ताजमानिया—सानो टापु, असाधारण कथा
अस्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“दक्षिण समुद्रमा हामीले भेट्टाएको यो पहिलो भूमि भएकोले र कुनै पनि युरोपेली राष्ट्रलाई हालसम्म यसको जानकारी नभएकोले [हाम्रो] सम्माननीय गभर्नर-जनरलको सम्मानमा यसलाई एन्टोनी भान डीमेन्जलान्ट नाउँ दिन्छौं।” अस्ट्रेलियाको दोस्रो पुरानो राज्य, ताजमानियालाई देख्ने बितिक्कै नोभेम्बर २५, १६४२ मा डच निवासी एबील तज्मानले उक्त कुरा भनेका हुन्।a तज्मानले त्यहाँ कुनै मानिस त देखेनन् तर टाढामा धूवाँ र नजिकैको रूखको मूल हाँगोमा १.५ मिटरको अन्तरमा खुड्किलोजस्तो काटेका देखे। तिनी लेख्छन् कि त्यो जोसुकैले काटेका भए तापनि तिनीहरूको त्यो रूख चढ्ने असाधारण तरिका थियो वा त्यहाँ दानवहरू थिए। वास्तवमा रूख चढ्न सजिलोकै लागि त्यो काटिएको थियो।
त्यसपछि, भान डीमेन्जलान्ट १३० वर्षसम्म समुद्री अन्वेषकहरूको मार्ग-विवरणबाट हरायो, अर्थात् जबसम्म फ्रान्सेली मेरोन डुफ्रेन र अंग्रेज टबाइस फेर्नो त्यहाँ गएनन्। कप्तान जेम्स कुक १७७७ मा त्यहाँ पुगे र डुफ्रेनलेझैं त्यस टापुका अनौठो बासिन्दाहरू अर्थात् आदिवासीहरूसँग सम्पर्क राखे। तथापि, तिनको आगमनले दुर्घटनाको सुरुआत गऱ्यो। ताजमानिया इतिहास-मा (अंग्रेजी) जोन वेस्ट भन्छन्: “[कुकले] सभ्यता र धर्मको सुरुआत गऱ्यो भनेर केही राष्ट्रहरू भन्ठान्छन्। [तर] यो जातिको [आदिवासी] लागि तिनी मृत्युको अग्रदूत भए।” कुन कुराले यस्तो दुःखद परिणाम भयो?
ताजमानिया “बेलाइती साम्राज्यको झ्यालखाना बन्छ”
देशबाट लखेट्नु वा निर्वासन गर्नु, बेलाइतले दिने मुख्य सजाय थियो। बेलाइतको दण्ड दिने उपनिवेशहरूमध्ये ताजमानिया एक बन्यो। सन् १८०३ देखि १८५२ सम्ममा ६७,५०० जति पुरुष, स्त्री र सात वर्ष मात्र पुगेका केटाकेटीहरू समेतलाई बलात्कारदेखि लिएर प्रार्थनाको पुस्तक चोरीसम्मका अपराधमा निर्वासन गरेर बेलाइतबाट ताजमानिया पुऱ्याए। तथापि, अधिकांश अपराधीहरूले उपनिवेशमा बसाइँ सर्नेहरूका लागि या सरकारी परियोजनाहरूमा काम गर्थे। अस्ट्रेलियन इन्साइक्लोपीडिया यसो भन्छ: “दश प्रतिशतभन्दा कम मात्र . . . दण्डस्थानमा पठाइए। यसरी पठाइएकाहरूलाई पनि त्यहाँ थोरै समय राखिन्थ्यो।” ताजमानिया प्रायद्वीपको पोर्ट आर्थर मुख्य दण्डस्थान थियो। तर जन्ड अपराधीहरूलाई चाहिं मेक्वरी हार्वर अर्थात् “यातना दिने ठाउँ” भनेर पवित्र गरिएको ठाउँमा पठाइन्थ्यो। त्यसैले बन्दरगाहभित्र छिर्ने साँघुरो प्रवेशद्वारलाई नरकद्वार भनेर कुख्यात नाउँ दिइयो।
यो अस्ट्रेलिया हो (अंग्रेजी) पुस्तकमा डा. रूडाल्फ ब्राशले यस प्रारम्भिक उपनिवेशको अर्को पक्ष उल्लेख गरेका छन्। त्यो हो, यसको आध्यात्मिकता, वास्तवमा भनौं भने आध्यात्मिकताको कमी। तिनी लेख्छन्: “सुरुदेखि नै अस्ट्रेलियामा [सम्भवतः ताजमानियासहित] धर्म हेलचेक्य्राइँ र बेवास्ता गरियो। त्यहाँ अड्डा जमाएर बसेकाहरूले भने आफ्ना उपलब्धिका लागि सकेसम्म यसको उपयोग र दुरुपयोग गरे। अस्ट्रेलियाको भूमिमा यो उपनिवेश बसालिनअघि प्रार्थना र धार्मिक सेवा सञ्चालन गर्न पनि कसैले वास्तै गरेनन्।” उत्तर अमेरिकी पीलग्रीमहरूले गिर्जाघरहरू बनाउँदा, ताजमानियाको इतिहास (अंग्रेजी) बताउँछ, “दक्षिण अस्ट्रेलियाको पहिलो नागरिक हुने दाबी गर्नेहरूले त्यसको सेवा टहल गर्न नचाहेर तिनीहरूको पहिलो गिर्जाघर जलाइ दिए।”
खस्कँदै गएको यो नैतिकतालाई मादक पेयपदार्थको प्रचुरताले झनै भ्रष्ट बनायो। जनसाधारण र सेना दुवैको निम्ति मादक पेयपदार्थ “धन कमाउने तरिका” थियो भनी इतिहासकार, जोन वेस्ट भन्छन्।
तथापि, कहिलेकाहीं खाद्यान्नको अभाव हुन्थ्यो। यस्तो समयमा फुक्का भएका अपराधीहरू र अन्य बासिन्दाहरू बन्दुक लिएर शिकार गर्थे। आदिवासीहरूले चाहिं भाला चलाएर यस्तै शिकार गर्थे। फलस्वरूप, तनाउ बढ्दै जानु स्वाभाविकै थियो। गोराहरूको जातिय शेखी, मादक पेयपदार्थको प्रचुरता र सांस्कृतिक विविधताले झन् आगोमा घिउ थप्यो। युरोपेलीहरूले आ-आफ्नो जग्गाजमिन छुट्याएर बार लगाउँथे; आदिवासीहरू शिकार गर्दै घुमन्ते जीवन बिताउँथे। यस्तो स्थितिमा हिंसा सुरु हुन कुनै ठूलो निहुँ चाहिंदैनथ्यो।
एउटा जाति लोप हुन्छ
नभन्दै मे १८०४ मा साँच्चै यस्तो भयो। लप्टन मोरेको अगुवाइमा एक टोलीले शिकार गरिरहेका आदिवासी पुरुष, स्त्री र केटाकेटीहरूको जमातलाई कुनै कारणबिना नै गोली हानेर मारे, धेरैलाई घाइते बनाए। र “काला युद्ध” अर्थात् एकातिर भाला र ढुंगा अनि अर्कोतिर बन्दुकको युद्ध सुरु भयो।
आदिवासीहरूको हत्या देखेर धेरै युरोपवासीहरू हच्किए। गभर्नर सर जर्ज आर्थरले असाध्यै दुःखित भएर ‘सरकारले अनजानमै आदिवासीहरूप्रति गरेको क्षतिपूर्ति गर्नको लागि’ जे गर्न पनि तयार छ भनी प्रतिबद्धता जाहेर गरे। तिनीहरूलाई “एकै ठाउँमा जम्मा गर्न” र “सभ्य बनाउन” तिनले एउटा कार्यक्रम सुरु गरे। आदिवासीहरूलाई पक्रेर सुरक्षित स्थानमा राख्नलाई “काला साँध” नामक अभियानमा २००० जति सेना, जनसाधारण र अपराधीहरूले तिनीहरूको खानतलास गरे। तर यो अभियान सफल भएन। तिनीहरूले एउटी स्त्री र एक जना केटोलाई मात्र पक्रन सके। त्यसपछि प्रख्यात वेस्लीवादी जर्ज ए. रबिन्सनले मेल ल्याउन अर्को कदम चाले। यो प्रभावशाली भयो पनि। आदिवासीहरूले तिनलाई पत्याए र ताजमानियाको उत्तरपट्टि फ्लाइन्डर्ज टापुमा पुनर्वास गर्ने तिनको प्रस्तावलाई स्वीकारे।
अस्ट्रेलियाको इतिहास (अंग्रेजी) पुस्तकमा रबिन्सनको उपलब्धिबारे मारजोरी बनार्ड भन्छिन्: “वास्तवमा, आफूले गरेको मिलापको परिणामबारे तिनी अनभिज्ञ थिए होलान् तर त्यो यहूदाले दिएको धोकाजस्तै भयो। रबिन्सन तिनीहरूका अभिभावक भएर यी तितरबितर भएका बासिन्दाहरूलाई छुट्याएर बास स्ट्रेटको फ्लिन्डर्ज टापुमा लगे। तर दुब्ला र अस्वस्थताको कारणले तिनीहरूको मृत्यु भयो।” तिनीहरू बन्दुकद्वारा नभई गोराहरूको जीवनशैली र खानपिनले गर्दा मर्नुपऱ्यो। एउटा स्रोतले बताएअनुसार “ताजमानियाको अन्तिम स्वजातीय आदिवासी फेनी काक्रेन स्मिथ थिइन्, जसको १९०५ मा होबर्टमा मृत्यु भयो।” तर यस विषयमा अधिकारीहरूको एउटै राय भने छैन। कतिले होबर्टमा १८७६ मा मृत्यु हुने स्त्री ट्रुगानीनी थिइन् भन्छन् भने कतिले १८८८ मा कंगारो टापुमा मर्ने स्त्री भन्छन्। ताजमानिया आदिवासीका अन्तर्जातीय सन्ततिहरू भने आज पनि जीवित र सकुशल छन्। लोप भएर गएका आदिवासीहरूप्रति नगरिएको दुर्व्यवहार केही पनि नभएकोले तिनीहरूलाई “राज्यको महान् दुःखद कुरा” भन्नु उपयुक्त हुन्छ। अझ, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने” भन्ने बाइबलको सत्यता यसले स्पष्ट गर्छ।—उपदेशक ८:९.
ताजमानियाको दृश्य विषमता
आज संग्रहालय, पुस्तकालय वा झ्यालखानाको अवशेष अवलोकन नगरी यो रमणीय टापुको दारुण अनुभवबारे तपाईं केही जानकारी पाउन सक्नुहुन्न। भूमध्यरेखादेखि दक्षिणपट्टि रोम र सप्पोरा जतिकै दूरीमा अनि उत्तरपट्टि बस्टन जतिकै दूरीमा ताजमानिया अवस्थित छ। यहाँ कुनै पनि ठाउँ समुद्रदेखि ११५ किलोमिटर टाढा नभए तापनि यसको इतिहास जस्तै भूगोलको पनि छुट्टै विषमता छ।
ताजमानियाको कुल क्षेत्रफलमा ४४ प्रतिशत वन-जंगल र २१ प्रतिशत राष्ट्रिय उद्यान छ। यस्तो ठाउँ त कमै हुन्छ! ताजमानियाको यथार्थता (अंग्रेजी) पुस्तकअनुसार “पश्चिमी ताजमानियाको विश्व सम्पदा संसारकै पुरानो र सुरक्षित विशाल निकुञ्जमध्ये एक हो।” यहाँका केही पक्षलाई औंल्याउने हो भने, वृष्टि र हिउँले डम्म भरिएका तालहरू, खोलाहरू, ट्राउट भन्ने माछा प्रशस्त पाइने झरना, पेन्सिल धूपी, तारपिन, मेहंदी, ब्ल्याकवुड, ससाफ्रास, लेदरवुड, अजमोदा जस्तो हुने धूपी र ह्योन धूपीको हराभरा जंगल इत्यादि छन्। मध्यपश्चिमी समस्थलको माझबाट छर्लंग देखिने दृश्य र हिउँले डम्म ढाकिएको चुचुराले प्रकृति प्रेमीहरूलाई यो ठाउँमा फेरि फेरि पनि आउन लोभ्याउँछ।
तर यी “विश्व सम्पदा” कुनै बाधाबिना नै अस्तित्वमा रहेको चाहिं होइन। वातावरण जोगाउन चाहने व्यक्तिहरूको कारण खानी खन्न, कागज उत्पादन गर्न र जलविद्युत उर्जा उत्पादन गर्न चाहनेहरू अझै पनि भित्रभित्रै असन्तुष्ट छन्। चन्द्रमाजस्तो देखिने क्वीन्सटाउन खानी हो। केही सोचविचार नगरी खनीज सम्पदा चलाउँदा हुने नतिजाको यो एउटा कटु उदाहरण हो।
यहाँका पशुप्राणीहरू, विशेषगरि ब्वाँसो वा कैलो-पहेंलो रंग भएको कुकुरजस्तै देखिने बच्चालाई थैलोमा हालेर हिंड्ने स्तनपायी बाघले निकै दुःख पाएको छ। यसको पिठिउँ र नितम्बमा गाढा धर्का भएकोले यसलाई बाघ भनिएको हो। दुःखको कुरा, यो दुब्लो र डरपोक जनावरले कुखुरा र भेडाको शिकार गर्न थाल्यो। तसर्थ, यसलाई मारे बापत इनाम दिइने घोषणा गरियो र १९३६ सम्म त यो जनावर लोप भइसकेको थियो।
यहाँको अर्को अनौठो जनावर, बच्चा बोक्ने थैलो भएको ताजमानिया राक्षस भन्ने चाहिं अझै छ्यासछ्यास्ती पाइन्छ। सिनु खाने छदेखि आठ किलोग्राम वजन भएको यो बलियो प्राणीले बङ्गारो र दाँत चलाएर मृत कंगारूलाई खप्परसहित सिंगै खान सक्छ।
छोटो पुच्छर भएको समुद्री पंक्षी वा मटनबर्ड पनि ताजमानियामा चिरपरिचित छन्। ताजमानिया समुद्रदेखि बसाइँ सर्न सुरु गरेपछि प्रशान्त महासागरको पूरै परिक्रमा गरेर प्रत्येक वर्ष फेरि बालुवामा भएको त्यही पुरानो ठाउँमा यो फर्कन्छ। यसलाई रच्नुहुने र सृष्टि गर्नुहुनेको यो साँच्चै अद्भुत कार्य हो।
राति एक ठाउँ भेला भएर बसेका यी समुद्री पंक्षीहरूका नजीकै पानीमुन्तिर “उड्ने” अर्को पंक्षी बस्छ। एक किलोग्राम वजन, सानो चुच्चो र भुत्लैभुत्ला भएको यो पंक्षीलाई परी पेन्गुइन भनिन्छ। यो सबैभन्दा सानो पेन्गुइनले सबैभन्दा बढी हल्ला पनि गर्छ! यसको गीत र चहलपहलको गति सधैं एकनास हुँदैन, सुस्तरी सुरु भएर अन्तमा एकदमै तीव्र हुन्छ। रोमान्टिक हुँदा एक अर्काप्रति अनुराग प्रकट गर्न जोडा मिलेर युगलगान गाउँछन्। तर दुःखको कुरा, माझीहरूको जालले, तेल पोखिएकोले, झुक्किएर प्लास्टिक खाएकोले वा कुकुर र बन बिरालोले गर्दा धेरै मर्छन्।
यस टापुको शान्तिमय पक्ष
मध्य समस्थलदेखि उत्तर या पूर्वतिर आँखा घुमाउनुहोस्। चकलेट रंगको आबाद जमीन, बांगोटेढो हुँदै कलकल बहने नदी र खाडी, वृक्षका ताँती भएको चौडा बाटो अनि गाईगोरु चरिरहेको थोप्लै थोप्ला देखिने हरियो खर्क, ताजमानियाको अझ रमाइलो रूप हो। उत्तरी शहर लीलेडल नजीकै भएको एक किसिमको सुवासित बिरुवाको बगानमा जनवरीभरि ढकमक्क फूल फुल्दा विभिन्न रंगहरू जोडेर बनाएको तस्बिरसरह देखिने यो ग्रामीण इलाका मोहक सुगन्धसहित अझ नीलो र उज्यालो कलेजी रंग थपिएर झनै रमाइलो हुन्छ।
स्याउको टापु भनिने ताजमानियाको नाउँ कमाउने स्याउ वाटिकाको नजीकै डरवेन्ट नदीछेउ राजधानी शहर होबर्ट अवस्थित छ। यहाँको जनसंख्या करीब १,८२,००० छ। यो शहरमा टाढैबाट १,२७० मिटर अग्लो वेलिङटन पर्वत देखिन्छ। उघ्रेको दिनमा, हिउँले डम्म ढाकिएको यो पर्वतले माथि आकासबाट पंक्षीलेझैं तल शहरलाई नियाल्दछ। ल्युटीनेन्ट जोन ३५ अपराधी र ४९ साथीहरूसहित जहाजद्वारा १८०३ मा रीस्डोन कोभमा आएपछि होबर्टमा धेरै परिवर्तन र उन्नति भएको छ। यो साँचो हो कि जहाजको पाल र काठपातहरू सबै नष्ट भइसके, तर सालाना सीडनीदेखि होबर्टसम्म हुने नौका दौडले गर्दा अतीतमा होबर्टतिर जाने रंगीन पाल र वेगले चल्ने आकारमा बनिएका जहाजको सम्झना कसलाई पो नआउला र?
उत्पीडनभूमिदेखि आध्यात्मिक प्रमोदवनसम्म
जेफ्री बेटरवर्दी, लाउन्सटनमा १९९४ मा सम्पन्न यहोवाका साक्षीहरूका “ईश्वरीय भय” जिल्ला अधिवेशनका २,४४७ प्रतिनिधिहरूमध्ये एक हुन्। तिनी बताउँछन्: “ताजमानियाभरिमा ४० जना जति मात्र साक्षीहरू भएको मलाई याद छ।” अहिले करिब २६ मण्डली र २३ राज्यभवनहरू छन्।
“तर सधैं परिस्थिति राम्रो थिएन,” जेफ्री भन्दै जान्छन्। “उदाहरणका लागि, १९३८ मा टम कीटो, राड मेक्भील र म, आ-आफ्नो अगाडि पछाडि विज्ञापन पाटी झुण्डाएर ‘सच्चाइको सामना गर्नुहोस्’ भन्ने बाइबल भाषणको सार्वजनिक तवरमा विज्ञापन गरिरहेका थियौं। झूटो धर्मको घोर पर्दाफास गर्ने यो भाषण लण्डन रेडियो कार्यक्रम मार्फत प्रसारण गरिएको थियो। मेरा साथीहरूसँग विज्ञापन गरिरहेको बेला एक हूल युवाहरूले उनीहरूलाई हैरान गर्न थाले। प्रहरीले त केवल हेरी मात्र रह्यो! मदत गर्न अघि मात्र के बढेको थिएँ मलाई प्वाक्क हिर्काइ हाल्यो। तर एक जनाले कठालो समातेर मलाई तान्यो। र कुटपिट नगरेर त्यो मानिसले कराएर भन्यो: ‘भैगो, छाडिदेऊ।’ अनि फेरि बिस्तारै मलाई भन्यो: ‘मित्र, सताइँदा कस्तो अनुभव हुन्छ, मलाई थाह छ। किनकि म आइरिश हुँ।’ ”
यहोवाले यी प्रारम्भिक अग्रगामीहरूलाई अशिष् दिनुभयो। फलस्वरूप ४,५२,००० जनसंख्या भएको यस टापुका प्रत्येक कुनामा हाल परमेश्वरको राज्यको सुसमाचार पुगेको छ। सुरुसुरुका थुप्रै अपराधी र आदिवासीहरूका सन्ततिहरू अर्थात् त्यतिबेलाको क्रूर अन्यायको चपेटामा परेर मरेका काला र गोराहरू सम्पूर्णतया स्वच्छ पारिएको संसारमा पुनः आउने प्रत्याशा छ। किनकि “धर्मी र अधर्मीहरू समेतको पुनरूत्थान हुन्छ” भनी बाइबल प्रतिज्ञा गर्छ। (प्रेरित २४:१५) यो यस्तो आमूल परिवर्तन हुनेछ, “अघिअघिका कुराहरूको सम्झना [समेत] हुनेछैन।”—यशैया ६५:१७.
[फुटनोट]
a औपचारिक रूपमा नोभेम्बर २६, १८५५ मा ताजमानिया नाउँ दिइयो। सबैभन्दा पुरानो राज्य न्यु साउथ वेल्स हो।
[पृष्ठ १९-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
माथि: क्रेडल पर्वत र डोभ ताल
माथि दाहिने: ताजमानियाको राक्षस
तल दाहिने: दक्षिण-पश्चिमी ताजमानियाको रेनफरेस्ट
अस्ट्रेलिया
ताजमानिया