भकभके बोलीबाट मुक्त!
झन्डै आठ दशकदेखि ब्यूँझनुहोस्!-ले आफ्ना पाठकहरूलाई दिनहुँ सामना गर्ने समस्याहरूसित जुझ्न मदत दिंदै आएको छ। कहिलेकाहीं यसले चिकित्सा क्षेत्रमा भएको उन्नतिहरूबारे अवगत गराउँछ जसले पाठकहरूको जीवनमा निकै प्रभाव पार्नसक्छ भनी निम्न अनुभवले देखाउँछ।
म्याथ्युको जन्म उत्तरी बेलायतमा १९८९ मा भएको थियो। दुई वर्षसम्म तिनी ठीकै थिए। तर त्यसपछि बिदामा गइरहेको बेला अचानक तिनी साह्रै भकभके हुन थाले।
तिनका आमा मार्गेट भन्छिन्, “मेरो पति र मैले स्थानीय बोली उपचार क्लिनिकमा सम्पर्क राख्यौं र बच्चाहरूले सात वर्ष नपुगुञ्जेल वाचिक नलीलाई नियन्त्रणमा राख्न नसक्ने भएकोले म्याथ्युको बोली त्यस्तै रहने बताए। तर म्याथ्यु स्कूल जान थालेपछि अरू बच्चाहरूले साह्रै जिस्काए अनि तिनी झनै भकभके हुन थाले। मानिसहरूको जमातमा बस्न पटक्कै नरुचाउने भए र एक्लै बस्न थाले। राज्यभवनमा सभाहरूमा जानसमेत अप्ठ्यारो मान्न थाले।
“त्यसै बखत हामीले अप्रिल ८, १९९५ अंकको ब्यूँझनुहोस्!-मा (अंग्रेजी) ‘विश्वदर्शन’ अन्तर्गत ‘भकभकेहरूको निम्ति आशा’ भन्ने शीर्षक देख्यौं। त्यहाँ संक्षिप्तमा सिड्नी, अस्ट्रेलियामा बोली विकास उपचारकहरूका टोली भकभके बच्चाहरूको उपचार गर्न सफल भएको बताइएको थियो।
“हामीले सिड्नी विश्वविद्यालयसित पत्राचार गऱ्यौं र डा. मार्क अन्स्लोबाट सकारात्मक जवाफ पायौं र त्यस पत्रमा तिनलाई फोन मार्फत सम्पर्क राख्ने सल्लाह दिइएको थियो। हामी संसारको अर्को कुनामा भएको हुँदा तिनको समूहले “लामो दूरीको उपचार” गर्ने निर्णय गरे। त्यस समूहको प्रविधिको निर्देशन हामी म्याथ्युको आमाबाबुलाई चाहिं फोन, फ्याक्स र श्रव्यक्यासेटहरूद्वारा पठाइन्थ्यो। त्यस उपचार म्याथ्युको व्यक्तिगत आवश्यकताअनुसार छाँटकाँट गरिएको थियो। म म्याथ्युसित आरामसाथ अनौपचारिक तरिकामा बसेर तिनले गलत उच्चारण गरेका शब्दहरू सच्याउन मदत गर्थें। म खुला मनले प्रशंसा गर्थें र ‘नअकमकी सर्रर’ बोल्दा सानोतिनो इनाम पनि दिन्थें।
“छ महिनापछि म्याथ्यु आफ्नो संसारमा मात्र बस्ने अन्तर्मुखी बच्चा भएनन् तर सामान्य मिलनसार बच्चा भए। तिनले अहिले मसीही मण्डलीहरूमा उत्तर दिन्छन् र राज्यभवनमा बाइबल पढाइ दिन अत्यन्तै रमाउँछन्। घर-घरको सेवकाईमा पनि अर्थपूर्ण ढंगमा भाग लिन्छन्। तिनको बोली अब सामान्य भएको छ!
“हाम्रो छोराको जीवन नै परिवर्तन गरिदिएको ब्यूँझनुहोस्!-को त्यस सानो समाचारको निम्ति हामी अत्यन्तै आभारी छौं!”—साभार।