उक्त आमाहरूको अधिवेशन विश्वव्यापी तवरमा भइरहेको बेला रक्तपातपूर्ण संघर्षहरूमा मर्ने युवाहरूको संख्या बढ्दो थियो। ती युवाहरू नमरेका हुँदा हुन् त, विविध प्रतिभा तथा योग्यता भएका पीढी खडा हुनेथियो।
युवा मृत्युको लामो इतिहास
इतिहासका पानाहरू जवानहरूको रगतले रंगीएको छ। हाम्रो तथाकथित ज्ञानोद्वीपक २० औं शताब्दीमा समेत जातीय र जनजातीय लडाइँमा पनि मुख्यतः युवाहरू नै मरेका छन्। यसो हेर्दा, बुज्रुकहरूका गल्ती तथा लालसाको कारण युवाहरूले आफ्नो ज्यान दिनुपरेको छ।
द न्यु रिपब्लिक पत्रिकाको रिपोर्टअनुसार एक अफ्रिकी देशमा आफूलाई प्रभुको प्रतिरोधक सेना भन्ने धार्मिक किशोर सैन्य दललाई बन्दुकको गोलीले तिनीहरूलाई छेड्दैन भनेर विश्वास गर्न सिकाइएको छ। त्यस लेखको शीर्षक “किशोर वञ्जरभूमि”! हुनु कुनै अचम्मको कुरा होइन। तसर्थ, बन्दुकको गोली रोक्न बुलेट प्रुफ वस्त्र नलगाएका छोराछोरीको मृत्यु हुँदा शोकाकुल परिवारहरूले यस्तो प्रश्न सोध्नु ठीकै हो: “हाम्रा युवाहरू किन मर्नुपरेको? यी सबैको उद्देश्य के थियो?
यी सबै दुःखकष्टहरू त छँदैछन् तर अझ त्यसमाथि युवाहरूको बढ्दो संख्याले आत्महत्या गरिरहेका छन्।
[फुटनोट]
a तथाकथित फोहर युद्ध सैनिक सरकारको शासनकालमा (१९७६-८३) भएथ्यो जसमा सरकार विरोधी भनेर शंका गरिएका हजारौं मानिसहरूलाई मारिएको थियो। अर्को तथ्यांकअनुसार ती मर्नेहरूको संख्या १०,००० देखि १५,००० थियो।